भर्खरै :

अभौतिक सांस्कृतिक सम्पदाको संरक्षणका लागि राष्ट्रिय तथा स्थानीय सूचीकरणको अपरिहार्यता

अभौतिक सांस्कृतिक सम्पदाको संरक्षणका लागि राष्ट्रिय तथा स्थानीय सूचीकरणको अपरिहार्यता

(‘ख्वप कलेज अफ ल’ को अनुसन्धान तथा कानुनी मस्यौदा पहल)
पृष्ठभूमि
सांस्कृतिक सम्पदाको संरक्षण र संवद्र्धनको क्षेत्रमा नेपालले थुप्रै महत्वपूर्ण भौतिक धरोहरहरू जोगाउँदै र प्रवद्र्धन गर्दै आएको तथ्य सर्वविदित छ । विशेषगरी भक्तपुर नगरपालिकाले भूकम्पपछाडि क्षतिग्रस्त संरचनाहरू पुनर्निर्माण र जीर्णोद्धार गर्ने क्रममा उल्लेखनीय भूमिका निर्वाह गरेको छ । स्थानीय समुदायको अग्रसरता, सहभागिता र सहयोगमा पुनःनिर्माण गरिएको ङातापोल्हँ मन्दिरलगायतका सम्पदाहरूले न केवल सांस्कृतिक पहिचान जोगाएका छन्, बल्कि मुलुककै लागि आत्मनिर्भरता र सामूहिक एकताको उत्कृष्ट उदाहरणसमेत प्रस्तुत गरेका छन् । यसै सन्दर्भमा, मूर्त सम्पदाको संरक्षणसँगै अब अमूर्त सम्पदाको जगेर्नातर्फ पनि समान रूपमा ध्यान दिनुपर्ने आवश्यकता स्पष्ट देखिन्छ ।
मूर्त सांस्कृतिक सम्पदा भन्नाले देख्न, छुन र प्रत्यक्षरूपमा अनुभव गर्न सकिने स्थिर तथा भौतिक धरोहर बुझिन्छ भने अमूर्त सम्पदा (अभौतिक सांस्कृतिक सम्पदा) भन्नाले प्रत्यक्ष रूपमा देख्न वा छुन नसकिने तर समाजको जीवन्त अभ्यास, ज्ञान, सीप, परम्परा र संस्कारका रूपमा निरन्तर हस्तान्तरण हुँदै आएका तत्वलाई जनाउँछ । उदाहरणको रूपमा बिस्का जात्रालाई लिन सकिन्छ । यस अवसरमा निकालिने भैरव र भद्रकालीका रथहरू मूर्त सम्पदाका उदाहरण हुन्, किनकि ती भौतिक रूपमा अवस्थित संरचनाहरू हुन् । तर, ती रथ तान्ने परम्परा, रथ निर्माणसँग सम्बन्धित परम्परागत सीप तथा तान्त्रिक ज्ञान, साथै सम्बन्धित पूजा–विधि र संस्कारहरू भने अमूर्त सम्पदाका महत्वपूर्ण अंश हुन् ।
मूर्त र अमूर्त सम्पदा एक–आपसमा परस्पर सम्बन्धित र परिपूरक हुन् । एउटाको अस्तित्वले अर्कोलाई अर्थ, सन्दर्भ र जीवन्तता प्रदान गर्दछ । यस सन्दर्भमा सम्पदा अभियन्ता रवीन्द्र पुरीले ख्वपको पहिचान स्थानीय पाठ्यक्रम सन्दर्भ सामग्री भाग–२ मा ‘मूर्त र अमूर्त’ सम्पदाबारे उल्लेख गर्दै लेख्नुहुन्छ,
“दीपङ्कर बुद्धको मूर्ति कुनै समय चोरी भएर युरोप पुगेको थियो । यता नेपालमा भने त्यस मूर्तिसँग जोडिएका जात्रा–परम्परा जीवन्त नै थिए । यस्तो अवस्थामा त्यस्ता मूर्त सम्पदासँग आबद्ध अमूर्त सम्पदाहरू नै ती हराएका कृतिहरूलाई स्वदेश फर्काउन आफैँमा बलियो आधार बन्दछन् । यिनै प्रमाणहरूको आधारमा वि.सं. २०६० सालमा दीपङ्कर बुद्धको मूर्ति अस्ट्रेलियाबाट स्वदेश फर्काउन सफल भएको थियो ।” यस उदाहरणले स्पष्ट पार्दछ कि अमूर्त सम्पदाले सांस्कृतिक निरन्तरता मात्र जोगाउँदैन, हराएका मूर्त सम्पदाहरूको पहिचान र पुनःप्राप्तिमा समेत निर्णायक भूमिका खेल्दछ । त्यसैले दुवै सम्पदाको संरक्षण समान रूपमा आवश्यक र अपरिहार्य छ ।
यही विषयलाई मनन गर्दै अन्तर्राष्ट्रिय स्तरमा अभौतिक सांस्कृतिक सम्पदाको संरक्षणका लागि संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (UNESCO) द्वारा सन् २००३ मा ‘Convention for the Safeguarding of the Intangible Cultural Heritage’ एक महत्वपूर्ण अन्तर्राष्ट्रिय कानुनी दस्ताबेज अनुमोदनका लागि खुलाइएको थियो । उक्त महासन्धिले अभौतिक सांस्कृतिक सम्पदालाई समुदाय, समूह तथा व्यक्तिहरूको पहिचान, निरन्तरता तथा सांस्कृतिक विविधताको आधारको रूपमा स्वीकार गरेको तथा सदस्य राष्ट्रहरूलाई यस्ता सम्पदाको पहिचान, सूचीकरण, संरक्षण र प्रवद्र्धनका लागि आवश्यक कानुनी, नीतिगत तथा संस्थागत संरचना विकास गर्न दायित्व निर्धारण गरेको छ ।
नेपाल उक्त महासन्धिको पक्ष राष्ट्र भएकोले अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण, सूचीकरण र व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय दायित्व बहन गर्दछ । सोही अन्तर्राष्ट्रिय प्रतिबद्धता र राष्ट्रिय आवश्यकताअनुरूप नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘अभौतिक सांस्कृतिक सम्पदा
(सूचीकरण तथा व्यवस्थापन) कार्यविधि, २०८१’ कार्यान्वयनमा ल्याएको छ ।
आधुनिकता, तीव्र सहरीकरण, बसाइँसराइ, पुस्तान्तरणको कमजोर अभ्यास तथा कानुनी संरचनाको अस्पष्टताका कारण यस्ता धेरै सांस्कृतिक विधाहरू क्रमशः लोपोन्मुख अवस्थामा पुगिरहेका छन् । कतिपय विधाहरूको उत्पत्ति, स्वामित्व, समुदायगत सम्बन्ध तथा संरक्षणको दायित्वसम्बन्धी विषयहरू स्पष्ट नहुँदा भविष्यमा पहिचानसम्बन्धी विवाद तथा सांस्कृतिक सङ्कट उत्पन्न हुने सम्भावना देखिन्छ ।
यही संवेदनशील सन्दर्भलाई ध्यानमा राखेर ‘ख्वप कलेज अफ ल’ ले ‘अभौतिक सांस्कृतिक सम्पदाको राष्ट्रिय तथा स्थानीय सूचीकरणसम्बन्धी अनुसन्धान तथा कानुनी मस्यौदा निर्माण’ सम्बन्धी प्रस्ताव भक्तपुर नगरपालिकासमक्ष प्रस्तुत गरेको थियो । उक्त प्रस्तावप्रति भक्तपुर नगरपालिका सकारात्मक तथा सहकार्यात्मक रहेको र आवश्यक सहयोग प्राप्त हुने गरिएको छ ।
यस अनुसन्धानअन्तर्गत भक्तपुरमा रहेका ५
(पाँच) वटा प्रमुख अभौतिक सांस्कृतिक सम्पदाहरूको व्यवस्थित अनुसन्धान, अभौतिक सांस्कृतिक सम्पदा
(सूचीकरण तथा व्यवस्थापन) कार्यविधि, २०८१ अनुसार आवश्यक दस्ताबेजीकरण प्रक्रिया पूरा गर्ने, स्थानीय तहमा अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण तथा व्यवस्थापनका लागि आवश्यक कानुनी मस्यौदा तयार गर्ने कार्यहरू रहेका छन् ।

हाल प्रारम्भिक चरणमा भक्तपुरसँग सम्बन्धित निम्न पाँच अभौतिक सांस्कृतिक विधाहरूमा अनुसन्धान, सूचीकरण तथा व्यवस्थापनको कार्य प्रारम्भ गर्ने भएको छ :
१.परम्परागत खेलअन्तर्गत – कसिमला पाँय्
२.खाद्य परिकारका सीपअन्तर्गत – जुजु धौ
३.मौखिक परम्परा तथा अभिव्यक्तिअन्तर्गत – ‘थ्व थें जागु रस–म्येँ’ (जुजु रणजित मल्लसँग सम्बन्धित)
४.मौखिक परम्परा तथा अभिव्यक्ति र परम्परागत कलाकौशल, उत्पादन गर्ने सीप र प्रविधिअन्तर्गत – कवाँचा प्याखँ
५.पहिरनलगायत आभूषणसम्बन्धी ज्ञान तथा परम्परागत कलाकौशल, उत्पादन गर्ने सीप र प्रविधि–भादगाउँले टोपी
उल्लिखित विधाहरू केवल सांस्कृतिक अभ्यासमात्र नभई भक्तपुरको ऐतिहासिक, सामाजिक तथा सामुदायिक पहिचानसँग गहिरो रूपमा जोडिएका छन् । यिनको उत्पत्ति, विकासक्रम, अभ्यासकर्ता समुदाय, सामाजिक–धार्मिक महत्व, वर्तमान अवस्था तथा संरक्षणका चुनौतीहरूबारे अनुसन्धान आवश्यक देखिन्छ ।

कानुनी आधार
यस पहलको मुख्य कानुनी आधार ‘अभौतिक सांस्कृतिक सम्पदा (सूचीकरण तथा व्यवस्थापन) कार्यविधि, २०८१’ रहेको छ । उक्त कार्यविधिको दफा २ (१) (क) मा परिभाषा गरिएअनुसार अभौतिक सांस्कृतिक सम्पदा भन्नाले नेपालमा परम्परागत रूपमा बसोबास गर्दै आएका जातीय समुदायका एक पुस्ताबाट अर्को पुस्तामा पुस्तान्तरण हुँदै आएका र अभ्यासमा रहेका देहायबमोजिमका सांस्कृतिक विधाहरूलाई जनाउँछ –
अ. मौखिक परम्परा तथा अभिव्यक्ति,
आ. अभिनय तथा मञ्चन कला,
इ. सामाजिक व्यवहार, अनुष्ठान, जात्रापर्वहरू,
ई. प्रकृति एवं ब्रह्माण्डसम्बन्धी ज्ञान,
उ. परम्परागत कलाकौशल, उत्पादन गर्ने सीप र प्रविधि,
ऊ. परम्परागत खेल,
ऋ. खाद्य परिकारका सीप,
लृ. पहिरनलगायत आभूषणसम्बन्धी ज्ञान,
ए. सम्पदा अभ्यास, कार्यान्वयन तथा अभ्यास गर्ने स्थल,
ऐ. स्मरणमा रहेका तर अभ्यासमा नरहेका अमूर्त, सांस्कृतिक सम्पदा ।
यस दृष्टिकोणबाट हेर्दा, स्थानीय तहबाट प्रारम्भ गरिएको सूचीकरण प्रक्रिया प्रशासनिक अभ्यासमात्र नभई अन्तर्राष्ट्रिय महासन्धि अनुरूप नेपालको कानुनी दायित्वको कार्यान्वयनसमेत हो ।
सूचीकरणको अपरिहार्यता
अभौतिक सांस्कृतिक सम्पदाको सूचीकरण केवल नाम दर्ता गर्ने प्रक्रिया होइन; यो पहिचानको संरक्षण, कानुनी मान्यता तथा दिगो व्यवस्थापनको आधार हो । आजका दिनमा आधुनिकता, व्यवसायीकरण, बसाइँसराइ, पुस्तान्तरणको कमी तथा मौलिकताको क्षयका कारण धेरै अभौतिक सम्पदाहरू लोपोन्मुख अवस्थामा पुगेका छन् । सूचीकरणमार्फत :
क.सांस्कृतिक विधाको उत्पत्ति र ऐतिहासिक पृष्ठभूमि अभिलेखीकरण हुन्छ ।
ख.सम्बन्धित समुदायको अधिकार र स्वामित्व स्पष्ट हुन्छ ।
ग.लोपोन्मुख अवस्थालाई पहिचान गरी संरक्षण रणनीति निर्माण गर्न सकिन्छ ।
घ.भावी पुस्तामा हस्तान्तरणका लागि शैक्षिक तथा नीतिगत आधार तयार हुन्छ ।
ङ.राष्ट्रिय तथा सम्भावित अन्तर्राष्ट्रिय मान्यताका लागि आधार तयार हुन्छ ।
यदि समयमै कानुनी तथा संस्थागत प्रयास नगरिएमा, हाम्रो मौलिक सम्पदा बाह्य प्रभावका कारण हराउने वा गलत पहिचानमा प्रस्तुत हुने जोखिम रहन्छ ।

अनुसन्धान तथा कानुनी मस्यौदा निर्माणको उद्देश्य
‘ख्वप कलेज अफ ल’ को यस पहलको लक्ष्य केवल सांस्कृतिक सूची तयार गर्नु होइन, बरु दीगो संरक्षणको कानुनी संरचना निर्माण गर्नु हो । यसअन्तर्गत :
क. स्थानीय स्तरमा अभौतिक सांस्कृतिक सम्पदाको वैज्ञानिक तथा विधिसम्मत सूचीकरण प्रक्रिया विकास गर्नु,
ख. राष्ट्रिय कानुनसँग सुसङ्गत स्थानीय कार्यविधि वा मापदण्ड तयार गर्नु,
ग. सम्बन्धित समुदाय, विज्ञ, संस्कृतिकर्मी तथा स्थानीय तहबिच समन्वयात्मक संरचना विकास गर्नु,
घ. संरक्षण, प्रवद्र्धन र व्यवस्थापनका लागि स्पष्ट नीतिगत मार्गनिर्देशन तयार गर्नु ।
यो पहल केवल शैक्षिक अभ्यास नभई, समुदाय–केन्द्रित संरक्षण अभियान हो ।

सार्वजनिक सहभागिता र सुझाव आह्वान
अभौतिक सांस्कृतिक सम्पदा समुदायमा जीवित रहने सम्पदा भएकोले यसको संरक्षण तथा सूचीकरण प्रक्रियामा समुदायको सक्रिय सहभागिता अपरिहार्य मानिन्छ । उल्लिखित विधाहरू वा भक्तपुरसँग सम्बन्धित अन्य अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी सुझाव, ऐतिहासिक जानकारी, अभिमत वा प्रमाण उपलब्ध गराउन इच्छुक महानुभावहरूले निम्न इ–मेल ठेगानामा सम्पर्क गर्न सक्नुहुनेछ : darlskcl@gmail.com । यहाँहरूको रचनात्मक सुझावहरूले अनुसन्धान कार्यलाई थप समृद्ध र विश्वसनीय तथा समुदायउन्मुख बनाउन महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिएका छौँ ।

निष्कर्ष
अभौतिक सांस्कृतिक सम्पदा हाम्रो जीवित इतिहास, सामुदायिक स्मृति तथा सांस्कृतिक पहिचानको आधार हो । यसको संरक्षण गर्नु सांस्कृतिक दायित्व मात्र नभई, कानुनी र नैतिक दायित्व पनि हो । स्थानीय तहबाट प्रारम्भ गरिएको सूचीकरणको प्रयासले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा दीगो संरक्षणको मार्ग प्रशस्त गर्ने विश्वास गरिएको छ । ख्वप कलेज अफ लद्वारा अघि बढाइएको यस पहलले भक्तपुरको मौलिक सांस्कृतिक पहिचानलाई संस्थागत, विधिसम्मत तथा दीर्घकालीन रूपमा सुरक्षित राख्ने दिशामा महत्वपूर्ण पहल चालिएको कदम साबित हुने विश्वास गरिएको छ ।
(यो लेख ख्वप कलेज अफ लअन्तर्गत वकालत, अनुसन्धान तथा कानुनी सीपसम्बन्धी विभागका विभागीय प्रमुख आशिष पौड्याल र अनुसन्धान्कर्ता कृति दुमरूद्वारा जनस्तरमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले तयार गरिएको हो ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *