भर्खरै :

निर्वाचनमा काम गरिखाने जनताको प्रतिनिधित्व हुनुपर्ने

निर्वाचनमा काम गरिखाने जनताको प्रतिनिधित्व हुनुपर्ने

भक्तपुर, २६ माघ । नेपाल मजदुर किसान पार्टी भनपा ९ दत्तात्रय निर्वाचन परिचालन समिति गठन कार्यक्रम सकोलानमा आइतबार एक समारोहबिच सम्पन्न भयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले कामदार जनताको हितमा कानुन बनाउने प्रतिनिधिसभाको निर्वाचनमा काम गरिखाने जनताको प्रतिनिधित्व हामीले नै गर्नुपर्ने बताउनुभयो ।
उहाँले कामदार जनतालाई साक्षर बनाउन शिक्षामा जोड दिँदै कलेज खोलेर देशभरका जनतालाई पढ्ने अवसर प्राप्त भएको बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्रमा पनि नमुना बनाइरहेको बताउँदै आफ्नै खुट्टामा उभिएर सम्पदा संरक्षण गरेको र वैदेशिक सहयोग १ अर्ब २० करोड नलिई ४०÷५० करोडमा पुनः निर्माण सम्पन्न गरेको बताउनुभयो ।
उहाँले मितव्ययी भई पारदर्शी रूपमा खर्च गरी विकास निर्माण गर्दा कम खर्चमा जनश्रमदानले धेरै सम्पदा निर्माण भएको बताउनुभयो ।
उहाँले किसान सङ्घर्षकै कारण जनताको आर्थिक स्तर वृद्धि भई शिक्षा ग्रहण गरी डाक्टर, इन्जिनियर पढाउन सफल भएको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले विभिन्न विकास कार्य, आर्थिक र सामाजिक चहलपहल भइरहेको उल्लेख गर्दै नेमकिपा देश र जनताप्रति समर्पित भएर काम गरिरहेको बताउनुभयो ।
राम प्रजापतिले कानुन बनाउने थलोमा स्थानीय तहले गर्ने विकास निर्माणको कुरा गरेर जनतामा भ्रम फैलाइरहेको बताउनुभयो ।
उहाँले नेमकिपाले भ्रष्टाचारको विरोध, भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादविरुद्ध सङ्घर्ष गरिरहेको बताउँदै अरु पार्टीले पैसा बाँधेर मत किन्न सक्ने भएकोले सचेत गर्नुपर्ने बताउनुभयो ।
नेमकिपा भनपा ९ का अध्यक्ष कृष्णभक्त लवजुले बहुमत आएर सरकार बनाए पनि चुनावबाट आमूल परिवर्तन नहुने हुँदा त्यसको लागि सशस्त्र सङ्घर्ष आवश्यक हुन्छ भन्नुभयो ।
पुँजीवादी व्यवस्थामा धनी झन्झन् धनी र गरिब झन्झन् गरिब हुने भएकोले समाजवादी व्यवस्थाको अपरिहार्यताबारे उल्लेख गर्दै उहाँले किसान सङ्घर्ष र कमैया मुक्ति धोका भएको बताउनुभयो ।
नेमकिपा भनपा ९ का सदस्य छोरीमैयाँ सुजखुले सहकारी ठग, भ्रष्टाचारी र बलात्कारीलाई पराजित गर्नुपर्ने र विदेशी दलाललाई धपाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा केबी प्रजापतिले वैदेशिक हस्तक्षेप हुने सम्भावना रहेकोले भक्तपुर मोडलबारे देशव्यापी प्रचारप्रसार गर्नुपर्ने बताउनुभयो ।
नेमकिपा भनपा ९ दत्तात्रय समितिका अध्यक्ष नातिभाइ ह्योम्बाको सभापतित्वमा सम्पन्न कार्यक्रममा रामकृष्ण प्रजापतिले बोल्नुभएको थियो । नातिभाइ ह्योम्बाको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *