निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
काठमाडौँ, २८ माघ । आचरण र अनुशासनबाट तल झरेको, गिरेको, बिग्रेको व्यक्ति भ्रष्ट हो । अपवित्र र दुश्चरित्र व्यक्ति नै भ्रष्ट हो । पतित आचरण, दूषित मर्यादा भ्रष्टाचार हो । नियम वा कानुनविरुद्ध नैतिक पतन हुने काम गरी घुस खाई पक्षपातपूर्ण निर्णय र व्यवहार गर्ने काम, भ्रष्ट मनसाय वा घुसखोरीको काम भ्रष्टाचार हो । भौतिक तथा नैतिक रूपमा हुने भ्रष्टाचारलाई रोक्ने काम, घुसखोरी र अवैध व्यापार हुने वातावरणलाई हटाउने काम भ्रष्टाचार निवारण हो । प्रशासकीय क्षेत्रबाट हुने भ्रष्टाचार, ढिलासुस्ती, घुसखोरी आदि निवारण गर्ने उद्देश्यले गठित समिति भ्रष्टाचार निवारण आयोग हो । भ्रष्टाचार गर्ने आचरण भएको, नैतिक र भौतिक दुवै रूपमा आचरण पतन भएको भ्रष्टाचारी हो । यी विभिन्न शब्दको अर्थले घुस लिनु, अनियमितता गर्नु मात्रै भ्रष्टाचार होइन मति बिग्रिने, चरित्र बिग्रिनेहरू पनि भ्रष्ट हुन् ।
देशका शासकहरूको एक कमजोरी मति भ्रष्ट हुनु पनि हो । पद र पैसाको निम्ति राजनीति गर्दा शासक दलका नेताहरू मति भ्रष्ट भए । ठुला या सत्तासीन दलका कति नेताहरू आपराधिक क्रियाकलापमा फसे† कति अनियमित प्रकरणमा फसे; कति सुन काण्डमा परे त कति भुटानी शरणाथी प्रकरण त कति सार्वजनिक जग्गा मुद्दामा फसे । शासक दलका नेताहरू स्वच्छ छविका भएनन् । स्वच्छ राजनीति नगर्दा तिनीहरूमा विकृति छायो । सिद्धान्त र विचार बन्धक बनाइयो । सिद्धान्त र विचारबाट सुसूचित पारेर जनताको विश्वास जित्नुभन्दा लोभलालच देखाएर, मन भड्काएर, दल फुटाएर, आश्वासन दिएर आफूतिर तान्ने काम भयो । यो पनि भ्रष्ट मतिको एक सूचक हो ।
मति भ्रष्ट भएका नेता तथा कार्यकर्ताहरूले साँचो मानेमा देश बनाउँदैनन्; देशलाई आत्मनिर्भर बनाउनेतर्फ पूर्वाधार तयार गर्दैनन् । सरकारको पक्षपातपूर्ण निर्णय, विभेद पनि मति भ्रष्टकै कारक हो । जो भ्रष्ट मतिको छ उसले स्वच्छ छवि राखेर राजनीति गर्ला भन्ने विश्वास कसरी गर्ने ? इमान जवान खल्तीमा राखेर विकृत फैलाउने, हावादारी गफ हाँकेर जनता झुक्याउने काम कहिले पनि न्यायोचित हुँदैन । कम्युनिस्टको सिद्धान्त र विचार बोकेर कम्युनिस्टविरोधी गतिविधि गर्नु, सिद्धान्त र विचार बन्धक राखेर भागबन्डा गरी अवसर खोज्ने काम पनि सद्दे होइन या भ्रष्ट मति नै हो । पैसा बाँडेर जनताको मत लिने काम ठीक हुँदै होइन । अतः यो निर्वाचनमा भ्रष्ट मति भएका हरेक उम्मेदवारलाई हराउनुपर्छ । भ्रष्टहरूलाई हराउनु पनि एक प्रकारको विजय हो ।
अबको प्रतिनिधिसभामा कुनै पनि भ्रष्ट आचरणका उम्मेदवारहरू नजितून् । प्रतिनिधिसभामा भ्रष्टाचारी, ठेकेदार, अपराधी, चरित्रहीन व्यक्तिहरूलाई ठाउँ दिनु हुँदैन । कालाबजारी, गुण्डा, उच्छृङ्खल गतिविधिमा सरिक उम्मेदवारहरू निर्वाचित गराएर परिवार, समाज र देश बन्दैन । देशमा साँच्चै सुशासन ल्याएर सुसंस्कृत, सभ्य समाज स्थापना गर्ने हो भने इमानदार, दूरदर्शी, देशभक्त र बहुमत जनताको पक्ष लिने सांसदहरूको खाँचो छ । नेपाली जनताले कुनै पनि आपराधिक प्रकरणमा मुछेका, फसेका व्यक्तिहरूलाई निर्वाचित गर्नु हुँदैन । त्यस्ता चरित्रका पात्रहरूलाई निर्वाचित गराउनु भनेको आफ्नो खुट्टामा आफैले हान्नुसरि हुनेछ । अतः यो निर्वाचनमा स्वच्छ छविका सही उम्मेदवार निर्वाचित गर्नुपर्छ । सही व्यक्ति छान्न सही व्यक्ति या मतदाताहरूको खाँँचो छ ।
Leave a Reply