भर्खरै :

भष्मासुरलाई बरदान मृत्युपाशको प्रार्थना

भष्मासुरलाई बरदान मृत्युपाशको प्रार्थना

आजसम्म कसैले केही गरेन
गर्दै गरेन
गर्दैन पनि
त्यसैले, म आएको छु
यो ठाउँको लागि
यो क्षेत्रको लागि
म काम गर्छु
म विकास गर्छु
र, निकास दिन्छु
साँच्चै यो देश समृद्ध बनाउँछु
विश्वमाझ चिनाउँछु
म गरेर देखाउन आएको मान्छे हुँ
म गरेरै देखाउँछु
यो मेरो वाचा भो !
नेपाली माटोको कसम
म प्रतिज्ञा गर्दछु
एकादेशका एउटा चखन्ची
चटुल चरित्र चित्रण गर्दै
खेत, खलियानमा बतासे जोक्स सुनाउँदै
रौतहटे राम्नु रामलीला रच्दै छन् ।
उफ !
सालनाल नछुट्टिएका
विध्वंस कलाबाट मौलाएका
नटवरलालहरूको बेतुक तमासा
लस्कर मौसमी झाँक्रीहरू
पदभार ग्रहण गर्न आतुर छन्
नवदित निर्देशित सिनेमाका अभिनित पात्रहरू
नायक, महानायक (खलनायक) अनि,
समयान्तर जेलेन्स्किका रौतेलारौतेलीहरू
आफ्नै मृत्युपाशको प्रार्थना गर्दै
मध्यरातमा ढ्याङ्ग्रो ठटाएर
समुल्लासका साथ मसान जगाउँदै छन्
जोगीय भेषका जोगियानाहरू !

के मेरो देश दाउमा त छैन ?
कतै भष्मासुरलाई बरदान नहोस् !
मेरो बेहोसी मेरो लागि पर्दा भो !!
गीत गाउँदै पछुताउन नपरोस् !!!
जन– जनार्दन बेलैमा सचेत होऔँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *