भर्खरै :

भदौ २४ को आगजनी : ४० घण्टासम्म शीतल निवास जलिरह्यो, एउटै दमकल गएन निभाउन –१

  • माघ १७, २०८२
  • रुद्र पङ्गेनी र शमशाद अहमद
  • विचार
भदौ २४ को आगजनी : ४० घण्टासम्म शीतल निवास जलिरह्यो, एउटै दमकल गएन निभाउन –१

सङ्घीय राजधानी जलिरहँदा काठमाडौँ महानगरपालिका मातहतका दमकल स्टेसनभित्र ‘माथिको आदेश’ कुरेर बसिरहेका थिए । दमकल निकाल्न रोक्ने त्यो ‘माथिको आदेश’ कसको
थियो ?
भदौ २४ गते दिउँसो तीन बजेतिर राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा सदर गरेलगत्तै राष्ट्रपति कार्यालय शीतल निवासमा तोडफोड सुरू भयो । त्यसको केही बेरमै त्यहाँ लगाइएको आगो २६ गते बिहानसम्म पनि बलिरहेको थियो ।
राष्ट्रपति कार्यालय जल्दा डेढ दशकअघि कार्यालय स्थापना भएयताका महत्वपूर्ण दस्ताबेज, राजदूतहरूले बुझाएका ओहोदाका प्रमाणपत्र, औपचारिक भेटघाटका लागि सजिसजाउ बैठक, सुरक्षा नियन्त्रण कक्ष र शीतल निवासमा परराष्ट्र मन्त्रालय बसेको बेलादेखिका ऐतिहासिक कलाकृति, विदेशी राजनेता–पाहुनाले दिएका उपहार सबै जलेर खरानी भए ।
भदौ २४ र त्यसपछिका दुई दिनभित्र राज्यका तीन प्रमुख अङ्ग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका बसेका सिंहदरबार, सर्वोच्च अदालत र संसद् भवन अर्थात् नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रजस्ता महत्वपूर्ण राजकीय संरचना, कैयौँ महत्वपूर्ण अभिलेख तथा सामग्रीहरू खरानी भइसकेका थिए । विद्रोहको बहानामा प्रमुख राजकीय संरचनालाई एकै घानमा आगजनी गरिएको त्यो क्षण जनताको करबाट किनिएका दमकलहरू र तलबभत्ता बुझ्ने दमकल सञ्चालक संस्थाका पदाधिकारी, कर्मचारी तथा अग्निनियन्त्रकहरू कहाँ के गर्दै थिए ? यसबारे हिमालखबरले सोधखोज गरेको छ, विशेषगरी सूचनाको हकको अधिकार प्रयोग गर्दै ।
प्राथमिकतामा परेनन् राष्ट्रपति
२४ गते राति १० बजेदेखि नेपाली सेना परिचालन भएको थियो । उसकै खटनपटनमा दमकलहरू आगो निभाउन स्टेसनबाट निस्केका थिए । उपत्यकामा सेनाका आफ्नै तीन वटा दमकल छन् । तर आफ्नै परमाधिपतिको कार्यालयको आगो निभाउन सेनाले तिनको परिचालन गरेन । आफ्ना दमकलले नभ्याए उपत्यकामा काठमाडौँ महानगरका पाँच र अन्य निकायका दमकलहरूसमेत लगेर आगो निभाउन सक्थ्यो । तर ४०÷४० घण्टासम्म राष्ट्रप्रमुखको कार्यालय जलिरहँदा पनि आगो निभाउन सेनाका आफ्नै वा अन्य कुनै निकायका दमकल नगएको तथ्य फेला परेको छ ।
यो तथ्य पत्ता लगाउन हामीले उपत्यकामा दमकल सञ्चालन गर्ने नेपाली सेना, काठमाडौँ महानगरपालिका अन्तर्गतका तीन दमकल स्टेसन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, ललितपुर महानगरपालिका, जुद्ध बारुणयन्त्र कार्यालय, भक्तपुर र बूढानीलकण्ठ नगरपालिकाका दमकल सञ्चालनको लगबुकको अध्ययन गर्यौं । नेपाल प्रहरी, कागेश्वरी–मनोहरा नगरपालिका, नागार्जुन नगरपालिकाका दमकल सञ्चालनमा रहे÷नरहेकोबारे सोधपुछ गर्यौं । त्यसपछि हामी निष्कर्षमा पुग्यौँः राष्ट्रपति कार्यालयमा ४० घण्टासम्म आगो बलिरहँदा पनि त्यहाँ कुनै दमकल आगो निभाउन पुगेन ।
यस कुरालाई थप पुष्टि गर्न हामीले राष्ट्रपति कार्यालयका उच्च तहका कर्मचारीसँग पनि कुराकानी ग¥यौँ । मिडियामा आधिकारिक तवरमा बोल्न नचाहेका ती कर्मचारीले कार्यालयमा राष्ट्रपतिले विदेशी पाहुना भेट्ने बैठक कक्षको उत्तरपट्टि २६ गते बिहानसम्म आगो बलिरहेको जानकारी दिए । “म २५ गतेदेखि नै कार्यालय गएको थिएँ । आगो बलिरहेको थियो । कोही अपरेसनमा थिएनन् । अब एउटा कोठा बचाएर के नै होला, कति नै जोगिएला र भन्ने लाग्यो,” उनको भनाइ थियो ।
राष्ट्रपति कार्यालयको सुरक्षार्थ सहायक रथीको नेतृत्वमा सेनाको करीब २५० जनाको एक टुकडी त्यहाँ तैनाथ छ । आगलागी भइरहँदा पनि नेपाली सेना राष्ट्रपति कार्यालय परिसरमै भएको विभिन्न भिडियो फुटेजमा देखिन्छ । २४ गते राति १० बजे सेना सडकमा आएदेखि आगो बलिरहेको देखिएको अन्तिम समय २६ गते बिहानसम्म पनि राष्ट्रपति कार्यालयमा सेनाले नै पहरा दिइरहेको थियो । तैपनि राष्ट्रपतिको कार्यालय बेवारिसे भएर जलिरह्यो । हामीले राष्ट्रपति कार्यालयका सूचना अधिकृत अर्चना खड्का अधिकारीसँग कुन दमकलले आगो निभाएको थियो भनेर लिखित सूचना माग गर्दा उनी ‘कार्की जाँचबुझ आयोगले यसबारे अध्ययन गरिरहेको’ भनेर पन्छिन खोजिन् ।
राष्ट्रपतिको कार्यालय काठमाडौँ महानगरपालिका, वडा नम्बर–३ मा पर्छ । उक्त वडाका सदस्य केशवप्रसाद श्रेष्ठको घर राष्ट्रपति कार्यालयको ठीक दक्षिणपट्टि बाटोपारि नै छ । पुस ९ गते हिमालखबरसँगको कुराकानीमा श्रेष्ठले भने, “२५ गते दिनभर पनि कार्यालय जलिरहेको देखेको थिएँ । त्यतिबेला हामी पनि त्रस्त थियौँ । घरमै बसेका थियौँ । दमकल आएको देखिन । दमकललाई स्टेसनबाट बाहिर निस्किन दिइएको छैन भन्ने सूचना पाइसकेका थियौँ । अर्कोदिन जलिसक्यो भनेर हामीले पनि केही गरेनौँ ।” श्रेष्ठले २४ गते आगलागीपछि पनि राष्ट्रपतिको कार्यालय परिसरमा सेना तैनाथ रहेको देखेका थिए । केशवप्रसादजस्तै राष्ट्रपति कार्यालयको मूलद्वारको पारिपट्टि घर भएका अकलमान श्रेष्ठले पनि राष्ट्रपति कार्यालयमा २४ गतेदेखि दिनभरि र रातभरि आगो लागेको तर कुनै दिन पनि दमकल नदेखेको दाबी गरे ।
राष्ट्रपति कार्यालयबाट नजिकै बाटोपारि छ, कामनपाको ३ नम्बर वडा कार्यालय । हामीले वडाध्यक्ष प्रेम थापालाई राष्ट्रपति कार्यालयको आगो निभाउन महानगरको दमकल किन आएन भनेर प्रश्न गर्दा उनले ‘सुरूमा त दमकल आएको’ बताए तर महानगरले हामीलाई उपलब्ध गराएको ‘लगबुक’ नै देखाएपछि विपद् व्यवस्थापन विभागसँग सोधेर जवाफ दिन्छु भनेर तर्किए । त्यसपछि पटक–पटक फोन गर्दा पनि सम्पर्कमा आउन चाहेनन् । हामीले राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश शाक्यलाई इमेलमा दमकल बोलाएर किन आगो निभाउन नलगाउनुभएको भनेर सोध्यौँ, तर इमेल प्राप्त गरेको स्वीकार गरेका उनले जवाफ नै दिएनन् ।
त्यसपछि हामीले भदौ २४ गते राति १० बजे सेना परिचालित भइसकेपछि पनि किन राष्ट्रपति कार्यालयको आगो निभाउनुभएन भन्नेसहित आठ वटा प्रश्न सोधेर नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतलाई इमेल पठायौँ । उनले जवाफमा दमकलले आगो निभाएको हो÷होइन भन्ने नखुलाई ‘शीतल निवासको आगलागी छिटोभन्दा छिटो नियन्त्रणमा लिई राष्ट्रपति निवासलाई सुरक्षित राखिएको’ बताए । प्रवक्ताको लिखित जवाफमा बिनादमकल कसरी आगो नियन्त्रण गरियो भन्नेबारे केही खुल्दैन ।
परमाधिपतिको कार्यालयमात्र नभई नेपाली सेनाको मुख्यालय नजिकैका सिंहदरबार, सर्वोच्च अदालत र संसद् भवन पनि आगोबाट जोगाउन नगएको भन्ने आरोप लागेपछि, नेपाली सेनाले घटनाको महिना दिन नाघिसकेपछि असोज ३१ गते पत्रकार सम्मेलन गरेर ‘२५ गते बिहान आठ–नौ बजेतिर अधिकांश ठाउँमा लागेको आगो निभाइएको’ दाबी ग¥यो । तर त्यस विपरीत रेडियो नेपालको २६ गते बेलुकी ७ः०० बजेको समाचार बुलेटिनमा सिंहदरबारको मुख्य भवनमा आगो बलिरहेको कुरा प्रसारण भएको थियो ।
हामीले २६ गते साँझसम्म सिंहदरबार जलिरहेको समाचार दिने रेडियो नेपाल र वरपरका कार्यालयका कर्मचारीहरूसँग पनि कुरा ग¥यौँ । सबैले महानगर र नेपाली सेनाका दमकल सिंहदरबार र सर्वोच्च अदालतमा आगो निभाउन जाँदै–फर्किंदै गरेका भेटिए पनि सेनाले दाबी गरे जस्तो २५ गते बिहान आठ–नौ बजेतिर त्यहाँको आगो निभिसकेको थिएन । रेडियो नेपाल सिंहदरबारको मुख्य भवनको दक्षिणपट्टि छेउमै छ । २४ गते बिहानदेखि २५ गते साँझ पाँच बजेसम्म रेडियो नेपालको गेटमा निरन्तर सुरक्षा दिइरहेका नारायणबाबु श्रेष्ठले केही दमकलले २४ गते राति केहीबेर आगो निभाउने काम गरिराखेको देखेको बताए । “तर त्यसपछि भोलिपल्ट साँझ पाँच बजेसम्म म यहीँ ड्युटीमै थिएँ, एउटै पनि दमकल आएको देखिनँ,” उनी भन्छन्् । उनीबाहेक रेडियो नेपालका केही पत्रकारसहित छ जना कर्मचारीले पनि २५ गते दिनभरि नै सिंहदरबारमा आगो बलिराख्दाखेरि दमकल नदेखेको बताए । २४ गते बेलुका खुमलटार स्टेसनबाट सञ्चालन भएको रेडियो नेपाल २५ गते सिंहदरबारबाटै सञ्चालन भएको थियो र सबै कर्मचारी काममा आइसकेका थिए ।
सेनाले २५ गते बिहानसम्म सबैतिर आगो निभिसक्यो भनेर किन भ्रामक जानकारी दिएको भनी प्रश्न गर्दा नेपाली सेनाले हिमालखबरलाई दिएको जवाफमा ‘दमकलको प्रयोगले आगो पूर्ण नियन्त्रणमा आउन कठिन हुनुका साथै बाहिरबाट नियन्त्रण भएको आगो पुनः हावाको बेगसँगै सल्कने गरेको देखिएको’ भन्ने लेखेको छ ।
कहाँ थिए दमकल ?
भदौ २४ मा ललितपुर महानगरपालिकाका चार दमकल दिनभरि महानगरभित्र आगो निभाउन दौडिएका र कतै अवरोध हुँदा जावलाखेल स्टेसन फर्किएर नयाँ सूचना पाउनासाथ अर्को ठाउँमा आगो नियन्त्रण गर्न पुगिरहेका थिए । त्यस क्रममा करीब चार बजेतिर जावलाखेल चोकमा एउटा समूहले ललितपुरको दमकल (बा १ क ९५१३) नै जलाइदियो । ललितपुरका दमकलहरू आगजनीको सामना गर्न व्यस्त भइरहँदा काठमाडौँ महानगरपालिकाका न्यु रोड, बौद्ध, रामहिटी र बालाजु स्टेसनका पाँच वटा दमकल भने ‘सुरक्षा नभएको’ र ‘आदेश नपाएको’ कारण देखाउँदै भदौ २४ को बेलुकी आठ बजेसम्म बाहिर निस्केनन् । दिउँसो डेढ बजेदेखि सिंहदरबार र त्यस लगत्तै सर्वोच्च अदालतमा आगो लगाइएको थियो । तर, त्यहाँबाट डेढ किलोमिटर मात्र पर भएका जुद्ध बारुणयन्त्र, न्यु रोड स्टेसनका दमकल राति सवा आठ बजेपछि मात्रै सिंहदरबार गए ।
सिंहदरबारको कुरा छोडौँ, न्युरोडस्थित दमकल स्टेसनबाट ५० मिटर परको विशालबजारमा रहेको जनसेवा प्रहरी वृत्त जलिरहँदा पनि दमकल बाहिर निस्केनन् । स्थानीय बासिन्दा र विशालबजारका सुरक्षाकर्मीहरूका अनुसार, दमकलका कर्मचारी ‘आदेश छैन’, ‘सुरक्षा छैन’ भन्दै गेटसमेत नखोली बसिरहे । घनाबस्तीमा आगो फैलिने त्रासले स्थानीयहरू रोइकराइ गरेपछि मात्रै बेलुकी आठ बजेतिर जनसेवा प्रहरी वृत्तमा दमकल गएको थियो । महानगरपालिकाले हामीलाई दिएको लगबुक विवरणमा बेलुकी ७ः५५ मा एउटा दमकल प्रहरी वृत्तमा गएको देखिन्छ । दमकल स्टेसनले ५० मिटर परको आगो पनि बेलैमा निभाउन नखोज्नुलाई सम्पदा संरक्षण अभियन्ता गणपतिलाल श्रेष्ठ महानगरको ‘दमकल ननिकाल्ने अघोषित कार्य’ भनी टिप्पणी गर्छन् ।
नेपाली सेनाको सुरक्षामा न्युरोडको दोस्रो दमकल र बालाजु औद्योगिक क्षेत्रका दुईमध्ये एक दमकल बेलुकी सवा आठ बजे सँगसँगैजसो सिंहदरबार गएको लगबुक तथ्याङ्कले देखाउँछ । ती दमकलले आगो निभाइरहेकै बेला नौ बजे जङ्गी अड्डामा प्रधानसेनापति अशोकराज सिग्देल राष्ट्रका नाममा सम्बोधन गर्दै थिए । उनले जनधनको सुरक्षार्थ १०ः०० बजे नेपाली सेना परिचालन हुने घोषणा गरे, तर सहर बलिरहेको बेलामा आगो निभाउने कुनै सूचना, योजना वा निर्देशनबारे केही बोलेनन् ।
उता सडकमा सेना नआइपुग्दै सिंहदरबारको आगो निभाइरहेका दुई दमकल जलिरहेको सिंहदरबार अलपत्र छाडेर अन्यत्रै हिँडे । त्यसमध्ये न्युरोडको दमकल १ घण्टा १५ मिनेट र बालाजुको दमकल ४ घण्टा कहाँ गएर बसे लगबुक रेकर्डमा भेटिंदैन । ती दमकल एकैचोटि २५ गते बिहान पौने दुई बजे फेरि सिंहदरबार आइपुग्छन् र रामहिटीबाट आएको थप एउटा समेत गरी तीन वटा दमकल त्यहाँ सवा घण्टा जति काम गरेर पुनः बाहिर निस्कन्छन् ।
२५ गते बिहान तीन बजे सिंहदरबारबाट हिँडेका न्युरोड, बालाजु र रामहिटीका दमकल त्यसपछि पाँच घण्टा र सोभन्दा बढी समय कामविहीन बसेको महानगरको लगबुकले देखाउँछ । यस्तो अवस्थामा आगो निभाउने काममा लागिसकेका दमकल जलिरहेको ठाउँ त्यत्तिकै छाडेर अन्यत्र जानै नसक्ने सेवानिवृत्त अग्निनियन्त्रक विश्वराम थापाको भनाइ छ । उनी भन्छन््, “त्यस्तो भएको हो भने किन भयो भनेर सम्बन्धित निकायले बताउन सक्नुपर्छ ।”
काठमाडौँ महानगरपालिकाको लगबुक हेर्दा महानगरका पाँच दमकल २४ गते बेलुकी आठ बजेदेखि राति १२ बजेसम्म अर्थात् चार घण्टा चल्न सक्ने समयको गणना गर्दा कुल २० घण्टा चलेको हुनुपर्ने हो । तर, लगबुक तथ्याङ्कले ६ घण्टा २५ मिनेट खाली बसेको देखाउँछ । यसैगरी २५ गते पाँच वटा दमकलको कुल उपलब्ध समय १२० घण्टामा ५६ घण्टा अर्थात् झण्डै आधा समय र २६ गते पनि १२० घण्टामा ७८ घण्टा अर्थात् ६५ प्रतिशत समय कामै नगरी खाली बसेका देखिन्छन् ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहको विश्वासपात्र तथा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले २ असोजमा गरेको पत्रकार सम्मेलन र २१ असोजमा मेयर साह स्वयंले लेखेको ९५० शब्दको फेसबूक स्ट्याटसमा दमकल सञ्चालनमा भदौ २४ गते दिउँसोको समयमा शान्ति सुरक्षाबाहेक अन्य कुनै समस्या नआएको र त्यसपछि महानगरको ४४ जनाको अग्निनियन्त्रक टीमले रातदिन नभनी तीन सिफ्टमा काम गरेको दाबी गरिएको थियो । दुवैको वक्तव्यमा सेना परिचालन भइसकेपछि दमकल चल्न कुनै समस्या भएको कुरा उल्लेख थिएन ।
दमकल सञ्चालनबारे देखिएका माथि भनिए जस्ता गम्भीर तथ्यहरूसहित हामीले महानगरका प्रमुख बालेन्द्र साह र सहप्रवक्ता ध्रुव काफ्लेलाई इमेल पठाएर १४ वटा प्रश्न सोधेका थियौँ । उनीहरूले ती प्रश्नहरूको छुट्टाछुट्टै उत्तर नदिई ‘प्रतिकार्यमा देखिएका समस्याहरू’ शीर्षकमा शान्ति सुरक्षा नभएको, धेरै ठाउँबाट एकैचोटि फरक–फरक ठाउँका लागि दमकल पठाउन निर्देशन आएको, पर्याप्त पानी नभएको, अग्निनियन्त्रक र दमकल चालकको कमी भएको, व्यक्तिगत सुरक्षात्मक सामग्रीहरू (पीपीई)को अभाव भएको, लामो समय काम गर्दा दमकलमा यान्त्रिक समस्या आएको र कर्मचारीहरू थाकेका जस्ता विवरण पठाएका थिए ।
महानगरलाई हामीले भदौ २४ गते राति १० बजेपछि निरन्तर कफ्र्यु लागेको अवस्थामा पनि किन दमकल खाली राखियो भनेर प्रश्न गर्दा ‘दमकल सञ्चालनमा शान्ति सुरक्षाको अभाव भएको’ भन्ने जवाफ दिएको छ । यस्तै प्रश्न उपत्यकाको दमकल सञ्चालनमा समन्वयकारी भूमिका निर्वाह गरेको बताउने नेपाली सेनासँग राख्दा उसले जवाफ दिएको छ, “महानगरलगायत दमकल सञ्चालन गर्ने निकायहरूसँग आवश्यकताअनुसार समन्वय गरी सम्बन्धित निकायकै चालकबाट दमकल सञ्चालन भएको र सोको लागि नेपाली सेनाले सडकहरूमा रहेको अवरोधसमेत हटाउने कार्य ग¥यो ।”
खरानी भइसकेपछि दमकल
बालाजु प्रहरी वृत्तमा २४ गते दिउँसो लगाइएको आगो रातभरि बलिरह्यो । करीब ३०० मिटर पर बालाजु औद्योगिक क्षेत्रको गेटमै भएको महानगरको दमकल स्टेसनको एउटा दमकल बेलुकी आठ बजे सिंहदरबार गएको थियो भने अर्को ग्यारेजमै थियो । राति १० बजे सेना सडकमा निस्केपछि दिउँसो महानगरले देखाएको ‘सडक अवरोध’ पनि थिएन । तर त्यहाँको दमकल प्रहरी वृत्तको आगो निभाउन नगई तीन घण्टा त्यसै बसिरह्यो ।
बालाजु र रामहिटीका एक–एक दमकल राति ११.०० बजे नयाँ बसपार्कको लोत्से मलमा आगो निभाउन गए । बालाजु दमकलका कमान्डर इन्स्पेक्टर बलराम तिमिल्सिनाले ‘मानवीय क्षति भएको भन्ने सूचनाका आधारमा दमकल त्यहाँ गएको’ जवाफ दिए । हामीले लोत्से मलमा जानुअघि किन प्रहरी वृत्तको आगो निभाउन नगएको भनेर प्रश्न गर्दा उनले स्पष्ट जवाफ दिन सकेनन् । बालाजु प्रहरी वृत्तको आगो निभाउन त्यहाँको दमकल भोलिपल्ट (२५ गते) अपरान्ह साढे तीन बजे मात्र गयो । स्थानीयका अनुसार, त्यस बेलासम्म वृत्त जलिसकेको थियो ।
तीन वर्षपहिले दमकल सेवा पाँच मिनेटभित्रै घटनास्थल पुग्ने र कुनै एक ठाउँको दमकल निस्किन नसके वा नमिले अर्को ठाउँको दमकलले सेवा दिने लक्ष्य राखेर जुद्ध बारुणयन्त्रको न्यु रोड स्टेसनलाई विस्तार गरी बालाजु र रामहिटीमा एक–एक स्टेसन थपिएका थिए । “तर यस पटक स्टेसन थपेर पनि काम लागेन । बालाजु प्रहरी वृत्त जल्यो, तर नजिकैको दमकल समयमा आगो निभाउन निस्किएन,” अभियन्ता गणपतिलाल श्रेष्ठले भने ।
हिमालखबर डटकमबाट
मेयर साहको बिझाउने भूमिका
कुनै बेला ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भनेका काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साहमाथि २४ भदौको आगजनीमा ‘सिंहदरबार जलेको हेरेर बसेको’ आरोप लाग्यो । महानगरपालिका मातहतको दमकल सेवा महानगर प्रहरीले सञ्चालन गर्छ । यसमा चालक बाहेक १३ महानगर प्रहरी र २४ जना सशस्त्र प्रहरी बलका अग्निनियन्त्रक कार्यरत छन् । महानगरका पाँच वटा दमकल तीन सिफ्टमा चल्ने गरेको कुरा प्रमुख साह स्वयंले आफ्नो फेसबुक स्ट्याटस लेखेको छन् । उनको भनाइको अर्थ दमकल चौबीसै घण्टा चल्ने भन्ने हो ।
निर्वाचन प्रचारप्रसारको क्रममा २०७८ चैत २६ गते कान्तिपुर टेलिभिजनका सुरजसिंह ठकुरीसँगको अन्तर्वार्तामा मेयर साहले आगलागीको सूचना आएको चार मिनेटभित्रै घरघरमा दमकल पु¥याउन सकिने बताएका थिए । तिनै बालेन्द्र साहमाथि २४ भदौमा सहरभरि आगजनी भइरहे पनि त्यस दिन र त्यसपछिका दिनहरूमा समेत दमकललाई पूर्ण क्षमतामा नचलाइराखेको आरोप लाग्यो । उनी यो घटनापछि प्रतिरक्षा गर्ने अवस्थामा पुगे ।
आफैं प्रतिरक्षामा उत्रिनुअघि नगर प्रमुख साहले २ असोजमा महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई मैदानमा उतारे । पाण्डेले त्यस दिन केही सीमित पत्रकारलाई डाकेर गरेको पत्रकार सम्मेलनमा भनेका थिए, “हामीले सिंहदरबार, सर्वोच्च अदालतलगायतमा भएको आगजनी जोगाउन र रोक्न प्रयत्न गरेका थियौँ । २४ गते साँझदेखि नै प्रयत्न गर्दा पनि दमकल निकाल्न सकिने अवस्था रहेन । न्युरोडबाट दमकल निकाल्न खोज्दा दमकलको गेटअगाडि नै गाडीहरू जलिरहेका र दमकललाई निस्किन नदिएको अवस्थामा नेपाली सेनासँग समन्वय गर्दा पनि तत्काल दमकल निकाल्न सक्ने अवस्था भएन र ‘स्कर्टिङ’ गरेर लैजान पनि नसकिने कुरा भयो । हामीले प्रयत्न गरिरहेकै थियौँ र त्यसपछि सवा आठ बजे मात्रै सिंहदरबारमा दमकल पठाउन सक्यौँ ।”
विभिन्न युट्युब च्यानल र फेसबुकमा लात् भएको उक्त पत्रकार सम्मेलनमा अलि हतास मुद्रामा देखिएका पाण्डेले भनेका थिए, “हाम्रा कर्मचारी दुई–तीन दिनदेखि सुतेका छैनन् । आरामभन्दा पनि महत्वपूर्ण काम गर्नुपर्छ भन्ने हिसाबले खटिएका छन् ।” तर महानगरपालिका आफैंले हिमालखबरलाई उपलब्ध गराएको लगबुकमा घण्टौँसम्म दमकल खाली बसेका देखिन्छन् ।
मानिसहरू राजुनाथ पाण्डेको सफाइबाट पनि सन्तुष्ट नदेखिएपछि २१ असोजमा मेयर साह आफैँ जवाफ दिन अघि सरेका थिए । यस विषयमा उनले फेसबूकमा एउटा लामै स्ट्याटस लेखेर आफूमाथि उठेका प्रश्न र आरोपलाई सम्बोधन गर्न खोजे जस्तो लाग्थ्यो । सुरूमै उनले आम मानिसले आफूलाई गरेका प्रश्नहरू उद्धृत गरे– “यत्रो सिंहदरबार जल्दा काठमाडौँ महानगरका दमकल कहाँ गए ? तीन दिनसम्म जलेको हेरेर किन बसे ? सिंहदरबार जलाउने नै बालेन शाह हो !”
यी प्रश्नले उनकै दुई वर्षअघिको फेसबुक स्ट्याटसलाई सम्झाइदिन्छन् । त्यसबेला उनले आफ्नी पत्नी चढेको गाडीलाई ट्राफिक प्रहरीले केही बेर रोक्दा झोक्किएर “सिंहदरबारमा आगो लगाइदिन्छु” भन्ने स्ट्याटस लेखेका थिए । यद्यपि, उक्त स्ट्याटस उनले भोलिपल्टै हटाएका थिए । संयोग भनौँ वा नियति– साहमाथि यसपालि सिंहदरबारको आगो निभाउन नगएको, सिंहदरबार जलाउने नै बालेन्द्र साह हुन् भन्ने जस्ता आरोपहरू लागेका छन् ।
यी आरोप पुष्टि गर्ने तथ्य त हामीसँग छैन । तर, तीन दिनसम्म सिंहदरबार जल्दा शाह प्रमुख रहेको महानगरका दमकल कहाँ पठाइए ? भन्ने आम मानिसले गरेका प्रश्न चाहिं हामी पनि गर्न जरूरी देख्छौँ । किनकि, सहर जलिरहँदा काठमाडौँ महानगरका दमकलहरू सीमित सङ्ख्यामा परिचालन भएका, शीतल निवास ४० घण्टासम्म जलिरहँदा दमकल नपठाइएका र सिंहदरबारमा केही दमकल ढिला गरी पठाए पनि आगो ननिभाई भित्र–बाहिर गर्ने, घण्टौँ हराउने गरी अलमल गरिराखेका हाम्रो खोजबीनले देखाएका छन् । लगबुक रेकर्डअनुसार त्यहाँ पुगेका दमकल डेढ घण्टा काम गरेर चार–पाँच घण्टा गायब भएका देखिन्छन् । ती कहाँ हराए, सरोकारवाला निकायसँग चित्तबुझ्दो जवाफ छैन ।
महानगर प्रमुख बालेन्द्र साहले आफूमाथि दमकल परिचालन नगरेको आरोप लागेपछि लेखेको ९५० शब्दको स्ट्याटसमा एउटा अस्वाभाविक तथ्य पनि राखेका छन् । उनले लेखेका छन्, “हाम्रो टीम दिनरात नभनी आगो निभाउन, घाइतेहरूको उपचार, लास व्यवस्थापन, जलेका संरचनाहरूको तथ्याङ्क सङ्कलन गर्न व्यस्त थियो ।” प्रश्न गर्न सकिन्छः सहर जलिरहेको बेला जलेका संरचनाको आगो निभाउनु प्राथमिकता हो कि तथ्याङ्क सङ्कलन गर्नु ? आगो निभाउनुको सट्टा जलेका संरचनाको तथ्याङ्क सङ्कलनमा किन अलमलिएको हो भनेर महानगरप्रमुख बालेन्द्र साहलाई प्रश्न गर्दा उनले जवाफ दिएनन् ।
‘माथिको आदेश’
महानगर जलिरहँदा पनि दमकल नपठाएको आरोप खेपिरहेकै बेला ६ असोजमा राजुनाथ पाण्डेले फेसबुकमा एउटा स्ट्याटस लेखे, “श्रावणमा गाईजात्रा सकियो, तर असोजमा फेरि गाईजात्रा सुरू भयो ! सबैलाई चेतना भया ! जय नेपाल आमा !” उक्त स्ट्याटसमा आगो ननिभाएको प्रसङ्ग कोट्याउँदै धेरैले उनको आलोचना गरेका छन् । आलोचकमध्ये एक थिए– भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्ट स्टोर प्रालिका अपरेसन म्यानेजर विनोद भट्टराई । उनले पाण्डेलाई प्रश्न गर्दै लेखेका छन्– ‘मैले दमकलको नम्बरमा कल गर्दा मेयरसा’पको फोन अफ छ, आदेशबिना मिल्दैन भनियो कारण के ? अर्कोपल्ट गर्दा पानी छैन भनियो, कारण के पाण्डे सर ? म तपाईंको कामको प्रशंसक थिएँ तर… ।’
भाटभटेनी सुपरमार्केटका उपत्यकास्थित बालुवाटारको गोदाम र अरू चार ठाउँका डिपार्टमेन्ट स्टोरमा आगजनी गरियो । भाटभटेनीका कर्मचारी पनु पौडेलले हामीसँग कुरा गर्दै आगजनीपछि दमकल पठाउन पटक–पटक अनुरोध गर्दा पनि नआएको बताएका छन् ।
भट्टराई र पौडेल दमकल सेवाबारे गुनासो गर्ने प्रतिनिधि पात्र मात्र हुन् । दमकल समयमा नपुगेकोबारे महानगरकै वडाध्यक्षहरूको पनि चर्को आक्रोश छ । सङ्कटका बेला आफ्नै महानगरको दमकल सेवा आफ्नो क्षेत्रमा पु¥याउन नसकेका वडाध्यक्षहरूले ३१ असोज बिहान डाकिएको नगर कार्यपालिका बैठकमा तीतो पोखे । बैठकमा चार वडाध्यक्षले सिंहदरबारजस्ता धरोहर जल्दा टुलुटुलु हेरेर बस्नु परेको विवशता दर्शाएका थिए । त्यस बैठकमा दमकल कसको आदेशले चल्छ ? दमकलको फोन किन उठेन ? दमकल किन समयमै आएन ? जस्ता प्रश्नले घेरिएका थिए– मेयर बालेन्द्र साह ।
बैठकमा वडा नम्बर–७ का वडाध्यक्ष विमलकुमार होडाले भनेका थिए, “काठमाडौँ महानगरपालिकामा त्यत्रो आगो लागेको छ । खोइ हामीले यो विषयमा चिन्ता गरेको ? बौद्धको भाटभटेनी बलेको छ । मैले फोन गरेर रामहिटीबाट दमकल मगाउँदा आदेश छैन भनेर बसिराखेको छ । कसको आदेश चाहिने हो (दमकललाई)? मेरो वडामा आगो लाग्दा रामहिटीको दमकल आउन सक्छ कि सक्दैन ? विपद् व्यवस्थापनले के ग¥यो ? प्रश्न गर्न चाहन्छु ।”
सो बैठकमा २४ भदौको विध्वंससँग सम्बन्धित एजेन्डा नराखेको भनेर वडाध्यक्ष होडाले मेयरको कार्यशैलीप्रति खेद व्यक्त गरेका थिए । उनको भनाइ थियो, “बैठकमा भदौ २४ का घटनाबारे कुनै पनि एजेन्डा नराखिनुले अत्यन्त दुःख लागेको छ । यस्ता घटनामा हामीले चिन्तन गर्नुपर्ने हो । काठमाडौँ महानगरपालिकाको बैठकलाई सबैले हेरिराखेका छन् । समयमा किन आगो निभाइएन भन्ने कुरा उठेको छ । विपद्मा हामी दमकल पु¥याउन पनि सक्दैनौँ ?
हिमालखबरसँग ५ मङ्सिरमा गरेको कुराकानीमा वडाध्यक्ष विमल होडाले भने, “२५ गते पनि भाटभटेनी जलिरहेकै थियो । त्यहाँ दमकल नआएको थाहा पाएपछि मैले रामहिटी स्टेसनमा फोन गरेँ । फोनमा एक कर्मचारीले दमकल न्यु रोड गएको बताए । त्यसको केही बेरमा त्यहाँका प्रमुख इन्स्पेक्टरले मलाई फोन गर्दा मैले यहाँ (भाटभटेनीमा) आपद् परेकोले दमकल पठाइदिन अनुरोध गरेँ । उनले ‘त्यो त थाहा छ, तर दमकल त उतै व्यस्त छ’ भन्ने जवाफ दिए । केही बेरपछि टोलका एक जनाले फोन गरेर ‘दमकल त यहीँ रामहिटीमै रहेछ, तर आदेश चाहियो दमकल पठाउन भन्छन््’ भने । रामहिटीमा दमकल हुँदाहुँदै बौद्ध भाटभटेनीमा आएन ।”
महानगरपालिकाले हामीलाई दिएको लगबुकका अनुसार रामहिटीको एउटा दमकलले २४ गते राति ८ बजेदेखि १२ बजेको बिचमा २ घण्टा ३० मिनेट, २५ र २६ गते करीब १२÷१२ घण्टा मात्रै काम गरेको छ । लगबुकका अनुसार न्यु रोड र रामहिटीका दुई वटा दमकल चुच्चेपाटी भाटभटेनीको आगो निभाउन पहिलोपटक २५ गते अबेर राति मात्रै पुगेका छन् ।
दमकल समयमा परिचालन नभएको प्रसङ्गमा वडा नं. ३ का वडाध्यक्ष प्रेम थापाले कार्यपालिकाको बैठकमा भदौ २३ र २४ गतेको घटनाको समीक्षाको एजेन्डा नराखेकोमा खेद प्रस्ताव नै राखे । थापा आफैं महानगरको विपद् व्यवस्थापन समितिका संयोजक पनि हुन् । त्यसबाहेक उनले एउटा सङ्कलप प्रस्ताव पनि राखेका थिए– ऐतिहासिक धरोहर, सरकारी भवन, संसद् जलेर नष्ट हुँदा हामीले रुन मन लाग्ने गरी हेरेर बस्नबाहेक केही गर्न सकेनौँ । अब जलेर खरानी भएको सिंहदरबारको पुनर्निर्माणको जिम्मा महानगरपालिकाले लिनुपर्छ भन्ने सङ्कलप प्रस्ताव पेस गर्न चाहन्छु ।
दमकल सञ्चालनमा भएको लापरबाहीबारे वडा नं. २३ का वडाध्यक्ष मचाराजा महर्जनले पनि कुरा उठाए । वडाध्यक्षहरूले दमकल ‘किन समयमा चलेन, आएन, ‘सिंहदरबार जल्दा टुलुटुलु हेरेर बस्नु प¥यो भन्ने जस्ता गम्भीर प्रश्न उठाए पनि मेयर साहले कुनै जवाफ दिएनन्, एक कानले सुनेर अर्को कानले उडाइदिए जस्तो गरे ।
बालेनको बचाउमा नेपाली सेना
असोज ३१ गते महानगरको कार्यपालिका बैठकमा दमकललाई लिएर महानगरप्रमुख बालेन्द्र साहमाथि चौतर्फी प्रश्न उठेपछि, बैठक सकिएको केही घण्टामै नेपाली सेनाले दमकल सञ्चालन सम्बन्धमा पत्रकार सम्मेलन ग¥यो । त्यस सम्मेलनमा नेपाली सेनाका सहायक रथी मनोज थापाले भनेका थिए, “म यहाँहरूलाई प्रस्ट पार्न चाहन्छु, काठमाडौँ महानगरपालिकाको दमकल (सिंहदरबारमा) आठ बजेतिर आएको छ । उहाँहरूको दमकललाई पनि विभिन्न ठाउँमा अवरोध भएको हो । बाहिर विभिन्न किसिमका हल्ला, भ्रामक सूचना र समाचारहरू आइराखेका छन् । महानगरपालिकासँग म सुरुदेखि नै कन्ट्याक्टमा थिएँ । महानगरले केही ठाउँमा ड्रात्र छैनन्, त्यसको व्यवस्था गरेर लैजानुस् भनेकै हो । तर समयमा दमकल लैजान आन्दोलनकारीले नदिएका हुन् ।”
उनले अगाडि भने, “त्यसअघि नेपाली सेनाको दमकलले दिउँसो २ः३५ देखि सिंहदरबारको आगो निभाउन सुरू गरिसकेको थियो । पहिलो दमकल सिंहदरबार नै गएको हो । केही समयपछि अवरोध हटाउँदै जङ्गी अड्डाभित्रबाट अर्को दमकल पनि पुगेर सिंहदरबारको आगो निभाउने काम ग¥यो ।”
त्यस सम्मेलनमा नेपाली सेनाले नगर प्रमुख बालेन्द्र साहको बचाउ गरेको सुनेका ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन छक्क परेका छन् । काठमाडौँका सर्वोच्च अदालत, सिंहदरबारजस्ता सरकारी र अन्य निजी सम्पत्तिमा लागेको आगो निभाउन ललितपुरका दमकलले निरन्तर काम गरेको दमकल सञ्चालनको रेकर्डले देखाउँछ । सर्वोच्च अदालतका प्रधानन्यायाधीशले आफ्नो कार्यकक्ष जोगाउन बोलाएकोमा आफू मातहतको दमकल खटाएका मेयर महर्जनले हिमालखबरसँग भने, “सेनाजस्तो अति संवेदनशील संस्थाले एक व्यक्तिको निम्ति यसरी ढाल बन्नु आवश्यक थिएन । सेनाले कोही व्यक्ति विशेषको बचाउ गर्न रक्षाकवच भइदिएको मलाई अहिलेसम्म थाहा थिएन ।”
हामीले नेपाली सेनालाई किन महानगरको बचाउ गरेको भनेर प्रश्न गर्दा स्पष्ट जवाफ दिएन ।
कसको आदेशमा चल्छ दमकल ?
कसैले कुनै ठाउँमा आगो लागेको सूचना वा जानकारी दिनु नै दमकल निकाल्ने आदेश हो । यसका लागि दमकलका कर्मचारीले नगर प्रमुख वा अरू कोही उच्च अधिकारीको आदेश माग्नु वा पर्खिनु पर्दैन । यस सम्बन्धमा वडाध्यक्षहरूले काठमाडौँ महानगर कार्यपालिकाको बैठकमा उठाएकै प्रश्न हामीले जुद्ध बारुणयन्त्र, न्युरोडबाट आठ वर्षअघि अवकाश लिएका विश्वराम थापासमक्ष पनि राख्यौँ । दमकल कसको आदेशमा चल्छ ? उनले भने, “कसैको आदेश पर्खिनुपर्दैन । टेलिफोनबाट आगलागीको सूचना विवरण टिपेपछि तत्काल दमकल स्टेसनभित्रै अलार्म बज्छ र त्यसको एक डेढ मिनेटमै सबै तयारी गरेर दमकल बाहिर निस्किन्छ ।”
सिंहदरबारमा आगो लागिरहँदा महानगरका दमकल घण्टौँ हराएकोबारे प्रश्न गर्दा थापाले धेरै वर्षपहिले पशुपति परिसरमा परालको कुन्यूमा लागेको आगो लगातार दुई दिन लगाएर निभाएको घटना स्मरण गरे । उनले भने, “हामीले निरन्तर आगो निभाउने काम गर्ने हो । एकछिन पनि रोक्ने, आराम गर्ने भन्ने हुँदैन । बरु पालो दिने साथीहरूले समय–समयमा पालो भने दिइरहन्छन् ।” चौधरी ग्रुपको सतुंगलस्थित सिजी इलेक्ट्रोनिक्सको गोदाममा ठुलो आगलागी हुँदा पनि यसरी नै लामो समय लागेको थियो ।
अग्नि नियन्त्रक विश्वराम थापा आगलागी नियन्त्रणमा सेकेन्डको पनि महत्व हुन्छ र समयमा दमकल आएको छैन भने त्यसको कारणको खोजी हुनुपर्छ भन्छन्् । उनको भनाइ थियो, “दमकल खाली बसेर आगो निभाउन नजाने भन्ने त कुरै हुँदैन । आगो लागिरहेको बेला दमकलका कर्मचारीहरू खाली बस्नै मिल्दैन, जानैपर्छ । मैले यति घण्टा काम गरेँ अब सक्दिनँ भन्न पाइँदैन ।” उनका अनुसार दमकलमा २४ घण्टे आवासीय ड्युटी हुन्छ । अरू कर्मचारीले जस्तो म यति दिन यसरी बिदा बस्छु भन्न पाइँदैन । त्यहाँका कर्मचारी हप्तामा एक दिन चाहिँ पालो मिलाएर बिदा बस्न पाउँछन् ।
जुद्ध बारुणयन्त्र न्युरोडबाटै अवकाश पाएका थापालाई हामीले विशालबजारको जनसेवा प्रहरी वृत्तमा भएको आगजनीको तस्वीर तथा भिडियो देखाएर सोध्यौँ– त्यहाँ लागेको आगो निभाउन कति समय लाग्छ ? थापाले भने, “न्युरोड जनसेवा प्रहरी वृत्तको आगो निभाउन करीब २५ मिनेट जति लाग्छ ।” तर महानगरले हामीलाई दिएको लगबुक विवरणमा २४ गते बेलुकी ७ः५५ देखि राति १ः१५ बजेसम्म सवा पाँच घण्टाभन्दा बढी समय लागेको देखिएको छ । महानगरले हामीलाई उपलब्ध गराएको लगबुकमाथि प्रश्न किन पनि जायज छ भने प्रत्यक्षदर्शीहरूले दमकलले एक घण्टा जतिमै आगो निभाएर फर्किएको बताएका छन् । बरु भोलिपल्ट दमकल फेरि केही बेर आगो निभाउन आएको प्रत्यक्षदर्शीहरूको भनाइ छ ।
अपत्यारिलो के छ भने, महानगरका दमकलले सिंहदरबारको आगो निभाउन पटक–पटक गरेर १० घण्टा १५ मिनेट काम गरेको र त्योभन्दा धेरै सानो ठाउँ विशालबजारको जनसेवा वृत्तमा त्यसको आधाभन्दा बढी समय लागेको देखिएको छ । रेकर्डअनुसार सिंहदरबारमा २४ गते तीन वटा दमकलले ४ घण्टा ३० मिनेट, २५ गते पनि तीन वटै दमकलले ३ घण्टा ४५ मिनेट र २६ गते दुई वटा दमकलले २ घण्टा आगो निभाउने काम गरेको देखिन्छ । २५ गते सिंहदरबार जलिरहेकै अवस्थामा महानगरको दमकल सञ्चालन रेकर्डले ५६ घण्टा दमकल खाली बसेको देखाउँछ ।
सिंहदरबार जलिरहने तर महानगरका दमकलहरू खाली बस्ने हुन्छ कि हुँदैन भनेर प्रश्न गर्दा अग्नि नियन्त्रक थापाले भने, “त्यस्तो नहुनुपर्ने हो । आगो लागिरहँदा त हाम्रो काम आगो निभाउने नै हो, आगो लागिरहेको ठाउँ छाडेर अन्यत्र हिंड्न मिल्दै मिल्दैन ।” २६ गते पनि लगभग ७८ घण्टा दमकल खाली रहेको विवरण सुनाएपछि विश्वराम थापाले उही कुरा दोहो¥याए, “त्यस्तो अवस्थामा दमकलले चौबीसै घण्टा काम गर्नुपर्छ । तर २४ गते जस्तो त कहिल्यै भएको थिएन । ”
भदौ २४ गते बाटोमा अवरोध थियो भन्ने कारण दिंदै दिनभरि बारुणयन्त्रको गेट बन्द गरेर बसेका काठमाडौँ महानगरपालिकाका पाँच वटा दमकलका विषयमा अग्निनियन्त्रक थापाको विचार थियो, “जान नसकेको भए सुरक्षाकर्मीको सहायता लिनुपथ्र्यो । बाटो अवरुद्ध थियो भने सुरक्षाकर्मीको सहायताले खोल्न लगाउनुपथ्र्यो ।”
भदौ २४ गते राति काठमाडौँका सडकमा कुनै पनि अवरोध थिएन । राति १० बजेदेखि नै सेना परिचालन भएको र कफ्र्युसमेत लागेकोले महानगरको दमकललाई त्यसपछि कुनै अवरोध नभएको जगजाहेर नै छ ।
दमकल सञ्चालनको जिम्मेवारी पाएका अधिकारीहरूले बदनियत राखेर दमकल नचलाएमा के हुन्छ ? हामीले कानुन व्यवसायीहरूसँग यस विषयमा छलफल गरेका थियौँ । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई भन्छन््, “आगो निभाउनुपर्ने संस्थाका प्रमुख वा विपद् व्यवस्थापनको जिम्मेवारी लिएका अधिकारीले दिइएको जिम्मेवारी पूरा नगरेमा कानुनी कारबाही गर्ने स्पष्ट छुट्टै कानुन नभए पनि विद्यमान अन्य कानुनबमोजिम कारबाही गर्न सकिन्छ र त्यस्तो कारबाहीका लागि अदालतको आदेश आवश्यक पर्छ ।”
वरिष्ठ अधिवक्ता भट्टराईका अनुसार, भ्रष्टाचार निवारण ऐनको दफा ८ मा भएको सार्वजनिक संस्थालाई गैरकानुनी हानि पु¥याउने बदनियतले काम गरेको भनेर पुष्टि हुने आधार भएमा वा मुलुकी अपराध संहिताको दफा ८७ बमोजिम अधिकार प्राप्त अधिकारीले कानुन बमोजिमको आदेशअनुसार गर्नुपर्ने काम नगरेको भन्ने अवस्थामा कानुनी कारबाही हुनसक्छ ।
भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ मा कुनै राष्ट्रसेवकले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह वा सार्वजनिक संस्थालाई गैरकानुनी हानि पु¥याउने बदनियतले काम गरेमा कसुरको मात्राअनुसार तीन महिनादेखि तीन वर्षसम्म कैद र बिगो खुलेकोमा बिगो बराबरको जरिवाना गरी बिगो असुलउपर गरिने उल्लेख छ ।
यसैगरी मुलुकी अपराध संहिता २०७४ को दफा ८७ मा ‘अधिकार प्राप्त अधिकारीको कानुनबमोजिमको आदेशअनुसार कानुनबमोजिम गर्नुपर्ने काम नगरी वा गर्न नहुने काम गरी त्यस्तो आदेशको अवज्ञा गर्न हुँदैन’ भनी लेखिएको छ । सो कानुनमा यस्तो कसुर गर्ने व्यक्तिलाई ६ महिनासम्म कैद र पाँच हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।
यी कानुनी व्यवस्थाको स्मरण गराउँदै महानगरका प्रमुख र सह–प्रवक्तालाई प्रश्न सोध्दा दुवैले यसमा कुनै जवाफ दिएका वा टिप्पणी गरेका छैनन् ।
सेनाले आगजनीमा सुरक्षा दिन नसकेको कुरा र सेनाले दमकललाई काम गर्न सुरक्षा दिन नसकेको/नचाहेको जोडिएका प्रसङ्ग हुन् । यदि सुरक्षाको कमी भएको कारण दमकल चलायमान नभएको हो भने यो प्रश्न पनि नेपाल सेनातर्फ तेर्सिन्छ । गौरीबहादुर कार्की जाँचबुझ आयोगले गोली किन लाग्यो र आगो कसले लगायो बाहेक आगो किन निभाइएन भन्ने पनि अनुसन्धान गर्नु जरूरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *