भर्खरै :

मोदी चीनमा, सीसँग अनौपचारिक बैठक

चीनका राष्ट्रपति सी जिनपिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार चीनको उहान शहरमा भेटघाट भएको छ । मोदीलाई चीनमा स्वागत गर्दै राष्ट्रपति सीले मोदीसँगको आफ्नो दुई दिने अनौपचारिक बैठक फलदायी बन्नेमा विश्वास व्यक्त गरे ।
सीले बितेका तीन वर्षमा आफू र मोदी मिलेर आपसी भ्रमण र बहुपक्षीय कार्यक्रमहरुमा भएका बैठकहरुमार्फत् सुमधुर कार्यसम्बन्ध बनाउन सफल भएकोमा खुशी व्यक्त गरे ।
उनले मोदी र आफुबीच भएका बैठकहरुमार्फत गरिएका समझदारीले चीन र भारतबीचको मैत्री सम्बन्धबारे संसारभर सकारात्मक सन्देश प्रवाह गरेकोमा जोड दिए ।
‘हामी दुई महान राष्ट्रहरुबीचको महान सहकार्यले संसारलाई प्रभावित बनाउन सक्छ’, सीको भनाई थियो ।
भारतीय प्रधानमन्त्री मोदीले पनि शनिबारसम्म चल्ने अनौपचारिक बैठकको ऐतिहासिक महत्व भएकोमा सहमति जनाए ।
‘भारत चीनसँग काम गर्न चाहिरहेको छ’, मोदीले अघि भने ।
उनले चीन र भारतबीचको आपसी समझदारी अझ बढाउँदै जानुपर्ने र अन्तर्राष्ट्रिय मामिलामा पनि दुई देशबीच सहकार्य हुन सक्ने बताए ।
‘भारत र चीन दुवै प्राचीन सभ्यताबाट हुर्केको देशहरु हुन् । हाम्रा सभ्यतामा धेरै कुरा मिल्दाजुल्दा छन् ।’, मोदीले थपे ।
दुई नेताबीचको बैठकबारे चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता लु काङले साझा विषयहरुमा दरिलो समझदारी बनाउन दुई नेताहरुबीचको बैठक तय गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *