भर्खरै :

धन्यवाद ज्ञापन, जिम्मेवारीपत्र हस्तान्तरण तथा पदस्थापना कार्यक्रम सम्पन्न

धन्यवाद ज्ञापन, जिम्मेवारीपत्र हस्तान्तरण तथा पदस्थापना कार्यक्रम सम्पन्न

भक्तपुर, ३ फागुन । ख्वप कलेज अफ इन्जिनियरिङको लेखा शाखा र जिन्सी शाखामा शाखा प्रमुखको जिम्मेवारी पाउनुभएका कर्मचारीहरूको जिम्मेवारीपत्र हस्तान्तरण तथा पदस्थापना कार्यक्रम र कलेजको जिम्मेवारी लिएर कार्य गर्नुभएका कर्मचारीहरूलाई धन्यवाद ज्ञापन कार्यक्रम एक समारोहबिच आइतबार सम्पन्न भयो ।
कार्यक्रममा कलेज सञ्चालक समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नयाँ जिम्मेवारी पाउनुभएका सबैलाई बधाई दिँदै मितव्ययिता, इमानदारिता, पारदर्शिता र अनुशासन नै भक्तपुर विकासको आधार भएकोले सबैलाई इमानदारीपूर्वक कार्य गर्न सुझाव दिनुभयो ।
नियमित रूपमा काम गर्दै जाँदा कहिलेकाहीँ गल्ती हुनसक्छ तर मनसाय गलत हुनुभएन, प्रमुख प्रजापतिले भन्नुभयो ।
लामो समय जनताको हितको लागि सङ्घर्ष गरेका र लामो समय जेल जीवन बिताएका नेताहरू सरकारमा गएपछि विभिन्न भ्रष्टाचार काण्ड, सुन काण्डलगायतका काण्डमा फस्नुले मौका नपाएसम्म इमानदार बन्ने भन्ने भनाइलाई चरितार्थ गरेको उहाँले बताउनुभयो ।
सबै कर्मचारीले आफूमा भएको दक्षता योग्यता र क्षमताको प्रयोग गर्नुपर्ने, सम्बन्धित विषयमा तालिम लिनुपर्ने र कामलाई पैसासँग तुलना गर्न नहुनेतर्फ सचेत गराउँदै प्रमुख प्रजापतिले भन्नुभयो, “संस्था विकासको लागि धैर्य चाहिन्छ, सरसल्लाह गर्ने बानी हुनुपर्छ र नियम कानुनलाई पालना गरी कार्य गर्नुपर्छ ।”
कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य ई. सुजन माकले कलेजको स्थापना कालदेखि अनवरतरूपमा इमानदारीपूर्वक गरिएको सेवाको प्रशंसा गर्दै आगामी दिनमा पनि निःस्वार्थ सेवा गर्दै जाने विश्वास व्यक्त गर्नुभयो ।
सबैको साथ र सहयोगमा कलेजले विभिन्न विषयका अन्तर्राष्ट्रिय सम्मेलनहरूलाई निरन्तरता दिन सक्नुमा सबैको निःस्वार्थ भावना भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य ई. सुनिल दुवालले जग बलियो भएमा घर बलियो हुने बताउँदै बलियो जग बसाल्न गा¥हो हुने र बाहिर जग पनि नदेखिने बताउनुभयो ।
कलेज विकासको लागि स्थापना कालदेखि निःस्वार्थ रूपमा सेवा गर्दै आएकै कारण कलेज अहिलेको स्थितिसम्म पुगेको उहाँले बताउनुभयो ।
विभिन्न बाध्यात्मक व्यवस्थाका कारणले गर्दा जिम्मेवारीमा फेरबदल गर्नुपरेको उल्लेख गर्दै भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्रको रूपमा विकास गर्ने उद्देश्यमा सधैँ एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका उपप्राचार्य डा. सुवेगमान बिजुक्छेँ, ख्वप कलेज अफ इन्जिनियरिङका उपप्राचार्य ई. रत्नशोभा प्रजापति, कर्मचारीहरू काजीबहादुर पञ्च, राजन जती र सन्जय मानन्धरले पनि बोल्नुभएको थियो ।
उक्त कार्यक्रममा लेखा शाखा प्रमुखको जिम्मेवारी पाएका विष्णुप्रसाद सुवाल र जिन्सी शाखाको जिम्मेवारी पाएका पुण्यराम स्वंगमिखाले आफूलाई दिइएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले स्थापनाकालदेखि २०८२ माघमसान्तसम्म अनवरत सेवा गरेका काजीबहादुर पञ्च, राजन जती र सिद्धिराम सुवाललाई धन्यवाद पत्र र नयाँ जिम्मेवारी पाएका कर्मचारीहरूलाई जिम्मेवारीपत्र हस्तान्तरण गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *