दललाई सरकारी अनुदान सैद्धान्तिक र व्यवहारिक रूपमा गलत
- जेष्ठ १६, २०८३
देशमा राजनीतिक परिवर्तनपछि स्वदेशमै रोजगारी पाइएला, जीवन सुनिश्चित होला र विकास तीव्रगतिले अगाडि बढ्ला भन्ने विश्वास जनतामा थियो । तर, देशमा बेरोजगारी बढ्यो, राजनीतिक वितृष्णा भयो र रोजीरोटी पाउनको निम्ति विदेश जानुपर्ने बाध्यता भयो । सरकारले जनताका आधारभूत आवश्यकता पूर्ति गर्न उद्योगधन्दा खोल्दै जानुपथ्र्यो । तर, उल्टो उद्योगधन्दा बन्द हुँदै गयो । नयाँ नयाँ उद्योग, कारखाना खोल्ने वातावरण बनेन या बनाइएन । फलतः विदेश पलायन हुने युवाको सङ्ख्या बढ्दै गयो । बिदेसिएका युवाले पठाएको रेमिट्यान्सले नै देशको अर्थव्यवस्था धानिरहेको छ भनेर सत्तासीन दलका नेता, मन्त्री र सांसदहरू गर्व गर्दै छन् । विदेशबाट रेमिट्यान्स न दीर्घकालीन समाधान हो न त त्यसले देश विकास या आत्मनिर्भरमा टेवा पु¥याउँछ ।
युवाहरू बिदेसिन थालेपछि, अरू देशको उठबसमा रहेर काम गर्नुपरेपछि के ती युवाहरूमा देशभक्तिको भावना होला ? के देश निर्माण गर्नुपर्छ भन्ने भावना जागृत होला ? नेपालीमा देशभक्तिको भावना भएन, देश विकासमा नेपालीहरूको श्रम, समय, सीप नेपाली भूमिको निम्ति सञ्चित भएन भने नेपालको समृद्धि कसरी हुन्छ ? आफ्नो श्रमशक्ति विदेशी भूमिमा खर्चिएपछि देश कसरी बन्छ ? देशमा व्यवस्था परिवर्तनको निम्ति ज्यानको बाजी राखेका युवाहरू रोजीरोटीको निम्ति विदेश जान बाध्य हुनु के दुःखद विषय होइन ? यसकारण, व्यापक नेपाली जनतामा देशभक्तिको भावना जगाउन, स्वदेशमै रोजगारीको व्यवस्था गर्न राज्यले नै सबै पूर्वाधार तयार गर्नुपर्छ, नीति नियम र योजना बनाउनुपर्छ । युवा जोश र जाँगर सेलाउन दिनुहुँदैन । यसको लागि सरकारले आवश्यक पहल गर्नुपर्छ ।
युवा–विद्यार्थीहरू विदेश जानुको कारण असक्षम सरकारको परिणाम हो । विदेशमा गर्ने, विदेशमा हुने काम नेपाल सरकारले किन दिन सकेन, काम दिने विचार किन गरेन ? यसरी नै यहाँका जनशक्ति विदेश जाने क्रम बढ्दै गयो भने के देशको लागि आवश्यक जनशक्ति नेपालमा अभाव हुँदैन ? देशको जिम्मेवारी सम्हाल्नुपर्ने र देशलाई समृद्धितर्फ अगाडि बढाउन युवाहरूलाई प्रोत्साहित गर्नुपर्ने सरकार उल्टो युवाहरूलाई विदेश पठाउने बाटो खोल्छ र विदेश जान उत्प्रेरित गर्छ । बेरोजगार युवालाई लक्षित बनाई सरकारले योजना तयार गर्नुपर्छ; देशमै रोजगारीको सम्भावना खोजेर काममामको व्यवस्था गर्नुपर्छ । युवाहरूको विदेश पलायन शुभसङ्केत होइन । आफ्नै देशका युवाहरूमा देश प्रेम, देश बनाउने र जोगाउने भावना छैन भने के भोलि देश रहला ? नेपाल रहेन भने नेपाली कसरी रहन्छ ? के सरकारले देशमा दूरगामी असर पर्नेबारे सोच्नु पर्दैन ?
सरकारले सन्तुलित विकास गरेर युवाहरूलाई स्वदेशमै काम दिनुपर्छ । उनीहरूमा देशभक्तिको भावना जगाउनुपर्छ । देशको लागि आवश्यक जनशक्ति तयार गर्न विभिन्न तालिम दिइनुपर्छ । देश जोगाउन र भूमि बाँझो राखेर, देशको डाँडाकाँडा नाङ्गो बनाएर युवाहरू बिदेसिएपछि नेपाली भूमि कसरी उर्वर हुन्छ, नेपाल कसरी आत्मनिर्भर बन्छ ? नेपाल विकासमा पछि पर्नुको कारण सत्तासीन दलका नेता र मन्त्रीहरू गैरजिम्मेवारी हुनु हो; देश विकास गर्नेबारे चिन्तन नगर्नु हो; त्यसबारे दृष्टिकोण नै नहुनु हो । जसरी भए पनि सरकारमा जाने, सरकारको नेतृत्व गरेर जसरी भए पनि टिकाउनेमा दलहरू केन्द्रित भएको हुँदा सरकारले केही गर्न नसकेको हो । सत्तासीन दलका नेता र मन्त्रीहरू भागबन्डामा अल्झिए; भागबन्डा मिलाउन सिद्धान्त र विचार बन्धकमा राखे । भागबन्डा नपाउला र सरकार नटिक्ला भनेर जस्तो आपराधिक कर्म गर्न, देशको राजस्वमा रजाइँ गर्न, देशविरोधी र जनविरोधी काम गर्न उनीहरू लागे । के यो देशको लागि दुर्भाग्य होइन ?
Leave a Reply