भर्खरै :

देशभक्त र स्वाभिमानी नेपाली तयारी गर्नेतर्फ सरकारको ध्यान जानु जरुरी छ

देशभक्त र स्वाभिमानी नेपाली तयारी गर्नेतर्फ सरकारको ध्यान जानु जरुरी छ

भक्तपुर, २९ माघ । “सबैलाई शिक्षित बनाएर देशको लागि आवश्यक जनशक्ति तयार गर्नु सरकारको दायित्व हो । देशभक्त र स्वाभिमानी नेपाली तयारी गर्नेतर्फ सरकारको ध्यान जानु जरुरी छ ।”
उक्त भनाइ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले लनर्स एकेडेमी सेकेन्डरी स्कूलको २५ औँ वार्षिकोत्सव समारोह, एसईई २०८१ का विद्यार्थीलाई बिदाइ र विद्यार्थी प्रतिभा प्रस्फुटन कार्यक्रममा व्यक्त गर्नुभएको हो । उहाँले विद्यार्थीहरूलाई भक्तपुरको मौलिकताबारे विद्यालय तहदेखि सिकाउन सके भक्तपुरको सांस्कृतिक संरक्षण र पुस्तान्तरणमा टेवा पुग्ने बताउनुभयो ।
प्रमुख प्रजापतिले भक्तपुरको शैक्षिक उन्नयनमा भक्तपुरका संस्थागत विद्यालयहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै एसईईपछि उच्च शिक्षा अध्ययनको लागि नगरपालिकाले भक्तपुरमै ख्वप कलेजहरू सञ्चालन गरिरहेको बताउनुभयो ।
प्रतिस्पर्धामा टिक्न नसक्नेहरू लोप हुने खतरा हुन्छ भन्दै उहाँले विद्यार्थी राम्रो भयो भने देशको भविष्य पनि उज्ज्वल हुने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका गतिविधिहरूमा लनर्स स्कूलको पनि सक्रिय सहभागिता रहेको बताउँदै प्रमुख प्रजापतिले भक्तपुरको एसईई नतिजा शत प्रतिशत बनाउने प्रयास गरिरहेको बताउनुभयो ।
शैक्षिक संस्थाहरू दक्ष जनशक्ति उत्पादन गर्ने जग भएकोले यसलाई मजबुत पार्नुपर्ने धारणा राख्दै उहाँले भक्तपुर नपाले यहाँका सम्पदाहरूलाई जनताको सहयोगमा पुनःनिर्माण सम्पन्न गरिरहेको बताउनुभयो ।
विद्यालयका प्रिन्सिपल मदन सुवालले विद्यालयको शैक्षिक प्रगतिबारे प्रस्ट पार्दै विद्यार्थीहरूलाई किताबी ज्ञानसँगसँगै व्यवहारिक र सामाजिक शिक्षामा पनि जोड दिँदै आएको बताउनुभयो ।
प्रेरक वक्ता प्रितम पौडेलले भक्तपुरका विद्यालयमा विद्यार्थीहरूको अनुशासन उल्लेखनीय रहेको चर्चा गर्दै विद्यार्थीहरूलाई सधैँ हौसला प्रदान गर्नेतर्फ शिक्षक र अभिभावकले जोड दिनुपर्ने बताउनुभयो ।
प्याब्सन भक्तपुरका सचिव सुरेन्द्र श्रेष्ठले लनर्स स्कूलको शैक्षिक उपलब्धिमा विद्यालयको मेहनतले पनि महत्वपूर्ण भूमिका खेलेको बताउँदै भक्तपुरका विद्यालयहरूले न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताउनुभयो ।
कार्यक्रममा अभिभावक प्रतिनिधि गणेशप्रसाद आचार्य, विद्यार्थी स्तुती, शिक्षक सुनिता प्रजापतिलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिलगायतका अतिथिहरूले लनर्सका एसईई २०८१ विद्यार्थीहरूलाई सम्मान तथा बिदाइ गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *