भर्खरै :

नेपाल मजदुर किसान पार्टीले सङ्घर्षको मैदान छोड्दैन

नेपाल मजदुर किसान पार्टीले सङ्घर्षको मैदान छोड्दैन

नेपाल मजदुर किसान पार्टीले ५१ औँ वसन्त पार गरेर ५२ औँ वर्षमा टेक्दै छ । त्यसैले पार्टीले हिमाल, पहाड, तराईका विभिन्न जिल्लाको आफ्नो सङ्गठन र प्रभाव भएको गाउँ–ठाउँ र सहरमा विभिन्न कार्यक्रमहरू गरेर स्थापना दिवस मनाउँदै छ । भक्तपुरमा पनि ‘ए मेरा रातहरू’ कवितासङ्ग्रह र ‘श्रमिक’ साप्ताहिकमा प्रकाशित ‘सम्पादकीय सङ्ग्रह पुस्तक’ विमोचन गरेर मनाइसकेको छ । यसले जनतामा समाजवादी विचार र आदर्शको उज्यालो छर्ने बत्तीको काम गर्नेछ । यसले देशभक्ति विचार र कर्मको चेतना पनि फैलाउने नै छ । यसले साम्राज्यवादी, विस्तारवादी, उपनिवेशवादी, पुँजीवादी, सामन्तवादीहरूले हाम्रो देशमा अनि विश्वमा आफ्नो स्वार्थ पूर्ति गर्न, लुट्न, आक्रमण गर्न पारिएको रातलाई चिर्न मद्दत गर्नेछ । यस्तो औजारले संसारमा मुक्ति र स्वतन्त्रताको उज्यालो छर्नेछ । कम्युनिस्ट भनेर चिनिएका शासक दलले त्यस्तो कम्युनिस्ट आचरण, व्यवहार, कर्म देखाउन सकेका छैनन् । उनीहरूका लागि हिजो गाउँबाट गरिब जनताका मन, विश्वास जितेर गुनगुनाएका, गाएका प्रगतिशील, देशभक्त कलाकार गीतकार रामेश श्रेष्ठ, युद्धप्रसाद मिश्र आदिका गीत, रचना र आवाज पनि गलाको पासो भयो । उनीहरूले कम्युनिस्टको नाममा निर्वाचनमा मत बटुल्न मात्र किसान र मजदुरलाई, बहुसङ्ख्यक अशिक्षित, असचेत, गरिब जनतालाई धोखा दिइरहेका छन् र आँखामा पट्टि लगाउने वा छारो हाल्ने काम गरिरहेका छन् ।
नेपाल मजदुर किसान पार्टीले जनताको साथ र समर्थनमा देश र जनताको निःस्वार्थ सेवा गर्दै आएको जगजाहेर छ । यो दल गरिब, अन्याय, शोषित, पीडित जनताको पक्षमा, देशको न्याय र स्वतन्त्रताको पक्षमा लडाइँबाट हटेको छैन । यो दलले देशका तमाम गरिब पीडित किसानको पक्षमा लडेको थियो । धनी किसान, जमिनदार, सामन्तसँग लडेर, खेतमा गएर वास्तविक पीडित किसानको लगतमा नाम लेखाएर मोहियानी हक कायम गरिदिएको थियो । कमैयाहरूको पक्षमा पनि यस्तै सङ्घर्ष गरेको थियो । तर, कम्युनिस्ट भनिएका हालका कुनै शासक दलले त्यो गरेनन् । उनीहरूका आँखामा छारो हाल्ने मात्र काम भयो । कमैया मुक्तिका नाममा ती सबै किसान, कमैया आदि जमिनदार र सामन्तको घर र जग्गाबाट निकालिए । उनीहरू कम्युनिस्टको खोल ओढेर राजधानी आएर फोहर राजनीति गरेका शोषक, जमिनदार, सामन्त थिए ।
भारतले नेपालमाथि उसले भनेजस्तो मानेन भनेर ४/५ पटक नाकाबन्दी लगाइसकेको छ । त्यसलाई नेपाली जनताले भुल्ने छैनन्; भुल्नु र बिर्सनु पनि हुँदैन । नेमकिपाले त्यसको विरोधमा सदन र सडकमा लड्यो । हाम्रा कम्युनिस्ट भनिएका र नभनिएका शासक दलहरू अझै चेतेका छैनन् । आफ्नो देशलाई आत्मनिर्भर बनाउन आफ्नै खुट्टामा उभ्याउन एउटा पनि सिन्को भाँचेको छैन । पद र सुविधाले, आइसी र डलरले उनीहरूलाई आफ्ना भक्त बनाए, कठपुतली र बुँख्याचा बनाए । उनीहरू विचार, सिद्धान्तमा, व्यवहार, आचरणमा हिमालमा चिप्लेटी खेलेर बजारिएका दलहरू हुन् ।
महाकाली सन्धि, एमसीसीलगायतका देशघाती, एसियाघाती सन्धि, सम्झौता गर्दा सडक र सदनमा एक्लै सशक्त विरोध, ¥याली र सभा गरेर जनता र शासक दललाई सचेत गर्ने दल नेमकिपा नै हो । जनतालाई विश्वासघात गर्न नपरेको, बेइमान गर्न नपरेको, विचार, सिद्धान्त र आदर्श फेर्न नपरेको दल पनि यही हो । निर्वाचन घोषणापत्रलाई कागजको खोस्टो नबनाइकन त्यसलाई जनताको सेवा गर्न मार्गचित्रको रूपमा यसले आत्मसात गरेको छ । जनतालाई दिएको बचनअनुसार बिनालोभ, बिनापद, डर, धम्कीलाई परवाह नगरिकन निःस्वार्थ र इमानदार भई काम गर्ने, लड्ने देशको दल नेमकिपा हो भन्दा फरक नपर्ला ।
कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रवादी पनि हुने हुँदा यसले अन्तर्राष्ट्रिय कर्तव्य र धर्मलाई निभाउँदै आएको छ । अरु कम्युनिस्ट भनिएका दलले यो धर्म, निभाएको देखिँदैन । यसले हिजो स्वतन्त्र र सार्वभौम देश भियतनाममाथि अमेरिकी साम्राज्यवादले नाङ्गो हस्तक्षेप र आक्रमण गर्दा सङ्घर्षशील भियतनामी जनताको पक्षमा जुलुस र विरोधसभा गर्ने पहिलो दल पनि यही थियो । त्यस्तै चिली, इराक, लिविया, युगोस्लाभिया, पानामा, प्यालेस्टिन आदि स्वतन्त्र देशमाथि त्यहाँका देशभक्त सरकार, राष्ट्रपति, प्रधानमन्त्रीलाई अपदस्थ गर्न र त्यहाँ प्राकृतिक अपार सम्पत्ति लुट्न अमेरिकी साम्राज्यवादले हमला गर्दा, गर्न लगाउँदा काठमाडौँलगायत देशभरबाट विरोध जुलुस, सभा गरेर, विरोध पत्र दिएर अन्तर्राष्ट्रिय धर्म कर्तव्य निभाएको दल पनि नेमकिपा हो । २०२६ जनवरी ३ मा अमेरिकाले स्वतन्त्र, स्वाधीन र सार्वभौम देश भेनेजुयलामाथि राति आतङ्ककारी आक्रमण गरेर जननिर्वाचित राष्ट्रपति निकोलस, मादुरो दम्पतीलाई लागूपदार्थ ओसारपसारमा सहयोग गरेको झूटो आरोपमा अपहरण गरेर लग्यो । यो कदमको विश्वमा विरोध भयो । तर, ट्रम्प कानमा तेल हालेर बसे । त्यो झूटो आरोप हो । मुख्य स्वार्थ त त्यहाँको तेल, ग्यास, सुनलगायतका अपार प्राकृतिक सम्पत्ति लुट्नु थियो । उनले आतङ्ककारी शैलीमा अपहरण गरेर संयुक्त राष्ट्रसङ्घको बडापत्रको मर्मविपरीत, अन्तर्राष्ट्रिय कानुनविपरीत अमेरिकाको न्युयोर्क लगेर मादुरो दम्पतीलाई बन्दी बनाएका हुन् । यसको विरोधमा पनि नेमकिपाले काठमाडौँको रत्नपार्कबाट विरोध जुलुस, सभा गरेर अमेरिकी दूतावासमा विरोधपत्र दिएको थियो । यसले सङ्कटको बेलाको मित्र असल हुन्छ भनेझैँ अन्तर्राष्ट्रिय धर्म, कर्तव्य बेलैमा निभायो । काङ्ग्रेसलगायतका पुँजीवादी दलहरू, अमेरिकाको आडभरोसामा चल्ने दलहरूले विरोध गरेनन् । आफूलाई कम्युनिस्ट भनिएका एमाले, माओवादी आदि दलहरूले पनि त्यो धर्म निभाएनन् । उनीहरू कम्युनिस्ट हो – होइन यसले पनि प्रमाणित गर्दछ । जसरी पनि निर्वाचनमा नजितिएला, प्रधानमन्त्री राष्ट्रपति, मन्त्री, सांसद पद नपाइएला भन्ने डर उनीहरूमा थियो । उनीहरू अमेरिकी सामाज्यवाद र भारतीय विस्तारवादको सहयोग र आशीर्वादबिना त्यहाँ पुग्ने आँट गर्न सक्दैनन् ।
एउटा हातले ताली बज्दैन भन्ने कुरा सबैलाई थाहा छ । भोलि नेपाललाई पनि साम्राज्यवादी, विस्तारवादीहरूले हस्तक्षेप गरे, नाकाबन्दी गरे, आक्रमण गरे भने ती मित्र देशहरूले पनि साथ र समर्थन दिनेछन्, सहयोग गर्नेछन् । यहाँका शासक दल र दलका नेताहरूलाई अमेरिका, भारतबाट धम्की दिएर, लोभ देखाएर महाकाली सन्धि, एमसीसी पास गराएको जगजाहेर नै छ । त्यसैले जनता सचेत हुनुपर्छ । मेचीकालीका सबै जनताले साथ, समर्थन र सहयोग गर्नु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *