भर्खरै :

आफ्नो पेसाभन्दा देशलाई माया गर्नु जरुरी

आफ्नो पेसाभन्दा देशलाई माया गर्नु जरुरी

भक्तपुर, १८ माघ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले निर्वाचन जनतालाई राजनीतिकरूपले शिक्षित गर्ने बृहत् कक्षा भएको बताउनुभयो ।
पार्टीका महिला उम्मेदवारहरूको शनिबार सम्पन्न भेलामा सम्बोधन गर्दै उहाँले सन् १९५३ मा सोभियत सङ्घका नेता स्तालिनको मृत्युपछि त्यहाँका ख्रुश्चेभलगायतका नेताहरू संशोधनवादमा पतन भएको हुँदा त्यसको असर संसारका कामदार जनतालाई परेको उल्लेख गर्नुभयो ।
देशभक्त कर्मचारी, शिक्षक, प्राध्यापकले आफ्नो जागीरभन्दा देशको माया गर्नुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष बिजुक्छेँले कामदारवर्गको सेवा गर्न विषय बुझेर पार्टीमा लाग्नुपर्ने उल्लेख गर्नुभयो ।
बहुदल र गणतन्त्रको ३५ वर्षयता सरकारमा गएका दल र नेताहरूले नयाँ पुस्तालाई सीप र रोजगारी नदिएको उल्लेख गर्दै उहाँले मानिसको जीवनको हरेक क्षेत्रमा राजनीतिक कार्य हुनुपर्ने बताउनुभयो ।
पार्टी सचिव एवम् भक्तपुर क्षेत्र नं १ का उम्मेदवार प्रेम सुवालले पुँजीवादी निर्वाचनबाट गठन हुने सरकारहरूबाट देशमा स्थिरता र सुन्दर भविष्य, नयाँ युगको सुरुआत, सुशासन केही नहुने उल्लेख गर्दै यसको लागि उत्पादनका मुख्य मुख्य साधन र सेवा राष्ट्रियकरण हुने वैज्ञानिक समाजवाद जरुरी भएको बताउनुभयो ।
कार्यक्रममा पार्टी नगर समिति भक्तपुरका उपाध्यक्ष लक्ष्मीभक्त लासिवा र सदस्य कृष्णगोविन्द लाखाजुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *