भर्खरै :

भक्तपुरमा आन्दोलन, राजनीति र रूपान्तरण – १

  • माघ २८, २०८२
  • सुरेश ढकाल, सञ्जीव पोखरेल
  • विचार
भक्तपुरमा आन्दोलन, राजनीति र रूपान्तरण – १

परिचय
“चिन्तनशील र प्रतिबद्ध नागरिकहरूको सानो समूहले संसार फेर्न सक्छ ।”
मार्गरेट मीड, मानवशास्त्री ।
नेपाली इतिहासको तुलनात्मक रूपमा छोटो अवधिमै जनताले धेरै राजनीतिक परिवर्तनहरू देखेका छन् । २००७ सालको राजनीतिक क्रान्ति सबै महत्वपूर्ण राजनीतिक परिवर्तनको माउ बन्यो । यसले शताब्दी लामो राणा शासन अन्त्य ग¥यो । देशमा बहुदलीय व्यवस्था स्थापना भयो । सन् १९६० मा राजा महेन्द्रले भर्खरै स्थापित बहुदलीय व्यवस्था अन्त्य गरे र त्यसको ठाउँमा शासनको आफ्नै मोडल लागु गरे । यो मोडललाई पञ्चायती व्यवस्था भनियो । पञ्चायती व्यवस्था राजालाई आफ्नो इच्छाअनुसार शासन गर्ने गरी तयार गरिएको थियो । यो व्यवस्थाले साधारण जनतालाई राजनीतिक प्रक्रियाबाट टाढा राख्यो । २०४६ सालको जनआन्दोलनपछि यो व्यवस्थाको पनि पटाक्षेप भयो । आन्दोलनबाट देशमा पुनः बहुदलीय व्यवस्था स्थापित भयो ।
प्रत्येक राजनीतिक रूपान्तरणले नेपाली जनतालाई सामाजिक प्रगति र समृद्धिको आशा दियो । तर, राजनीतिक परिवर्तनबाट स्थापित भएका कुनै पनि सरकारले नेपाली समाजमा अन्तरनिहीत असमानताप्रति पर्याप्त ध्यान दिन सकेनन् । परिणाम, शासन व्यवस्थामा परिवर्तन आए पनि नेपाली जनताले भोगिरहेका समस्याहरू ज्यूँका त्यूँ रहे । २०४७ सालमा देशमा बहुदलीय प्रजातन्त्रको पुनस्र्थापना भए पनि गरिबी र अभावको परम्परागत संरचना फेरिएन । बहुमत नेपालीको दैनिक जीवन गरिबी र अभावको चपेटामा परिरह्यो । तल्ला जाति, महिला, जनजाति आदि पदानुक्रममा आधारित परम्परागत व्यवस्थामा पिल्सिइरहे । उनीहरूलाई जानाजान र संरचनात्मक रूपमै राजनीतिक प्रक्रियाबाट बाहिर राखियो† यसरी त्यस प्रक्रियाले दिन सक्ने आर्थिक र सामाजिक अवसरहरूबाट बाहिर राखियो (लावती, २००५) । सामाजिक प्रगति र समृद्धि हासिल गर्नका निम्ति सामाजिक र आर्थिक रूपान्तरणको प्रक्रियामा जनतालाई सहभागी बनाउने वातावरणलाई नै प्रजातन्त्र मान्ने हो भने नेपाली जनताले अहिलेसम्म प्रजातन्त्रको अनुभूति गर्न पाएका छैनन् भन्न सकिन्छ (पान्डेय, १९९९) । राजनीतिक प्रक्रियामा जनसहभागिताको अभाव यो समस्याको एउटा सम्भावित कारण हुनसक्छ । नेपालका राजनीतिक दल र सरकारहरू जनतालाई राजनीतिक प्रक्रियामा सहभागी बनाउने सवालमा गम्भीर देखिँदैनन् । ढकाल (२००४) ले तर्क गरेजस्तै, प्रजातान्त्रिक व्यवस्थाको पुनर्बहालीपछि समेत जनताका आकाङ्क्षा, चाहना र प्राथमिकता सुन्ने जमर्को कुनै पनि राजनीतिक दलले गरेका छैनन् । सामाजिक रूपान्तरणको प्रक्रियामा सरकार विज्ञतन्त्र र कमर्चारीतन्त्रको ज्ञानमाथि निर्भर भयो । यसले गर्दा विपन्न र वञ्चित तप्काका नेपालीहरूको जीवनमा उति बदलाव आएन, अझ भनौँ तिनलाई घाटा लाग्यो । परिणाम, बहुमत जनता सरकार र राजनीतिक दलका क्रियाकलापप्रति अत्यन्त रुष्ट देखिए । यसबाट तिनको वैधानिकतामाथि गम्भीर सङ्कट पैदा भयो ।
यो सङ्गीन अवस्थामा समेत भक्तपुर नगरपालिकालाई अपवाद मान्नुपर्छ भन्ने हाम्रो तर्क छ । (उपरान्त भक्तपुर नगरपालिकालाई जनाउन ‘भक्तपुर’ मात्र प्रयोग गरिनेछ । अनु.) ‘भक्तपुर’ ले एउटा विशिष्ट उदाहरण प्रस्तुत गर्छ । ‘भक्तपुर’ मा स्थानीय सरकारले जनतालाई सामाजिक र आर्थिक रूपान्तरणको प्रक्रियामा सक्रिय रूपमा सहभागी बनाउन अवसरहरू दिलाउने संयन्त्रको काम गर्छ (हाछेथु २००४, बराल २००४, ग्रीभ २००२) । अर्को शब्दमा, ‘भक्तपुर’ का जनताले सामाजिक संस्था वा थिति स्थापित गरेका छन् । ती थितिमार्फत उनीहरूले आफ्ना चाहना, अपेक्षा र ज्ञानबारे छलफल गर्छन् र तिनलाई प्राथमिकतामा राख्छन् । यो प्रक्रिया उनीहरूको सामाजिक योजना निर्माणको हिस्सा हो । यस्तो संस्था वा थिति कसरी बसालियो भन्ने कथा आफैमा चाखलाग्दो र महत्वपूर्ण छ ।
यो अध्ययनले साझेदारी, समुदाय, राजनीतिक नेतृत्व र व्यवस्थापकीय अभ्यासको कथा भन्ने प्रयत्न गर्नेछ† राजनीतिक इच्छाशक्ति हुन्छ भने कसरी शासकीय सङ्कट बढिरहेको र राजनीतिक संस्थाहरू क्षीण भइरहेको शासन व्यवस्थाभित्रै पनि सुशासन सम्भव छ भनी देखाउनेछ । परम्परागत नगरी भक्तपुर रूपान्तरणको अध्ययन गरेर हामीले प्रजातन्त्रसम्बन्धी विमर्शलाई जटिल र समाधान पर्खिरहेको प्रश्नको रूपमा पेस गर्न खोज्ने छौँ । ताकि, प्रजातन्त्रको मिहीन भाषणबाजीभन्दा पर देख्न सकियोस् र फरक निष्कर्ष निकाल्न सकियोस् ।
राजनीतिक प्रक्रिया र फोहर व्यवस्थापनबिचको सम्बन्धमा केन्द्रित हुँदै हामी भक्तपुर र त्यहाँका बासिन्दाको सामाजिक, सांस्कृतिक र आर्थिक रूपान्तरणमा स्थानीय सरकारको भूमिका बुझ्न खोज्नेछौँ । पेरिस सहरमा फोहर (दिसा) व्यवस्थापनको इतिहास केलाउने लापोर्ते (१९८५) को ऐतिहासिक विश्लेषणलाई पछ्याउँदै हामीले नगरको फोहर व्यवस्थासम्बन्धी बदलिँदो विमर्शमार्फत भक्तपुरको सामाजिक र सांस्कृतिक परिवर्तनहरूलाई केलाउन खोज्नेछौँ । आशा छ, यस विश्लेषणले हामीलाई भक्तपुरको राजनीतिक आन्दोलनको इतिहासमा सामाजिक रूपान्तरणका निम्ति जनसहभागिताको जग कसरी स्थापित भएको थियो भनी बुझ्ने स्थानसम्म पु¥याउनेछ ।
यो अध्ययन मूलतः भक्तपुरमा विभिन्न समयमा हामी आफैले गरेको अवलोकन र विसं. २०६१–६२ (सन् २००४–५) बिच गरिएका सघन स्थलगत अध्ययनहरूमा आधारित छ । हामीले केही महत्वपूर्ण व्यक्तित्वहरूसँग अन्तर्वार्ता लियौँ । जस्तो, हामीले नेपाल मजदुर किसान पार्टीका अध्यक्षलगायत राजनीतिक नेताहरू, भक्तपुरका प्रमुख विद्वानहरू तथा विभिन्न उमेर र पृष्ठभूमिका कतिपय स्थानीय बासिन्दासँग कुराकानी ग¥यौँ । यसका साथै हामीले केही सान्दर्भिक साहित्यको पनि उपयोग गरेका छौँ ।
भक्तपुर : एक बदलिँदो तस्बिर
भक्तपुर राजधानीको कोलाहलबाट मुस्किलले १३ किलोमिटर टाढा छ । यति हुँदाहुँदै पनि भक्तपुर भन्ने बित्तिकै धेरै नेपालीको दिमागमा काठमाडौँ उपत्यकाको एउटा कुनामा रहेको परम्परागत नेवार नगरीको तस्बिर आउँछ । त्यो तस्बिरभरि साँघुरा गल्लीबिच पुराना मन्दिर र स्मारक तथा आकर्षक जात्राहरू नाच्न थाल्छन् । उदाहरणको लागि, काठमाडौँका मानिसहरू भक्तपुरे जनताले एकान्तमा परम्परागत जीवन बाँचिरहेको ठान्छन् (ग्रीभ, २००२) । भक्तपुरका जनताले बाँकी विश्वसँग थोरै मात्र अन्तरक्रिया गरेको उनीहरूको बुझाइ छ । उनीहरूको नजरमा भक्तपुरसँग काठमाडौँलगायत नेपालका अन्य ठुला सहरमा भइरहेका पछिल्ला परिवर्तनसँगै पाइलामा पाइला मिलाउने क्षमता छैन ।
भक्तपुरसम्बन्धी प्राज्ञिक अध्ययनहरूमा समेत भक्तपुरलाई ‘बन्द’ र ‘नबदलिँदो’ क्षेत्र भनी महिमामण्डन गर्ने प्रवृत्ति पाइन्छ । उदाहरणको लागि, भक्तपुरको विषयमा गरिएका मानवशास्त्रीय अध्ययनहरूले त्यहाँको कठोर जातीय पदानुक्रम वा अनौठा सांस्कृतिक अभ्यासहरूको वर्णन र विश्लेषण गर्छन् । भक्तपुरको जातीय अध्ययनहरूले प्रायः यसलाई एक एकताबद्ध, सजातीय र भौगोलिक रूपमा बन्द समुदायको रूपमा वर्णन गरेको पाइन्छ (लेभी, १९९०) । अन्य केही अध्ययनमा पनि भक्तपुरलाई औद्योगिक युगभन्दा अगाडिको उत्पादन पद्धतिले आकार दिएको उल्लेख पाइन्छ (हाछेथु २००४ मा उद्धृत गुत्शो र कोल्भर, १९७५) । यसका साथै, भक्तपुरसम्बन्धी मानवशास्त्रीय अध्ययनहरूमा कुचीकार, किसान, शिल्पकार, कुमाल, सङ्गीतकार लगायत उत्पीडितजनमा जोड दिने प्रवृत्ति देखिन्छ (पेरिश, १९९७) । यसरी, धेरै प्राज्ञिक पुस्तक तथा लेखहरूमा भक्तपुर एक अलग्गिएको समुदायको रूपमा भेटिन्छ । भक्तपुरलाई परिवर्तित जीवनभन्दा पनि परम्परागत संस्कृतिमा बढी आनन्द लिने बासिन्दाहरूको नगरीको रूपमा चित्रण गरिन्छ (हलान्ड, १९८२) । यसमा आश्चर्य मान्नुपर्दैन । भक्तपुरका स्थानीय बासिन्दासमेत काठमाडौँ र पाटनजस्ता छिमेकी सहरको दाँजोमा भक्तपुरलाई ‘आधुनिक’ मान्दैनन् ।
भक्तपुरे जनतालाई ‘आधुनिक हुन बाँकी’ को कोटीमा राख्ने प्राज्ञिक विमर्शलाई विषयानुशासनको आवश्यकता भनी बुझ्न सकिएला (मार्कस र फिशर, १९८६) । तथापि, नेपाल पर्यटन बोर्डले आफ्नो ब्रोसरमा लेखेजस्तो भक्तपुर ‘जीवित सङ्ग्रहालय’ भने होइन । यो चित्रण शिक्षा, स्वास्थ्य, सरसफाइ, व्यापार, व्यवसाय तथा (सडक, टेलिसञ्चार, विद्युत्जस्ता) भौतिक पूर्वाधारमा भक्तपुरले हासिल गरेको उल्लेख्य प्रगतिसँग मेल खाँदैन । उदाहरणका लागि, भक्तपुरका रैथाने राजनीतिक विश्लेषक डा. कृष्ण हाछेथु भक्तपुर समयविहीन र नबदलिँदो सहर हो भन्ने विचारसँग सहमत छैनन् (हाछेथु, २००४) । भक्तपुरमा हालसालै भएका परिवर्तनबारे ग्रीभको अध्ययन (२००२) ले एक परम्परागत सहरको रूपमा भक्तपुरको रुमानी तस्बिर भ्रामक भएको औँल्याउँछ । किनभने, हामी स्थानीय जनताको आर्थिक र सामाजिक सम्बन्धमा उल्लेख्य परिवर्तन आएको देख्छौँ । भक्तपुरको पहिलो स्थलगत भ्रमणमा हामीले एक स्थानीय पुस्तक बिक्रेता लालकाजी हाडासँग कुरा ग¥यौँ । समयक्रममा उनको ठाउँमा आएको वास्तविक परिवर्तनबारे उनीसँग प्रश्न ग¥यौँ । उनले भने, “भक्तपुर अब फोहर रहेन । मेरो विचारमा सबैभन्दा ठुलो परिवर्तन यही हो ।”
फोहर र पहिचानको राजनीति
“प्रथम वर्षको अध्ययनको क्रममा मैले कुन विषयमा प्रोजेक्ट वर्क गर्ने होला भन्ने सोचमा थिएँ । अन्योल थियो । यस्तैमा काठमाडौँबाट आउनुभएकी डा. बिमला श्रेष्ठसँग त्यसबारेमा कुराकानी भयो । म भक्तपुरकी हुँ भन्ने थाहा पाएपछि उहाँले फ्याट्टै भन्नुभयो, “फोहर र दुर्गन्धित परिवेशले जनस्वास्थ्यमा पार्ने असरको बारेमा अध्ययन गर न ? आफ्नै सहरमा बसेर स्थलगत अध्ययन गर्न पनि सक्छ्यौ किनभने त्यहाँका स्थानीय बासिन्दा फोहोर वातावरणको मारमा छन् ।” भक्तपुरबारे उहाँको यस्तो बुझाइ सुनेर मन खिन्न भयो । मैले उहाँलाई भनेँ – भक्तपुर अहिले नेपालका अरू सहरभन्दा सफा छ ।”
– रमिला शिल्पकार, २०५९ सालको एसएलसी बोर्ड परीक्षामा अब्बल आउने विद्यार्थीमध्ये एक छात्रा । यो घटना उनले भरतपुर मेडिकल कलेजमा भोगेको बताइन् ।
पुस्तक बिक्रेताको भनाइ अतिरञ्जित हुनसक्छ । अर्कोतर्फ, ती डाक्टरको टिप्पणी पनि भक्तपुर र यहाँका बासिन्दाप्रतिको पूर्वाग्रह र पुरानो सोचमा आधारित हुनसक्छ । यद्यपि, यी भनाइहरूमा भक्तपुर र भक्तपुरे जनताको पहिचानसँग जोडिएको एउटा महत्वपूर्ण पक्ष फोहर हो भन्ने स्पष्ट झल्किन्छ ।
देशका अन्य भागका मानिसमा पनि प्रायः भक्तपुरे जनता फोहरी देखिन्छन् र तिनलाई फोहर व्यवस्थापन कसरी गर्ने भन्ने ज्ञान छैन भन्ने धारणा पाइन्छ । यसकारण, भक्तपुरे जनताले मलमूत्र, घरायसी फोहर, पशुको रगत आदि सडक, चोक, भेटघाट स्थलजस्ता सार्वजनिक स्थानमा फाल्छन् भन्ने आम बुझाइ छ । हाम्रो तर्क के भने, ‘फोहर’ वा ‘दुर्गन्धित’ भक्तपुरको आम तस्बिरकै कारण नगर र नगरबासीलाई ‘नबदलिने’ वा ‘अलग्गिएको’ भन्नुपर्ने पृष्ठभूमि बनेको हो ।
आज भक्तपुर ‘फोहर सहर’ को पुरानो परम्परागत तस्बिरभित्र अटाउँदैन । आजभोलि भक्तपुरमा फोहर सङ्कलन तथा व्यवस्थापनको सक्रिय प्रणाली छ । फोहरलाई सार्वजनिक बोझबाट निजी जिम्मेवारीमा बदल्न यो प्रणाली सफल देखिन्छ । भक्तपुरमा नौलो तवरले फोहर व्यवस्थापन गर्ने संस्थाहरूको विकास गरिएको छ । केही अध्ययनहरूले यिनै संस्थाहरूको कोणबाट भक्तपुरको रूपान्तरणलाई हेरेका छन् । तर, भक्तपुरको ‘नयाँ मुहार’ लाई सरसरती नियाल्दा यस्ता संस्थाहरू असाध्यै बलिया छन् भन्ने सङ्केत मिल्छ ।
भक्तपुरको नयाँ पहिचानभित्र ‘सफा सहर’ को नौलो प्रतिष्ठा आफैमा महत्वपूर्ण छ । हालसालै भक्तपुर घुम्ने वा यहाँ भएको परिवर्तनबारे सुन्ने मानिसहरूले यसलाई देशका ठुला सहरमध्ये सबैभन्दा सफा नगरको रूपमा बयान गर्ने गर्छन् । बाहिरियाले मात्र होइन, भक्तपुरकै बासिन्दाले समेत नगरको पछिल्लो सफाइलाई हालसम्मकै सबैभन्दा ठुलो उपलब्धि मान्छन् । हामीले धेरै भक्तपुरेहरूमा सफाइका आधारमा आफ्नो नगरलाई देशका अन्य सहरभन्दा अलग सहरको रूपमा चिनाउने उत्सुकता पायौँ । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँको भनाइमा यो उत्सुकता प्रतिबिम्बित हुन्छ :
“भक्तपुरलाई देशकै पहिलो स्वच्छ, पारदर्शी र भ्रष्टाचारमुक्त नगर बनाउन हामीले अझ सक्रियतापूर्वक काम गर्नुपर्छ ।”
– अध्यक्ष नारायणमान बिजुक्छेँ, नगरस्तरीय कार्यकर्ता भेलामा राख्नुभएको मन्तव्यबाट ।
भक्तपुर एक सफा सहरमा रूपान्तरण भयो । यसले भक्तपुरको एउटा नयाँ र परिस्कृत तस्बिर निर्माण ग¥यो । यो रूपान्तरणको अर्को महत्वपूर्ण पाटो पनि छ । सफाइको अवधारणा तथा सहरलाई सफा गर्ने प्रक्रियामा भएका गतिविधिले भक्तपुरका जनतालाई एउटा साधन प्रदान ग¥यो† आफ्नो अतीतबाट अलग्गिने, नयाँ सामथ्र्यका साथ बाहिरियाहरूसँग संवाद गर्ने र आफ्नो भविष्यको छवि रच्ने साधन दियो ।
भक्तपुरको राजनीतिक र आर्थिक प्रक्रियामा प्रभावकारी फोहर व्यवस्थापन र सरसफाइका लागि भएको जनपरिचालन गहिरो गरी जोडिएको छ । तसर्थ, राजनीतिक र आर्थिक प्रक्रियामा रूपान्तरणको सावधानीपूर्ण अध्ययन गर्नाले हामीलाई फोहर सहरदेखि सफा सहरसम्म भक्तपुरको रूपान्तरणको कथा बुझ्ने स्थानमा पु¥याउन सक्छ । हाम्रो विचारमा यो कथाले भक्तपुरको सुशासनमा राजनीतिक इच्छाशक्तिको भूमिका प्रतिबिम्बित गर्न सक्छ ।

राजनीतिक प्रक्रिया र सफाइ अभियान
फोहर र/वा त्यसलाई मानव स्वास्थ्यसँग जोडी समाधान गर्नुपर्ने समस्या बनाउने प्रक्रिया भक्तपुरका केही कम्युनिस्ट युवाहरूको राजनीतिक चासोबाट जन्मेको देखिन्छ । २०१९ सालमा कामरेड नारायणमान बिजुक्छेँ (हाल नेमकिपा अध्यक्ष) भक्तपुर नगरपालिकाका सदस्य निर्वाचित हुनुभयो । पञ्चायत व्यवस्थाअन्तर्गत भएको स्थानीय तहको निर्वाचनबाट उहाँ नगरपालिका सदस्य बन्नुभएको थियो । कम्युनिस्ट शासन व्यवस्थाका दृढ पक्षपाती कामरेड बिजुक्छेँ युवा लीगका सदस्य हुनुहुन्थ्यो । यो तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको युवा सङ्गठन थियो† जनताबिच साम्यवादी मूल्यमान्यताको प्रचार गर्ने जनवर्गीय सङ्गठन थियो । स्थानीय निर्वाचनमा प्राप्त विजयलाई कामरेड बिजुक्छेँले जनतालाई ‘तिनका वास्तविक अड्चन र सम्भावनाबारे जागरुक’ बनाउने अवसरको रूपमा हेर्नुभयो । अझ यो ‘जनताबिच पुग्ने र तिनलाई सङ्गठित गर्ने’ मौका थियो । बिजुक्छेँ र उहाँका कामरेडहरू लेनिनको उदात्त विचारबाट स्थानीय तहको निर्वाचनमा भाग लिन उत्साहित भएका थिए । लेनिनले भन्नुभएको थियो, “जनताको सेवा गर्न राज्यका प्रतिक्रियावादी सङ्घसंस्थालाई समेत उपयोग गर्नुपर्छ ।” (कामरेड बिजुक्छेँसँगको निजी कुराकानीबाट)
पञ्चायतको राजनीतिक वातावरणमा यस्तो काम गर्नु अप्ठ्यारो र जोखिमपूर्ण थियो । स्वेच्छाचारी पञ्चायती व्यवस्थाले सम्पूर्ण राजनीतिक दल र तिनका गतिविधिमा प्रतिबन्ध लगाएको थियो । पञ्चायती व्यवस्थाबारे प्रत्यक्ष–परोक्ष छलफल गर्ने र÷वा त्यसको विरोध गर्ने कुनै पनि किसिमको राजनीतिक गतिविधिप्रति सरकार सहिष्णु थिएन । यस्ता क्रियाकलापमा संलग्न जोकोहीलाई कैद गर्न सकिन्थ्यो वा तिनले आफ्नो ज्यानै गुमाउनुपर्ने हुनसक्थ्यो । त्यसमाथि कामरेड बिजुक्छेँ पञ्चायती नगरपरिषद्को सदस्य भए पनि एक कम्युनिस्ट कार्यकर्ता हुनुहुन्छ भन्ने कुरा प्रशासनलाई थाहा थियो ।
यसकारण, केन्द्रीय सरकारसँग हुनसक्ने अनावश्यक झमेलालाई पन्छाउन कामरेड बिजुक्छेँले आफूलाई आफ्नो वडामा हुने सफाइ अभियान र विकासका गतिविधिमा होम्नुभयो । बाटोघाटो, ढल र सिँचाइ नहरलगायत संरचनाको निर्माण र मर्मतसम्भार, बालबालिका र प्रौढहरूको शिक्षा† स्वास्थ्य चौकी स्थापना र टोलछिमेकको सरसफाइजस्ता कार्यमा लाग्नुभयो । कामरेड बिजुक्छेँ र युवा लीगका उहाँका साथीहरूले यस्ता कार्यक्रममा स्थानीय जनताको बलियो समर्थन र सहभागिता हासिल गर्न खोजे । यो लक्ष्य प्राप्त गर्नका लागि कामरेड बिजुक्छेँ र युवा लीगका सदस्यहरूले प्रायजसो रातको समयमा स्थानीयहरूसँग बरोबर बैठक पनि बस्न थाले । स्थानीय जनताले पनि यस्ता कार्यक्रममा सहभागी हुन रुचि देखाए । उनीहरू आफ्नो समाजमा हुने विकासका गतिविधिबारे छलफल गर्न भेलामा आए ।
कामरेड बिजुक्छेँ र उहाँका दृढ समर्थकहरूले नियमित बैठक र भेला गरे† विकासका कार्यहरूमा मिलेर लागिपरे । यी गतिविधि खासगरी दुई तरिकाले महत्वपूर्ण रहे । पहिलो, यो जनसमूहबिच अझ सहज र प्रभावकारी ढङ्गले कम्युनिस्ट विचार प्रचार गर्ने अवसर थियो । राजनीतिक मुद्दा र विचारधारा (फर्गुसन, १९९४) बारे अब जनतासँग संवाद गर्न सकिने भयो । टोलको सरसफाइ, ढलको मर्मतसम्भारजस्ता कार्यमा जनता एक ठाउँमा भेला हुँदा त्यसबारे चर्चा गर्न सकिने भयो । दोस्रो, प्रशासनबाट हुने खतरा अब घटेर न्यून भयो । स्थानीय प्रशासनले यस्ता बैठक र क्रियाकलापमा हस्तक्षेप गर्न सक्दैनथ्यो । किनभने, त्यसलाई ‘विकासमा जनताको सहभागिता’ मान्नैपथ्र्यो । कम्युनिस्ट पार्टीका सदस्यहरूको यस्तो नीतिले भक्तपुरमा एउटा नयाँ खालको सार्वजनिक माहोलको विकास गरेको देखिन्छ । यो माहोल वा मञ्चमा जनताले जीवनका विविध पक्षसँग जोडिएका मुद्दाबारे विश्लेषण, छलफल र बहस गर्न सके ।
यी मुद्दाहरूमध्ये सरसफाइलाई सबैभन्दा महत्वपूर्ण मानियो । कम्युनिस्ट पार्टीका कार्यकर्ताहरूले भक्तपुरलाई सफा बनाउनुपर्छ र यसलाई भक्तपुरेहरू आफैले सफा गर्नुपर्छ भन्ने विचारको विकास गरे र यसलाई लोकप्रिय बनाए । त्यो बेलाको राजनीतिक परिदृश्यमा यो विचार एकदम सान्दर्भिक थियो । कम्युनिस्ट पार्टी कार्यकर्ताका लागि यो विचार निकै ठुलो राजनीतिक महत्वको विषय बन्यो । एकातिर, आफ्नो टोलछिमेकको सफाइमा जनताको स्वेच्छिक सहभागिताले जनताका आवश्यकताप्रति उदासीन रहने त्यसबेलाका सबैथरी सरकारलाई एउटा सन्देश दिन सक्थ्यो । अर्कोतर्फ, भक्तपुरको बेग्लै पहिचान बनाउनका निम्ति यो जनतालाई सङ्गठित गर्ने शक्तिशाली विधि थियो । कामरेड बिजुक्छेँ वि.सं. २०२० र ३० को दशकमा भूमिसुधार आन्दोलनपछि गरिब किसानहरूको जीवनस्तरमा आएको परिवर्तनका कारण भक्तपुरको यो नयाँ पहिचान निर्माण गर्न सम्भव भएको तर्क गर्नुहुन्छ ।
(लेखक सुरेश ढकाल र सञ्जीव पोखरेल त्रिभुवन विश्वविद्यालय र नर्वेको बर्गेन विश्वविद्यालयबाट दीक्षित मानवशास्त्री हुन् ।)
अनुवाद : सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *