क्युवा : अमेरिकी विमान खसालिनुको रहस्य
- जेष्ठ १६, २०८३
वडाध्यक्षको डायरीबाट
मेरो वडामा सडक चौडा पार्ने काम भइरहेको थियो । म समन्वयकारी भूमिका निभाउँदै थिएँ । सडक दुई वडाको सिमानामा पर्ने भएकोले अर्को वडाको वडाध्यक्ष पनि समन्वयकारी भूमिकामा हुनुहुन्थ्यो । नेपाल सरकारको र नगरपालिकाको मापदण्डअनुसार सडक चौडा पार्ने प्रदेश सरकारको योजनाअनुसार नगरपालिकाबाट आफ्नो वडाको क्षेत्रमा परेको हुँदा दुवै वडाध्यक्षले सडक चौडा गर्ने योजनामा समन्वय गरिरहेका थिए । ठेकेदारलाई स्थानीय जनताले अलमल गर्दा फिल्डमा गई आवश्यक सहयोग गर्नु मेरो मुख्य दायित्व थियो । हरेक दिनजसो म फिल्डमा गइरहेको थिएँ । त्यसमध्येको एक दिन मापदण्डसम्बन्धी एउटा विवाद उठ्यो । बाटो वारिपट्टि दुवै घरले नक्सा पास गरी घर बनाएको रहेछ । वारिपट्टिको घर गोविन्द सुवाल (नाम परिवर्तित) को थियो भने पारिपट्टिको घर हरिकृष्ण माक (नाम परिवर्तित) को थियो । गोविन्दजीले पनि सरकारको मापदण्डअनुसार सात मिटर छोडेर घर बनाएका थिए भने अर्कोपट्टिका हरिकृष्णजीले मापदण्ड सात मिटर अलावा थप पैसठी सेन्टिमिटर छोडेर घर बनाएको देखिन्छ । नक्सा हेर्दा दुवैको कागजमा सही देखियो । तर, फिल्डमा ठेकेदारले नक्साअनुसार बाटोको चौडाइ नभएको खबर गरेपछि म आफै फिल्डमा गएँ ।
फिल्डमा जाँदा दुवैपट्टिका घर धनीहरू अलि ठुलो ठुलो स्वरमा कराइराख्नुभएको थियो । मैले गोविन्दजीलाई सोधेँ, “के भयो दाइ ?” उहाँले प्रतिउत्तरमा भन्नुभयो, “नगरपालिकाको मापदण्डअनुसार नापेर रिटेनिङ वाल बनाउनुस् । म आवश्यक सहयोग गर्छु । तर, मैले घर बनाउन नक्सा पास गर्दा मापदण्ड सात मिटर छोडेकोले नक्साअनुसार गर्नुुस् । यसमा मेरो केही आपत्ति छैन । अझ तपाईँ वडाध्यक्षले जसरी मिलाएर गर्दा नि मेरो सहमति छ । अलि अलि छोड्न पनि तयार छु ।” गोविन्द दाइको कुरा सुन्दा ठिक्कै लाग्यो । त्यसपछि हरिकृष्णजीलाई सोधेँ, “तपाईँलाई के कुरामा चित्त बुझेन दाइ भन्नुस् ।” उहाँले भन्नुभयो, “मैले नक्सा पास गर्दा सात मिटर पैसठी सेन्टिमिटर छोडेको छु । त्यसैले त्यत्तिमा तपाईँ वाल बनाएर लानुस् र सडक चौडा गर्नुस् । म सहयोग गर्न तयार छु । विकास निर्माण भन्ने कुरालाई रोक्नु हुँदैन ।” उहाँको कुरा सुन्दा पनि मलाई ठिक्कै लाग्यो ।
त्यसपछि मैले वडाको प्राविधिक र सहयोगी एक जना लिएर आफै टेप समाउँदै नाप्न थालेँ । दुवै जनाको नक्सा पनि हेरेँ । दुवै जनाले नक्सा पास गरेर नै बनाएको रहेछ । दुवैको पास नक्साअनुसार बाटोको चौडाइ चौध मिटर पैसठी सेन्टिमिटर हुनुपर्ने तर फिल्डमा देखिएन । म अलमलिएँ । फेरि एक पटक कामदारको सहयोग लिएर नाप लिन थालेँ । नाप त्यत्तिनै देखियो । मैले दुवैलाई अगाडि बोलाएर त्यसको जानकारी गराएँ । दुवैले आफूले मापदण्डअनुसार छोडेको बाहेक जग्गा नछोड्ने अडान लिनुभयो । फिल्डमा चौध मिटर २० सेन्टिमिटर मात्र देखियो ।
मैले दुवैलाई आपसी सहमति गर्न र दुवैले अलि अलि त्याग गर्न अनुरोध गरेँ । तर, दुवैजना तसको मस देखिएन । हरिकृष्णजीको श्रीमती त कुनै पनि हालतमा एक इन्च जग्गा पनि छोड्न तयार देखिएनन् । कमसेकम २० सेन्टिमिटर जग्गा छोड्न दुवै जनालाई अनुरोध गरेँ । तर, दुवैजना तयार भएनन् । त्यसपछि मैले दुवैलाई तपाईँहरूको घर अगाडि वाल निर्माण गर्न नसकिने जानकारी दिएँ । त्यसपछि हरिकृष्णजीको श्रीमतीले रिसाएर भन्नुभयो, “मलाई विकास निर्माणको केही मतलब छैन । यो बाटो चौडा भए पनि के ? नभए पनि के मतलब ? अर्काको घर निर्माण गर्दा पास गरेको नक्सा अनुसार छोडेको जग्गा मेरो शत्रुलाई दिने गरी म वाल निर्माण गर्न कहाँ दिन्छु र ? वडाध्यक्षले छोड भन्दैमा कहाँ जग्गा छोड्न सकिन्छ र ? बरु वाल नबनाए केही छैन ।” हरिकृष्णले १० इन्च जग्गा छोड्न तयार भएको जानकारी दिए । तर, उनका श्रीमती मान्न तयार भइनन् । श्रीमान् र श्रीमतीबिच फेरि जग्गा छोड्ने विषयमा झगडा सुरु भयो । मैले दुवै जनालाई झगडा नगर्न अनुरोध गरेँ । तपाईँ दुवैको सहमतिबिना एक इन्च पनि जग्गा नलिने भनेपछि बल्ल श्रीमान् र श्रीमतिबिच झगडा बन्द भयो ।
गोविन्दजीलाई हरिकृष्णजी दस इन्च जग्गा छोड्न तयार भएको र तपाईँ पनि अलि जग्गा छोड्न तयार हुनुहोस् भनी अनुरोध गरेँ । तर, उनी पनि एक इन्च जग्गा छोड्न तयार देखिएनन् । कमसेकम उनलाई मैले तीस इन्च जग्गा छोड्न अनुरोध गरेँ । तर उनी पनि आफ्नो अडानमा तसमा मस देखिएनन् । त्यसपछि मैले अर्को वडाको वडाध्यक्षसँग परामर्श गरँे । उहाँ पनि कुरा मिलाउन खोजिरहनुभएको थियो । उहाँले नपुगेको जति जग्गा दुवैलाई बाँडेर मिलाउने भन्ने बिचको उपाय ल्याउनुभयो । त्यस कुरामा मेरो चित्त बुझ्यो । त्यसपछि उहाँमार्फत त्यस विषयमा दुवैलाई अनुरोध गरेँ । त्यस प्रस्तावमा दुवै जना रिसाए । हरिकृष्णले नक्सा पास नै भएको र आफ्नो श्रीमती नमानेको हुँदा यो प्रस्ताव झनै काम नलाग्ने बताए भने गाविन्द पनि एक इन्च जग्गा छोड्न तयार देखिएनन् ।
बाटोमा मानिस धेरै जम्मा भइसकेको थियो । गाडी जाम भइसकेको थियो । मानिसहरू के कुरामा झगडा भए भनी हेर्न आउन थालेका थिए । अवस्था हेर्दा कुरा मिल्न नसकिने देखिएपछि वडामा आएँ । घडी हेर्दा बिहानको नौ बजेको थियो । त्यही भएर सेवाग्राहीहरू पनि आएका थिएनन् । म कुर्सीमा बसेर त्यस विषयको समाधान के होला भनी सोच्न थालेँ । कस्ता कस्ता मानिसहरू पनि हुनेरहेछ जस्तो लाग्यो । सरकारले हाम्रै ठाउँको विकास गर्न राखेको बजेटसमेत प्रयोग गर्नको लागि उचित वातावरण बनाई नदिने जनता पनि हुनेरहेछ । आफ्नो निजी स्वार्थमा टकराव भएपछि विकास निर्माणको केही मतलब नहुनेरहेछ । आफ्नो स्वार्थ पूरा हुने भए उसलाई टोल, समाज र देशको केही मतलब नहुनेरहेछ । कानुनीरूपमा आफू बलियो र सही देखिएपछि नगरपालिका, वडा कार्यालय अनि वडाध्यक्षको अनुरोध पनि फिक्का हुनेरहेछ । त्यसैले नितान्त निजी स्वार्थलाई मात्र सर्वोपरि मान्ने अनि आफ्नो परिवार मात्र सबथोक ठान्ने मानिसहरूले कसरी टोल, समाज र देशको लागि सोच्न सक्छ र ? उसका निम्ति त आफ्नो पास भएको नक्सा नै सबैभन्दा ठुलो भयो । मापदण्ड पूरा गरँे भन्ने दुवैलाई घमण्ड थियो । पास भएको नक्साअनुसार फिल्डमा जग्गा नभएको र त्यसमा आफूले पनि गल्ती भएर भएको हो कि भन्ने दुवैसित अलिकति पनि सोच भएन । अर्को वडाध्यक्षले बाटोमात्र होइन दुवैको जग्गा र घर नै नाप्नुपर्ने प्रस्ताव पनि ल्याउनुभएको थियो । वास्तवमा दुवैमध्ये एकजनाले अवश्य मापदण्डविपरीत घर बनाएको अनुमान मैले लगाएँ । तर मेरो अनुमानको के मूल्य छ र ? हामी दुवै वडाध्यक्षले दुवै घरधनीलाई सम्झाउन नसकेपछि त्यसको के महत्व भयो र ? यो टोल, समाज र देश यस्तै स्वार्थी मानिसहरू धेरै भएर नै विकास हुन नसकेको अनुभव भयो । वडा समितिको बैठकमा पनि यस विषयमा छलफल गरेँ । दुवै पक्षलाई वडामा बोलाएर छलफल गर्ने सहमति भयो । त्यही सहमतिअनुसार वडामा दुवैलाई बोलाएँ । तर दुवै सहमत भएनन् ।
केही महिनापछि दुवै वडाको वडाध्यक्ष मिलेर प्रहरी प्रशासन राखेर भए पनि मापदण्डअनुसार सडक चौडा गर्न ठेकेदारलाई निर्देशन दियौँ । ठेकेदारले पनि त्यही निर्देशनअनुसार प्रहरीलाई खबर गरी जबरजस्ती सडक चौडा पारे । प्रहरी प्रशासनको डर भएपछि दुवै पक्ष कराउन नआएको ठेकेदारले जानकारी दिए । त्यसपछि मात्र बल्ल मेरो मनलाई शान्ति मिलेको अनुभव भयो ।
Leave a Reply