भर्खरै :

समाजवादी व्यवस्थाको लागि राजनीतिक सचेतता जरुरी

समाजवादी व्यवस्थाको लागि राजनीतिक सचेतता जरुरी

भक्तपुर, २९ माघ । नेपाल मजदुर किसान पार्टी भ.न.पा. ४ वडा समितिको आयोजनामा प्रतिनिधिसभा निर्वाचन २०८२ मा नेमकिपाका उम्मेदवारलाई अत्यधिक बहुमतले विजय गराउन वडाका कार्यकर्ता, समर्थक तथा शुभचिन्तक महानुभावहरूको भेलाबाट ४ वडास्तरीय निर्वाचन परिचालन समिति गठन कार्यक्रम सम्पन्न भयो ।
नेमकिपा भजिसका अध्यक्ष एवम् बाग्मती प्रदेश सभा सांसद सुरेन्द्रराज गोसाईले पार्टीको घोषणापत्र, पर्चा घरघरमा पु¥याई जनतालाई सचेत पार्ने, पार्टीको सिद्धान्त र विचार बुझेर आफ्नो कर्तव्य पूरा गर्नुपर्ने आवश्यकताबारे जोड दिनुभयो ।
उहाँले अग्रज, अनुभवी बुद्धिजीवीसित अन्तरक्रिया तथा संवाद गरी व्यापक जनतालाई अभिप्रेरित गर्न सके विस्तारवादी, साम्राज्यवादी शक्तिबाट देश जोगाउन सकिने विचार व्यक्त गर्नुभयो ।
समाजको आमूल परिवर्तन अर्थात् समाजवादी व्यवस्थाका लागि नेमकिपाका कार्यकर्ताहरू सङ्घर्षशील भइरहनुपर्ने विचार व्यक्त गर्दै उहाँले देश जस्तोसुकै होस् मन्त्री, प्रम बन्छु भन्ने विचार देशको हितमा नभएको स्पष्ट पार्नुभयो ।
नागरिक अभिनन्दन गराई भीड जम्मा गरी देशमा शासन चलाउने राजतन्त्र टिक्न नसकेको दृष्टान्त दिँंदै उहाँले नयाँ पार्टी भनी जनतालाई झुक्याउन खोज्ने एजेन्डाविहीन, विदेशी शक्तिबाट परिचालित उदयमान पात्रहरूबाट सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भ्रष्टाचार, राजनीतिक भागबन्डा र लुटतन्त्रको कारण भदौ २३ को घटना घटेको बताउँदै उहाँले असमान सन्धि सम्झौताको विरोधमा उत्रने नेमकिपा देशभक्त पार्टी भएको बताउनुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका प्रतिनिधि पुरुषोत्तम तमखुले आसन्न निर्वाचनमा देशभक्त उम्मेदवारहरूलाई विजय गराई देशलाई सिक्किमीकरण हुनबाट जोगाउन नयाँ पुस्तालाई पनि प्रशिक्षित तुल्याउनुपर्ने आवश्यकतामाथि प्रकाश पार्नुभयो ।
नेपाल मजदुर किसान पार्टी ४ वडा समितिका अध्यक्ष पशुपति प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा उपाध्यक्ष कृष्णलक्ष्मी दुवाल, सचिव विश्वराम त्वायनालगायतले बोल्नुभयो ।
उक्त भेलाबाट पशुपति प्रजापतिको संयोजकत्वमा १०१ जनाको निर्वाचन परिचालन समिति गठन गरियो । औपचारिक कार्यक्रमलगत्तै अतिथि गोसाईले नेमकिपा लाक्वलाछेँको चुनाव परिचालन समितिको कार्यालय उद्घाटन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *