मुखौटाभित्रको राजनीति
- फाल्गुन १, २०८२
खानकै निम्ति जन्मिएकाहरू
दायाँबायाँ, अगाडि पछाडि
तलमाथि हेर्दै हेर्दैनन्
किनभने उनीहरूलाई खानकै पिर छ ।
सडकपेटी पर्खाल बनाउने
निर्माण सामग्री नै खान्छन्
पुल पुलेसा कुलो नहर पनि खान्छन्
भवन, महल, सार्वजनिक जग्गा खान्छन्
देशको बजेट त आफ्नै पेवा ठान्छन्
बहुरूपी खन्चुवाहरू ।
आजभोलि माहोल नै भएको छ
कोही जनताको पसिना खाने
कोही श्रमिकको श्रम खाने
कोही खाईनखाई जम्मा गरी
सहकारीमा राखेको पैसा खाने
पुराना नयाँ खन्चुवाहरू ।
नाम अनेक रूप अनेक छ
आज भोलि निर्वाचनको बेला छ
खन्चुवाहरूको उद्देश्य एकै छ
जनताको आँखामा छारो हाल्न
मै प्रधानमन्त्री भन्दै छन् ।
विदेशी मालिकका सेवकहरू
मालिकको इच्छा पूरा गर्नेहरू
देशको प्राकृतिक स्रोतहरू
उत्पादनका साधनहरू
विदेशीलाई बुझाउन तयार छन्
नयाँ पुराना खन्चुवाहरू ।
पल्केको स्यालझैँ
आफ्नो भाग लुट्ला भनेर
एक अर्कामाथि अविश्वासले हेर्दै
तँछाडमछाड गरिरहेछन्
जनतामाझ बिन्ती गर्दै
लौन एकपटकको लागि मौका देउ भन्दै
हात जोडी मतको भिख माग्दै छन् ।
नयाँ नयाँ खन्चुवाहरू
देश विदेशमा रहेका छोराछोरीहरूलाई
इन्टरनेट, फेसबुक, सामाजिक सन्जालबाट
यसपालि त नयाँलाई देउ भनी
आमा बुबालाई बिन्ती गराउँदै छन् ।
Leave a Reply