भर्खरै :

नीति र नियममा सञ्चालन भएका सहकारी संस्था विश्वसनीय हुने

नीति र नियममा सञ्चालन भएका सहकारी संस्था विश्वसनीय हुने

भक्तपुर, १६ जेठ । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को शिक्षा उपसमितिको आयोजना तथा बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईको प्रमुख आतिथ्यमा अनिवार्य शिक्षा शिविर कार्यक्रम सिद्धि गणेश तालिम हल, खँचामा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा अतिथि गोसाईले सदस्यहरूलाई आर्थिक वित्तीय शिक्षा प्रदान गर्दै जानुपर्ने आवश्यकता आँैल्याउँदै सिद्धि गणेश साकोसले नियमित रूपमा सदस्यहरूको लागि शिक्षा शिवर सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले नीति नियम सङ्गतमा सञ्चालन भएका सहकारी संस्था विश्वसनीय हुने बताउँदै संस्थाप्रति विश्वास कायम राख्न निरन्तर सञ्चालक र व्यवस्थापनले सोही अनुरुपको कार्य गर्दै जान सचेत गर्नुभयो । उहाँले आर्थिक कारोबार हुने स्थानमा सावधानी अपनाउन अति आवश्यक हुने बताउनुभयो ।
उहाँले गरिबीको मुख्य कारण स्वदेशमा उत्पादन कमी र आयातमा वृद्धि हुनु हो भन्दै सरकारले उत्पादनलाई जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
संस्थाका अध्यक्ष रुद्रनारायण लाखाले सहकारिता र सहकारी सिद्धान्तबारे जानकारी दिँदै हालै जारी भएको अध्यादेशमा सहकारी क्षेत्रलाई सामाजिक सेवा प्रदान गर्न बञ्चित गर्ने प्रकृतिका निर्देशनहरू जारी भएको उल्लेख गर्नुभयो ।
संस्थाका सचिव एवं उपसमितिका संयोजक विष्णुप्रसाद दुमरुले सहकारी तथा संस्थाबारे जानकारी दिने हेतुले कार्यक्रम आयोजना गरिएको बताउँदै झूटा आश्वासन दिई संस्थाको सदस्यता वितरण गर्न नहुने उल्लेख गर्नुभयो । उहाँले संस्था स्थापनाकालदेखि नीति नियमको पालना गरी सामाजिक क्रियाकलापहरूमा सक्रिय रहेको चर्चा गर्नुभयो ।
संस्थाका वित्त तथा प्रशासन अधिकृत चन्द्रप्रसाद दुमरुले संस्थाको सेवा सुविधाबारे जानकारी दिँदै विगतमा मलको हाहाकार भएको अवस्थामा संस्थाले सहुलियतमा मल वितरण गरी सदस्यहरूलाई राहत प्रदान गरेको स्मरण गर्नुभयो । उहाँले गैरकानुनी रूपमा सम्पत्ति शुद्धीकरण नगरेको अवस्थामा सदस्य पहिचान फारम (KYM) अद्यावधिक गर्न डराउन नहुने बताउनुभयो । कार्यक्रममा उपसमितिका सचिव किरण बनमालाले पनि बोल्नुभएको थियो ।
दुुईदिने साकोस व्यवस्थापन तालिम सम्पन्न
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को सञ्चालक समितिको आयोजनामा शनिबार दुुईदिने साकोस व्यवस्थापन तालिम सिद्धि गणेश तालिम हल, खँचामा सम्पन्न भयो ।
तालिमको समापन कार्यक्रममा संस्थाका अध्यक्ष रुद्रनारायण लाखाले सहकारीका सञ्चालकहरूमा हुनुपर्ने क्षमता र साकोस व्यवस्थापन गर्न आवश्यक सीप एवं ज्ञानको जानकारी दिने हेतुले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले तालिम सहजीकरण गर्नुभएका सहजकर्ताहरूलाई धन्यवाद व्यक्त गर्दै तालिममा सहभागी सदस्यहरूलाई प्रमाण–पत्र वितरण गर्नुभएको थियो ।
तालिममा संस्थाका उपाध्यक्ष विष्णुराम दुमरुले सुशासन सञ्चालक र व्यवस्थापनलाई उत्तरदायी बनाउने संरचना र प्रकृया रहेको बताउनुभयो । उहाँले सहकारी संस्था समस्यामा पर्नुको मुख्य कारण सञ्चालक एवं व्यवस्थापनमा सुशासन नहुनु हो भन्दै समुदायमा आधारित दिगो, भरपर्दो र प्रतिस्पर्धी तथा समुदायको पहिलो छनोटको वित्तीय संस्था बनाउने लक्ष्य, उद्देश्य र ध्येयका साथ सञ्चालक र व्यवस्थापन अघि बढ्नुपर्ने आवश्यकता आँैल्याउनुभयो ।
तालिममा संस्थाका सञ्चालक सदस्य कृष्णगोविन्द लाखाजुले बाग्मती प्रदेशमा हाल ३२३३ सहकारी संस्था रहेकोमा १२५० सहकारी संस्थाले मात्र आफ्नो विवरणहरू अपडेट गरेको पाइएको र ४२० वटा सहकारीविरुद्ध उजुरी रहेको जानकारी दिनुभयो । उहाँले कानुन संशोधनबारे जानकारी नहुँदा हालसम्म सहकारी संस्थाहरूले गैरसदस्यहरूसँग आर्थिक कारोबार गर्ने प्रचलन रहेको चर्चा गर्नुभयो । उहाँले सन्दर्भ ब्याजदरभन्दा बढी ब्याज प्रदान गर्नु खराब सहकारीको पहिचान रहेको बताउँदै सहकारी ऐनमा आएका संशोधन र २०८३ सालको अध्यादेशका विशेषताहरूबारे प्रस्ट पार्नुभएको थियो ।
तालिममा संस्थाका सञ्चालक सदस्य रामचन्द्र दुमरुले ऋण व्यवस्थापनसम्बन्धी प्रस्तुति दिँदै सहकारी संस्थामा कार्य गर्न इमानदार र पारदर्शी भई गर्नुपर्ने बताउनुभयो । उहाँले सञ्चालक समितिले कुनै निर्णय गर्नुपूर्व गहन छलफल गरी सदस्य र संस्थाको हितको लागि मात्र निर्णय गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले संस्थाको कोष परिचालन, भौतिक र नैतिक मूल्य विकास, व्यवसायिक विकास, सदस्यको आर्थिक अवस्था सुधार र सदस्यलाई उद्यमी बनाउन प्रोत्साहन गर्ने उद्देश्यले मात्र ऋण प्रदान गर्नुपर्ने बताउनुभयो ।
तालिमको समापन कार्यक्रममा संस्थाका वित्त तथा प्रशासन अधिकृत चन्द्रप्रसाद दुमरु , कार्यक्रम तथा प्रवद्र्धन अधिकृत बिमल लवजु तथा तालिमका प्रशिक्षार्थी पशुपतिमान थकुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *