भर्खरै :

लेनिनवाद नयाँ ऐतिहासिक युगको माक्र्सवाद हो

लेनिनवाद नयाँ ऐतिहासिक युगको माक्र्सवाद हो

भ्ला. ई. लेनिन सङ्कलित रचना भाग १ पढ्दा

भ्लादिर इलिच लेनिनले छोडेर जानुभएको सैद्धान्तिक भण्डार अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको लागि अमूल्य सम्पत्ति बनेको छ । लेनिनको विचार माक्र्सवादको क्रान्तिकारी सिद्धान्तको विकासमा एक नयाँ लेनिनवादी खुड्किलो हो । भ्ला.ई.लेनिनका सङ्कलित रचनाहरू आठ भागमा प्रकाशित गरिएका छन् । सङ्कलित रचनाको पहिलो भागमा कार्ल माक्र्सको शिक्षाको ऐतिहासिक भवितव्य, माक्र्सवादका तीन स्रोत र तीन सङ्घटक अङ्ग, माक्र्सवाद र संशोधनवाद, हाम्रो कार्यक्रम, केबाट सुरु गर्ने ?, अर्थवादका हिमायतीहरूसँग एक वार्तालाप, पार्टी सङ्गठन र पार्टी साहित्य, संयुक्त राज्य युरोपको नाराबारे, सामाज्यवादी क्रान्ति र जातिहरूको आत्मनिर्णयको अधिकारबारे चर्चा गरिएको छ ।
माक्र्सको शिक्षाको प्रमुख सार हो, समाजवादी समाज निर्माताको रूपमा सर्वहारावर्गको विश्व ऐतिहासिक भूमिकाको स्पष्टीकरण । लेनिनका यी लेखहरूमा लेनिनले माक्र्सको शिक्षाको क्रान्तिकारी सार खिच्नुभएको छ । उहाँले माक्र्सवादलाई विश्व सैद्धान्तिक विचारधाराको शिखर, उन्नाइसौँ शताब्दीमा जर्मन दर्शनशास्त्र, बेलायती राजनीतिक अर्थशास्त्र र फान्सेली समाजवादका श्रेष्ठतम सिर्जनाको वैधानिक उत्तराधिकारीको रूपमा प्रस्तुत गर्नुभएको छ ।
माक्र्सको सिद्धान्तबारे लेनिन लेख्नुहुन्छ, “यो सर्वशक्ति सम्पन्न छ; यो सत्य छ; सम्पूर्ण र सुसङ्गत छ† यसले मानिसलाई सम्बद्ध विचारधारा प्रदान गरेको छ । कुनै पनि अन्धविश्वास, कुनै पनि प्रतिक्रियावाद तथा कुनै पनि पुँजीवादी उत्पीडनको यो घोरविरोधी छ ।” लेनिनले माक्र्सवादको खोल ओढेका प्रत्यक्ष शत्रुहरूविरुद्ध सङ्घर्ष गर्नुभएको थियो । लेनिनले संशोधनवादमाथि माक्र्सवादको विजय अवश्यम्भावी छ भन्ने भविष्यवाणी गर्नुभएको थियो । पुँजीवादी फटाहाहरूले माक्र्सवादी – लेनिनवादी सिद्धान्तलाई माक्र्सवादको विरुद्ध लेनिनवादलाई उभ्याउने गलत प्रचारबारे लेनिन स्पष्ट पार्नुहुन्छ, लेनिनवाद नयाँ ऐतिहासिक युगको माक्र्सवाद हो; पुँजीवादबाट समाजवादमा सङ्क्रमण, पुँजीवादी व्यवस्थाको पतन र समाजवाद तथा साम्यवादको विजय ।
महान् अक्टोबर समाजवादी क्रान्तिको विजय, सोभियत सङ्घमा समाजवादको निर्माण, विश्व समाजवादी व्यवस्थाको अभ्युदय, उपनिवेशवादको पतन, केही एसियाली तथा अफ्रिकी मुलुकहरूमा गैरपुँजीवादी बाटो अपनाउने जस्ता विश्व क्रान्ति प्रक्रियामा लेनिनवादी विचारधाराको ठुलो विजय हो । माक्र्सवाद – लेनिनवाद ऐतिहासिक दृष्टिले सही दिशातर्फ अभिमुख छ ।
पुस्तकमा माक्र्सवादका तीन स्रोत र तीन सङ्घटक अङ्गबारे प्रस्ट पारिएको छ । पुस्तकमा लेखिएको छ, माक्र्सवादको दर्शन हो, भौतिकवाद । माक्र्सको ऐतिहासिक भौतिकवाद वैज्ञानिक विचारको महान् उपलब्धि थियो । माक्र्स भौतिकवादमा मात्र सीमित नभई दर्शनशास्त्रलाई अझ विकसित तुल्याउनुभयो । माक्र्सको दर्शन भौतिकवादी दर्शनको त्यो परिमार्जित रूप हो । यसले मानव र विशेषतः मजदुरवर्गलाई ज्ञानका साधनहरू प्रदान गरेको छ ।
दोस्रो स्रोत हो, मूल्यसम्बन्धी श्रम सिद्धान्तको प्रतिपादन । उहाँले प्रत्येक वस्तुको मूल्य त्यस वस्तुको उत्पादनमा खर्च गरिने आवश्यक सामाजिक श्रम अवधिको बराबर हुन्छ भन्नुभएको थियो । पुँजीपतिको निम्ति अतिरिक्त मूल्यको सृजना नाफाको स्रोत हो, पुँजीपतिवर्गको सम्पन्नताको स्रोत हो । अतिरिक्त मूल्यको सिद्धान्त नै माक्र्सको आर्थिक सिद्धान्तको आधारशीला हो ।
माक्र्सको तेस्रो स्रोत वर्गसङ्घर्षको सिद्धान्त हो । वर्गसङ्घर्ष नै समस्त विकासको आधार र अनुप्रेरक शक्ति हो । माक्र्सको भौतिकवादी दर्शनले सर्वहारावर्गलाई बौद्धिक दासत्वबाट मुक्ति पाउने मार्गतर्फ औँल्याएको छ । माक्र्सको आर्थिक सिद्धान्तले पुँजीवादी अर्थ व्यवस्थामा सर्वहारावर्गको वास्तविक स्थितिको व्याख्या गरेको छ । वर्गसङ्घर्षको दौरानमा सर्वहारावर्ग सुशिक्षित र अनुशासित हुन्छ ।
पुस्तकमा माक्र्सवाद र संशोधनवादबारे पनि उल्लेख गरिएको छ ।
माक्र्सवादभित्र रहेका माक्र्सवादविरोधी धाराहरूको विरुद्ध सङ्घर्ष गर्दा माक्र्सवादले आफ्नो अस्तित्वको दोस्रो अर्ध शताब्दीमा प्रवेश गरिसकेको थियो । माक्र्सवादको बखान गर्ने पुरातनपन्थी बर्र्नस्टनले माक्र्सको विचारलाई संशोधन गर्दै संशोधनवादी बाटो अघि सारे । समाजलाई संशोधनवादीको रूपमा अघि बढाउने काम भयो । संशोधनवादीहरूले माक्र्सवादको मूल आधार अर्थात् वर्गसङ्घर्षको जरा नै निर्मूल पारिसकेका छन्; उनीहरू कम्युनिस्ट घोषणापत्र निरर्थक भइसकेको छ भनी खोक्दै हिँडे । संशोधनवादीहरू वास्तविक महत्वलाई बढाउनुको सट्टा कम महत्व दिन्छन् । सर्वहारावर्गको मूल हित, पुँजीवादी विकासबारे बिर्सिदिनु र क्षणिक लाभको लागि मूलभूत हितको बलिदान गर्नु संशोधनवादी नीति हो ।
यस पुस्तकको अर्को महत्वपूर्ण अंश ‘हाम्रो कार्मक्रम’ हो । माक्र्स र एङ्गेल्सको शिक्षा क्रान्तिकारी सिद्धान्तको बलियो जग मानिन्थ्यो । माक्र्सवादले सर्वप्रथम समाजवादलाई कोरा कल्पनाबाट विज्ञानमा परिणत गरेको थियो । माक्र्सवादले विज्ञानको लागि मजबुत जग तयार पारेको थियो । यस कार्यक्रमको सार सर्वहारावर्गको सङ्घर्षको आयोजना र सङ्घर्षको नेतृत्व हो । सङ्घर्षको अन्तिम उद्देश्य हो, सर्वहारावर्गद्वारा राजनीतिक सत्ता प्राप्त र समाजवादी समाजको निर्माण । मजदुरवर्गको अवस्था सुधार गर्न आर्थिक सङ्घर्ष र जनताको अधिकार व्यापक बनाउन राजनीतिक सङ्घर्ष हुन्छ । आर्थिक सङ्घर्षको लागि राजनीतिक सङ्घर्षको आवश्यकता बिर्सनुको अर्थ अन्तर्राष्ट्रिय सामाजिक जनवादका आधारभूत मान्यताहरू पर सार्नु हो । त्यसबेला मजदुरहरूमात्र होइन सर्वसाधारण नागरिकहरू राजनीतिक अधिकारबाट बञ्चित थिए । हो, आर्थिक सङ्घर्ष राजनीतिक सङ्घर्षमा परिणत हुन्छ ।
त्यसबेला कस्तो व्यावहारिक पाइला चाल्ने भन्ने प्रश्न पनि उठेको थियो । कार्यको सुरुवात गर्ने सन्दर्भमा सङ्गठनको सृजनातिर ध्यान गयो । त्यसको लागि राजनीतिक अखबार चाहिन्छ; अखबारबिना सैद्धान्तिक रूपले अनुकूल र चौतर्फी प्रचार प्रसारको त्यो क्रमबद्ध काम चल्न असम्भव छ । राजनीतिक मुखपत्रबिना आधुनिक युरोपमा कुनै पनि आन्दोलनलाई राजनीतिक भन्नु निरर्थक ठहरिने छ । अखबार सामूहिक प्रचारक, सामूहिक वक्तामात्र होइन सामूहिक सङ्गठनकर्ता पनि हो । यही कारण जारशाही सरकारको विरुद्ध जन मञ्च तयार गर्ने काम भएको थियो ।
पार्टी सङ्गठन र पार्टी साहित्य’ यस पुस्तकको अर्को महत्वपूर्ण खण्ड हो ।
बुर्जुवा नैतिकताको विपरीत, मुनाफाखोर, व्यापारी बुर्जुवा प्रेसविपरीत, व्यक्तिवादविपरीत, अराजकतावाद र नाफाको लागि हानथाप गर्ने कामविपरीत समाजवादी पार्टीले साहित्यको सिद्धान्त अगाडि बढाउनुपर्छ भन्ने मान्यता लेनिनको थियो । यस सिद्धान्तलाई विकसित तुल्याउनुपर्छ र जीवनमा लागु गर्नुपर्छ भन्ने लेनिनको मान्यता हो । समाजवादी सर्वहाराको लागि साहित्य व्यक्ति विशेष अथवा कुनै गुटको लाभको साधन हुनसक्दैन । साहित्य सर्वहारावर्गको साझा उद्देश्यको एक अङ्ग बन्नुपर्छ; समस्त मजदुरवर्गको सम्पूर्ण वर्ग चेतन समाजद्वारा सञ्चालित अभिन्न, सामाजिक जनवादी मेसिनको ‘दाँत र पेच’ हुनुपर्छ । अखबारहरू विभिन्न पार्टी सङ्गठनको मुखपत्र हुनुपर्छ । लेखकहरू पार्टी सङ्गठनभित्र हुनुपर्छ । प्रकाशन गृह र तिनका गोदामहरू, किताब पसल, वाचनालय र पुस्तकालयहरू तथा अन्य यस्ता कुराहरू पार्टी अधीन र पार्टीप्रति उत्तरदायी हुनुपर्छ । सङ्गठित समाजवादी सर्वहाराले यी सब कुराको रेखदेख गर्नुपर्छ; सम्पूर्ण कार्यमाथि नियन्त्रण राख्नुपर्छ ।
कुनै परिस्थितिमा पनि समाजवादी क्रान्तिको नारालाई धमिल्याउने र कमजोर पार्ने काम गर्नु हुँदैन । परिवर्तनले समाजवादी क्रान्तिलाई अझ नजीक ल्याउँछ । पुँजीवादी व्यवस्थाको अर्थ हो, उत्पादनका साधनहरूमा निजी स्वामित्व र उत्पादनमा अराजकता । पुँजीवादको उच्चतम विकासको युगमा पृथ्वीका अरबौँ जनताको लुट मुठीभर शक्तिशाली राष्ट्रहरूको हातमा हुन्छ । पुँजीवादी व्यवस्थाअन्तर्गत संयुक्त राज्य युरोपको अर्थ उपनिवेशहरू आपसमा बाँड्ने सम्झौता गर्नु हो ।
साम्राज्यवाद पुँजीवादको विकासको उच्चतम चरण हो । पच्छिम युरोप र संयुक्त राज्य अमेरिकामा पुँजीवादी सरकारको गद्दी उल्टाउन र पुँजीपतिवर्गलाई अधिकारच्युत गर्न सर्वहारावर्गको क्रान्तिकारी सङ्घर्ष आजको आवश्यकता थियो । साम्राज्यवादले वर्गीय अन्तरविरोधलाई तीव्र बनाउँछ । आम जनताको अवस्था खराब तुल्याउँदै उनीहरूलाई सङ्घर्षतिर धकेल्छ । समाजवादी क्रान्ति एकाङ्गी क्रिया होइन न त एउटै मोर्चामा मात्र एक्लो लडाइँ हो; यो वर्गसङ्घर्षको एक पूरा युग हो ।
यसरी लेनिनले सङ्कलित रचनामा माक्र्सवादका मुख्य मुख्य प्रस्थापनाहरूलाई विकसित तुल्याउने, समस्त श्रमिक जनताको मुक्ति सङ्घर्षको लागि वैज्ञानिक साम्यवादका सिद्धान्तको उद्घाटन गर्नुभएको थियो । समग्रमा लेनिनका कृतिहरूको अध्ययनले समस्त मानवताको प्रगतिपथ आलोकित गर्ने लेनिनवादका आधारभूत विचार बुझ्न सजिलो बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *