नीति र नियममा सञ्चालन भएका सहकारी संस्था विश्वसनीय हुने
- जेष्ठ १६, २०८३
भक्तपुर, १६ जेठ । बाराही बचत तथा ऋण सहकारी संस्था लि.को शिक्षा उपसमितिको आयोजनामा सदस्यहरूलाई वित्तीय रूपमा सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरूलाई जानकारी गराउने उद्देश्यले शनिबार सदस्य शिक्षा शिविर सम्पन्न गरियो ।
उक्त कार्यक्रममा संस्थाका अध्यक्ष राधेश्याम सुवालले हाल चर्चा परिचर्चा भइरहेको सहकारी अध्यादेश, राष्ट्रिय सहकारी प्राधिकरणबाट जारी निर्देशन, कर्जा सूचना केन्द्र, सहकारी ऐन, कानुनसम्बन्धी जानकारी गराउनुभयो । उहाँले बैङ्क वित्तीय सङ्घ संस्थाहरूमा भइरहेको वित्तीय सङ्कुचन, आर्थिक सङ्कट, व्यापार व्यवसायमा कमीले गर्दा लगानीमा कमी आएको विचार व्यक्त गर्नुभयो । सदस्यले नियमित मासिक बचत गर्नुपर्ने र सचेत सदस्यको रूपमा जागरुक भई सहकार्य गर्न उहाँले अनुरोध गर्नुभयो ।
शिक्षा शिविरमा संस्थाका व्यवस्थापक शिवजी हाकुदुवालले संस्थाका सदस्यहरूलाई वित्तीय साक्षरता गराउने क्रममा देशमा आम्दानी गर्न सक्ने विभिन्न थरीका व्यवसाय, आम्दानी गर्ने अचुक उपाय, आवश्यक तथा अनावश्यक खर्च छुट्याई बचत गर्ने तरिका, ऋण कसरी लिने, तिर्ने तथा लगानी गर्ने विभिन्न तरिकाबारे र त्यसका जोखिमका क्षेत्रहरू पहिचान गर्ने तरिकाबारे जानकारी गराउनुभयो । संस्थाले गर्दै आइरहेका गतिविधि र भावि आउने कार्यक्रमबारे जानकारी गराउँदै उहाँले सहकारी ऐनअन्तर्गतका सहकारी ऐन २०७४, २०८१, २०८३ मा भएका संशोधित विषयवस्तुलाई ध्यानमा दिई प्रस्तुति दिनुभएको थियो ।
शिक्षा उपसमितिका सभापति विश्वराम त्वायनाले समापनको क्रममा सदस्यले सदस्यमुखी संस्थाको पहिचान गर्नुपर्ने, सदस्यको जिम्मेवारी निभाइ मासिक नियमित बचत गर्नुका साथै सदस्य अद्यावधिक KYM अनिवार्य रूपमा गर्न र सकारात्मक सल्लाह सुझाव दिनुहुन अनुरोध गर्नुभएको थियो । कार्यक्रममा शिक्षा उपसमितिका सदस्य रवेन्द्र सुवालले उद्घोषण र रोजिस त्वातीले स्वागत गर्नुभएको थियो ।
Leave a Reply