भर्खरै :

पार्टी सङ्गठन मजबुत बनाउन सैद्धान्तिक धार बलियो बनाइराख्नु जरूरी

पार्टी सङ्गठन मजबुत बनाउन सैद्धान्तिक धार बलियो बनाइराख्नु जरूरी

भक्तपुर, २ फागुन  । नेपाल मजदुर किसान पार्टीको ५२ औँ स्थापना दिवस तथा भनपा ७ वडास्तरीय निर्वाचन परिचालन समिति गठन कार्यक्रम नेमकिपा ७ वडा समितिको आयोजनामा महेश्वरी बैङ्क्वेटमा शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ
(रोहित) ले पार्टी सङ्गठन मजबुत बनाउन सैद्धान्तिक धार बलियो बनाइराख्नु जरूरी हुन्छ भन्नुभयो ।
पार्टी सङ्गठनका साथीहरूले कमजोरी गरेपछि समयमै आलोचना गरी सच्याउनुपर्ने उल्लेख गर्दै उहाँले पार्टी प्रकाशनहरू नियमित अध्ययन गर्नु जरूरी छ भन्नुभयो ।
आ–आफ्नो क्षमता र ज्ञानअनुसार आ–आफ्नो ठाउँमै बसेर काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले नेतृत्वले देश र क्रान्तिभन्दा आफ्ना परिवार नाताकुटुम्बलाई प्राथमिकता दिन नहुने विचार व्यक्त गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका सचिव एवं भक्तपुर क्षेत्र नं. १ का उम्मेदवार प्रेम सुवालले संसद् भनेको देशको हितको लागि ऐन कानुन तथा नीति नियम बनाउने थलो हो भन्नुभयो ।
जनताका लागि आवश्यक विभिन्न बाटोघाटो बनाउने कार्यहरू हेर्ने काम स्थानीय तहले गर्ने स्पष्ट पार्दै उहाँले नेपाल मजदुर किसान पार्टीले पार्टीको घोषणापत्रबमोजिम काम गरिरहेको छ भन्नुभयो ।
पार्टीको उद्देश्य भनेको देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने हो भन्दै उहाँले सबै सही दलका सही उम्मेदवारलाई मतदान गर्न र गराउनको लागि सहयोग गर्न अनुरोध गर्नुभयो ।
पार्टीका केन्द्रीय सदस्य एवं भनपा ७ का वडाध्यक्ष उकेश कवांले युवाहरूको सङ्घर्षमा क्रान्ति भएको भए देशको संविधान नै फ्याकेर नयाँपरिस्थितिको सिर्जना हुने हो तर त्यसो हुन सकेन भन्नुभयो ।
चुनावलाई जनताको चेतनास्तर उठाउने उद्देश्यले उपयोग गर्दै आएको उल्लेख गर्दै उहाँले नेमकिपाले स्थानीय तहमा विजय प्राप्त गरेर जिम्मेवारीपूर्वक जनताको सेवा गरिरहेको बताउनुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका सदस्य नारायणप्रसाद त्वानाबासुले नेपाल मजदुर किसान पार्टीले नेपालको राजनीतिमा स्पष्ट विचार राख्दै आएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेमकिपाबाट काठमाडौँ २ मा उम्मेदवारी दिने शर्मिला माली (बनमाला), ललितपुर–२ बाट उम्मेदवारी दिने चिरीमैयाँ महर्जन, झापा–३ बाट उम्मेदवारी दिने धर्मलक्ष्मी लघुले आ–आफ्नो निर्वाचन क्षेत्रको स्थितिबारे चर्चा गर्दै सहयोगको लागि अनुरोध गर्नुभयो ।
कृष्णगोविन्द खाइजुको सभापतित्वमा भएको उक्त कार्यक्रममा पुरूषोत्तम ग्वाछा र बलराम गोसाईले पनि बोल्नुभएको थियो ।
भेलाले नेपाल मजदुर किसान पार्टी भनपा–७ वडा समितिका अध्यक्ष कृष्णगोविन्द खाइजुको संयोजकत्वमा १२७ सदस्यीय भनपा–७ वडास्तरीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *