कवि र कविताबारे
- फाल्गुन १९, २०८२
तिमीसँग नोट छ, मसँग भोट
हामी दुवै आ–आफ्नो आवश्यकतामा थुनिएका छौँ,
त्यसैले लेनदेनको भाषा बोल्छौँ ।
तिमीलाई चुनाव जित्नु छ,
सत्ताको ढोका खोल्नु छ,
मलाई आजको भोक मेट्नु छ,
भोलिको जीवन धान्नु छ ।
यहाँ सिद्धान्तले पेट भरिँदैन,
न त नैतिकताले चुलो बल्छ ।
आज मैले परिवार बचाउन भोट बेचेँ भने,
भोलि तिमी देश विकासको नाममा देशै बेच्ने छौ ।
फरक यत्ति हो –
म बाध्यताले चुक्छु, तिमी योजनाले ।
त्यसैले चुनाव प्रचारमा आउँदा
गाउँमा सिंहदरबार ल्याउने सपना नदेखाऊ,
जितेपछि रोजगारी दिने कसम नखा ।
म ती कथाहरूमा अब विश्वास गर्दिनँ,
किनकि म धेरैपटक ठगिसकेको छु ।
म कहिले नागरिक थिएँ,
आज ग्राहक बनेको छु ।
यहाँ भोटको मूल्य छ,
इज्जत र स्वाभिमानको छैन ।
यदि तिमीले भोटको मूल्य बढायौ भने,
म हाम्रोलाई जिताउँछु,
राम्रोलाई होइन ।
किनकि, यही देशमा
झोले सधैँ सुरक्षित हुन्छ,
प्रश्न सोध्ने मान्छे सधैँ दोषी ।
इज्जत थन्क्याएर म तिम्रो झन्डा बोक्नेछु,
तिम्रै पक्षमा बोल्नेछु,
झोले कार्यकर्ता बनेर भीडमा हराउनेछु –
सबैलाई भोट दिनू भन्छु,
किनकि,
मेरो एक भोट बिक्रीमा छ ।
Leave a Reply