भर्खरै :

ट्रम्प आफै बोक्सी आफै धामी

ट्रम्प आफै बोक्सी आफै धामी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफै बोक्सी आफै धामी बन्ने पात्र हुन् । स्वाधीन र सार्वभौम देशमा आक्रमण गर्ने, आक्रमण गर्न सहयोग गर्ने र आफै शान्ति समितिका अध्यक्ष बनेर उनी आफै बोक्सी आफै धामी भए । प्यालेस्टिनको गाजापट्टीमा शान्ति स्थापनार्थ अमेरिकी राष्ट्रपति ट्रम्पको अध्यक्षतामा शान्ति समिति गठन भएको छ । उक्त समितिमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो, पूर्वबेलायती प्रधानमन्त्री ब्लेयर, मध्यपूर्वका लागि अमेरिकी दूत विटकोफ, ट्रम्पका ज्वाइँ कुस्नर, खर्बपति मार्क रोवन, विश्व बैङ्कका प्रमुख अजय बान्गा, अमेरिकी सुरक्षा सल्लाहकार रोवर्ट ग्राबियन र बुग्लेरियाली कूटनीतिज्ञ मल्देनोभ सदस्य छन् । प्यालेस्टिनको गाजालाई अत्याधुनिक सुविधा र सम्पन्न बनाउने र शान्ति क्षेत्रको रूपमा विकास गर्ने शान्ति समितिको लक्ष्य भनिएको छ । गाजा क्षेत्रलाई खरानी पार्ने, जातीय नरसंहार गर्ने काममा संयुक्त राज्य अमेरिकाको हात थियो । देशलाई ध्वस्त पार्न सहयोग गर्ने, उत्साहित गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पकै अध्यक्षतामा शान्ति समिति स्थापना गरेर कतै विश्व शान्ति पुरस्कार पाउने गृहकार्य गरिएको त होइन भन्ने प्रश्न विश्वभरि फैलिएको छ ।
कर छलेर धनी भएका ट्रम्प राष्ट्रपति बन्न लायक नायक होइनन् । सर्वेक्षणमा ६५ प्रतिशत युवाहरूले अमेरिकी राजनीतिक शक्तिहरू गलत दिशातिर उन्मुख भइरहेको मत दिए । एक समय हिलारी क्लिन्टनले ट्रम्प राष्ट्रपति र कमान्डर इन चिफका लागि अयोग्य व्यक्ति भएको बताएकी थिइन् । शक्तिशाली ट्रम्पले दुई वर्षमा ८ हजारभन्दा बढी पटक झूट बोलेको खबर पनि सञ्चारमाध्यममा आएको थियो । उनलाई आफ्नै सहयोगीहरूले ‘मानसिक सन्तुलन नभएको’ पनि आरोप लगाए । एक समय राष्ट्रपति ट्रम्पले चार जना महिला सांसदप्रति लक्षित गर्दै विवादास्पद अभिव्यक्ति दिए । त्यसको निन्दा गर्दै संसद्मा खेद प्रस्ताव पारित गरिएको थियो । उनले अहिले पनि आक्रमण गरेर ध्वस्त पार्ने, अरु देशका निर्वाचित राष्ट्रपतिलाई अपहरण गर्ने, देश निकाला गर्ने, नाकाबन्दी गर्ने, बढीभन्दा बढी कर लिने, अरु देशको स्रोत र साधन कब्जा गर्ने धम्की दिँदै छन् । भेनेजुयलामा आक्रमण गरेर त्यहाँका निर्वाचित राष्ट्रपतिलाई अपहरण शैलीमा आफ्नो देशमा लगेर मुद्दा लगाउने काम ट्रम्पले गरे । यसको विश्वभर निन्दा भए पनि उनले भेनेजुयलाका राष्ट्रपति मादुरोलाई छोडेका छैनन् ।
इरानका राष्ट्रपति हसन रुहानीले अमेरिकी राष्ट्रपति ट्रम्पलाई ‘अन्तर्राष्ट्रिय राजनीतिमा दुष्ट नव प्रवेशी’ को संज्ञा दिएका थिए । उनले संयुक्त राष्ट्र सङ्घको ७२ औँ महासभामा बोल्दा दुष्टको संज्ञा दिएका थिए । राष्ट्रपति ट्रम्प अरु देशमा सामान नपठाउने मात्र होइन त्यो देशको सामान नलिने र नलिनसमेत दबाब दिन पछि परेनन् । अमेरिकाले गरेको दमन र ज्यादतीकै कारण अमेरिकी सरकारको संसारका अधिकांश देश र जनता विरोध गर्छन् । साम्राज्यवादी देश अमेरिकी सरकारको विरोध नगर्ने देश संसारमा एउटा पनि छैन । ट्रम्प अरु देशको प्रगति र विकास हेर्न चाहँदैनन् । उनी समाजवादी व्यवस्था र वामप¥थी विचारबाट अमेरिकी जनता प्रभावित हुन्छन् भनी डराउँछन् । भेनेजुयलामाथिको संरा अमेरिकी हस्तक्षेप अन्यायपूर्ण भएको संसारका सारा जनताले विरोध गरे पनि राष्ट्रपति ट्रम्प कानमा तेल हालेर बसे । विश्वमा न्यायप्रेमी जनताको आवाज नसुनी उनी फेरि इरान, क्युवा, मेक्सिको आदि देशमा हमला गर्ने चेतावनी दिन्छन् । अरु देशमा आक्रमण गर्ने, ध्वस्त पार्ने, राष्ट्रप्रमुखलाई हातमा लिने, हत्या गर्ने काम भनेको ट्रम्पको निम्ति दिनचर्याजस्तै भएको छ ।
डोनाल्ड ट्रम्पले ग्रिनल्यान्ड कब्जाको विरुद्ध उभिने देशको उत्पादनमा भन्सार शुल्क बढाउने चेतावनी दिए । उनले भेनेजुयालामा किनेको तेलको मूल्य बराबरको सामान आफ्नै देशमा किन्नुपर्ने सर्त राखे । उक्त ट्रम्पको योजनाको विरोधमा पनि विश्वका शान्तिकामी जनता र सरकारले विरोध गरेका छन् । उनले ग्रिनल्यान्डलाई मात्र होइन क्यानडालाई पनि आफ्नो देशमा मिलाउने चेतावनी दिए । पछिल्लो पटक ट्रम्पको अध्यक्षतामा गाजामा शान्ति गठन हुनु र ग्रिनल्यान्ड कब्जा योजनाको विषक्षमा उभिने देशविरुद्ध थप ट्यारिफ लगाउने (शुल्क लिने) ट्रम्पको चेतावनीले उनी संसारकै सबभन्दा बढी आक्रामक, शान्ति र सुरक्षा बिथोल्ने आतङ्ककारी हुन् भन्ने थाहा हुन्छ । ठुलो देश र शक्तिको जिम्मेवारी र दायित्व पनि संसारको निम्ति ठुलै हुनुपर्ने सबैको मान्यता हो । तर, अमेरिकाले ठुलो शक्तिको दुरूपयोग गरेर साथ र सहयोग होइन आतङ्कित पारेर संसारका जनतालाई दुःख दिँदै छ । इरानका राष्ट्रपतिका अनुसार उनी आतङ्क मच्चाउने अपराधी हुन् । स्वच्छ राजनीतिको लागि इमानदार र असल मानिसहरू राजनीतिमा लाग्नुपर्छ† उनीहरूको नेतृत्वमा सरकार बन्नुपर्छ । तर, अमेरिका शक्तिको उन्मादमा चढेर आक्रमण र हस्तक्षेप गर्दै छ । यो निन्दनीय कदम हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *