भर्खरै :

सही उम्मेदवार छान्ने जिम्मा जनताको नै हो

सही उम्मेदवार छान्ने जिम्मा जनताको नै हो

यति बेला गाउँ, नगर, बस्ती, सडक, चोक, गल्ली, सरकारी तथा गैरसरकारी कार्यालय र घर–घरमा चुनावको प्रचार हुँदै छ । दलका उम्मेदवारहरू जनतासँगको भेटघाटमा व्यस्त भइरहेकाले पनि चुनावी माहोल बढेको हो । यो बेला कुन दलका कस्ता उम्मेदवारलाई जिताउनु पर्ला भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । नेपाली जनता यसबारे सुसूचित पनि हुनुपर्छ । सबै नेपाली जनता सैद्धान्तिक र वैचारिकरूपले सुसूचित नभएको कारणले पनि देशमा गलत मनसायका व्यक्तिहरू निर्वाचित भएका छन् । जनताले देश र जनताको निम्ति लड्ने निडर, निःस्वार्थी, देशभक्त, सही उम्मेदवार चयन गर्नुपर्छ । हरेक निर्वाचन या सबै निर्वाचन क्षेत्रबाट सही उम्मेदवार निर्वाचित गर्न नसकेकै कारण जनताले दुःख पाएका हुन् । अतः देशमा राजनीतिक अस्थिरता निम्तिएको हो† देशमा अन्योल, असमानताको खाडल बढ्दै गएको हो । देशका अरबौँ खरबौँ बराबरको राष्ट्रिय सम्पत्ति ध्वस्त भएको हो । यसको दोषी को ? यसको जिम्मा कसले लिने ? यसबारे पुरानो सरकार र नयाँ सरकारको भनाइ के हो ? के यहाँ जसले जे पनि गर्न पाउने ? दोषीमाथि कारबाही गर्नुपर्दैन ? छानबिन आयोगले सत्यतथ्य जानकारी प्रकाशमा ल्याएर दोषीमाथि कारबाहीको निम्ति सिफारिस गर्छ कि गर्दैन ? सिफारिसलाई सरकारले लागु गर्छ कि गर्दैन ? व्यापक जनताको चासोको विषय बनेको छ ।
अब प्रश्न उठ्छ, देशघाती र देशमा विदेशी चलखेल गर्न पाउने, सेना प्रवेश हुन पाउने एमसीसी सम्झौता गर्ने दल र दलका उम्मेदवारलाई जनताले मतदान गर्नु के उचित हुन्छ ? सार्वजनिक या सरकारी जग्गा व्यक्तिगत बनाउने, व्यक्तिगत बनाउन साथ दिने दल र दलका उम्मेदवारलाई मतदान गरे हामी पनि अन्यायी हुँदैन ? सरकारी उद्योग तथा कलकारखाना कौडीको मूल्यमा बेच्ने, निजीकरण गर्ने दल र दलका उम्मेदवारलाई मतदान गरेर हामीले व्यक्तिलाई पोस्ने ? देशको हित नहेर्ने, नेपालका विभिन्न ठाउँमा भारतीय पक्षबाट नेपाली भूमि मिचे पनि चुइँक्क नबोल्ने दल र दलका उम्मेदवारलाई मतदान गरेर देशलाई एकपछि अर्काे साँगुरो बनाउँदै जाने ? देश साँगुरो बनाउँदै जाने दल र दलका उम्मेदवारलाई साथ दिने ? विदेशीले पनि सजिलैसँग वंशजको आधारमा नेपाली नागरिकता दिन पाउने व्यवस्था गरेर देशलाई दूरगामी असर पार्ने दलका उम्मेदवारलाई मतदान गरेर देशको स्वाधीनता र सार्वभौमसत्तामा आँच पु¥याउने ? मेडिकल कलेजसहित सस्तोमा ख्वप विश्वविद्यालय खोल्न अनुमति नदिने ठुला र शासक दलका उम्मेदवारलाई मत दिएर देशको शिक्षा महँगो बनाउनेलाई साथ दिने ? संविधानमा व्यवस्था भएअनुसार आधारभूत तहसम्म अनिवार्य र माध्यमिक तह (कक्षा १ देखि १२) सम्म निःशुल्क शिक्षा व्यवस्था लागू नगर्ने दलका उम्मेदवारलाई जिताएर के हामीले ऐन कानुन नमान्ने दलहरूको समर्थन गर्ने ? भ्रष्टाचारी, अपराधीलाई संरक्षण गर्ने, स्थान दिने दलको पछि लागेर के हामीले देशमा भ्रष्टाचार अन्त्य गर्न सक्छौँ ? सुशासन ल्याउन सक्छौँ ?
भ्रष्टाचार बढी हुने देशको सूचीमा पु¥याएर विश्वमा बदनाम बनाउने शासकहरूको पछि लागेर देशमा के स्वच्छ सरकारको कल्पना गर्न सकिन्छ ? हामीले देशको सन्तुलित विकास गरेर स्वदेशमै रोजगारीको व्यवस्था माग गर्ने दलका उम्मेदवारलाई जिताउने कि आफ्नो सरकार छ भनेर आ–आफ्नो जिल्लामात्र हेर्ने स्वार्थी दल र दलका उम्मेदवारलाई जिताउने ? भ्रष्टाचारी, कालाबजारीमाथि कारबाही गर्नुपर्छ भन्ने दललाई नजिताइकन के उनीहरूको पक्षपोषण गर्ने दललाई साथ दिने ? देशमै रासायनिक मल कारखाना खोलेर कृषकहरूलाई राहत पु¥याउन जोड दिने दलका उम्मेदवारलाई चयन गर्ने कि आयातीत मलमा कमिसन खाएर रासायनिक मल कारखाना नखोल्ने, खोल्न चासो नराख्ने दलका उम्मेदवारलाई जिताउने ? यी सबै पक्षको मूल्याङ्कन गरेर, सोचविचार गरेर जनताले मतदान गर्नुपर्छ ।
हरेक मतदाताको एक एक भोट अमूल्य छ । त्यो अमूल्य भोट सही ठाउँमा हुनुपर्छ । आफ्नो अमूल्य भोट कसैको भनसुन, लहैलहैमा होइन; लोभलालच र डर धम्कीमा होइन† स्वच्छ मनले स्वच्छ छवि भएका सही उम्मेदवारलाई मत राख्नुपर्छ । निर्वाचनमा हरेक राजनीतिक दलका उम्मेदवारहरू हाम्रो घर आँगनमा आउँछन्; मिठा मिठा आश्वासन बाँडेर, झूटको खेती गरेर मत माग्न आउँछन् । मत माग्न आउनु हरेक राजनीतिक दल र दलका उम्मेदवारहरूको अधिकारको कुरा हो, मत माग्न पाइन्छ, कुरा सुन्न र सुनाउन पाइन्छ । तर, मतदान गर्ने आफ्नो खुसी हो । अतः पछि पछुताउ हुने गरी मतदान नगर्न र गलत व्यक्तिलाई हराउन आफ्नो अमूल्य भोट ठीक समयमा ठीक ढङ्गले उपयोग गर्नुपर्छ । सही उम्मेदवार छान्ने जिम्मा जनताको नै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *