नेपाली चलन, विदेशी अनुसन्धान
- फाल्गुन १४, २०८२
भक्तपुर, ३ फागुन । गोल्डेन गेट इङ्गलिश सेकेन्डरी स्कूलले पाँचौँ गोल्डेन गेट पीबीएल मेला २०८२ भव्यताका साथ सम्पन्न गरेको छ । मेलाको औपचारिक समुद्घाटन गर्दै प्रमुख अतिथि एवं भक्तपुर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष डा. हरिराम सुवालले गोल्डेन गेटले अभ्यास गर्दै आएको प्रोजेक्ट–बेस्ड लर्निङ अर्थात् पीबीएलले शिक्षण विधिको रूपान्तरण गरेको बताउँदै सानै (कक्षा १) देखि नै बालबालिकाहरूमा उच्च आत्मविश्वास जगाएकोमा खुसी व्यक्त गर्नुभयो ।
उहाँले भक्तपुर नगरपालिका ख्वपलाई ज्ञानविज्ञानको केन्द्रको रूपमा विकास गराउने उद्देश्यमा दत्तचित्त भई लागिरहेको हुँदा उच्च शिक्षाअन्तर्गत प्राविधिक विषयको क्षेत्रमा देशमै उत्कृष्ट नतिजा हासिल गर्न सफल रहेको जानकारी दिनुभयो ।
विशेष अतिथि, बृहत् राष्ट्रिय शिक्षा अभियानका संयोजक तथा शिक्षा मन्त्रालयका विज्ञ सल्लाहकार अभिषेक घिमिरेले गोल्डेन गेटको मल्टिपल इन्टेलिजेन्सेजमा आधारित पीबीएल अभ्यास शिक्षाको आम बुझात्न्दा माथि रहेर प्रिन्सिपल सिङ्ग लामाको लामो अध्ययन र खोजको उपजको रूपमा प्रतिपादन भएको बताउँदै पीबीएलमार्फतको सिकाइले बच्चाहरूको क्षमताको भरपुर स्थान दिएको बताउनुभयो ।
उहाँले पाठ्यक्रमलाई प्रत्यक्ष रूपमा वास्तविक जीवन र समाजसँग जोडेर भएको अनुभवजन्य सिकाइ उन्नत रहेको र विद्यार्थीहरूको यस्तो गहिरो सिकाइ अनुभवलाई पीबीएल मेलामार्फत सार्वजनिक प्रस्तुतिको अवसर प्रदान गर्नु सराहनीय भएको बताउनुभयो ।
वरिष्ठ सङ्गीतकार, गायक तथा शिक्षा मन्त्रालयका विज्ञ सल्लाहकार प्रदीप बमजनले करीब १५ वर्षअघि आफूले सञ्चालन गरेको टेलिभिजन कार्यक्रम ‘भोलिको नेपाल’ मा गोल्डेन गेटसँग भएको लामो सहकार्य स्मरण गर्दै विद्यार्थीहरूको व्यक्तित्व विकास र व्यावहारिक शिक्षा दिने गोल्डेन गेटको अनुसन्धानात्मक पीबीएल अभ्यास उदाहरणीय भएको बताउनुभयो ।
भनपा वडा नं. ६ का महिला जनप्रतिनिधि रोशनमैँया सुवालले व्यावहारिक शिक्षाबिनाको पाठ्यक्रमले नयाँ पुस्ताका बालबच्चाहरूमा निराशा पैदा हुने बताउँदै चीन र रुसको शिक्षा प्रणाली अब्बल रहेको बताउनुभयो ।
युलाइक जब्सका सीईओ तथा शैक्षिक संवाद पोडकास्ट कार्यक्रमका सञ्चालक प्रकाश गौतमले गोल्डेन गेटको खोज र प्रयोग अत्यन्त प्रभावकारी र उदाहरणीय पाएको बताउनुभयो ।
कार्यक्रममा प्रिन्सिपल सिङ्ग लामाले सिकाइको ध्येय बदली शिक्षालाई जीवनसँग जोड्ने अभ्यासका क्रममा सन् २००६ मा यातनामुक्त शिक्षण वातावरणको अवधारणा विकास गरी लागू गरिएको, सन २००९ देखि हवार्ड गार्नरको बहुबुद्धिमत्ता सिद्धान्त र सन् २०११ देखि जोन डीवीको पीबीएल अभ्यास सुरु गरिएको, सन् २०१४ देखि बहुबुद्धिमत्ता सिद्धान्त र पीबीएललाई संश्लेषण गरी एमआई पीबीएलको रूपमा प्रतिपादन गरी लागू गरिएको, २०१९ देखि वार्षिक रूपमा पीबीएल मेला आयोजना गर्दै देशभरिका १०० भन्दा बढी विद्यालयहरूमा पीबीएल नेटवर्क विस्तार गरी यस वर्ष पाँचौँ पीबीएल मेला आयोजना गरिएको बताउनुभयो ।
अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको मेलामा विद्यालयको कक्षा १ देखि ७ सम्मका विद्यार्थीहरूले एमआई पीबीएल पद्धतिअन्तर्गत शैक्षिक सत्र २०८२ मा नियमित सिकाइ निर्माण गर्ने क्रममा अभ्यास गरेका १०९ वटा चुनिएका पीबीएल प्रोजेक्टहरूको साथमा विद्यार्थीहरूलाई पाठकबाट सर्जकमा रूपान्तरण गर्ने अभिप्रायले सञ्चालित बृहत् पठन र निरन्तर सिर्जना कार्यक्रमअन्तर्गत सिर्जना गरी नियमित ‘मकै घर’ कार्यक्रममा प्रस्तुत गरिएका १५७० वटा अङ्ग्रेजी र १४४१ वटा नेपालीमा लेखिएका रचनाहरू प्रस्तुतिमा राखिएका थिए ।
एमआई पीबीएलसम्बन्धी महत्वपूर्ण जानकारीका साथमा १० वटा ‘स्पटलाइट प्रोजेक्टहरू’ समेटिएको विशेष कार्यक्रम पुस्तिकासमेत प्रकाशित गरिएको थियो । सो अवसरमा आर्टक्लवअन्तर्गत विद्यार्थीहरूले तयार गरेका चित्रहरूको प्रदर्शनी पनि गरिएको थियो । सांस्कृतिक सङ्ग्रहालयमा विभिन्न पेसा, संस्कार संस्कृति, इतिहास, आदिसँग सम्बन्धित सङ्ग्रहित सामग्रीहरू राखिएका छन् । विद्यालयका संस्थापक निर्देशक अञ्जु जोशीको सभापतित्वमा आयोजित उक्त कार्यक्रमका सीईओ शिव श्रेष्ठले कार्यक्रमको महत्वबारे प्रकाश पार्नुभएको थियो । स्वागत मन्तव्य सेकेन्डरी लेभल इन्चार्ज श्रीषा सितिखूले राख्नुभएको थियो ।
Leave a Reply