भर्खरै :

असमान सन्धि सम्झौता खारेजीको आवाज उठाउन नेमकिपा

असमान सन्धि सम्झौता खारेजीको आवाज उठाउन नेमकिपा

भक्तपुर १५ माघ । नेपाल मजदुर किसान पार्टीको ५२ औँ स्थापना दिवसको अवसरमा नेमकिपा चाँगुनारायण नगर समितिले बिहीबार चानपा ३, न्यौपाने गाउँमा नेमकिपाका सचिव एवम् प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रेम सुवालको स्थानीयसँग भेटघाट तथा छलफल कार्यक्रम ग¥यो ।
सचिव सुवालले नेमकिपा देश र जनताको निःस्वार्थ सेवा गर्न र आदर्श समाज स्थापनाको लागि गठन भएको उल्लेख गर्दै आदर्श समाजमा शिक्षा–स्वास्थ्य निःशुल्क, देशमा रोजगारी, आवासको व्यवस्था, सामाजिक न्याय, जनताको उच्च सांस्कृतिक स्तर हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “मानव समाज विकासको सिलसिला जङ्गली युग, दास युग, सामन्तवाद, पुँजीवाद हुँदै कतिपय देश समाजवादसम्म पुगेको र अब साम्यवादतर्फ अघि बढिरहेको छ ।”
सचिव सुवालले ३५ वर्षयताका सरकारहरूले नेपालको ६००० नदीनाला भारतको साझा बनाएको,उत्पादनका मुख्य मुख्य साधन सेवा निजीकरण गरेको, विदेशी पुँजी ल्याएर युवा विदेश पठाएको, कृषिप्रधान देश नेपालमा दाल, चामल, तरकारी, फलफूलसमेत विदेशबाट खर्बौको आयात गरेको बताउनुभयो ।
“नेपाली युवालाई भाडाको सिपाहीँ बनाउने सन् १९४७ को गोर्खा भर्ती केन्द्र, नेपाललाई भारतको सुरक्षा छातामा राख्ने सन् १९५० को नेपाल–भारत सन्धि, नेपालमा अमेरिकी साम्राज्यवादको नीति र कानुन पालना गर्नुपर्ने एमसीसी सम्झौता खारेज गर्नु जरुरी छ” उहाँले भन्नुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी चाँगुनारायण नगर समितिका अध्यक्ष न्हुछेभक्त फोजूले किसान आन्दोलनको जगमा नेपाल मजदुर किसान पार्टी स्थापना भएको प्रस्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *