भर्खरै :

प्रजातान्त्रिक पथमा हिँडेको इरानलार्ई पश्चिमा साम्राज्यवादले कसरी विमुख ग¥यो ? – २

  • माघ १६, २०८२
  • योगेन्द्र
  • विचार
प्रजातान्त्रिक पथमा हिँडेको इरानलार्ई पश्चिमा साम्राज्यवादले कसरी विमुख ग¥यो ? – २

रेजा शाह पल्हबी

राष्ट्रिय मोर्चा र मोसादेग
सन् १९४४ मा पुनः संसद्मा निर्वाचित भइसकेपछि मोसादेगको एक सूत्रीय योजना थियो – आफ्नो देशको सम्पत्ति खनिज तेललाई राष्ट्रियकरण गरी बेलायती तेल कम्पनीको अन्यायपूर्ण एकाधिकारको अन्त्य गर्ने । इरानको भूमिमा भएको खनिज तेलको उत्खननको लागि बेलायती कम्पनी ‘एन्ग्लो पर्सियन आयल कम्पनी’ (APOC) सन् १९०८ मा नै स्थापना गरिसकेको थियो । पहिलो विश्वयुद्ध सुरु हुनुअगावै सन् १९१४ मा सो कम्पनीले तेलको उत्पादन सुरु गरिसकेको थियो । त्यतिबेला बेलायती सरकारको यस कम्पनीमा ५१ प्रतिशत शेयर थियो । तेलबाट हुने नाफाको १६ देखि १७ प्रतिशतसम्म मात्र इरानले पाउँथ्यो र बाँकी सबै बेलायती कम्पनीको आम्दानी हुन्थ्यो ।
यतिमात्र होइन अझ तेल कारखानामा काम गर्ने इरानी कामदारहरूले उनीहरूको आफ्नै भूमिमा बेलायतीहरूबाट धेरै दुव्र्यवहार र अपमान सहनुपथ्र्याे । यस्तै, अपमानका कारण बेलाबेलामा मजदुरहरूले हडताल गर्थे । यस्तै, एउटा हडतालको क्रममा प्रहरी दमनका कारण २०० जना कामदारले ज्यान गुमाउनुपरेको थियो । यसरी तेलको स्वार्थको कारणले

टाइम म्याग्याजिनले डा. मोसादेगलाई सन् १९५३ को वर्ष पुरुष घोषणा

राजनीतिदेखि अन्य कुरामा समेत बेलायती सरकारको हस्तक्षेपले इरानलाई अप्रत्यक्षरूपमा आफ्नो उपनिवेश बनाउँदै थियो । इरानका देशभक्त जनता यसबाट पार पाउन आतुर थिए । फ्रान्समा उच्च शिक्षा र स्वीजरल्यान्डमा कानुनमा विद्यावारिधी गरेका र इरानी सरकारको विभिन्न ओहडामा बसेर जिम्मेवारी बहनसमेत गर्दै आएका मोसादेग यी कुराबाट अनभिज्ञ थिएनन् । देशलाई विदेशी हस्तक्षेपबाट मुक्त गरी स्वतन्त्र राज्य, कानुनी राज्य, संसदीय प्रणालीको प्रजातन्त्र, धर्म निरपेक्ष र आर्थिकरूपमा समेत स्वतन्त्र राष्ट्र बनाउने उनको महाअभियानप्रति बहुमत इरानी राजनीतिक दल र संसद्मा प्रतिनित्व गर्ने समूहहरूको समर्थन थियो ।
यता मोसादेगको यस देशभक्तिपूर्ण अभियानले बेलायत र उनका कठपुतली रेजा पल्हवी चिन्तित थिए । उनको यस अभियानलाई विफल पार्ने एउटामात्र उपाय निर्वाचनमा धाँधली गरी उनलाई संसद्मा प्रतिनिधि हुनबाट वञ्चित गर्ने । बेलायतको कठपुतली सरकार र बेलायतको तावेदारी गर्ने हुने खाने वर्गले आफ्ना विरोधीलाई पन्छाउन पहिलादेखि गर्दै आएको यो एक षड्यन्त्र थियो । आफ्नो अभियानमा सफल हुन देशभक्तहरूलाई पहिला यही षड्यन्त्रलाई रोक्नु आवश्यक थियो । त्यसैले, निर्वाचन हुनपूर्व निर्वाचन धाँधलीरहित बनाउने माग गरी विशाल प्रदर्शनहरू भए । धेरै राजनीतिक समूहरूको एक मोर्चा गठन गरी यसको नेतृत्व स्वयम् मोसादेगले गरी निर्वाचन स्वतन्त्र र धाँधलीरहित बनाउन सुनिश्चितताको लागि रेजा पल्हवीलाई दबाब दिन थाले । यही अभियानले बेलायती सरकार र रेजा शाह पल्हवीले निर्वाचनमा धाँधली गर्न हिच्किए । निर्वाचनमा मोसादेगले नेतृत्व गरेको त्यही मोर्चा ‘जेबही मेली’ (राष्ट्रिय मोर्चा वा National Front) बन्यो । आखिरमा सन् १९४९ मा भएको आम निर्वाचनमा यही मोर्चाले अत्यधिक बहुमत पायो र संसद्मा ९० प्रतिशतको अत्यधिक बहुमतले मोसादेग प्रधानमन्त्री चुनिए ।
इरानी तेललाई राष्ट्रियकरण गर्ने अभियान
मोसादेग अत्यधिक बहुमतले प्रधानमन्त्री चुनिनुको स्पष्ट अर्थ थियो – इरानी तेलको राष्ट्रियकरण । राष्ट्रिय मोर्चामार्फत मोसादेगले इरानलाई आधुनिकीकरणको बाटोमा दोहो¥याउन विभिन्न नीतिसहितको योजनाको खाका कोरेका थिए । तीमध्ये – कृषिको आधुनिकीकरण र औद्योगिकीकरण गरी तेलमा मात्र निर्भर नरहने राष्ट्रिय नीति, महिला, किसान तथा कामदारवर्गको हक अधिकारको सुनिश्चितता, सामाजिक सुधारहरू, ग्रामीण विकासका लागि कृषकलाई अनुदान आदि थिए । साथै, असंलग्न नीतिलाई राष्ट्रिय नीतिको रूपमा अङ्गीकार गर्ने । तर, यी सबै योजना र नीतिलाई कार्यान्वयन गर्न ठुलो रकम आवश्यक थियो । यसको लागि तेल कारखानालाई राष्ट्रियकरण गर्नु अपरिहार्य थियो । संसद्ले तेल राष्ट्रियकरण गर्ने प्रस्तावलाई मार्च २०, १९५१ मा नै अनुमोदन गरिसकेको थियो । बेलायती सरकारले यस प्रस्तावलाई ठाडो अस्वीकार ग¥यो र रेजा शाह पल्हवीले विधेयकमा हस्ताक्षर गर्न आनाकानी ग¥यो । यतिबेलै प्रस्ट भयो इरानी राजा इरानी जनताप्रति होइन बेलायतप्रति बफादार थिए । जनदबाबका कारण बेलायती तेल कम्पनीले इरान छोड्न बाध्य भयो । भनिन्छ, २०० वर्षको बेलायती साम्राज्यवादको इतिहासमा बेलायत पछि हट्नुपरेको यो पहिलो घटना हो । त्यसैले, बेलायतले इरानको विरोधमा आर्थिक नाकाबन्दीको घोषणा गर्दै सैनिक हस्तक्षेप गर्ने धम्की दियो । अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिलाई बुझेका मोसादेग कूटनीतिक वार्ता र आफ्नो देशको अधिकारको रक्षा गर्न र समस्या समाधानका लागि संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा अपिल गर्न न्युयोर्कसम्म पुगे ।
मोसादेगको अन्तर्राष्ट्रिय कूटनीतिक अभियान
एक सार्वभौम देशको खनिज तेलको राष्ट्रियकरण गर्ने उसको नैसर्गिक अधिकार भएको दलिल पेस गर्दै इरानको तेलको व्यापारबाट बेलायतले सन् १९५० को एक वर्षमा आम्दानी गरेको रकम र उसले विगत ५० वर्षमा इरानलाई बुझाएको रकम बराबर भएको तथ्यसहितको उनको प्रस्तुतीकरणले सबैलाई प्रभावित पा¥यो । तत्कालीन अमेरिकी राष्ट्रपति ह्यारी ट्रुमेनलाई पनि उनले भेटेर बेलायत र इरानबिचको वैमनस्यतालाई अमेरिकाले सहजीकरण गर्न र इरानलाई ऋणको रूपमा आर्थिक सहयोग गर्न आग्रह गरे । करिब ६ हप्तासम्म उनले गरेको यस अभियानलाई पश्चिमा देशहरूले सुनेनन् र उनलाई खाली हात फर्काए । तर, उनको अभियानबाट अन्तर्राष्ट्रिय मिडिया प्रभावित भएर प्रख्यात टाइम म्यागाजिनले उनलाई सन् १९५२ को वर्ष पुरुष घोषणा ग¥यो ।
मोसादेगले हेगस्थित अन्तर्राष्ट्रिय न्यायालयमा बेलायतको इरानविरुद्धको मुद्दाको जवाफमा २०० भन्दा बढी दस्ताबेज पेस गरेका थिए । अन्तमा, अन्तर्राष्ट्रिय अदालतले इरान र बेलायतबिचको तेलसम्बन्धीको विवाद आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भनेर बेलायतको मुद्दा खारेज ग¥यो र लगत्तै संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले पनि इरानकै पक्षमा फैसला ग¥यो । यस घटनाले मोसादेग र इरानप्रति अन्तर्राष्ट्रिय धारणा सकारात्मक त भयो तर देशभित्र विभिन्न विभाजन ल्याउन बेलायत र उनका कठपुतली रेजा पल्हवीले मोसादेगको विरुद्ध षड्यन्त्र रच्न सुरु गरिसकेको थियो । आर्थिक नाकाबन्दी लगाएर तेल बेच्न नपाउने, उनको बाह्य देशमा रहेको सम्पत्ति फ्रिज गर्ने वा जफत गर्ने, इरानको भूमिमा कसैले सामान बेच्न नपाउने तथा अन्य बाधा अड्चन खडा गर्दै गयो ।
मोसादेगविरुद्ध सीआईए र एमआई ६ को विद्रोह
कानुनी लडाइँदेखि नाकाबन्दीसमेतले केही नलागेपछि अमेरिकी केन्द्रीय जासुसी सस्था सीआईएसँग मिली बेलायती जासुसी संस्था एमआई ६ (CIA & MI6) को संयुक्त प्रयासमा मोसादेगलाई सत्ताच्युत गर्ने हिंसात्मक बाटो अपरेसन अजाक्स्
(Operation Ajax) अपनाए । १५ अगस्ट, १९५३ मा असफल भएपछि बेलायत र अमेरिकी गुप्तचर विभाग मिलेर ठुलो शक्ति लगाएर थुप्रैको हत्या गरेर १९ अगस्टमा सत्ता हत्याए । मोसादेग भाग्न त सफल भए तर उनको निवासमा हमला र आगजनी गरे । उनका समर्थक र साथीहरूलाई चरम यातना दिँदै जेलमा कोचे र धेरैको हत्या गरे । उनका विदेशमन्त्री डा. हुसेन फतेमीलाई गिरफ्तार गरी चरम यातना दिई छुरी घोची हत्या गरे । हत्याक्रमलाई रोक्न मोसादेगले गिरफ्तारी दिए । बेलायती साम्राज्यवादले उनलाई देशद्रोहको आरोप लगायो ।
मुद्दाको सुनुवाइको क्रममा उनले भने – हो, मैले पाप गरेँ, आफ्नै देशको तेललाई राष्ट्रियकरण गरी ठुला साम्राज्यहरूले दुर्बल देशहरूमाथि गर्दै आएको राजनीतिक र आर्थिक शोषणलाई निन्दा गरे तथा यसको अन्त गर्न खोजेँ ।… मैले आफ्नो जीवन, सम्पत्ति र परिवारलाई दाउमा राखेर, ईश्वरको कृपा र जनताको आकाङ्क्षालाई शिरोपर गरी यो जङ्गली र घीनलाग्दो अन्तर्राष्ट्रिय षड्यन्त्र र औपनिवेशिक प्रणालीको विरोध गरेँ । मलाई पूर्ण विश्वास छ; मैले गरेको कार्य भविष्यमा सिङ्गो मध्यपूर्वमा औपनिवेशी दासता र पराधीनताको सिक्री चुडाल्न एउटा उदाहरण हुनेछ ।…

प्रधानमन्त्री मोसादेग अन्तर्राष्ट्रिय न्यायालयमा आफ्नो दलिल पेस गर्दै ।

जननिर्वाचित प्रधानमन्त्री मोसादेगलाई देशद्रोहीको आरोप लगाई तीन वर्ष गोलघरमा राखी दुष्ट साम्राज्यवादी बेलायत र अमेरिकाको कठपुतली रेजा शाह पल्हवीको सरकारले निर्मम सजाय दिए । तीन वर्षपछि उनलाई बाँकी जीवन आफ्नै गाउँघर अहमदावादमा नजरबन्दमा बिताउने गरी पठाए जहाँ ८५ वर्षको उमेरमा उनको सन् १९६७ मा देहावसान भयो ।
यसरी दुनियाँभर प्रजातन्त्र र कानुनी राज्यको पाठ सिकाउने पश्चिमा साम्राज्यवादीहरूले एक देशभक्त र जननिर्वाचित नेतालाई हरेक अन्तर्राष्ट्रिय कानुन, मूल्य र मान्यतालाई भत्काउँदै सत्ताच्युत मात्र गरेनन्, देशलाई आधुनिक प्रजातान्त्रिक बाटोमा हिँडाउन लागिपरेका देशभक्तहरूको अपमान र हत्यामात्र गरेनन् – आफ्नो निहित स्वार्थ पूरा गर्न एक निरङ्कुश राजतन्त्रलाई पुनस्र्थापन गरे । इरानी सत्ताको चर्काे आलोचना गर्ने लेखक सलमान रुस्दीले बेलायत र अमेरिकाको इरानी प्रजातन्त्र विरुद्धको यस कदमको घोर विरोध गर्दै आएका छन् ।
यो अपमानको बदला इरानी जनताले बल्ल २६ वर्षपछि सन् १९७९ इरानी जनक्रान्तिमार्फत रेजा शाह पल्हवीको सरकारलाई अपदस्थ गरी अमेरिका र बेलायतको साझा स्वार्थको अन्त गरे । यसैलाई निहुँ बनाई आज पर्यन्त अमेरिकाले ४६ वर्षदेखि इरानको विरोधमा आर्थिक नाकाबन्दी लगाउँदै उसको अर्थतन्त्रलाई ध्वस्त बनाउँदै आएको छ ।
तर, इजरायल र अमेरिकी जनताले बुझेकै विषय हो । इरान इरानी जनताको हो, अफगानिस्तान, इराक र सिरिया पनि इरानका छिमेकी देश हुन् । प्राचीन सभ्यताको यो देशका जनता भलै आफ्ना शासकलाई रुचाउँदैनन् तर देशलाई शिरमा राख्छन्, उनीहरूको देशप्रतिको अगाध माया र देशभक्तिको भावनाको कारण विदेशी हस्तक्षेप र दमनलाई सहँदैनन् । इतिहासले यही देखाउँदै आएको छ ।
विदेशी शक्तिले जतिसुकै कठपुतली सरकारमार्फत देश चलाउन खोजे पनि इरानी जनताले त्यसको प्रतिकार र बदला लिँदै आएको छ । आज फेरि अमेरिका र इजरायलले इरानमा हमला गरी कठपुतली सरकारलाई स्थापित गरेमा पनि त्यो कठपुतली सरकारलाई पनि इरानी जनताले ढिलो वा चाँडो फ्याँक्ने छन् ।
–समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *