भर्खरै :

भ्रष्टको मकुन्डो र निरीह जनताको नियति

भ्रष्टको मकुन्डो र निरीह जनताको नियति

नेपालको राजनीतिक रङ्गमञ्चमा एउटा यस्तो विद्रूप प्रहसन बारम्बार मञ्चन भइरहन्छ, जहाँ पात्रहरू उही हुन्छन् र प्रवृत्ति पनि उस्तै रहन्छ; मात्र चुनावको मिति र पात्रहरूले लगाउने मकुन्डो फेरिएको हुन्छ । लोकतन्त्रको आदर्श सिद्धान्तअनुसार निर्वाचन नागरिकका लागि आशाको नयाँ किरण र परिवर्तनको ढोका बन्नुपर्ने हो तर नेपाली सन्दर्भमा यो एउटा विडम्बनापूर्ण कर्मकाण्ड मात्र बनेको छ । उम्मेदवारको सूची पल्टाएर हेर्ने हो भने त्यहाँ देश बनाउने स्पष्ट मार्गचित्र र भिजन बोकेका चिन्तकहरूभन्दा पनि भ्रष्टाचारको दलदलमा डुबेका, अदालतको कठघरामा उभिनुपर्ने हैसियत भएका र गुण्डागर्दीको आडमा सत्ताको सिँढी चढ्न खोज्ने पात्रहरूको बाहुल्य देखिन्छ । यसले हाम्रो लोकतन्त्र कता जाँदै छ भन्ने गम्भीर प्रश्नमात्र उठाएको छैन बरु बदनाम अनुहारहरूलाई नै पुनः ‘वैधानिकता’ दिलाउने एउटा कानुनी र संवैधानिक प्रपञ्चको रूपमा निर्वाचनलाई स्थापित गरिदिएको छ ।
हामीकहाँ देखिएको यस प्रकारको राजनीतिक गतिरोधको सबैभन्दा बिझाउने र पीडादायी पक्ष नेतृत्वमा देखिएको अचाक्ली जडता र शक्तिको आशक्ति हो । जब सत्ता र शक्तिको वरिपरि घुमिरहन्छ, तब त्यहाँ राजनीतिक विचारको सट्टा केवल व्यक्तिगत स्वार्थको खेती मौलाउन थाल्छ, जसले पार्टीलाई एउटा जीवन्त संस्थाबाट गुटको झुण्डमा परिणत गरिदिन्छ । यही निराशाको गर्भबाट निस्केको स्वर अहङ्कारविरुद्धको एउटा कडा मानसिक विद्रोह हो ।
ठुला भनिएका पात्रहरूमा “मभन्दा ठुलो र जान्ने अरू कोही छैन” भन्ने एउटा भयानक र विषाक्त अहङ्कार पलाएको छ, जसले उनीहरूलाई सामाजिक नैतिकताभन्दा माथि राखेको छ । यो अहङ्कारले उनीहरूलाई यति अन्धो बनाएको छ कि उनीहरू आफूलाई कानुन, संविधान र मानवीय मूल्य–मान्यताभन्दा धेरै माथि ठान्छन् र राज्यका स्रोतहरूलाई निजी बक्सिस जस्तै ठान्छन् । उनीहरूका लागि राजनीति सेवा होइन, बरु एउटा यस्तो आकर्षक लगानी हो जहाँबाट अकुत सम्पत्ति, असीमित शक्ति र सात पुस्तालाई पुग्ने वैभव आर्जन गर्न सकिन्छ । सत्तामा पुग्नका लागि उनीहरूले गर्ने प्रपञ्च र जालझेल कुनै प्रख्यात जासुसी उपन्यासको काल्पनिक कथाभन्दा कम हुँदैन, जहाँ निष्ठा र आदर्शको कुनै स्थान रहँदैन । सत्ता र व्यक्तिगत स्वार्थको रक्षाका लागि यिनीहरू जस्तोसुकै अपवित्र र अस्वाभाविक साँठगाँठ गर्न पनि माहिर छन्, जसले राजनीतिको उच्च गरिमा र निष्ठालाई सडकको धुलोमा मिसाइदिएको छ ।
सिद्धान्तहीन राजनीतिको पराकाष्ठा तब देखिन्छ, जब हिजोसम्म एकअर्कालाई ‘राष्ट्रिय शत्रु’, ‘अवसरवादी’ वा ‘भ्रष्ट’ भनेर गाली गर्नेहरू आज कुर्सीको गणित मिलाउन अङ्गालो हाल्दै एकअर्काको गुनगान गाउन थाल्छन् । यिनीहरूको बोलीमा ओठे प्रतिबद्धता र समृद्धिका गफ त टन्नै हुन्छन् तर कार्यशैलीमा भने सधैँ व्यक्तिगत लाभ, नातावाद र राष्ट्रिय ढुकुटीको दोहन गर्ने दाउपेच मात्र लुकेको हुन्छ । यो नैतिकताहीन राजनीतिको सबैभन्दा ठुलो असर राज्यका संयन्त्रहरूमा परेको छ, जहाँ विधि र पद्धतिभन्दा नेताको आदेश र खल्तीका मान्छेहरू हाबी हुने गरेका छन् । शक्तिको उन्मादमा रहेका यस्ता पात्रहरूले राज्यलाई एउटा निजी कम्पनी जस्तो बनाइदिएका छन्, जहाँ नागरिकका आधारभूत आवश्यकताभन्दा पनि नेताका आसेपासेहरूको विलासिताले प्राथमिकता पाउँछ । यसरी राजनीतिको अपराधीकरण र अपराधको राजनीतीकरणले गर्दा आज आम मानिसले राज्यका संस्थाहरूप्रति पूर्ण भरोसा गुमाउँदै गएका छन् ।
समाजको सबैभन्दा ठुलो विडम्बना के छ भने, यस्ता बदनाम पात्रहरूको वरिपरि पनि एउटा ठुलो ‘भक्त मण्डली’ निरन्तर घुमिरहेको र उनीहरूको कुकर्मको प्रतिरक्षा गरिरहेको भेटिन्छ । यो भक्त मण्डलीको संरचना निकै रोचक र उत्तिकै भयावह छ, जसमा नेताको आशीर्वादबाट सानोतिनो व्यक्तिगत फाइदा लिएका र लिन चाहने स्वार्थी समूहहरूको वर्चस्व छ । कसैले आफ्ना मान्छेलाई नियम मिचेर जागिर खुवाए होलान्, कसैले ठेक्कापट्टा हात पारे होलान् त कसैले आफ्नो कानुनी लफडा वा अपराधबाट नेताको आडमा उन्मुक्ति पाए होलान् । “जसको नुन खायो, उसैको गुन गाउनुपर्छ” भन्ने एउटा सङ्कुचित, पुरातनवादी र दास मानसिकताले यी मानिसहरूलाई यसरी जकडेको छ कि उनीहरू विवेकको आँखा चिम्लेर बस्छन् । उनीहरूका लागि देशको बर्बादी र भविष्यको चिन्ताभन्दा नेताको खुसी र आफ्नो स्वार्थको रक्षा ठुलो भएको छ, जसले भ्रष्टहरूलाई झन् बढी शक्तिशाली र निडर बनाइरहेको छ ।
समाजका विकृतिविरुद्ध बोल्नुपर्ने र सत्यको पक्षमा उभिनुपर्ने बौद्धिक भनिएको तप्का नै जब भ्रष्टको झन्डा बोकेर हिँड्न थाल्छ, तब समाजको नैतिक पतनको पराकाष्ठा सुरु हुन्छ । ती भक्तहरू र तथाकथित बुद्धिजीवीहरू यो बुझ्न चाहँदैनन् कि नेताले उनीहरूलाई दिएको त्यो सानो ‘बक्सिस’ वास्तवमा राष्ट्रको ढुकुटीबाट लुटिएको अर्बौँको हिस्साको एउटा सानो अंशमात्र हो । उनीहरू आफ्नो क्षणिक र तुच्छ फाइदाका लागि समग्र देश र आउने पुस्ताको भविष्यलाई निर्ममतापूर्वक भ्रष्टको हातमा सुम्पिन तयार हुन्छन् । नेताको भक्तिमा अन्धो भएका यी झुण्डहरूले नै समाजमा ‘गुण्डा संस्कृति’ र ‘दलालतन्त्र’ लाई संस्थागत गरिरहेका छन्, जसले गर्दा इमानदार मानिसहरू पाखा लाग्दै गएका छन् । उनीहरूले विवेकको ढोका पूर्णतः बन्द गरेका छन् र केवल शक्तिको भजन गाउन सिकेका छन्, जसले लोकतन्त्रको आधारभूत जगलाई नै खोक्रो बनाइरहेको छ ।
यहीँनेर सबैभन्दा बढी मारमा परेका छन् – सोझा, इमानदार र निरीह जनता, जसलाई सधैँ राजनीतिक दलहरूले आफ्नो भोट बैङ्कको रूपमा मात्र प्रयोग गरिरहेका छन् । आम नागरिकलाई एउटा यस्तो मनोवैज्ञानिक जालमा फसाइएको छ कि उनीहरूलाई लाग्न थाल्छ – तिनै पुराना, पटक–पटक परीक्षण भएका र असफल साबित भएका पात्रहरू नै उनीहरूको भाग्य र भविष्यका मसिहा हुन् । विकल्पको अभाव देखाइने डरलाग्दो वातावरण, चरम गरिबी र “जसलाई जिताए पनि हुने त उस्तै हो” भन्ने चरम निराशाको फाइदा तिनै भ्रष्टहरूले योजनाबद्ध रूपमा उठाइरहेका छन् । कस्तो उदेकलाग्दो स्थिति छ भने, जसले दशकौँदेखि देशको स्रोत–साधनलाई निजी सम्पत्तिझैँ दोहन गरे, तिनैले आज फेरि ‘नयाँ नेपाल’ र ‘समृद्धि’ को नारा घन्काउँदै भाषण गरिरहेका छन् ।
यो एउटा यस्तो विद्रूप चक्रव्यूह हो जहाँ पीडक नै ‘मुक्तिदाता’ को भेषमा आउँछ र पीडितहरू उसैको जयजयकार गर्न विवश पारिन्छन् ।
जनता निरीह छन् भनिए पनि, वास्तवमा लोकतन्त्रमा सार्वभौम शक्ति तिनैको हातमा लुकेको हुन्छ, तर त्यो शक्तिलाई प्रयोग गर्ने चेतनालाई भ्रष्टहरूले कहिल्यै उकासिन दिएनन् । उनीहरूले जनतालाई सधैँ अभाव, अशिक्षा र अन्योलमा राख्न चाहे, ताकि आफ्नो सत्ताको आयु लम्ब्याउन सजिलो होस् र कोही प्रश्न गर्ने हिम्मत नगरोस् । जबसम्म एउटा मतदाताले चुनावको अघिल्लो रात बाँडिने केही हजार नगद वा मासु–चिउराभन्दा आफ्नो बच्चाको शिक्षा र स्वास्थ्यको भविष्य ठुलो देख्दैन, तबसम्म यो अवस्था बदलिनेवाला छैन । जबसम्म मानिसहरूले ‘नुनको सोझो’ गर्ने दास र ‘देशको सोझो’ गर्ने जिम्मेवार नागरिकबिचको लक्ष्मणरेखा छुट्याउन सक्दैनन्, तबसम्म भ्रष्टहरूको यो रजगज कायमै रहनेछ । हामीलाई कागजी रूपमा स्वतन्त्रता त मिल्यो, तर आफ्नै स्वतन्त्र विवेक प्रयोग गर्ने साहस र इमानदारी अझै आउन नसक्नु नै हाम्रो लोकतन्त्रको सबैभन्दा कमजोर कडी हो ।
नेपाललाई सुन्दर बनाउने कुरा केवल भाषणमा सीमित हुनुको मुख्य कारण नै गलत हातमा सही शक्ति र स्रोत पुग्नु हो । हामीले जसलाई आफ्नो भविष्यको रक्षक ठान्यौँ, उनीहरू नै भक्षक निस्किए र राज्यको ढुकुटीलाई आफ्नो मोजमस्तीको साधन बनाए । कतिपयलाई लाग्न सक्छ कि यहाँ अब केही हुनेवाला छैन, तर वास्तवमा हाम्रो मौनताले नै उनीहरूलाई झन् बढी साहसी, निरङ्कुश र छाडा बनाएको हो । जब हामी गलतका विरुद्ध बोल्न छाड्छौँ, तब गलत गर्नेहरूले यसलाई आफ्नो जन्मसिद्ध अधिकार ठान्न थाल्छन् र समाजमा दण्डहीनता मौलाउँछ । तिनका अहङ्कारलाई तोड्न र यो विद्रूप राजनीतिक नाचलाई रोक्न अब साँचो अर्थमा नागरिक विद्रोहको आवश्यकता छ – जुन सडकमा मात्र होइन, मतपत्र र हाम्रो सोच्ने शैलीमा प्रतिबिम्बित हुनुपर्छ ।
अन्त्यमा, चुनाव भनेको एउटा प्रतिनिधि छान्ने प्रक्रियामात्र होइन, यो त आफ्नो विवेक र राष्ट्रप्रतिको जिम्मेवारीको कठीन परीक्षा पनि हो । यदि हामीले फेरि पनि तिनै दलाल, भ्रष्ट, अहङ्कारी र अपराधीहरूलाई नै आफ्नो नेता मान्ने पुरानो गल्ती दोहो¥यायौँ भने, इतिहासले हामीलाई क्षमा गर्नेछैन । अबको समय ‘अन्धभक्त’ बनेर दौडिने होइन, सचेत ‘नागरिक’ बनेर प्रश्न गर्ने र सही विकल्प रोज्ने समय हो । नत्र, हाम्रा आउने पुस्ताले पनि हामीले भोगिरहेकै यो विवशता, भ्रष्टाचार र अन्धकारलाई नै आफ्नो स्थायी नियति मान्नुपर्नेछ । यो दुष्चक्रलाई तोड्ने साँचो हामी प्रत्येक नागरिककै हातमा छ, मात्र खाँचो छ त त्यो साँचोलाई सही समयमा र सही ठाउँमा प्रयोग गर्ने साहस र सङ्कल्पको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *