भर्खरै :

आदर्श समाज स्थापना गर्न नेमकिपा सङ्घर्षरत

आदर्श समाज स्थापना गर्न नेमकिपा सङ्घर्षरत

भक्तपुर, १५ माघ । नेपाल मजदुर किसान पार्टीको ५२ औँ स्थापना दिवसको अवसरमा नेपाल कर्मचारी समाज केन्द्रीय समितिको आयोजनामा ‘नेपालको वर्तमान समसामयिक राजनैतिक विषयमा’ प्रवचन एवम् प्रशिक्षण कार्यक्रम बिहीबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एव्म भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेमकिपाको स्थापना २०३१ माघ १० गते वर्गविहीन आदर्श समाज निर्माण गर्ने लक्ष्यका साथ भएको बताउनुभयो ।
नेमकिपाले पार्टी स्थापनाकालदेखि नै पार्टीले अङ्गीकार गरेको सिद्धान्तबाट अलिकति पनि विचलित नभई काम गर्दै आएको स्पष्ट पार्दै उहाँले राजनीतिक पार्टी अनुशासनहीनहरूको भीड नभई एक आदर्श समाज स्थापना गर्ने लक्ष्यका साथ विचार र सिद्धान्तबाट निर्देशित अनुशासित दस्ताहरूको सङ्गठित शक्ति भएको बताउनुभयो ।
कामदारवर्गलाई शासन सत्तामा पु¥याउने उद्देश्यका साथ नेमकिपा अगाडि बढिरहेको उल्लेख गर्दै केन्द्रीय सदस्य प्रजापतिले नेमकिपा किसान, मजदुर, शिक्षकलगायत कामगरी खानेवर्गको साझा पार्टी भएको बताउनुभयो ।
“समाजवादी व्यवस्थामा मानिसको जन्मदेखि मृत्युपछिसम्मको गर्नुपर्ने सबै बन्दोबस्त राज्यले गरिदिन्छ । नेमकिपाबाट निर्वाचित भक्तपुर नगरपालिकाका जनप्रतिप्रतिनिधिहरूले समाजवादी आधारशिला निर्माणमा सहयोग गर्ने काम गरिरहेको छ । भक्तपुर नगरपालिकाले शिशु स्याहारदेखि कलेजहरू सञ्चालन गर्नुका साथै ख्वप अस्पताल सञ्चालन गरी जनताको सेवा गरिरहेको छ”, प्रमुख प्रजापति भन्नुभयो ।
नेपालजस्तै क्षेत्रफल र जनसङ्ख्यामा सानो देश प्रजग कोरियाले समाजवादी बन्दोबस्त र विचारकै कारण जनतालाई सबै बन्दोबस्त गर्न सकेको र विश्वका महाशक्ति संरा अमेरिकालाईसमेत हाँक दिन सकेको उहाँले बताउनुभयो ।
नेमकिपाले शोषक र सामन्तीको सधै विरोध गर्दै आएको स्पष्ट पार्दै प्रमुख प्रजापतिले ठीकलाई ठीक र बेठीकलाई बेठीक भन्न सक्ने मानिस नै सचेत वर्गमा पर्ने उल्लेख गर्नुभयो ।
शासक दलहरूप्रति असन्तोष बढेकै कारण भदौ २३ र २४ गतेको घटना घटेको चर्चा गर्दै उहाँले उक्त घटना घट्नुमा शासक दलहरू नै मुख्य दोषी भएको बताउनुभयो ।
कर्मचारीहरूले समयमा काम गर्नुपर्ने, दिइएको जिम्मेवारी इमानदारीपूर्वक पालना गर्नुपर्ने उल्लेख गर्दै प्रमुख प्रजापतिले भन्नुभयो, “कर्मचारीहरूको बोली, व्यवहार शिष्ट, नम्र र असल आचरण हुनु जरूरी छ । कर्मचारीहरूमा सिक्ने र सिकाउने भावना विकास गरी नियमित अध्ययन गर्ने बानी बसाल्नु आवश्यक छ ।”
नेपाल कर्मचारी समाजका अध्यक्ष गौतमप्रसाद लासिवाले कर्मचारीहरू आफ्नो हक अधिकार सुनिश्चितताको लागि सङ्गठित भएजस्तै व्यक्तित्व विकास गरी सामाजिक योगदान हुने काममा लाग्नु पनि उत्तिकै जरुरी छ भन्नुभयो ।
शोषणको विरोधमा आवाज उठाउनु र शोषितको पक्षमा आवाज उठाउनु सचेत मानिसको दायित्व भएको उहाँले बताउनुभयो ।
“भक्तपुर उदाहरणीय नगरको रूपमा परिचित हुनुमा नेमकिपाको भूमिका महत्वपूर्ण रहेको छ । नेमकिपाका अग्रजहरूले बढाएको भ्रष्टाचारविरोधी र सफाइ आन्दोलनको सार्थकता अहिले झन् बढ्दै छ”, उहाँले भन्नुभयो ।
कार्यक्रममा नेपाल कर्मचारी समाजका सचिव शिवराम धुख्वा, सदस्य विनोदबहादुर शाही, दिव्यलक्ष्मी बज्राचार्य र दिलिपकुमार श्रेष्ठले नेमकिपाको स्थापना दिवसको औचित्यबारे बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *