भर्खरै :

न्यायपूर्ण आन्दोलनमा नयाँ पुस्तालाई उत्साहित गर्नुपर्ने

न्यायपूर्ण आन्दोलनमा नयाँ पुस्तालाई उत्साहित गर्नुपर्ने

भक्तपुर, २४ माघ । शुभप्रभात एकल महिला समूहको आयोजनामा शनिबार भेला भयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले व्यक्तित्व विकासमा लैङ्गिक वा सामाजिक विभेद हुन नहुनेमा जोड दिँदै एकल महिलाहरूले पनि सम्मानपूर्वक जिउने र उत्पादनमूलक गतिविधि गर्ने अधिकार रहेको बताउनुभयो ।
उहाँले नयाँ पुस्तालाई सभ्य र सुसंस्कृत बनाउने पहिलो अभियान आमाबाट सुरु हुने उल्लेख गर्दै सार्वजनिक सम्पत्तिको सुरक्षा गर्ने, न्यायपूर्ण आन्दोलनमा साथ दिने तथा सामाजिक सद्भाव कायम राख्ने कार्यमा नयाँ पुस्तालाई उत्साहित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
जनताको सबैभन्दा नजिकको अभिभावक नगरपालिका हुने भएकोले सबै तह र तप्काका जनताको भावनाबमोजिम भक्तपुर नगरपालिकाले कार्य गर्दै आएको चर्चा गर्दै उहाँले महिलालक्षित सीपमूलक तालिम पाएर धेरै नगरवासी महिलाहरू आत्मनिर्भर बनिरहेको र यसले समाजमा सकारात्मक प्रभाव परेको प्रस्ट पार्नुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले व्यक्तिगत स्वार्थपूर्तिका लागि गरिने भ्रष्टाचार, नातावाद र अपराध पुँजीवादी व्यवस्थाको दुर्गुण भएको उल्लेख गर्दै समाजवादी व्यवस्थामा हरेक नागरिकलाई शिक्षा, स्वास्थ्य उपचार सेवा, रोजगारलगायतको प्रत्याभूति हुने र सबैले सम्मानपूर्वक जीवन जिउन पाउने बताउनुभयो ।
कार्यपालिका सदस्य छोरीमैयाँ सुजखूले नेपाल मजदुर किसान पार्टीको इतिहासबारे चर्चा गर्दै काम गरिखाने जनताको हितमा र देशको सार्वभौमिकता रक्षाको आन्दोलन गरेको बताउनुभयो ।
समूहका अध्यक्ष दयालक्ष्मी प्रजापतिले समूहमार्फत एकल महिलाहरूको आर्थिक, सामाजिक उन्नतिका लागि गरेका गतिविधिहरूबारे जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *