भर्खरै :

दैलेखमा पार्टी स्थापना दिवस मनाइयो

दैलेखमा पार्टी स्थापना दिवस मनाइयो

दैलेख, १४ माघ । नेपाल मजदुर किसान पार्टी डुङ्गेश्वर गाउँपालिका वडा नं. १ मा पार्टीको ५२ औँ स्थापना दिवस सोमबार मनाइयो ।
कार्यक्रममा नेमकिपा कर्णाली प्रदेश समिति सदस्य उदयजङ शाहीले सरकारमा गएका पुँजीवादी शासकहरूको अकर्मण्यताका कारण देशमा विदेशी हस्तक्षेप, भ्रष्टाचार र पक्षपात बढेको बताउँदै त्यसको विरुद्धमा सङ्घर्ष गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले सरकारमा गएका पार्टीहरू कम्युनिस्ट नभएको उल्लेख गर्दै नेमकिपा कम्युनिस्ट आन्दोलन अगाडि बढाउन स्थापना भएको हो भन्नुभयो ।
नेमकिपा जिल्ला अध्यक्ष जगत वलीले नेमकिपा कामदार जनताको हितमा राजनीति गर्ने पार्टी भएको विचार व्यक्त गर्दै समाजवादी व्यवस्था स्थापना गर्न निरन्तर सङ्घर्ष गरिरहेको बताउनुभयो ।
उहाँले जबसम्म कामदार जनता राजनैतिक र सैद्धान्तिकरूपले सचेत र सङ्गठित हुँदैनन् तबसम्म समाजमा आमूल परिवर्तन नहुने बताउनुभयो ।
कार्यक्रममा वडा समितिका सचिव यामबहादुर वली र के. गौतमले पनि बोल्नुभएको थियो ।
त्यस्तै, नेपाल मजदुर किसान पार्टी डुङ्गेश्वर गापा वडा नं. २ लाकुरीमा पनि स्थापना दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेमकिपा कर्णाली प्रदेश समितिका सदस्य उदयजङ शाहीले नेमकिपाको स्थापना एउटा गर्भिलो ऐतिहासिक दिन भएको उल्लेख गर्दै पार्टी स्थापनाकालदेखि नै देशभक्त र बहुमत कामदार जनताको हितमा निरन्तर सङ्घर्षरत छ भन्नुभयो ।
देशमा व्याप्त भ्रष्टाचार र शोषणविरुद्धका गतिविधिहरू अगाडि बढाइरहेको चर्चा गर्दै उहाँले किसान आन्दोलन, बाली काट्ने आन्दोलन, भर्पाई आन्दोलन, साँढे धपाउ आन्दोलन गरेर किसानको हितमा लागिपरेकोले भक्तपुरको विकास भएको बताउनुभयो ।
नेमकिपा जिल्ला समितिका अध्यक्ष जगत वलीले जबसम्म जनता सचेत हुँदैनन् तबसम्म पुँजीवादले दबाइराख्नेछ भन्नुभयो । विभिन्न स्वार्थहरू देखाएर जनतालाई सङ्गठित हुन नदिन उनीहरूले षड्यन्त्र गरिरहने उहाँले बताउनुभयो ।
उहाँले आफूलाई कम्युनिस्ट ठान्ने ठुला पार्टीहरूले शिक्षा र स्वास्थ्य निःशुल्क, योग्यताअनुसारको काम, कामअनुसारको ज्यालाको व्यवस्था नगरेको विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेमकिपा वडा नं. २ का वडाध्यक्ष रत्नबहादुर खड्का र सदस्य धनबहादुर बिस्टले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *