भर्खरै :

आर्थिक अनुशासन र पारदर्शिताले जनताको विश्वास बढ्ने

आर्थिक अनुशासन र पारदर्शिताले जनताको विश्वास बढ्ने

भक्तपुर, १७ माघ । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को आर्थिक वर्ष २०८२/०८३ को अर्धवार्षिक समीक्षा शनिबार एक समारोहबिच भयो ।
समूह विभाजन गरी कानुनी प्रक्रिया, निर्देशन पालना र कार्यान्वयनको विश्लेषण, वित्तीय अवस्थाको विश्लेषण, प्रशासनिक तथा व्यवस्थापकीय भूमिकाको विश्लेषण र सामाजिक दायित्वको विषयमा विश्लेषण गरिएको सो कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आर्थिक अनुशासन र पारदर्शिताले जनताको विश्वास बढ्ने र यसले ऊर्जा थपी कार्यमा गति दिने विचार व्यक्त गर्नुभयो ।
पुँजीवादी देशमा १० वर्षको एकचोटि आर्थिक सङ्कटको सामनासँगै राजनीतिक आन्दोलन पनि भइरहेको औँल्याउँदै उहाँले थोरै मान्छेसँग देशको धैरै सम्पत्ति हुँदा पुँजी परिचालन नभएर आर्थिक सङ्कट देखापर्छ भन्नुभयो ।
कानुनको पालना गर्दै कानुनले अप्ठेरो पारेका ऐन र नियमको पनि विरोध गर्दै जानुपर्ने स्पष्ट पार्दै उहाँले सामन्त र पुँजीपतिवर्गले आफ्नो स्वार्थ पूरा गर्न ऐन कानुन बनाउने गरेको चर्चा गर्नुभयो ।
कुनै पनि संस्था सङ्ख्या र पुँजीभन्दा सहकारी सिद्धान्तअनुसार समुदायको हितमा चलिरहेको छ कि छैन भन्ने बुझ्नुपर्नेमा जोड दिँदै उहाँले संस्थाले आर्थिक लेनदेनमात्र होइन उत्पादनमा वृद्धि गरेर जनतालाई राहत दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।
युवाहरूलाई रोजगारी पाउने सीपमूलक तालिम दिएमा विदेश जाने सङ्ख्या घट्ने उल्लेख गर्दै नगर प्रमुख प्रजापतिले योग्य, दक्ष बनाउन तालिम दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
जग्गा कारोबार भएको सङ्घ संस्थामा जग्गा किनबेचमा समस्या आउनेबित्तिकै संस्था सङ्कटमा परेको उल्लेख गर्दै उहाँले शासक दलका जिम्मेवार नेताहरूले जनताको आवश्यकता सम्बोधन नगर्दा देशमा एकपछि अर्काे काण्ड थप्दै गएको कारण युवाहरू आक्रोशित भएको हो भन्नुभयो ।
सरकारले बीमा सेवाबापतको रकमसमेत दिन नसकेको चर्चा गर्दै उहाँले राज्यले गर्नुपर्ने काम नगरी गर्न नहुने काम गर्दा देश ऋणमा डुबेको हो† व्यापार घाटामा गएको हो भन्नुभयो ।
राज्यलाई असफल पार्न षड्यन्त्रकारीहरूले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकामा धावा बोल्ने गरेको उल्लेख गर्दै उहाँले साम्राज्यवादीहरू अरु देशमा राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था परिचालन गरेर उपद्रो गर्ने, अराजक र उच्छृङ्खल गतिविधि गर्न लागिरहेको बताउनुभयो ।
सिद्धान्तहीन र विचारविहीन व्यक्तिको नेतृत्वमा देश परे युक्रेनजस्तै देश भताभुङ्ग हुने विचार पनि उहाँले व्यक्त गर्नुभयो ।
सहकारी संस्थाका सल्लाहकार रत्नप्रसाद प्रजापतिले सामुदायिक सेवा र भावनाभन्दा व्यक्तिगत स्वार्थमा लागेकै कारण सहकारी संस्था सञ्चालन र सेवा प्रवाहमा बाधा पुगेको उल्लेख गर्दै स्वच्छ भावना र इमानदारीपूर्वक काम गरेकै कारण भक्तपुर बचत अहिलेको स्थितिमा पुगेको हो भन्नुभयो ।
राज्यको अदूरदर्शी निर्देशन र निर्णयको कारण राम्ररी चलेका सहकारी संस्था पनि समस्यामा परेको उल्लेख गर्दै उहाँले झूटको राजनीतिको विरोध गर्नु आवश्यक छ भन्नुभयो ।
संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद कुसीले सरकारी नियन्त्रण र निर्देशनमा बस्दा सहकारी चल्ने हो कि होइन भन्ने स्थितिमा पुगेको उल्लेख गर्दै राष्ट्रकै एक खम्बे मानेको सहकारी संस्था सरकारले नीति निर्देशनले सङ्कटको स्थितिमा पुगेको बताउनुभयो ।
संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभापति निर्मला प्रजापतिले संस्थाले आर्थिक कारोबारका साथै सामाजिक दायित्व पनि निर्वाह गर्दै आएको बताउनुभयो ।
पैसा सङ्कलन गरेर लगानी गर्न सकेन भने सहकारी संस्थामा तरलता बढिरहेको उल्लेख गर्दै उहाँले व्यापार व्यवसाय नचलेको कारण ऋणीहरूको भाखा नाघ्ने र ब्याज नउठ्ने सम्भावना बढिरहेको बताउनुभयो ।
कार्यक्रममा सचिव जगन्नाथ प्रजापतिले आ.व. २०८२/८३ को अर्धवार्षिक प्रतिवेदन, कोषाध्यक्ष रामप्रसाद प्रजापतिले आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक जितेन्द्र ज्याख्वले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
संस्थाका प्रबन्धक सत्यनारायण साँय्जुले अर्धवार्षिक समीक्षाको आवश्यकताबारे प्रकाश पार्नुभयो ।
गत पुस मसान्तसम्ममा उक्त संस्थाको कुल बचत रु. ३,७३,९०,१५,७५५।१४ रहेको छ । संस्थाले पुस मसान्तमा २,८७,५१,२५,५६३।– रुपैयाँ ऋण लगानी गरेको छ । पुससम्ममा संस्थामा ९०३१ जना सदस्य रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *