भर्खरै :

“शिक्षा व्यापार होइन, राज्यको जिम्मेवारी हो”

“शिक्षा व्यापार होइन, राज्यको जिम्मेवारी हो”

भक्तपुर, १ फागुन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा एभरेस्ट इङ्गलिश स्कूलको ४३ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले शिक्षा व्यापार होइन, राज्यको जिम्मेवारी हो भन्नुभयो ।
भक्तपुरको शैक्षिक इतिहास बोकेको एभरेस्ट स्कूलले शैक्षिक जगतमा निरन्तर उत्कृष्टता हासिल गर्दै आइरहेको उल्लेख गर्दै उहाँले कुनै पनि संस्थाको दिगो विकासमा नेतृत्वको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।
एभरेस्ट स्कूलले आफ्नो वार्षिकोत्सवको अवसरमा विद्यालयहरूलाई पुस्तक हस्तान्तरण गरी पठन संस्कृतिलाई अझ मजबुत बनाउन हौसला पुग्ने बताउँदै उहाँले भक्तपुर नगरपालिकाले विद्यालयलक्षित गतिविधिमा जोड दिँदै आएको बताउनुभयो ।
विद्यार्थीहरूलाई सामाजिक सञ्जालबाट टाढा राख्नुपर्ने, कुलतबाट जोगाउनुपर्ने र असल सङ्गतको लागि प्रेरित गर्नुपर्ने उल्लेख गर्दै उहाँले भक्तपुरमा ज्ञानको गुणस्तरमा भएको प्रतिस्पर्धाले भक्तपुर आज ज्ञानविज्ञानको केन्द्रको रूपमा विकास हुन सफल भएको बताउनुभयो ।
प्रमुख प्रजापतिले गुणस्तरीय शिक्षाले मात्रै नयाँ पुस्ताको भविष्य उज्ज्वल हुने बताउँदै शिक्षामा विभेद गर्नुहुन्न भन्ने मान्यताले सामुदायिक र संस्थागत विद्यालयहरूलाई समान ढङ्गले अगाडि बढाउने नीति अवलम्बन गर्दै आएको बताउनुभयो ।
बालबालिकाको व्यक्तित्व विकासमा महत्वपूर्ण अस्त्रको रूपमा विद्यालयले सञ्चालन गर्ने अतिरिक्त क्रियाकलापहरू हुन् भन्दै उहाँले भक्तपुर नपाले यहाँका विद्यालयहरूलाई आर्थिक, नैतिक र भौतिक सहयोग पनि गर्दै आइरहेको बताउनुभयो ।
कार्यक्रमका अर्का अतिथि प्रदिपकुमार राईले वार्षिकोत्सवको अवसरमा एभरेस्ट स्कूलले विद्यालयहरूलाई पुस्तक हस्तान्तरण कार्यक्रमलाई आगामी दिनहरूमा निरन्तरता दिने विश्वास व्यक्त गर्दै यसले देशको शैक्षिक विकासमा पनि टेवा पुग्ने बताउनुभयो ।
विद्यालयका प्रिन्सिपल भक्त राजभण्डारीले विद्यालयको शैक्षिक गतिविधिबारे प्रस्ट पार्दै सामाजिक तथा शैक्षिक अभियानमार्फत विद्यालय अगाडि बढिरहेको बताउनुभयो । विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमा पनि संलग्न गराउँदै आएको बताउँदै उहाँले विद्यालयको भावी योजनाबारे अवगत गराउनुभयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले एसर्ईई २०८१ मा ४ जीपीए ल्याएका विद्यार्थीलाई सम्मान गर्नुका साथै एभरेस्ट जन्म दिन कोष २०८२ बाट सङ्कलित रकमद्वारा टीकापुर ९ झुङ्गा, कैलालीस्थित सेतीमैया चौधरी मावि, भोजपुर ४ दावाँस्थित सिद्धेश्वर माध्यमिक विद्यालय, जीतपुरमिरा २ दशविगाह, बारास्थित सरस्वती आधारभूत विद्यालयहरूलाई पुस्तक हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरू सिल्भिया खड्का र मनग्य जोन्छेले पनि बोल्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *