संसारका शान्तिप्रिय र न्यायप्रेमी जनताद्वारा अमेरिकी साम्राज्यवादको विरोध
- फाल्गुन १४, २०८२
नेपाली राजनीतिको रङ्गमञ्चमा मञ्चन भइरहेका दृश्यहरू कुनै विद्रूप नाटकभन्दा कम छैनन् । यहाँ विचारको खेती गरिँदैन, बरु स्वार्थको फसल काटिन्छ । सिद्धान्तको जगमा घर बनाइँदैन, बरु सत्ताको दाउपेचमा नैतिकताको चिहान खनिन्छ । पछिल्लो समय नेपाली राजनीतिमा ‘शत्रु’ र ‘मित्र’ को परिभाषा बिहानीको घामसँगै फेरिने गरेको तथ्य हामी सबैका सामु छर्लङ्ग छ । अस्ति ‘टाउकाको मूल्य’ तोक्ने र ‘आतङ्ककारी’ को बिल्ला भिराउनेहरू हिजो आज एउटै सोफामा बसेर मखमली हाँसो साटासाट गरे । हिजो ‘प्रतिगमन’ को नाइके भनिएकाहरूसँगै मिलेर ‘गणतन्त्र जोगाउने’ कसम पनि खाइयो । यो विरोधाभासपूर्ण यात्राको सबैभन्दा बिझाउने पक्ष के हो भने, माथि नेताहरूले ‘चाटाचाट’ गरिरहँदा तल आम नागरिक र कार्यकर्ताहरू भने सामाजिक सञ्जालमा तिनै नेताका लागि ‘काटाकाट’ र गालीगलौजमा उत्रिएका छन् । के यो आधुनिक दासताको नयाँ रूप होइन ?
नेपाली राजनीतिको पछिल्लो दशकको सबैभन्दा ठुलो ‘प्रयोग’ नेकपाको गठन थियो । कम्युनिस्ट एकताको नाममा केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिचको प्रेम यति प्रगाढ देखिन्थ्यो कि उनीहरूले आफूलाई ‘एउटै जेटका दुई पाइलट’ घोषणा गरे । उनीहरूले सार्वजनिक मञ्चबाटै स्वर्ग र नर्क पनि सँगै जाने बाचा गरे । कार्यकर्ता र सामान्य जनताले सोचे—अब देशमा स्थिर सरकार आयो । तर, त्यो ‘स्वर्ग’ को बाचा जनताका लागि रहेनन, बरु बालुवाटारको सुविधायुक्त कुर्सीका लागि मात्र रहेछ ¤ जब कुर्सी हल्लियो, तिनै पाइलटहरूले जहाजलाई नै दुर्घटनामा पारे । हिजो ‘मुटु’ साट्नेहरूले भोलिपल्टै एक–अर्काको ‘कलेजो’ निकाल्ने गरी गालीगलौज गरे । विडम्बना, तिनै नेताका कार्यकर्ताहरू हिजो एकताको गीत गाउँदै अरूलाई निषेध गर्थे, आज फुटको ताली पिट्दै आफ्नै पूर्वसहयात्रीलाई सत्तोसराप गरिरहेका छन् । विगतको निर्वाचनमा नेपाली काङ्ग्रेस र माओवादी केन्द्रको चुनावी मोर्चाले त राजनीतिक नैतिकताको धज्जी नै उडाएको हो । जनयुद्धको समयमा एक–अर्काको रगत बगाउनेहरूले जब ‘हँसिया–हथौडा’ र ‘रुख’ चिह्नमा भोट साटासाट गरे, त्यहाँ विचारको औपचारिक अन्त्येष्टि भयो । शेरबहादुर देउवा र प्रचण्डको यो जुहारी देख्दा लाग्थ्यो—सत्ताका लागि जे पनि सम्भव छ । मतदाताले रुखमा छाप लगाउनुपर्ने ठाउँमा हँसिया–हथौडा रोज्नुपर्ने र हँसिया–हथौडा रोज्नेले रुख रोज्नुपर्ने बाध्यता लोकतन्त्रको मजाकबाहेक केही थिएन । फेरि, परिस्थिति फेरियो र ओली–देउवाको ‘मुटु साटासाट’ सुरु भयो । जुन ओलीलाई देउवाले ‘अधिनायकवादी’ देख्थे, तिनै ओलीसँग मिलेर उनी सत्ताको सुरक्षा कवचमा सुरक्षित रहेको ठाने । ओलीले देउवालाई हरेक तरिकाले च्यापेको दृश्य होस् वा देउवाले ओलीको कदममा मौन समर्थन जनाएको अवस्था, यसले के प्रमाणित गर्छ भने यिनका लागि जनता केवल भोट बैङ्क हुन् र कार्यकर्ता केवल नारा लगाउने यन्त्र ।
राजनीतिमा ‘विकल्प’ र ‘परिवर्तन’ को नारा दिएर उदाएका रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीको कथा झन् रोचक र रहस्यमयी रह्यो । हिजो टेलिभिजनको पर्दाबाट प्रणाली सुधार्ने र पुराना नेतालाई जेल हाल्ने गर्जन गर्ने रविलाई तिनै ओलीले काखी च्यापे, जसलाई उनी भ्रष्ट भन्दै सत्तोसराप गर्थे । ओली र रविको यो ‘लैलामजनु’ झैँ देखिने प्रेम कुनै निष्ठा वा एजेन्डाको जगमा उभिएको थिएन । प्रचण्डको सरकारमा रविलाई गृह र उपप्रधानमन्त्री बनाउन ओलीले नै दबाब दिएको र पछि विभिन्न सहकारी काण्डमा नाम मुछिँदा पनि ओली र प्रचण्ड दुवैले रविलाई ‘निर्दोष’ को प्रमाणपत्र बाँडेको दृश्यले ‘नया’ र ‘पुराना’ बिचको अवैध साँठगाँठलाई नाङ्गो बनाउँछ । बालेन शाहलाई प्रेमपूर्वक तबला उपहार दिने ओलीको रणनीतिक उदारता होस् वा गगन थापा र रवि लामिछानेबिचको कहिले प्रशंसा त कहिले आक्रोशको सम्बन्ध—यी सबै सत्ताको अङ्कगणित मिलाउने गोटीहरू मात्र हुन् ।
ओली र राजेन्द्र लिङ्देनबिच सधैँ हुँदै आएको चुनावी सहकार्य र मधेसी दलका नेताहरूलाई आफ्नो आवश्यकताअनुसार सबैले च्याप्ने प्रवृत्तिले नेपाली राजनीतिमा दक्षिणपन्थ र वामपन्थको लक्ष्मणरेखा मेटिएको छ । उपेन्द्र यादव हुन् वा महन्थ ठाकुर, सबैले आफ्नो अनुकूलतामा कहिले ‘क्रान्तिकारी’ त कहिले ‘यथास्थितिवादी’ सँग सत्ताको साझेदारी गरेका छन् । अधिकारका नाममा आन्दोलन गर्ने तर सत्ताको गन्ध पाउने बित्तिकै जोसँग पनि घाँटी जोड्ने प्रवृत्तिले मधेसका आम जनतालाई पटक–पटक धोका दिएको छ । यी सबै पात्रहरू एउटै रङ्गमञ्चका कलाकार हुन्, जसको भूमिका निर्देशक अर्थात् ‘स्वार्थ’ ले चाहे अनुसार पलभरमै फेरिरहन्छ ।
यो सबै दृश्य देखिरहँदा सबैभन्दा दुःखद र लाजमर्दो पक्ष भनेको आम कार्यकर्ता र समर्थकहरूको व्यवहार हो । माथि नेताहरूले सुकुटी र रक्सीको भोजमा सम्झौता गरिरहँदा तल कार्यकर्ताहरू भने सामाजिक सञ्जालमा एउटा फोटो, एउटा ट्वीट वा एउटा भाषणको भरमा आफ्नो वर्षौँदेखिको छिमेकी र मित्रसँग सम्बन्ध बिगार्दै छन् । गालीगलौज, असहिष्णुता र निकृष्ट शब्दहरूको प्रयोग गरेर एक–अर्काको खेदो खन्नु नै अहिलेको ‘डिजिटल राजनीति’ बनेको छ । तपाईँले ‘भ्रष्ट’ भनेर गाली गरेको नेता भोलि तपाईँकै नेताको प्रिय पात्र बनेर मन्त्री बन्न सक्छ । तपाईँले ‘राष्ट्रघाती’ भनेर खेदो खनेको व्यक्ति अर्को हप्ता तपाईँकै पार्टीको गठबन्धनमा मुख्यमन्त्री वा राजदूत बन्न सक्छ । यस्तो अवस्थामा फरक–फरक व्यक्तिलाई लिएर तिनको प्रशंसा वा निन्दाका विषयमा सामाजिक सञ्जालमा झगडा गर्नुको कुनै ओैचित्य छैन ।
नेपाली राजनीतिमा कोही पनि अछुतो छैन । सबैले आफ्नो स्वार्थ मिल्दा ‘चाटाचाट’ र नमिल्दा ‘काटाकाट’ गरेका छन् । यिनका लागि देशको राष्ट्रियता, जनजीविका र युवा पलायनको मुद्दाभन्दा पनि आफ्नो र आफ्नो गुटको रक्षा महत्वपूर्ण छ । हिजो राजावादीसँग मिल्दा नहच्किने, हिजो विद्रोहीसँग हात मिलाउँदा नलजाउने र आज एक–अर्काको अघोषित ‘एजेन्ट’ बन्न तयार हुने नेताहरू सारमा एउटै हुन् । यिनीहरू एउटै सिन्डिकेटका सदस्य हुन्, जो पालैपालो कुर्सीमा बस्छन् र जनतालाई भ्रमको खेती गरेर अल्झाइरहन्छन् । जबसम्म आम नागरिकले यो यथार्थ बुझ्दैनन् र ‘मेरो नेताले जे गरे पनि ठीक’ भन्ने अन्धभक्तिबाट मुक्त हुँदैनन्, तबसम्म देशको अवस्थामा कुनै परिवर्तन आउने छैन ।
अन्ततः, हामीले बुझ्न जरुरी छ कि नेताहरू मिल्दा ‘स्वार्थ’ मिल्छ, तर हामी कार्यकर्ता र नागरिक झगडा गर्दा ‘समाज’ बिग्रिन्छ । तपाईँले फेसबुकमा कसैलाई गाली गरेर तपाईँको नेताको कद बढ्ने होइन, बरु तपाईँको आफ्नै स्तर घट्ने हो । नेताहरू हिजो पनि सँगै थिए, आज पनि सँगै छन् र भोलि पनि स्वार्थ मिलेसम्म सँगै हुनेछन् । त्यसैले, पात्रका पछाडि लागेर एक–अर्काको मानमर्दन गर्नुभन्दा, यिनको प्रवृत्तिलाई चिन्नु र प्रश्न गर्नु नै आजको आवश्यकता हो । अब सामाजिक सञ्जाललाई नेताको ‘साइबर सेना’ बन्ने माध्यम होइन, बरु नागरिक दबाब दिने र यिनका बेथितिलाई नङ्ग्याउने थलो बनाउनुपर्छ । बाहिर जतिसुकै फरक रङ्गीन झन्डा बोके पनि सत्ताको लुछाचुँडीमा यी सबै ‘एउटै सारका फरक स्वरूप’ मात्र हुन् । बिउँझने पालो अब हामी जनताको हो ।
Leave a Reply