यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
सन् २०२५ नोभेम्बर १३ को दिन थियो । मेरी बहिनी आयाले हाइस्कूल (उमावि) को अन्तिम परीक्षा दिएकी थिइन् । त्यो दिन हाम्रो परिवार त्यही परीक्षाको नतिजा ‘तजिही’ को प्रतिक्षामा थियो ।
सेप्टेम्बरमा हाम्रो परिवार गाजा सिटीबाट गाजाको मुटुमै पर्ने दायर अल बलाहमा बसाइँ सरेको थियो । हामीले नयाँ कोठालाई राम्ररी सजायौँ । केही मिठाइ ल्यायौँ । मृत्यु, रक्तपात र विगतका धुमिल सम्झनाहरूबिच हामी ‘तजिही’ मा रमाइलो गर्न उत्सुक थियौँ ।
बिहानको ९ बज्यो । नतिजा घोषणा गरियो । आयाले विज्ञानमा ८६ प्रतिशत प्राप्त गरिन् । गाजा सहरमा ठाउँ–ठाउँ भौतारिँदाको सकस सहेरै पनि उनले यति अङ्क प्राप्त गर्नु ठुलै कुरा थियो ।
बहिनीको खुसियालीमा हामी नाच्यौँ । रमझम भयो । अक्टोबरमा ‘युद्धविराम’ भएपछि हामी पहिलोपल्ट खुसी थियौँ ।
आया सन् २००७ मा जन्मेका र ‘तजिही’ नतिजा सुनाइएका गाजाका झन्डै ३० हजार विद्यार्थीमध्ये एक थिइन् । सन् २००६ मा जन्मेका गाजाका विद्यार्थीले अघिल्लो वर्ष सन् २०२४ मै हाइस्कूल पास गर्नुपर्ने थियो । तर, वर्ष दिनपछि अक्टोबर १४ मा मात्र उनीहरू उत्तीर्ण भए ।
इजरायलले गाजामा दुई वर्ष जातिसंहार चलायो । यी वर्षहरूमा गाजाका विश्वविद्यालयहरूमा नयाँ विद्यार्थी भर्ना भएनन् । तर, सन् २००६ र २००७ मा जन्मेका नयाँ विद्यार्थीको लागि विशेष दर्ता प्रक्रिया खुला गरियो । उनीहरूले सँगै पढे र सँगै पास पनि भए ।
गाजाका क्याम्पसहरू ध्वस्त भइसकेका छन् । तैपनि, गाजा विश्वविद्यालय, अल–अजहर विश्वविद्यालय र अल–अक्सा विश्वविद्यालय विशेष विद्यार्थी समूहका लागि क्याम्पस शिक्षा सुरु गर्ने तरखरमा छन् ।
इस्लामी विश्वविद्यालयले पहिलो वर्षका विद्यार्थीका लागि मात्र प्रत्यक्ष अध्ययनको व्यवस्था गर्ने घोषणा गरेको छ । खासगरी मेडिकल, इन्जिनियरिङ, अर्थशास्त्र र प्रशासन विज्ञान, स्वास्थ्य विज्ञान र अङ्ग्रेजी भाषाको पठनपाठन विद्यार्थीको प्रत्यक्ष उपस्थितिमा हुनेछ । बाँकी विद्यार्थीले अनलाइनमै पढ्नुपर्नेछ ।
विश्वविद्यालयको नोस्टाल्जिया
नोभेम्बर २० गते मैले आयालाई इस्लामी विश्वविद्यालयमा लगेँ । उनी त्यहाँ भर्ना हुन चाहन्थिन् ।
दिउँसोपख हामी विश्वविद्यालय पुग्यौँ । जातिसंहारका दुई वर्षभरि म त्यहाँ गएको थिइनँ ।
क्याम्पस पुग्दा मलाई फेरि यहाँ पढाइ सुरु गर्न पाए हुन्थ्यो भन्ने भयो । तर, म त शिक्षा सङ्कायमा डिग्रीको नतिजा पर्खिँदै थिए ।
हामी राष्ट्रसङ्घले गाजामा खोलेको ‘उन्रा’ को मुख्यालय पुग्यौँ । त्यसको पर्खालमा अनेक चित्रहरू कुँदिएको थियो ।
पहिले ट्याक्सीमा विश्वविद्यालय आउँदा मैले यस्तै चित्र हाम्रो विश्वविद्यालयको भित्तामा पनि देख्ने गर्थेँ । मजस्ता हजारौँ विद्यार्थीले ती चित्र देखेका थिए ।
हामीले कुनै बेला देखेका ती चित्रमध्ये कति बाँकी रहे होलान् ? ‘उन्रा’ को मुख्यालयसामु हिँड्दै गर्दा मनमा यही प्रश्न खेलिरह्यो ।
क्याम्पसको मूल ढोकाबाट भित्र पसेपछि शरीरमा काँडा उम्रेजस्तो भयो । नोस्टाल्जियाको भावनाले मानौँ मनमा तुफान नै मच्चायो ।
सम्झनाका तरेली लागे – कक्षा सक्किएपछि विद्यार्थीहरूको भीड एकै ठाउँमा जम्मा हुन्थ्यो† कसैले किताब बोकेका त कसैले ल्यापटप र इन्जिनियरिङका उपकरण बोकेका हुन्थे† कोही साथीसङ्गीसँग हिँडेरै घरतिर लाग्थे भने कोही गाडी पर्खिरहेका हुन्थे ।
तर, त्यहाँ मैले जे देखेँ त्यो पहिले जस्तो थिएन । जताततै पाल टाँगिएको थियो । विस्थापित मानिसहरूले पर्खालहरूबिच डोरी बाँधेर लुगा सुकाइरहेका थिए । सडकमा ठेलागाडा राख्नेहरूले क्याम्पस हाताभित्र सरसामान बेच्न राखेका थिए ।
घर गुमाएका सयौँ मानिसहरूले क्याम्पस हाताभित्र शरण लिएका थिए । क्याम्पसमा सर्वत्र उनीहरूकै बसाइँ थियो – क्याम्पसको भवनमा, भत्केको सभाहलमा र भग्नावशेष भरिएका कोरिडोरहरूमा ।
भवनहरूमा सबैखाले विध्वंसका चिह्न थिए । धेरै भवन त धुलोपिठो भइसकेका थिए । बाँकी रहेका भवन आंशिक भत्केका थिए । तर, पुनः प्रयोगमा ल्याउन मिल्ने भवन एउटा पनि थिएन ।
सबैभन्दा मन कुँडिने दृश्य थियो सभा भवनमा खोलिएको कपाल काट्ने नाइको चिह्न । त्यो भवनको अडिटोरियममा कुनै बेला विश्वविद्यालयका दीक्षान्त समारोहको आयोजना हुन्थ्यो ।
आया र म अघि बढिरह्यौँ । पाइलैपिच्छे मैले आफैलाई सोधिरहेको थिएँ – म कहाँ छु ? मैले आफ्नै क्याम्पसलाई चिन्न सकिरहेको थिइनँ ।
त्यो मैले दुई वर्ष अध्ययन गरेको आफ्नै विश्वविद्यालय थियो । तैपनि, नयाँ विद्यार्थी भर्ना गर्ने भवनसम्म पु¥याउन हामीलाई विस्थापित परिवारहरूले बाटो देखाउनुप¥यो । सबैभन्दा कम क्षति भएको भवनमा विद्यार्थी भर्ना लिइँदै रहेछ ।![]()
भित्र पस्नेबित्तिकै मेरो स्मृतिका पानाहरू पल्टिन थाले । मैले सम्झेँ – प्रत्येक वर्ष हाम्रो विश्वविद्यालयमा नयाँ उमङ्ग थपिन्थ्यो । क्याम्पसमा नयाँ विद्यार्थीहरूको घुइँचो लाग्थ्यो । उनीहरू विभिन्न विषय र शैक्षिक कार्यक्रमबारे अनेक प्रश्न गर्थे ।
इन्जिनियर बन्नु आयाको सानैदेखिको सपना थियो । त्यसैले हामी वास्तुकला कार्यक्रमबारे बुझ्न चाह्यौँ ।
आयाले भनिन्, “गाजालाई इन्जिनियरहरू चाहिन्छ ।”
इजरायलले हाम्रो सहरमा पहिले कहिल्यै नभएको विध्वंस मच्चाएको थियो । त्यसकारण, यसको पुनर्निर्माण गर्न इन्जिनियरिङको विद्यार्थीको अहम् भूमिका रहने पक्का छ ।
जारी छ कष्टसाध्य अध्ययन
मैले ‘तजिही’ परीक्षाको तयारी गरिरहेको बेला इतिहासका शिक्षकले हामीलाई भन्नुभएको थियो – जापानका हिरोशिमा र नागासाकीमा दोस्रो विश्वयुद्धलगत्तै पठनपाठन सुरु गरिएको थियो रे ।
संरा अमेरिकाले त्यत्रा ठुला अणुबम पड्काएपछि हिरोसिमा र नागासाकी सहरमा अकथनीय विध्वंस मच्चिएको थियो । त्यस्तो स्थितिमा कसरी कक्षा चलाउन सम्भव भयो होला ? म घरिघरि सोचिरहन्थेँ ।
अहिले मलाई थाहा भयो, जातिसंहारक युद्धबिच पनि आफ्नो र समुदायको जीवनको पुनर्निमाण गर्न चाहने जोकोहीले शिक्षाबाट नै सुरु गर्नुपर्छ । गाजामा यो क्रम चलिरह्यो । हामीले आसपास बमवर्षा भइरहेको बेला पनि सिकाइलाई जारी राख्यौँ ।
गाजास्थित इस्लामी विश्वविद्यालयको एक विद्यार्थीको रूपमा मैले सन् २०२४ अगस्ट र २०२५ को डिसेम्बरबिच एकै वर्षमा चार सेमेस्टरको अध्ययन पूरा गरेँ ।
लगातार एकपछि अर्को सेमेस्टरको पढाइ चलिरह्यो । बिचमा कुनै अन्तराल थिएन । किनभने विश्वविद्यालय आफ्ना विद्यार्थीहरूले समयमै डिग्री पाऊन् भन्ने चाहन्थ्यो ।
जातिसंहारकै बिच पढाइ चालु राख्न कठिन थियो ।
हाम्रो परिवार धेरैपल्ट विस्थापित भयो । मैले मेरो घर गुमाएँ । त्यहाँ मेरा किताब र नोटकापी थिए । पढ्न सजिलो थिएन । पढ्न बस्दा ड्रोन र क्याडकप्टरहरूको कानै खाने आवाज सुनिरहनुपथ्र्यो । त्यो कर्कश आवाजले ध्यान भङ्ग गरिरहन्थ्यो ।
बिजुलीको अभाव हिजो पनि उस्तै थियो र आज पनि उस्तै छ । इन्टरनेट कमजोर थियो । अझ इन्टरनेट नै थिएन भन्दा हुन्छ । किनभने, इजरायली सेनाले इन्टरनेट प्रदायकहरूका मुख्यालय नै ध्वस्त पारेका थिए ।
मैले अनलाइन परीक्षा दिनुपर्ने भयो । परीक्षा दिइरहँदा घरिघरि इन्टरनेट काटिन्थ्यो । कहिले परीक्षाको बिचमै छिमेकीको घरमा बम पड्किन्थ्यो । विस्फोटको धुँवा र बमका छिर्काहरू हामी बसिरहेको घरमा पनि पस्थ्यो ।
तथापि, मेरा हजारौँ सहपाठीले जस्तै मैले पढिरहेँ । स्नातक नहुञ्जेल लगातार पढिरहेँ ।
अध्ययन जारी राख्ने गाजाका विद्यार्थीहरूको अठोट आफैमा एउटा उदाहरण हो । गाजाका विद्यार्थीहरूले अध्ययनलाई माया गर्छन् भन्ने प्रमाण हो । साँचो भविष्य शिक्षामै हुन्छ भन्ने विचारमा गाजाका विद्यार्थीहरूको गहिरो आस्था छ ।
गाजाका विद्यार्थीहरूको शिक्षाप्रतिको प्रेम र भविष्यप्रतिको आस्थालाई मार्न इजरायलले हुनेहुनामी ग¥यो । तैपनि, उनीहरूले भविष्यको किरण देख्न छोडेका छैनन् । अघोर विध्वंसबाटै उठेर गाजाका विद्यार्थीहरूले यो भूमि हाम्रो हो भनी दाबी गर्दै छन् ।
आज पनि विद्यार्थीहरू उत्तिकै कठिनाइ झेल्दै पढिरहेका छन् ।
पढ्न बस्दा र इस्लामी विश्वविद्यालयमा कक्षा लिइरहेको बेला विद्यार्थीहरूले अनेक अवरोध खेप्नुपर्छ । त्यहाँ पहिलो वर्षमा भर्ना भएका विद्यार्थीहरूले धेरै सास्ती झेलिरहेको आयाले सुनाइरहन्छिन् ।
कक्षाकोठा विद्यार्थीले टम्मै भरिन्छन् । सबै विद्यार्थी अटाउने कुनै कोठा छैन ।
आयाले भनिन्, “सन् २००६ र २००७ मा जन्मेका इन्जिनियरिङका सबै विद्यार्थी एउटै कोठामा बस्नुपर्छ ।”
क्याम्पसमा सबै विषय पढाउने स्थिति छैन । सबै भवन ध्वस्त हुनाले सबै विषय पढाउन निकै अप्ठ्यारो छ ।
आया र उनका सबै सहपाठीले एउटै भवनमा पढ्नुपरेको छ ।
तैपनि, उनीहरू कष्ट सहेरै अघि बढ्दै छन् ।
(नादिरा मुसथा गाजामा बस्ने शिक्षिका र लेखिका हुन् ।)
स्रोत : इलेक्ट्रोनिक इन्तिफादा
अनुवाद : सम्यक
Leave a Reply