भर्खरै :

भक्तपुर नगरपालिकाले थाल्यो रञ्जना र प्रचलित लिपिको प्रशिक्षण

भक्तपुर । भक्तपुर नगरपालिकाले नेपालभाषा लिपि (रञ्जना लिपि र प्रचलित लिपि) को प्रशिक्षण शुरु गरेको छ । शिक्षक आशाकुमार चिकंबञ्जारले प्रशिक्षण दिनुहुनेछ ।
प्रशिक्षणको बुधबार औपचारिक उद्घाटन गर्दै नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले हाम्रो भाषा, लिपि, संस्कृति र भेषभुषा नै हाम्रो चिनारी भएको उल्लेख गर्दै भाषा सभ्यतासंग जोडिएको बताउनुभयो । भाषा, लिपि र संस्कृतिमा धनी समाज सभ्य हुन्छ, उहाँले भन्नुभयो, भक्तपुरको सभ्यता यहाँको भाषा र संस्कृतिसंग जोडिएको छ ।
भक्तपुरबासी नयाँ पुस्तालाई भक्तपुरको इतिहास, कला र संस्कृतिबारे जानकारी दिने हेतुले नगरपालिकाले आधारभूत तहमा स्थानीय पाठ्यक्रम तयार गरी यसै शैक्षिक सत्रबाट कक्षा १ र ६ मा लागू गरेको जानकारी दिनुभयो ।
उपप्रमुख रजनी जोशीले नगरपालिकाले सम्पदा संरक्षणसंगै नयाँ पुस्तालाई यहाँको स्थानीय नेपाल भाषा र लिपिको शिक्षा दिन तालिमको संचालन गरेको बताउनुभयो । उहाँले भाषा पनि सीप भएको उल्लेख गर्दै भाषाले आत्मीयता बढाउने र भक्तपुरमा पर्यटन व्यवसाय प्रवद्र्धनमा भाषाको जानकारीले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रशिक्षक आशाकुमार चिकंबञ्जारले नेपाल भाषालाई घरघरमै परिवारबाट सिकाउनुपर्नेमा जोड दिंदै नयाँ पुस्तामा भाषाप्रतिको संवेदनशीलता हराइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले अन्य नगरपालिकामा अन्य विकास निर्माण जस्तै भाषासम्बन्धि तालिम समेत कुनै व्यक्ति वा संस्थालाई ठेक्कामा दिने चलन रहेको तर भक्तपुर नगरपालिकाले आफैंले तालिम दिएकोमा खुशी व्यक्त गर्नुभयो ।
नगरपालिकाबाट संचालन हुने नेपाल भाषाको तालिम भनपा ७ वडा कार्यालय गोल्मढीमा प्रत्येक दिन साँझ ५ देखि ७ बजेसम्म र चिनिया भाषाको तालिम ख्वप कलेज देकोचामा दिनको २ देखि ४ बजेसम्म हुने कार्यपालिका सदस्य सुवालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *