्जखाङकी नाची
- फाल्गुन १४, २०८२
निर्वाचनको सरगरमी बढ्दै छ । चुनावी प्रचारबाजी तीव्र बन्दै छ । गाउँघरमा भन्दा बढी मोबाइलमा पोखिएको छ चुनावी प्रचार । पुराना शासक दलहरू आफ्नो शाख जोगाउने ध्याउन्नमा छन् । कोही बीउ जोगाउने स्थितिमा पुगेका छन् । सरकार बनाउने मनसुबा बोकेको नयाँ दल ठुलै तामझाम र स्टारडमका साथ लागिपरेको छ । त्यसो त यो दल दुईपल्ट सत्तामा गइसकेको हुनाले यसलाई पनि शासक दलभन्दा फरक पर्दैन । शासकहरूले यसपालि पनि अनेक मीठा र लोभलाग्दा नारा बनाएका छन् । धेरै नारा उहिलेकै जनता झुक्याउने खालका छन् ।
चुनावी झिलिमिलीबिच देश र जनताका वास्तविक एजेन्डा भने छायामा परेका छन् । देश र जनताले भोगिरहेका समस्या निर्वाचनपछि पनि उस्तै रहने अनेक सङ्केत पाइन्छ – शासकहरूका नारा, नीति र कार्यक्रममा ।
बदलिएको छैन काङ्ग्रेस !
नेपाली काङ्ग्रेसका ‘बागीहरू’ ले देउवा समूहबाट नेतृत्व हत्याए, ‘काङ्ग्रेस बदले’ । अहिले देश बदल्ने नारा दिँदै छन् । ‘बदल्यौँ काङ्ग्रेस, बदल्छौँ देश’ – चुनावी माहोलमा काङ्ग्रेसले बनाएको नारा हो यो । के काङ्ग्रेस साँच्चै ‘सुधारिएको’ हो ? के काङ्ग्रेस साँच्चै ‘बदलिएको’ हो ?
नेपाली काङ्ग्रेस बदलिएको छैन । शेरबहादुर देउवाको नेतृत्वमा काङ्ग्रेसले ‘महाकाली सम्झौता’ देखि ‘एमसीसी’ जस्ता देशघाती सम्झौतालाई सदनबाट पारित ग¥यो । एमसीसी पारित गर्दा अग्रमोर्चामा ‘युवा नेता’ गगन थापा थिए भने पश्चमोर्चामा ‘अर्थविद्’ स्वर्णीम वाग्ले थिए ।
‘सुधारिएको’ नेपाली काङ्ग्रेसमा नफेरिएको अर्को पक्ष हुन् – गगन थापा आफै । ‘अमेरिकाबाट ६० अर्ब, चीनबाट ७० अर्ब र भारतबाट ८० अर्ब’ मागेर देश विकास गर्ने गगन थापाको ‘मगन्ते नीति’ फेरिएको छैन । यसरी मागेर देश बन्ने भए ल्याटिन अमेरिकाको हाइटी गगनको यो ‘मगन्ते नीति’ बाट उहिल्यै ‘विकसित’ हुने थियो । तर, आज पनि हाइटी विदेशीहरूसामु हात फैलाएर ‘दे दे बाबा’ भन्दै छ ।
एमसीसी सम्झौताले नेपालको सार्वभौमिकता कुँज्याएको छ । यस्तो सम्झौतामा सही धस्काउँदै गर्दा गगन थापाले सदनबाट ‘अमेरिकी सेना नेपाल आए आफूलाई चारपाटा मुडेर उपत्यका कटाउनु’ भने । उनको यो ‘प्रतिज्ञा’ दिमाग भएको सद्दे नेपालीले बिर्सेका छैनन् । फागुन १५ गते एमसीसी सम्झौता पारित भयो । चैतमा अमेरिकी सेना नेपाल आए । हप्ता दिनअघि मात्र पनि अमेरिकी सेनाले देशको मुटुमा परेड खेलिसकेको अवस्था छ ।
जेलेन्स्की नयाँ – जेलेन्स्की पुराना
‘नेपाली कम्युनिस्ट पार्टी’ (नेकपा) का नेता प्रचण्डले फेरि एकपल्ट आफ्नो थोत्रो रेडियो बजाएका छन् ।
माओवादी सशस्त्र विद्रोह हाँकेका प्रचण्डले माओ त्सेतुङको ‘रेडबुक’ अवश्य पढेका होलान् । माओले राजनीतिलाई ‘जनताको सेवा’ भन्नुभयो । तर, प्रचण्ड कम्युनिस्टको ‘घण्टी बजाउने’ पक्षमा छैनन् । उनले कम्युनिस्ट राजनीतिलाई ‘नयाँ’ परिभाषा दिएका छन् – ‘सम्भावनाको खेल’ । यही खेलका ‘माहिर’ खेलाडी हुन् प्रचण्ड । त्यसैले, कहिले नेपाली काङ्ग्रेससँग घाँटी जोड्न जान्छन् त कहिले एमालेसँग टाउको जोड्छन् ।
हालै उनले एक अन्तर्वार्तामा भने, ‘(नेपालमा) जेलेन्स्की जन्माउने कोसिस हुँदै छ’ । मानौँ, प्रचण्ड जेलेन्स्की होइनन् ¤? प्रचण्डले २०५६ सालमै भारत र अमेरिकालाई ‘प्राण रक्षा गरिदिनुप¥यो प्रभु’ भनी पत्र पठाएका थिए । जेलेन्स्कीले पनि अमेरिका र युरोप पुगेर यस्तै याचना गर्दै आएका छन् । जसरी जेलेन्स्कीलाई अमेरिका र युरोपले हतियार र सैन्य तालिम दिँदै आएको छ । प्रचण्डको ‘माओवादी’ लाई विदेशी हतियार र तालिम प्राप्त भएकै थियो ।
साम्राज्यवादीहरूले सित्तैमा केही दिँदैनन् । पछि जेलेन्स्कीको कठालो समातेर अमेरिकाले ५०० अर्ब डलरको खनिज माग्यो । जेलेन्स्कीले ‘हुन्छ’ भने । प्रचण्डको हाल पनि उस्तै रह्यो । प्रचण्डको पार्टीले ०६३ सालमा भारतलाई माथिल्लो कर्णाली जलविद्युत् आयोजना दियो । जुन नदीबाट ४१८० मेगावाट बिजुली निस्किन सक्छ । त्यहाँबाट ९०० मेगावाट बिजुली निकाल्छु भनेर भारतले माथिल्लो कर्णालीलाई खल्तीमा राख्यो ।
प्रचण्डको पार्टीले नेपाल–भारत गर्ने विमानमा भारतीय सेना राख्ने, नेपाली सेनाको सङ्ख्या घटाउने प्रस्ताव ल्यायो । भारतीय लगानीमा भएका परियोजनामा भारतीय सेना राख्ने प्रावधान भएको बिप्पा सम्झौता प्रचण्डकै पार्टीले ग¥यो । अमेरिकाको चाकडीमा प्रचण्डले देशघाती ‘एमसीसी’ र ‘एसपीपी’ सम्झौताको पक्ष लिए । यसरी प्रचण्डले भारत र अमेरिका दुवैको खातिरदारी राम्रै गरे ।
नयाँ होइन ‘नयाँ पार्टी’
आज बजारमा नयाँ दलको हाइहाइ छ । डिजिटल दुनियाँको बलमा यो ‘हाइहाइ’ लाई चर्काइएको छ । हिजो यस्तै ‘हाइहाइ’ हिटलर र मुसोलिनीका रङ्गशालाहरूमा हुने गर्थे । हिटलरका ‘फ्यानहरू’ उनको कत्ति पनि विरोध सुन्न तयार थिएनन् । उनीहरूलाई पूर्णतः भेडा बनाइएको थियो ।
देशघाती ‘एमसीसी’ सम्झौताको पक्षमा उभिएको पार्टी हो – ‘रास्वपा’ ।
नेपाललाई डरधम्की देखाएर अमेरिकाले एमसीसी सम्झौता पारित गराउन खोज्दा नेपाली फिल्मका ‘महानायक’ राजेश हमालले समेत विरोध गरेका थिए । तर, ‘जेन–जी नायक’ बालेन चुँ बोलेनन् । किन ?
एमसीसी सम्झौता पारित गर्न ठुलै माथापच्चिसी गरेका थिए गगन–स्वर्णीमले । यिनीहरूबिच अहिले पनि ‘तँ ठुलो कि म’ भन्ने बाहेक अर्को झगडा छैन । देशघाती एमसीसी सम्झौता गर्दा दुवै जना शेरबहादुरका ‘योग्य’ भाइ ठहरिएका थिए । नेपाली युवाहरूको छाती कुल्चेर शेरबहादुर–गगन–स्वर्णीमले अमेरिकाको राम्रै खातिरदारी गरेका थिए ।
रास्वपा नयाँ पार्टी होइन । यसले ‘बजाइरहेको घण्टी’ पुरानो हो । एमाले–माओवादीको बैसाखी टेकेर यो पार्टी दुईपल्ट सत्तामा गयो । रविले दुईपल्ट गृहमन्त्री पड्काए । तर, उनले ‘निर्मला पन्त’ लाई न्याय दिन सिन्को भाँचेनन् । भारतीय नागरिकहरूलाई वंशजको नागरिकता दिने सन्दर्भमा उनको पार्टी चुँ बोलेन । उल्टो रास्वपाले नेपाली नागरिकता लत्याएर विदेश भासिने ‘गैरआवासीय नेपाली’ लाई ‘दोहोरो नागरिकता’ दिने ‘वाचा’ गरेको छ ।
विदेशमा दुःख पाएका युवाहरूलाई ‘उद्दार’ गर्ने रविको पार्टीले ‘दलित र सीमान्तकृत’ युवालाई विदेश जान ‘सहुलियत ऋण’ दिने ‘आश्वासन’ बाँडेको छ । माधवकुमार नेपालले ‘बिना ढ्यौवा के’ भने† रास्वपाले ‘ऋण ढ्यौवा’ को कुरा ग¥यो । फरक के भयो ?
यतिमात्र होइन, रास्वपाकै कतिपय नेताले यसको पोल खोलेका छन् । रास्वपा ‘रविको सहकारी ठगी काण्ड’ मै रुमल्लिएको भन्दै सुमना श्रेष्ठले पार्टी छोडिन् । ‘भारतको विरोध गर्नेहरूलाई’ स्वर्णीमले ‘उग्रराष्ट्रवादी’ भने । ‘भारतीय दूतावासमा नेपाल भारतलाई बुझाउनुपर्ने’ कुरा गरेको उनकै एक नेताले भने । अमेरिका जाँदा ‘क्रिस्चियन बन्ने’ स्वर्णीमको निधारमा प्रायः रातो अबीर देखिन्छ । यसले उनलाई एक ढोँगी हिन्दू जोगीभन्दा उति फरक बनाउँदैन । हालै एक अन्तर्वार्तामा उनले आफू ‘एमसीसी’ को पक्षधर नभएको भन्दै दिउँसै रात पार्ने गरी झूट बोले ।
तराईको छौँडो – पहाडका छौँडा
भदौरे भेलले एमालेलाई गद्दीच्युत ग¥यो । ‘चप्पल लगाएर’ काठमाडौँ पसेका केपी ओलीको ‘राजसी’ ढिट अझै गएको छैन । भदौ २३ गते गोली चलाउन आदेश दिएका ओली ‘आफूले गल्ती गर्दै नगरेको’ ढिपीबाट टसकोमस भएका छैनन् । ‘एप्सटिन फाइल’ बाहिर आएपछि निर्लज्ज पाराले कुर्सीमा डसमस्स बसिरहेका डोनाल्ड ट्रम्पजस्तै ।
ओली मात्र होइनन्, उनका ‘दायाँ हात’ को तुजुक पनि उस्तै छ । महेश बस्नेतले नयाँ पार्टीका ‘पोस्टर बोय’ बालेनलाई ‘तराइको छौँडो’ भने । ‘एमाले’ को ‘माक्र्सवादी–लेनिनवादी’ प्रशिक्षणले पनि बस्नेत ‘काजी’ को बाहुनवादी पहाडिया अहङ्कार धुन सकेन । यसमा एमालेका ‘पार्टी स्कूल’ का ‘दिग्गजहरू’ को दोष हो वा ‘काजी साब’ को सफलता ? यो लेखक अलमलमा छ !
अरूलाई ‘तराईको छौँडो’ भन्ने एमालेका ‘पहाडिया छौँडा’ ले यो देशमा के लछारे त ? देशको सीमा नदी नै भारतलाई बुझाउने महाकाली सन्धिदेखि देशघाती ‘एमसीसी’ सम्झौतासम्म एमाले नेपाली काङ्ग्रेसकै छाया बन्यो । ओलीकै पालामा नेपालमा पहिले कहिल्यै नसुनिएका ठुलठुला भ्रष्टाचारका काण्ड भए । ओम्नी, गोकर्ण, वाइडबडीजस्ता भ्रष्टाचारमा धेरै ‘पहाडिया छौँडा’ को नाम आयो । ‘समृद्ध नेपाल’ को नाउँमा भ्यु–टावरे विकासको अनुत्पादक सूत्र एमाले नै ल्यायो । जनजीवन झन्झन् रसातलमा पुग्यो । यसपालि पनि एमालेको घोषणापत्रमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ पुरानै ‘ललिपप’ छ ।
एमालेले महाकाली सन्धिमा सही ग¥यो; भारतको खातिरदारी ग¥यो । ‘एमसीसी’ मा सही धस्काएर अमेरिकालाई पनि खुसी पा¥यो । कम्युनिस्ट सिद्धान्त बेचेर र काङ्ग्रेसको छाया बनेर एमालेले NGO/INGO को फल पायो† बेसरी मोटायो । त्यसैको दम्भमा आज ओलीले चुनावमा एक नम्बर पार्टी बन्ने ‘ध्वाँस’ दिँदै छन् ।
एमसीसीको ‘औँलो खान दिएर’ शेरबहादुर–ओली–प्रचण्ड अमेरिकाबाट पिण्ड छुटाउन कस्सिएका थिए । तर, हिसाब उनीहरूले सोचेभन्दा अप्ठेरो निस्कियो । भदौ २४ गतेको विध्वंस मच्चाउने ‘अदृश्य शक्तिहरू’ लाई नेपाली सिंहासनमा नयाँ ‘छौँडा’ चाहिएको छ ! अब एमसीसीभन्दा पनि खतरनाक एसपीपी, खम्पा–२ र हिन्द प्रशान्त रणनीतिमा सही छाप चाहिएको छ तिनलाई !
नयाँ होस् वा पुरानो…
हालै नेपालमा ४०–५० वर्षलाई पुग्ने पेट्रोलियम खानी भेटियो । अथाह जलस्रोत हुँदाहुँदै पनि नेपालीहरूले महँगो भाउमा पानी र बिजुली किन्नुपर्ने अवस्था छ । नेपालमा चुनढुङ्गाको अपार भण्डार छ । तैपनि, नेपालीहरू किन अभावमा पिरोलिँदै छन् ? यसका दुई कारण छन् – नेपाली प्रकृतिमाथि विदेशी पुँजीपतिहरूको गिद्देदृष्टि र निजीकरण ।
हामीसँग भएका नदीनाला, ढुङ्गागिट्टी, बिजुली विभिन्न असमान सन्धिमार्फत विदेशीले लुटे र लुट्दै छन् । हामीसँग भएका उद्योगहरूमध्ये ३० भन्दा बढी उद्योग निजीकरण गरेर देशविदेशका पुँजीपतिले नाफा हसुर्दै छन् । आज युवाहरू बिदेसिनु पर्नाको खास कारण यिनै उद्योगधन्दा नहुनाले हो । ती उद्योग हुन्थे भने देशले आर्थिक रूपमा विदेशीको मुख ताक्नुपर्दैनथ्यो ।
२०४६ सालपछि नेपालका हरेक निर्वाचन ‘उदार अर्थनीति’ बाट ‘उदार अर्थनीति’ सम्मको यात्रा बनिरहे । रास्वपाको ‘वाचापत्र’ यस अर्थमा पनि आफ्नो ‘वैचारिक माउ पार्टी’ नेपाली काङ्ग्रेसको भन्दा फरक छैन । उसको ‘वाचापत्र’ र ‘करारपत्र’ मा ‘उदार अर्थनीति’ शब्द नछुटाइकन लेखिएको छ । ‘अज्ञानी जनता’ ले बुझ्ने हुन् वा होइनन्, चुनावी परिणामले बताउनेछ ।
निजीकरणका पक्षधर स्वर्णीम वाग्लेले एकपल्ट एमालेमार्के ‘कम्युनिस्ट’ हरूलाई कटाक्ष गर्दै भनेका थिए – ‘दैनिक रूपमा भन्सारमा अरबौँ रूपैँया जम्मा हुन्छ, कम्युनिस्टहरूले सरकारी उद्योग खोले भइहाल्यो त ¤’ यसको अर्थ रास्वपा सरकारी उद्योग खोल्ने सोचमा छैन । बरु यसले नेपाली काङ्ग्रेस, एमाले र माओवादीको बिँडो थाम्दै निजीकरण वा निजी क्षेत्रलाई बढावा दिनेछ ।
अर्कोतर्फ जेन–जी आन्दोलनपछि नेपालमा फ्रि–तिब्बतीहरूको सक्रियता बढेको छ । यसको अर्थ अमेरिकाको चलखेल बढेको छ । काठमाडौँमा अमेरिकी सेनाको परेडले यही बताउँछ । तर, यसबिच नेपालका मूलधारे मिडिया पनि मौन छन् । मिडियाले अमेरिकी चलखेल ढाकछोप गर्न बढी पसिना बगाएको देखियो । ‘बेलायत र भारतका सेना पनि परेड खेल्छन्’ भनेर जनताको आँखामा छारो हालेको देखियो । भारत होस् वा बेलायत, देशभक्त नेपाली जनतालाई त्यो पनि असह्य छ ।
अमेरिकी संस्था NED को उपसंस्था IRI ले ‘नेपालमा हिन्द–प्रशान्त रणनीति अनुकूल सरकार गठन गर्ने’ र ‘नेपालसँग जोडिएको अमेरिकी स्वार्थको समस्या सुल्झाउने’ घोषित लक्ष्य कोरोना महामारीपछि नै तयार गरेको खुलासा भएको छ । रुसलाई सताउन युक्रेन बनाए जस्तै चीनलाई घेर्ने गरी नेपाललाई ‘नयाँ युक्रेन’ बनाउन अमेरिका कस्सिएको छ । यही सिलसिलामा आएका थिए – एमसीसी र एसपीपी ।
त्यसैले यो निर्वाचनमा नेपाल देश र नेपालीको मूल नारा यस्तो हुनुपर्छ :
नयाँ होस् वा पुरानो होस्
‘एमसीसी’ को मतियार नहोस्
नयाँ होस् वा पुरानो होस्,
‘उदार अर्थनीति’ को मतियार नहोस् ।
Leave a Reply