भर्खरै :

शिक्षा, स्वास्थ्य निःशुल्क र युवालाई स्वदेशमै रोजगारीको व्यवस्था गर्नुपर्ने

शिक्षा, स्वास्थ्य निःशुल्क र युवालाई स्वदेशमै रोजगारीको व्यवस्था गर्नुपर्ने

कैलाली, २८ माघ । नेपाल मजदुर किसान पार्टी कैलालीको आयोजनामा पार्टीको ५२ स्थापना दिवसको अवसरमा मङ्गलबार लम्की–चुहा नपाको चौरीमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं कैलाली संयोजक रमेशकुमार रावलले नेमकिपाले नेपालको कम्युनिस्ट आन्दोलनमा प्रकाशस्तम्भको रूपमा काम गरिरहेको स्पष्ट पार्नुभयो । उहाँले कामदार जनता राजनीतिक रूपमा सचेत भई सङ्गठित हुन आवश्यक भएको बताउनुभयो ।
देशको राजनीतिमा नेमकिपाले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै उहाँले फागुन २१ मा हुने निर्वाचन विचार र घोषणापत्रको सङ्घर्ष भएको बताउनुभयो ।
शिक्षा, स्वास्थ्य निःशुल्क र युवालाई स्वदेशमै रोजगारीको निम्ति लड्ने पार्टी देशको निम्ति आवश्यक भएको विचार उहाँले व्यक्त गर्नुभयो ।
नेमकिपा कैलालीका सचिव गगनबहादुर थापामगरले नेमकिपाले वैदेशिक हस्तक्षेप, सीमा अतिक्रमण, नागरिकता विधेयक, एमसीसी सम्झौता, कोसी नदी, गण्डकी नदी, महाकाली नदी र कर्णाली नदीजस्ता राष्ट्रघाती सन्धि–सम्झौता खारेजीको माग गर्दै आएको छ भन्नुभयो ।
नेक्रामहिला सङ्घ केन्द्रीय सहसचिव एवं कैलाली क्षेत्र नं २ का उम्मेदवार लक्ष्मी पुनमगरले गरिबवर्गको हितमा काम गर्नेलाई मत हाल्न अनुरोध गर्नुभयो ।
महिला राजनीतिमा सक्रिय रूपमा संलग्न हुन आवश्यक भएको उल्लेख गर्दै उहाँले अहिलेसम्मका सरकार पँुजीवादी भएकोले जनताको समस्या समाधान नभएको र समाजवादी व्यवस्थाले जनताको समस्या समाधान गर्ने बताउनुभयो ।
नेमकिपा कैलालीका सदस्य एवं समानुपातिक उम्मेदवार तारा तिरुवाले निर्वाचनमा देशभक्त पार्टीलाई मत हाल्न आग्रह गर्नुभयो ।
नेक्राकिसानसङ्घ कैलालीका सदस्य रणबहादुर रोकाया, नेक्रायुवासङ्घ कैलाली सदस्य एवं कैलाली क्षेत्र नं ४ उम्मेदवार अमृता भुल र नेक्राविद्यार्थीसङ्घ कैलाली सदस्य एवं कैलाली क्षेत्र नं ५ का उम्मेदवार तिर्सना पुनमगरले निर्वाचनमा देश र जनताको सेवा गर्ने दल रोज्नुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *