भर्खरै :

भनपा वडा नं. ९ मा स्थानीय व्यवसायीहरूको भेला

भनपा वडा नं. ९ मा स्थानीय व्यवसायीहरूको भेला

भक्तपुर, २४ माघ । भक्तपुर नगरपालिकाको च्याम्हासिंह ढोकादेखि पुरानो बजारको मूल सडकको दुवैतिर पसल कबलको माथि पाखा राख्ने विषयमा स्थानीय व्यवसायीहरूको भेला भनपा ९ नं. वडा कार्यालयको आयोजनामा शनिबार सम्पन्न भयो ।
उक्त भेलामा उपप्रमुख रजनी जोशीले नगरको प्राचीन सम्पदाको मर्मलाई ध्यानमा राखेर वर्तमान आवश्यकतालाई परिपूर्ति गर्ने उद्देश्यले पाखा राख्ने शैली, स्वरूप र सामग्रीमा एकरूपता ल्याउन खोजिएको बताउनुभयो ।
उहाँले भक्तपुरको सभ्यता र संस्कृति संसारकै उत्कृष्ट भएकोमा सबैले प्रशंसा गरिरहेको चर्चा गर्दै आन्तरिक एवं बाह्य पर्यटकहरूका लागि आकर्षक गन्तव्यस्थल बनाउन नगरको पुरानो स्वरूपलाई संरक्षण गर्नु आवश्यक रहेको बताउनुभयो ।
पसल व्यवसायीहरूको भावनाबमोजिम नगरपालिकाले एकनासको पाखा राख्ने निर्णय गरेको उल्लेख गर्दै उहाँले यसले नगरको सौन्दर्य बढाउने विश्वास व्यक्त गर्नुभयो ।
भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले विश्व सम्पदा क्षेत्रमा सूचिकृत बस्तीमा बस्न पाउनु सबैको लागि गर्वको विषय भएको चर्चा गर्दै हाम्रो आफ्नो परिचयको रूपमा रहेको मूर्त तथा अमूर्त कला र संस्कृति नयाँ पुस्तामा हस्तान्तरण भइरहेको बताउनुभयो ।
उहाँले आगन्तुकहरू भक्तपुर प्रवेश गर्दा सफा, सुन्दर, शान्त र आकर्षक बनाउन पसल व्यवसायलाई नगरपालिकाको नियमानुसार सभ्य तरिकाले व्यवस्थापन गर्ने, पार्किङ व्यवस्थापन गर्ने तथा ध्वनि प्रदूषणलाई न्यूनीकरण गर्न सबैले प्रयास गर्नुपर्ने बताउनुभयो ।
भेलामा व्यवसायीहरूले नगरको सौन्दर्य बढाउने विषयमा रचनात्मक सल्लाह सुझाव दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *