भर्खरै :

जनतालाई विश्वासघात नगर्ने र धोका नदिने पार्टी जहिल्यै नयाँ हुन्छ

जनतालाई विश्वासघात नगर्ने र धोका नदिने पार्टी जहिल्यै नयाँ हुन्छ

भक्तपुर, २२ माघ । नेपाल मजदुर किसान पार्टीको ५२ औँ स्थापना दिवसको अवसरमा नेमकिपा सूर्यविनायक नगर समितिले बुधबार प्रवचन कार्यक्रमको आयोजना ग¥यो । कार्यक्रममा आसन्न निर्वाचनबारे पनि छलफल भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य अनुराधा थापामगरले ५२ वर्षको राजनीतिक सङ्घर्षमा नेमकिपाले देशभक्त पार्टीको रूपमा आफूलाई उभ्याउन सफल भएको धारणा राख्नुभयो । उहाँले देशमा भ्रष्टाचारमा नमुछिएको एउटै मात्र अनुशासित र इमानदार पार्टी नेमकिपा भएको चर्चा गर्दै भ्रष्टाचार गरेर र जनतालाई धोका दिएर सङ्ख्याको दम्भ देखाउने शासक दलहरूका कारण जनताले दुःख पाइरहेको बताउनुभयो ।
“जनतालाई विश्वासघात नगर्ने र धोका नदिने पार्टी जहिल्यै नयाँ हुन्छ† देश र जनतालाई झूटा आश्वासन दिने र घात गर्नेहरू पुराना हुन्,” उहाँले भन्नुभयो ।
सडक र सदनमा देश र जनताको हितमा सङ्घर्ष गर्दै आएको पार्टीको इतिहासबारे चर्चा गर्दै उहाँले संसद्मा सरकारमा जाने दलहरूभन्दा पनि सरकारलाई खबरदारी गर्ने बलियो प्रखर प्रतिपक्षको आवश्यकता भएकोले नेमकिपाको चुनाव चिन्ह मादलमा मतदान गर्न जरुरी रहेको बताउनुभयो ।
नेमकिपाको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश वैद्यले स्थापनाकालदेखि नेमकिपाले सिद्धान्तमा अडिग रही देश र जनताको निःस्वार्थपूर्वक सेवा गरिरहेको बताउनुभयो ।
देश जोगाउन, शिक्षा र स्वास्थ्य गरिब जनताको पहुँचमा पु¥याउन, स्वदेशमै युवाहरूलाई स्वरोजगारको व्यवस्था गर्न लागिपरेको स्पष्ट पार्र्दै उहाँले भन्नुभयो, “निर्वाचन घोषणापत्रको लडाइँ हो । पार्टीले घोषणापत्रमा वाचा गरेअनुसार काम गर्छ ।”
उहाँले देशका ठुला र पटक–पटक सरकारमा पुगेका सत्तासीन दलका नेताहरूले देशलाई भ्रष्टाचारमुक्त बनाउन लाग्नुपर्नेमा उल्टो भ्रष्टाचारीहरूकै पक्षपोषणमा लागिरहेको बताउनुभयो ।
नेमकिपा सूर्यविनायकका सचिव महेन्द्र बखुन्छेँले नेमकिपा स्थापनाको आधार किसान आन्दोलन, भ्रष्टाचारविरोधी आन्दोलन, वैदेशिक हस्तक्षेप आदि रहेको उल्लेख गर्दै विदेशीसामु नझुकी देश र जनताप्रति समर्पित पार्टी नेमकिपा हो भन्नुभयो ।
रामकृष्ण बखुन्छेँको सभापतित्वमा भएको सो कार्यक्रममा राजेन्द्र बखुन्छेँ, श्याम बिसुङ्के, राधेश्याम भुजु र राधा मग्रान्तीले पनि बोल्नुभएको थियो ।
भेलाले रामकृष्ण बखुन्छेँको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *