भर्खरै :

भक्तपुरमा आन्दोलन, राजनीति र रूपान्तरण – ४

  • फाल्गुन १, २०८२
  • सुरेश ढकाल, सञ्जीव पोखरेल
  • विचार
भक्तपुरमा आन्दोलन, राजनीति र रूपान्तरण – ४

पर्यटन परम्परा र सफाइ
पर्यटन भनपाको बा¥हैमासे स्वतन्त्र आयस्रोत रहिआएको छ । यो स्रोतलाई सरकारले नियन्त्रण र नियमन गर्दैन । पर्यटनबाट आफूले प्राप्त गर्ने आर्थिक लाभका दृष्टिले भनपाले पर्यटकहरूलाई भक्तपुरतर्फ आकर्षित गर्नका लागि हरसम्भव प्रयास गरेको छ । फोहर सहरदेखि सफा सहरमा बदलिएको भक्तपुरको तस्बिर ‘पर्यटन’ को कारक र परिणाम दुवै हो ।
वास्तुकलाको वैभव१ का कारण भक्तपुरलाई एसियाको रोम पनि भनिन्छ । यसकारण पनि भक्तपुर नेपाल आउने पर्यटकहरूको एक प्रमुख आकर्षणको केन्द्र हुने गरेको छ । खासगरी सांस्कृतिक पर्यटनका लागि आउने पर्यटकहरूले भक्तपुर घुम्छन् । उनीहरूका लागि भक्तपुर नघुमी नहुने स्थान रहिआएको छ । अन्य पर्यटकका लागि पनि यो सांस्कृतिक नगरी एक जीवित सम्पदाको रूपमा उत्तिकै महत्वको गन्तव्य बन्ने गरेको छ । भनपाले प्रकाशित गर्ने मासिक पत्रिका ‘भक्तपुर’ का प्रत्येक अङ्कमा निम्न भनाइ छापिएकै हुन्छ :
“नेपालमा भक्तपुर दरबार स्क्वायरबाहेक अरू केही हुँदैनथ्यो भने पनि यसलाई हेर्न आधा संसारको यात्रा गर्नु सार्थक हुने थियो । वास्तुकला र कलाकारिताका दृष्टिले भक्तपुर अलादिनको गुफा हो । यो वास्तुकारी कल्पनाको क्वाँटी हो† नेवारी कला सम्पदाको भव्य भण्डार हो । दरबार स्क्वायरभित्र मात्रै पनि दर्जनौँ ठुला सङ्ग्रहालयहरू टम्मै पार्न सक्ने प्रचुर काष्ठकला र मूर्तिहरू छन् ।” (इए. पावेल, १९२९ । द लास्ट होम अफ मिस्ट्री । लन्डन ।)
(टिपोट १ : भनपाभित्र १७२ मन्दिर, ३६ पोखरी र कुण्ड, ७७ ढुङ्गेधारा, १९ मठ, ३७ सत्तल र १५२ इनार छन् । भक्तपुर नगरमा यी सबैको आआफ्नै धार्मिक, सामाजिक र सांस्कृतिक महत्व छ ।)
पर्यटन भनपाको सबैभन्दा ठुलो आयस्रोत हुनु नौलो भएन । २०५३ साउन १ गतेबाट भनपाले पर्यटकहरूबाट सेवा दस्तुर लिन थाल्यो । भनपाले सार्क देशबाहिरका पर्यटकसँग १० डलर र सार्क देशका पर्यटकसँग ५० रूपैँया दस्तुर लिन्छ । आर्थिक वर्ष २०६०/६१ मा भनपाले सार्क देशका पर्यटकहरूबाट जम्मा १७०६२५० रूपैँया दस्तुर लियो भने अन्य पर्यटकबाट जम्मा ६२९८४७७८ रूपैँया सेवा शुल्क लियो । दुवैलाई जोड्दा त्यो वर्ष भनपाले ११९०३९ जना पर्यटकबाट जम्मा ६४६९१०२८ रूपैँया सेवा शुल्क लिएको थियो । यो भनपाका अन्य आयमध्ये ठुलो आय हो । सांस्कृतिक सम्पदा संरक्षणमा जोडबल दिएको हुनाले भनपाले विभिन्न पुरस्कार पनि प्राप्त गरेको छ । युनेस्को
(UNESCO) ले भनपालाई ‘सन् १९९८–९९ मा एसियाकै प्रथम सम्मानित उल्लेख’ को सम्मान दिएको छ भने विश्व सम्पदा सहर (OWHC) ले ‘असल स्थायी सदस्य’ को मान्यता दिएको छ ।
अझ महत्वको कुरा अर्कै छ । भक्तपुरलाई नेमकिपाको फराकिलो विचारधारा र आकाङ्क्षा अनुरूप एक आदर्श नगर बनाउने भनपाको लक्ष्य छ । पर्यटनबाट आउने आम्दानीलाई सोही लक्ष्य पूरा गर्नमा खर्च गरिन्छ । भनपाको कमाइको सबैभन्दा ठुलो हिस्सा पर्यटनबाट आउँछ तर खर्चको ठुलो हिस्सा सरसफाइ र शिक्षाको लागि छुट्याइन्छ ।
भक्तपुरलाई एक सांस्कृतिक नगर बनाउनु भनपाका सदस्यहरूको भिजन वा सपना हो । यसलाई पर्यटकहरूको गन्तव्य बनाउन नगरलाई सफा राख्नुपर्ने हुन्छ । नेमकिपाका सबै नेता–कार्यकर्ताले यही दिशामा पाइला चाल्दै छन् । नेपालका अन्य पर्यटकीय स्थलका स्थानीय सरकारभन्दा फरक भनपा नगरमा सफाइ कायम गर्न सफल छ । यो सफाइ भक्तपुरमा सफल पर्यटन उद्योग प्रवद्र्धन गर्नुको कारण र परिणाम दुवै हो । यसरी सफाइमा भनपाले देखाएको अभिरुचि पर्यटन उद्योगसँग सिधै जोडिएको छ । साथै, यो नगरवासीहरूको सुस्वास्थसँग पनि प्रत्यक्ष जोडिएको छ । देशका अन्य भागको पर्यटन उद्योग र भक्तपुरको पर्यटन उद्योगबिच एउटा तात्विक भिन्नता छ । त्यो के भने भक्तपुरले आफ्नो आयलाई स्थानीय जनताको भलाइमा उपयोग गर्न ठोस विधि विकास गरेको छ । सफाइलाई एक यस्तै विधि मान्नुपर्छ भन्ने हाम्रो तर्क छ ।
निष्कर्ष
आधुनिकीकरणतर्फ, प्रजातन्त्रतर्फ लक्षित सामाजिक रूपान्तरणको कार्यक्रमले आफ्नो लक्ष्य त्यति बेला मात्र हासिल गर्न सक्छ जब त्यसले सम्बन्धित जनताको सामाजिक, आर्थिक र सांस्कृतिक अनुभवलाई ध्यान दिन्छ । त्यही भएर सामाजिक रूपान्तरणको कार्यक्रम जनताले दैनिक जीवनमा भोग्ने अड्चन र अवसरसँग जोडिएको हुनु अत्यन्त महत्वपूर्ण छ (फर्गुसन, १९९४) । यसले जनतालाई सामाजिक परिवर्तनको कर्ता र लाभार्थी दुवै बन्न उत्प्रेरित गर्छ । यसर्थ, ‘भुइँतहको सहभागितामूलक प्रजातन्त्र’ रैथाने राजनीतिक परम्पराको जगमा निर्माण हुन्छ; यो ‘प्रजातन्त्र’ स्वयंसेवी र आत्मसघाउ परम्परामा आधारित हुन्छ† यो समुदायको कल्याणका लागि नीति बनाउने र कार्यान्वयन गर्ने कार्यमा समुदायका सम्पूर्ण सदस्यको प्रतिबद्धता र पूर्ण संलग्नतालाई प्रशंसा गर्ने भावनामा आधारित हुन्छ (पाले, २००२ः ४७४) । अन्यथा, ‘सूक्ष्मता र सार दुवै दृष्टिबाट सहभागितामूलक नभएसम्म प्रजातन्त्र सधैँ अक्करमा परिरहन्छ’ (बराल, २००४) ।
भक्तपुरको उदाहरणले यो कुरा छर्लङ्ग पार्छ । पञ्चायतकालमा कम्युनिस्ट कार्यकर्ताहरू जनताको जीवनस्तर सुधार्ने एजेन्डा बोकेर जनताबिच गए । सफाइ अभियान र भूमिसुधार आन्दोलनमा उनीहरूको संलग्नता यसको सबैभन्दा गुरुत्तर उदाहरण हो । २०४६ सालपछि तिनै कम्युनिस्ट कार्यकर्ताहरू सत्तामा आए र स्थानीय सरकार निर्माण गरे । उनीहरूले सफाइ, शिक्षा, स्वास्थ्य, रोजगारीलगायत जनताले जे खोजिरहेका थिए ती सेवा दिन भरसक प्रयत्न गरे ।
विचारधारा आफैमा समाज बदल्ने शक्ति हुँदैन । यसको लागि सामाजिक रूपान्तरणको सार मात्र नभई त्यसको बाटो नै तय गर्ने प्रक्रियामा जनताको प्रत्यक्ष संलग्नता चाहिन्छ । जनता के बदल्नुपर्ने हो र कसरी बदल्नुपर्ने हो भनी तय गर्ने प्रक्रियामा सक्रियतापूर्वक सहभागी हुन्छन् भने अपेक्षित सामाजिक परिवर्तन हासिल गर्न गा¥हो हुँदैन । नेपालमा थोरै मात्र सामाजिक र आर्थिक रूपान्तरणका कार्यक्रम ‘कसरी ती कार्यक्रमलाई आफ्ना लागि फलदायी बनाउन सकिन्छ’ भन्ने जनताको आफ्नै बुझाइमा आधारित छन् । भक्तपुर विकास परियोजनाको विफलता यहीनिर थियो । उसले स्थानीय जनताको सहकार्य हासिल गर्न सकेन । विकास र पुनर्निर्माण कार्यक्रमहरूमा स्थानीय जनतालाई सहभागी बनाउन अनिच्छा देखाएकै कारण उसले स्थानीय जनताको मन जित्न सकेन । भनपा यस मानेमा अरूभन्दा फरक छ । आज पनि भनपाले कुनै कार्यक्रमलाई जनताबीच पर्याप्त छलफल र बहसमा लगेपछि† त्यो कार्यक्रमको खाका कसरी कोर्ने र कसरी लागु गर्ने भन्ने विषयमा टुङ्गोमा पुगेपछि मात्र त्यसलाई कार्यान्वयनमा ल्याउँछ ।
भनपाले हासिल गरेको अनुपम सफलताको उदाहरणले के बताउँछ भने पारदर्शिता र सूचनामा सहज पहुँच सामाजिक परिवर्तनका कुनै पनि कार्यक्रम सफल बनाउने पूर्व सर्तहरू हुन् । यसले आफ्नो मासिक पत्रिका ‘भक्तपुर’ मा मासिक आयव्यय र खर्च मात्र नभई नगरपरिषद्ले गर्ने हरेक निर्णय प्रकाशित गर्छ । यसैगरी, भनपाले नगरवासीको जीवनसँग सरोकार राख्ने प्रत्येक महत्वपूर्ण विषय प्रकाशित गर्छ । उदाहरणको लागि, पचपन्ने झ्याले दरबारको पुनर्निर्माण चलिरहेको बेला भनपाले प्रस्तावित भवनको समग्र वास्तुकलात्मक खाका प्रकाशित गरेको थियो । भवन निर्माणको अनुमानित लागत पनि छापेको थियो । हाम्रो विचारमा यो चलनले एउटा रचनात्मक प्रजातान्त्रिक सार्वजनिक माहोल खडा गर्न सघाउ पुगेको छ । त्यो माहोल वा मञ्चमा जनताले आफ्नो स्थानीय सरकारले कसरी काम गर्दै छ र कसरी गर्नुपर्छ भन्ने विषयमा खुला रूपमा चिन्तन र छलफल गर्छन् ।
भनपाको कार्यशैलीको अर्को महत्वपूर्ण पक्ष यसको नेतृत्वको ढाँचा हो । भनपाका नेताहरूसँग जनताको सामाजिक, आर्थिक र सांस्कृतिक अवस्था एवम् तिनको ‘ऐतिहासिक संवेदनशीलता’ को व्यवहारिक ज्ञान छ (डनहाम, १९९०) । उनीहरू जनताका यी अवस्थामा सकारात्मक परिवर्तन ल्याउनका लागि प्रतिबद्ध छन् । नगरपालिकाको नेतृत्वमा किसानहरूलाई संलग्न बनाउने नेमकिपाको नीतिले यस्तो स्वागतयोग्य वातावरण पैदा गर्नमा योगदान गरेको देखिन्छ । भनपाको नेतृत्वमा स्थानीय जनताको सहभागिताले भक्तपुरका सामाजिक परिवर्तन र आर्थिक विकासका कार्यक्रमहरूमा यसका वास्तविक लाभार्थीहरूको सहभागितालाई प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेलेको छ । (भनपाका झन्डै ९० प्रतिशत जनप्रतिनिधि तुलनात्मक रूपमा किसान समुदायका छन् । २०५४ सालको स्थानीय तहको निर्वाचनसम्म पनि यही स्थिति थियो ।) बोलमान र डियल (बराल, २००४ मा उद्धृत भएअनुसार) लाई पछ्याउने हो भने नेतृत्वकला भनेको (सत्ता पक्षले) अरूलाई आफूले चाहेको कुरा मनाउने क्षमता हो† जनतालाई मनाएर गरिनुपर्ने काम गर्न उत्प्रेरित गर्नु हो† भिजन वा सपना हो । यसरी, नेतृत्वकला जनतालाई सशक्त बनाउने एउटा सहजीकरण हो । यस अर्थमा लाग्छ, भनपाका जनप्रतिनिधिहरू र त्यसको मार्गदर्शक पार्टी नेपाल मजदुर किसान पार्टीसँग यी सबै गुण छन् ।
यसप्रकार, भक्तपुरमा फोहर व्यवस्थापनमा मिसिएको ‘इतिहास, सत्ता र विचारधारा’ (डनहाम, १९९०) बारे हाम्रो अध्ययनले के औँल्याउँछ भने अभिव्यक्ति स्वतन्त्रता, खुला निर्वाचनजस्ता अधिकार कुनै पनि प्रजातन्त्र अन्त्य गर्ने साधन होइनन् । जनताले आफ्नो दैनिक जीवनलाई प्रभावित गर्ने अवस्थाबारे खुला छलफल र विश्लेषण गर्नसक्ने सार्वजनिक मञ्च/माहोललाई सबल बनाएर मात्र प्रजातान्त्रिक वातावरण स्थापना गर्न सकिन्छ । तैपनि, प्रजातन्त्रको सफलता जनताले आफ्नो जीवनस्तरमा आएको पर्याप्त परिवर्तनका आधारमा पहिल्याउँछन् । भनपामा हामी एउटा विशिष्ट परिदृश्य देख्न सक्छौँ । यहाँ अभिव्यक्ति स्वतन्त्रता र खुला निर्वाचनलाई नगर र नगरवासीहरूको प्रगति र समृद्धिका लागि सफलतापूर्वक उपयोग गरिएको छ । प्रजातन्त्रलाई सफल बनाउने सबैभन्दा महत्वपूर्ण पूर्वसर्त हामीले माथि चर्चा गरेझैँ सरकारको पारदर्शिता, जनसहभागिता र नेताहरूको प्रतिबद्धता हो । भनपा यी सबै कुरामा धेरै हदसम्म योग्य देखिन्छ ।
जनताले जब आफ्ना दैनिक जीवनसँग जोडिएका समस्या र अवसरबारे छलफल गर्ने मौका पाउँछन्, उनीहरूले आफ्ना समस्या घटाउने र अवसरबाट लाभ लिने उपायहरू पनि पत्ता लगाउन सक्छन् ।
लाग्छ, भनपामा जनताको सक्रिय सहभागिताका पछाडि सबैभन्दा महत्वपूर्ण कारणमध्ये एउटा कारण नेमकिपाले सुरु गर्दै बलियो बनाएको लामो राजनीतिक प्रक्रिया हो । हामीले माथि व्याख्या गरेझैँ पञ्चायती शासनविरुद्ध स्थानीय जनतालाई विकास कार्यमा होम्ने नेमकिपाको नीतिले नै सामाजिक रूपान्तरण प्रक्रियामा जनतालाई सहभागी बनाउने पहिलो बीउ रोपेको थियो ।
अन्ततः असल राजनीति र सुशासन पर्यायवाची पदावली हुन्थे भने सुशासनबाट मात्रै विकास सम्भव छ र सुशासनबाट मात्रै असल राजनीति सम्भव छ । सहभागितामूलक राजनीति, जनताप्रतिको जिम्मेवारीबोध र पारदर्शी हुने भावनाबाट मात्रै असल राजनीति र सुशासनको उदय हुनसक्छ । भक्तपुर नगरपालिकाले यसको उदाहरण पेस गरेको छ । असहज लाग्ने तर जवाफ दिनैपर्ने अनेक ‘जायज सवालहरू’ हुँदाहुँदै पनि भक्तपुरले विशिष्ट उदाहरण पेस गरेको सत्य हो ।
आभार
विकासशील समाज अध्ययन केन्द्र (CSDS), दिल्लीले आफ्नो ‘दक्षिण एसियामा प्रजातन्त्र’ नामक अध्ययन परियोजनाअन्तर्गत हामीलाई यो कार्यपत्र लेख्ने कार्यभार सुम्पेको थियो । यो अध्ययनका निम्ति हामीलाई विश्वास गरेकोमा हामी लोकनीति, CSDS, दिल्ली र NCCS, काठमाडौँप्रति ऋणी छौँ । हामीलाई अमूल्य सूचना र सहयोग प्रदान गर्ने डा. कृष्ण हाछेथु, (NCCS), इद्जिया कारभाल्हो र पिटर रोनाल्ड डिसुजा (CSDS), कामरेड नारायणमान बिजुक्छेँ, चैत्यराज शाक्य, ईश्वर खाइजु, रमिला शिल्पकार, सागर श्रेष्ठ (भक्तपुर) प्रति हामी विशेष धन्यवाद व्यक्त गर्दछौँ । भक्तपुरका धेरै बासिन्दाले हामीसँग अमूल्य विचार र धारणा साट्नुभएको छ । हामी उहाँ सबैलाई धन्यवाद दिन चाहन्छौँ । हाम्रो अनुरोधमा हामीलाई सान्दर्भिक टिप्पणी र सुझाव दिनुहुने अक्सफोर्ड विश्वविद्यालयका डा. डेभिड गेलरनप्रति कृतज्ञ छौँ । यो कार्यपत्रको परिवद्र्धित संस्करण काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय गोष्ठीमा प्रस्तुत गरिएको थियो । २००६ डिसेम्बर ११–१३ का दिनमा सम्पन्न उक्त ‘बहुसांस्कृतिक विश्वमा समाज विज्ञान’ कार्यक्रम ‘समाजशास्त्रीय मानवशास्त्रीय समाज नेपाल’ (SASON) को आयोजनामा भएको थियो । हाम्रो कार्यपत्रमा टीकाटिप्पणी गर्नुहुने सबैजनाप्रति हामी आभारी छौँ । सबै गल्ती र कमीकमजोरीको पूर्ण जिम्मेवारी हामी लिन्छौँ ।
(लेखक सुरेश ढकाल र सञ्जीव पोखरेल त्रिभुवन विश्वविद्यालय र नर्वेको बर्गेन विश्वविद्यालयबाट दीक्षित मानवशास्त्री हुन् ।)
अनुवाद : सम्यक
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *