्जखाङकी नाची
- फाल्गुन १४, २०८२
५
ब्राह्मणवादी सम्प्रदायहरू सधँै धार्मिक सहिष्णुता अपनाउँदैनथे भन्ने तथ्यका धेरै प्रमाण भेटिन्छन् । बरु, ब्राह्मणहरूले सैन्य क्रियाकलाप गरेको र सैनिक प्रशिक्षण लिएको बारम्बार चित्रण पाइन्छ । यसबाट उनीहरू एक लडाकु समूहको रूपमा उदाएको देखिन्छ । अस्त्रशस्त्र धारण गरेका ब्राह्मणहरूको उल्लेख अनेक भारतीय ग्रन्थमा पाइन्छ । पाणिनी (इपू. ५००) ले ब्राह्मणहरूले सैनिक पेसा अपनाउने देशलाई जनाउन ‘ब्राह्मणक’ शब्दको प्रयोग गरेका छन् । कौटिल्यले ब्राह्मण सिपाहीलाई भर्ती गरेको प्रसङ्ग उल्लेख गरेका छन् । पतञ्जली (ईपू. २००) ले भाला बोक्ने शिव भागवतहरूको चर्चा गरेका छन् ।
मध्यकालको आरम्भसँग सम्बन्धित यसखाले प्रचुर सन्दर्भ पाइन्छ । जस्तोः– सातौँ शताब्दीका वाणभट्टले पुष्त्ूतिले ऋषि भैरवाचार्य र उनका तीन शिष्यसँग भेटेको वर्णन गर्छन् । ती तीन शिष्यहरू वीर योद्धा थिए र उनीहरूमध्ये दुई जना राजाका निजी अङ्गरक्षक बनेका थिए । चन्देल, कलचुरी, चालुक्य र राष्ट्रकुटजस्ता पूर्व मध्यकालका शासक घरानाहरूले ब्राह्मणहरूलाई प्रायः सैन्य अधिकारी नियुक्त गरेको विभिन्न अभिलेखबाट पुष्टि हुन्छ । सन् ८८८ को एक दस्ताबेजअनुसार राष्ट्रकूट राजवंशका राजा कृष्ण तृतीयको शासनकालमा गणरम्म नामक ब्राह्मणले आफ्नो गाउँको रक्षा गर्दागर्दै आफ्नो ज्यान दिएका थिए । राष्ट्रकूटहरूको सेवामा अनेक ब्राह्मणहरू सेनापति बनेका थिए । चोल शासकहरू युद्धमा रणकौशल देखाउने ब्राह्मणहरूलाई ब्रह्माधिराजको उपाधि दिन्थे । पछि पनि ब्राह्मणहरूले महत्वपूर्ण सैनिक पद पाइरहे । कोपण्ण नामका एक ब्राह्मण सेनापतिले तमिल क्षेत्रमा रहेको विजयनगर राज्यको शक्ति विस्तार गर्न अहम् भूमिका खेलेको चर्चा पाइन्छ । यी स्रोतहरूको आधारमा के भन्न सकिन्छ भने मध्यकालको आरम्भमा शस्त्र धारण गर्ने ब्राह्मणहरूको सङ्ख्या बढेको थियो र समाजमा तिनको ठुलो सम्मान थियो । मध्यकालको आरम्भका विधि र आख्यानपरक दुवैखाले पुस्तकमा मन्दिरका पुजारीहरूप्रति घृणा पाइन्छ । सेनालाई सम्मान र पुजारीलाई घृणा आपसमा मेल खाने दृश्य हो । त्यसैले, यो अवधिमा क्षात्र–ब्राह्मणको अवधारणालाई विधि निर्माताहरूले धेरै महत्व दिएकोमा आश्चर्य मान्नुपर्दैन ।
आरम्भिक मध्यकालीन अभिलेखहरूमा हतियारधारी ब्राह्मणहरूको चर्चा पाइन्छ । यसबाट उनीहरूले सैन्य शिक्षा वा तालिम लिएको सङ्केत मिल्छ । अभिलेखहरूमा भट्ट शब्दसँगै कट्ट शब्द आउँछ । सैन्य कलाको तालिम पाएका ब्राह्मणलाई कट्ट भनिन्थ्यो । पार्थिवपुरममा सन् ८६६ को एक अभिलेख भेटियो । त्यसमा कट्ट शब्दले वैदिक ऋचाको अध्ययन गर्नुका साथै सैनिक तालिम लिने विद्यार्थीलाई जनाएको पाइन्छ । यी विद्यार्थीले तालिम लिने स्थानलाई शालइ भनिन्थ्यो र यी तालिम केन्द्र विष्णु मन्दिरसँग जोडिएका हुन्थे । मध्यकालको आरम्भमा केरलमा मन्दिरले चलाएका यस्ता धेरै तालिम केन्द्र थिए । यीमध्ये चोल–चेर युद्धमा महत्वपूर्ण सैन्य भूमिका खेलेको हुनाले ‘कान्तलुशालइ’ केन्द्र प्रसिद्ध भयो ।
शालइलाई नै चालुक्य र पल्लव भूभागमा घटिका भनिन्थ्यो । तीमध्ये सबैभन्दा चर्चित घटिका कान्चीमा थियो । शालइ र घटिकाहरूले ब्राह्मणहरूलाई सैन्य शिक्षा दिन्थे । उत्तर र दक्षिण भारत दुवैतिर पाइएका साहित्यबाट यो तथ्य स्थापित हुन्छ । कुवलयमाला आठौँ शताब्दीका उद्योतनसुरीले लेखेको जैन ग्रन्थ हो । त्यसमा विजय नामक स्थानको एक मठको वर्णन छ । त्यो मठमा लाट, कर्नाटक, मालव, कन्नौज, महाराष्ट्र, सौराष्ट्र, श्रीकण्ठ र सिन्धजस्ता भारतका विभिन्न भेगबाट आएका छात्रहरूले युद्धकला सिक्ने गर्थे । मठमा धनुर्वेद, फलकक्रिडा (ढाल), असि धनु प्रवेश (तरबार र धनुष), कुन्तयुद्ध (भाला), लकुटियुद्ध (गदा), बाहुयुद्ध (हात) आदि विद्या पढाइ हुन्थ्यो । यसैगरी मणिप्रवालका ग्रन्थ र त्यसमा पनि चन्द्रोत्सव (१५ औँ शताब्दी) र केरलोत्पत्ति (१७ औँ शताब्दी) मा पनि ब्राह्मणहरू युद्धकलासँग जोडिएको प्रमाण पाइन्छ । ११ औँ शताब्दीका सोमदेवले आफ्नो पुस्तक कथासरितासागरमा ब्राह्मणहरूले सैन्य तालिम लिएका अनेक उदाहरण दिएका छन् । त्यस्तै, श्रीदर्शन, महिपाल र अक्क्षकक्षपणकले हातहतियारको तालिम लिएको उल्लेख पाइन्छ । गुणश्रमण, अशोकदत्त, शक्तिदत्त र श्रीदत्तजस्ता चर्चित वीरहरूलाई युद्धकलामा पोख्त नायकको रूपमा चित्रण गरिएको छ । क्षेमेन्द्रको पुस्तक बृहत्कथामञ्जरीमा पनि यस्तै चित्रण पाइन्छ । कल्हण (१२ औँ शताब्दी) को पुस्तक राजतरंगिणीमा पनि युद्धमा मारिएका बहादुर ब्राह्मणहरूको चर्चा छ । यीबाहेक पनि कैयन् शिलालेखमा यसखाले प्रमाण भेटिन्छन् । ‘किल्लाको संरचनामा’ बनाइएका मठहरूमा धर्मग्रन्थ पढाउने गुरुहरूको उल्लेख पाइन्छ । अभिलेखहरूमा राजनीतिक समझदारी, बहादुरी र धार्मिक ग्रन्थको ज्ञानका साथै युद्ध कौशलमा पनि उत्तिकै प्रवीण (शास्त्र–शस्त्र विशारद) रहेकोमा ती गुरुहरूको प्रशंसा गरिएको छ । ब्राह्मणहरूलाई सैन्य तालिम दिने परम्पराकै कारण हतियार चलाएर जीवन चलाउने समूहको जन्म भयो । सके यसैकारण परिव्राजकजस्ता शस्त्रधारी ब्राह्मण परिवारको लागि बाटो खुल्यो र मन्दिरको सम्पत्ति रक्षा गर्न मिलिसिया वा नागरिक सेनाको विकास भयो । त्यही भएर मध्यकालको आरम्भका केही पुस्तकमा युद्धरत सन्न्यासीहरूको उल्लेख पाइन्छ । उदाहरणको लागि आठौँ श्ताब्दीका बुद्धस्वामीले आफ्नो पुस्तक बृहत् कथाश्लोकसङ्ग्रहमा युद्धरत पाशुपत सन्न्यासीहरूको चर्चा गरेका छन् । आफ्ना व्यापारिक क्रियाकलापको रक्षा गर्न एक व्यवसायी समूह (गाइल्ड) ले तिनलाई हतियार दिलाएको वर्णन उक्त पुस्तकमा छ । त्यस्तै, ‘राजतरंगिणी’ मा कश्मीरका राजा हर्षले आफ्नो दरबारमा नागा साधुहरू राख्ने गरेको चर्चा छ । यी साधुलाई कतै ‘नाङ्गा फकिर’ त कतै ‘घाइते नाङ्गा घुमक्कड’ भनिएको पाइन्छ । यी साधुहरूले मन्दिरमा हमला गर्थे† मूर्तिमा थुक्ने र मलमूत्र फालेर अपवित्र पार्थे ।
ब्राह्मणहरूलाई सैन्य तालिम दिनाले शङ्कर सम्प्रदायको लडाकु समूहको उदय भयो । यस्ता लडाकुलाई दशनामी नागा भनिन्थ्यो भने तिनलाई अखडाको नाममा सङ्गठित गरिन्थ्यो । कर्नेल जेम्स टडले १३ औँ शताब्दीअघि राजपुतानाभरि नागा नाउँका धेरै नाङ्गा लडाकु साधुहरूको रहेको बताएका छन् । यसको पुष्टि जेएन फार्कहरले पनि गरेका छन् । फार्कहर लडाकु साधुहरूबारे अध्ययन गर्ने सुरुसुरुका विद्वान् थिए । उनले कम्तीमा सातौँ शताब्दी यता भारतभरि नागा साधुहरूको उपस्थिति रहेको लेखेका छन् । यसैगरी, जादुनाथ सरकारले १९ औँ शताब्दीको हिन्दी रचनाहरूका आधारमा दशनामी नागाहरूले सन् ५४७ देखि सन् ११४६ बिच ६ वटा सशस्त्र समूह वा अखडा स्थापना गरेको बताएका छन् । लडाकु दशनामी नागाहरूको अखडाको स्थापना कहिले भयो भनी किटेर भन्न सकिन्न । यसबारे थप अध्ययन आवश्यक छ । तर, ती अखडाको उदय मध्ययुगको आरम्भमा एक महत्वपूर्ण सामाजिक–धार्मिक पक्षको रूपमा भएकोमा धेरै शङ्का गर्नुपर्दैन । तिनका प्रतिद्वन्द्वी लडाकु वैष्णव नागाहरू पनि केही समयपछि अखडाको रूपमा सङ्गठित भए ।
केही विद्वान्हरूले दाबी गरेभन्दा ठीकविपरीत लडाकु सन्न्यासी सम्प्रदायको बढोत्तरीले भारतमा मुसलमानहरू आउनुभन्दा अगाडि नै योद्धा सन्न्यासी र सैनिक साधुहरूको उपस्थिति थियो भन्ने स्पष्ट हुन्छ । तिनका अखडाहरू मुसलमानहरूको अत्याचारका कारण खुलेका थिएनन् । यी अखडाहरूकै कारण मध्यकालको आरम्भ र त्यसपछिको अवधिमा विभिन्न ब्राह्मण र गैरब्राह्मण धर्मबिच तथा ब्राह्मणवादी धर्मकै विभिन्न शाखाबिच विद्वेष र सशस्त्र भिडन्तहरू भए । यस सम्बन्धमा शैव र वैष्णव सम्प्रदायहरूबिच सशस्त्र द्वन्द्वका अनेक उदाहरण पाइन्छन् । एक परम्परागत लेखोटका आधारमा जादुनाथ सरकार भन्छन्, “नागा सन्न्यासी (भावनन्द, सरासुरानन्द र कमलानन्द) हरूले सन् १२६६ मा हरिद्वारमा वैष्णव वैरागीहरूलाई चोटिलो प्रहार गरेका थिए । ती वैरागीहरूलाई हराएर नागा सन्न्यासीहरूले कुम्भ मेलामा पहिले नुहाउने हक जमाएका थिए ।” सोही स्थानमा सन् १७६० मा पुनः घमासान लडाइँ भयो । शैव र वैष्णव नागाहरूबिच चलेको त्यो लडाइँमा विजयी भएर शैव नागाहरूले पहिले नुहाउने हक जमाएका थिए ।
सन् १६९० मा नासिकमा लागेको सिम्हस्त मेलामा वैरागीहरूको नरसंहार भएको प्रमाण पनि पाइन्छ । मुगल बादशाह औरङ्गजेबको शेखपछि अयोध्याका धार्मिक स्थल तथा तीर्थयात्रीहरूबाट उठाइने शुल्क र कोसेलीमाथि नियन्त्रण जमाउने उद्देश्यले शैव सन्न्यासी र वैष्णव वैरागीहरूबिच ठुलै लडाइँ चलेको थियो । तथ्य त के हो भने १९ औँ शताब्दीको अन्त्यसम्मै दशनामी र वैष्णव वैरागीहरूबिच नियमितजसो झैझगडा भइरहयो । यसबाट मध्यकालका इसाई र मुस्लिम धर्मझैँ ब्राह्मणवाद र त्यसका अनेकथरी सम्प्रदायहरू जन्मैले असहिष्णु थिए । यो असहिष्णुताले बेलाबेला हिंस्रक रूप लिन्थ्यो । मध्यकालको आरम्भमा धार्मिक सम्प्रदायलाई सैन्यकरण गर्न यो हिंसाको भूमिका बाँधेको हुनुपर्छ । यसकारण, ‘हिन्दू धर्ममा अरूलाई बहिष्कार गर्नेभन्दा जोड्ने प्रवृत्ति छ’ वा ‘सहिष्णुता नै हिन्दू धर्मको मूल मर्म हो’ भन्ने दाबीमा सहमत हुन सकिन्न । यसैगरी ‘इस्लामले बाहिरबाट हिंसा नल्याउञ्जेल यहाँका बासिन्दाहरू धार्मिक रूपमा सद्भावपूर्वक बाँचिरहेका थिए’ भन्नु उपलब्ध प्रमाणहरूप्रति आँखा चिम्लिनु हो ।
६
माथिको चर्चाबाट स्पष्ट हुन्छ, इस्लाम धर्म आउनुभन्दा धेरैअघि मध्यकालको आरम्भमै भारतमा कैयन् ब्राह्मणवादी र शास्त्रविरोधी धार्मिक सम्प्रदायहरू थिए । धार्मिक बहुलताको त्यो माहोलमा अनेक प्रतिद्वन्द्वी विचार आपसमा भिड्थे । ब्राह्मण धर्मगुरुहरूले सर्वसाधारणलाई आ–आफ्ना सम्प्रदायमा धर्मान्तरित गर्ने प्रयास गर्थे । ‘हिन्दूवाद/हिन्दू धर्म’ को आधुनिक शब्दले समेट्ने ब्राह्मण सम्प्रदायहरूका एउटै संस्थापक, मूल ग्रन्थ वा सङ्गठित मठ थिएनन् । यसकारण, इसाई वा इस्लाम धर्मको जस्तो ब्राह्मण धर्मगुरुहरूले एकै ढङ्गले धर्मान्तरण गरेनन् । तर, प्रमाणहरूले देखाउँछन् – प्राचीन भारतमा नै ब्राह्मणवादीहरूले धर्मान्तरण गर्थे; इस्लाम धर्म आउनुअघि र पछि पनि यो क्रम चलिरह्यो । उत्तर वैदिक कालमा लेखिएको पञ्चविम्श ब्राह्मण पनि भनिने ताण्ड्य ब्राह्मणमा व्रात्यस्तोम यज्ञको चर्चा छ । यसमा व्रात्य (ब्राह्मण धर्मबाहिरका मानिस) हरूलाई रुढीवादी आर्यसँग सामाजिक सम्पर्कमा जान योग्य पात्र बनाउनका लागि यो यज्ञ गरिन्थ्यो । व्रात्यको पहिलो उल्लेख अथर्ववेदमा पाइन्छ । यसपछिका धेरै उत्तर वैदिक रचनामा पनि यसको उल्लेख भयो ।
व्रात्यताप्रायश्चित निर्णय र व्रात्यताशुद्धिसङ्ग्रहजस्ता मध्यकालका कतिपय पुस्तकमा प्राचीन ग्रन्थका आधारमा व्रात्यहरूका १२ पिँढीलाई समेत एकैबाजि शुद्ध पार्ने चर्चा पाइन्छ । व्रात्यताशुद्धिसङ्ग्रहमा तिनलाई मानक शुद्धि विधिमार्फत मात्र ब्राह्मण समाजमा भित्याउन मिल्ने कुरामा जोड दिइएको छ ।
यहाँनिर दीक्षा समारोहबारे चर्चा गर्न मिल्छ । सामान्यतया दीक्षालाई उपनयन गर्ने वा पवित्र पार्ने प्रक्रियाको रूपमा लिइन्छ । लौकिक जीवन परित्याग गर्नु नै दीक्षा हो । यसरी मनुष्यले पवित्र ज्ञान र विवेक आर्जन गर्न सक्छ किनभने त्यो नै मानव जीवनको उच्चतम प्राप्ति हो र त्यहाँबाट मनुष्य दैवी जीवनमा पुग्छ । विभिन्न कर्मकाण्ड र तिनको महत्व नकेलाई यहाँ के मात्र भनौँ भने विभिन्न भारतीय धर्ममा दीक्षालाई ठुलो महत्व दिइएको पाइन्छ । यो तथ्यलाई बेवास्ता गर्न सकिन्न । जस्तो, वैष्णव धर्मको मुख्य उद्देश्य नै शुद्धीकरण हो । वैष्णव धर्मअनुसार शुद्धीकरण नगरी कसैलाई पनि धार्मिक सम्प्रदाय वा समूहमा सामेल गर्न सकिन्न† तिनलाई रामायण वा रामानुजले लेखेको श्रीभाष्यजस्ता पुस्तक पढ्ने अनुमति दिन सकिन्न । भागवत पुराण वैष्णव धर्मको मूल ग्रन्थ हो । यसमा मोक्ष चाहने व्यक्तिले गुरुको सद्भाव र मार्गदर्शन लिनुपर्छ भनिएको छ । चैतन्य आन्दोलनको मूल ग्रन्थ हरिभक्तिविलास भन्छ, “दीक्षा नलिएको व्यक्तिलाई पूजाआजा गर्ने अधिकार छैन किनभने दीक्षाले सबै पापलाई नष्ट गर्छ र दिव्य ज्ञान प्रदान गर्छ ।” यसैगरी, कश्मीरी शैव धर्ममा दीक्षालाई अखण्ड शिवत्व प्राप्त गर्ने सबैभन्दा महत्वपूर्ण विधि मानिएको छ । त्यस्तै, वीरशैव समुदायका सबै सदस्यले दीक्षा लिनु अनिवार्य छ । किनभने, वीरशैव धर्मको ढोका ती सदस्यका लागि मात्र होइन, गैर वैष्णव वा वैष्णव धर्म अपनाउने सबैका लागि खुला हुन्छ भनिन्छ ।
यसरी कतिपय सन्दर्भमा दीक्षालाई धर्मान्तरणको पूर्वसर्तको रूपमा लिन सकिन्छ । यो कर्मकाण्डको प्रकृति र महत्वबारे केही मतभेद रहे पनि शैव सम्प्रदायमा धर्म परिवर्तनको प्रथा सामान्य देखिन्छ । मिथक, श्रुति, स्मृतिलगायत विभिन्न स्रोतहरूबाट यो कुरा पुष्टि हुन्छ । जस्तो, दक्ष प्रजापतिको प्राचीन किंबदन्तीले ब्राह्मण धर्मभित्रको धर्म परिवर्तन दर्साउँछ । यो मिथकका अनेक संस्करण छन् । तर, भित्री सार एउटै हो – बलिप्रथामुखी वैदिक धर्म र रुद्र–शैव धर्मबिचको द्वन्द्व । यही द्वन्द्वले पछि महाकाव्य र पुराणहरूमा वैष्णव र शैव धर्मबिचको सङ्घर्षको रूप लियो । धेरैजसो पुराणहरू मध्यकाल र त्यसपछिका शताब्दीमा लेखिएका थिए । दक्ष प्रजापतिको कथामा अन्ततः शिवले दक्षको यज्ञ भङ्ग गर्छन् र दक्षले शिवको श्रेष्ठता महसुस गर्दै शैव धर्म अङ्गीकार गर्छन् ।
यसबाहेक कतिपय ग्रन्थमा धर्म परिवर्तन गर्ने विधिको चर्चा छ । सोमशंभुपद्धति एउटा उदाहरण हो । यो संहिताको सङ्कलन ११ औँ शताब्दीको उत्तरार्धमा सोमशंभुले गरेका थिए । यसमा विशेष कर्मकाण्ड गरेर गैरधर्मालम्बीहरूलाई शैव धर्ममा भित्याउने विधि दिइएको छ । साथै, धर्म परिवर्तन गर्ने त्यो विधिलाई लिङ्गोद्वार भनिएको छ । शैव नबनी मोक्ष प्राप्त गर्न सकिन्न भन्ने सोचका साथ यो विधि गढिएको थियो । यसैगरी, सन् ११९७ मा लेखिएको तान्त्रिक ग्रन्थ कुब्जिका नित्यानिक तिलकमा नौजना बौद्ध धर्मावलम्बीहरूले धर्म परिवर्तन गरेर कौल धर्म अपनाएको प्रसङ्ग छ । त्यसमा उल्लेख विवरणअनुसार कुब्जिका तान्त्रिक सम्प्रदायका प्राचीन गुरुहरूमध्ये प्रथम गुरु श्रीनाथउर्फ तूषनीशउर्फ उन्मनीशनाथ गन्धर्वलोक जान्छन् । त्यहाँ बसोबास गर्ने केही बौद्धहरूले उनलाई अनेक प्रश्न गर्छन् । जवाफमा श्रीनाथले आफू एक सिद्ध पुरुष भएको र आफूसँग दिव्य ज्ञान (दिव्यज्ञानवरलब्धक) भएको बताउँछन् । यो सुनेर बौद्धहरू गलल्ल हाँस्छन् र उनलाई आफ्नो दाबीलाई सत्य साबित गर्न चुनौती दिन्छन् । कथा अझ अघि बढ्छ – श्रीनाथले ‘हम्’ अक्षर उच्चारण गर्नेबित्तिकै सबै बौद्ध विहारहरू गल्र्याम ढल्छन् । यसपछि भिक्षुहरूले उनको सत्ता स्वीकार्छन् । पछि श्रीनाथले ती सबै भिक्षुको धर्म परिवर्तन गराउँछन् । यस्तै गैरधार्मिक रचना हो ११ औँ शताब्दीमा कृष्ण मित्रले लेखेको प्रबोधचन्द्रोदय । यसमा एक बौद्ध र एक जैनसँग एक कापालिकको रोचक वार्ता दिइएको छ । बहसको अन्त्यमा कापालिकले ती बौद्ध र जैन धर्मावलम्बीलाई सुरा र सुन्दरी पेस गर्छन् । यसरी तिनको धर्म परिवर्तन गरेर शैव धर्ममा भित्र्याउन कापालिक सफल हुन्छन् । (प्रबोधचन्द्रोदय, अङ्क ३)
Leave a Reply