भर्खरै :

निर्वाचन स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण हुनुपर्छ

निर्वाचन स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण हुनुपर्छ

निर्वाचन नजिकिएसँगै चुनावी माहोल तात्दै छ । दलका नेता, कार्यकर्ता तथा उम्मेदवारहरू चुनावी मैदानमा उत्रेका छन् । दलको आ–आफ्नो घोषणापत्र या प्रतिबद्धता पत्र जनताको घरआँगनमा पु¥याउने र बुझाउने काम भइरहेको छ । चुनाव प्रचार प्रसारको क्रममा कति दलका नेता तथा कार्यकर्ताहरू आफ्नो चुनावी घोषणापत्रको कुरा जनतालाई जानकारी दिनुभन्दा झूटको खेती गरेर भ्रम फैलाउने काममा लागेका छन् । चुनावी प्रचारको क्रममा दलका कार्यकर्ताबिचको झगडा, कुटपिट, झन्डा जलाउने र गाडी जलाउने घटनाक्रमले फागुन २१ गते हुने भनिएको निर्वाचन शान्तिपूर्ण ढङ्गले सम्पन्न होला कि नहोला भन्ने चिन्ता जनतामा छाएको छ ।
निर्वाचन स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र मर्यादित हुनुपर्छ । निर्वाचन बिथोल्ने, निर्वाचनमा भाँडभैलो हाल्ने काम कुनै राजनीतिक दलले गर्नु उचित होइन । निर्वाचनमा प्रतिक्रियावादी, सामन्त, पुँजीपतिवर्ग, जालीफटाहाका उम्मेदवारलाई जिताउनु श्रमजीवी वर्गको खुट्टामा बञ्चरोले हान्नुजस्तै हुनेछ । श्रमजीवीवर्गका जनताले श्रमजीवी वर्गमाथि शोषण गर्ने, दमन गर्ने दलका उम्मेदवारलाई मतदान गरेर गल्ती गर्नु हुँदैन । दलका नेता, कार्यकर्ता र उम्मेदवारहरू जनताको मत बटुल्नको निम्ति आकर्षक र मिठा नारा फलाक्दै छन् । उनीहरूले अहिले उठाएका मागहरू विगतको निर्वाचनमा पनि उठाइएको थियो । जनताको मत लिएर सरकारमा पुगे पनि उनीहरूले प्रतिबद्धताअनुसार काम गरेनन् । उनीहरूले जनतालाई धेरै पटक लोभ देखाएर मत लिए । जनताको मत लिएर काम नगर्ने दल र दलका उम्मेदवारलाई अहिले जनताले चिन्नुपर्छ । जनतालाई लात मार्ने, विश्वासघात गर्ने र प्रतिबद्धता पूरा नगर्ने दल र दलका उम्मेदवारलाई फेरि आश्वासनको भरमा कसरी मतदान गर्ने ?
पुँजीवादी व्यवस्थामा हुने निर्वाचन निष्पक्ष हुनेमा शङ्का छ । जसरी भए पनि जित्नको निम्ति ठुला या शासक दलहरू निर्वाचनमा साम, दाम, दण्ड र भेदको नीति अँगाल्छन् । पैसा बाँड्ने, लोभलालच देखाउने, जागिर खुवाउने जस्ता आश्वासनको पोको बाँडेर जितेका दल र दलका उम्मेदवारले विगतमा के गरे ? यसबारे जनताले समीक्षा गर्नुपर्छ, मूल्याङ्कन गर्नुपर्छ । जनताले कुनै दलको आश्वासन होइन व्यवहारलाई विश्वास गर्नुपर्छ । भ्रष्टाचार अन्त्य गर्ने, ठगेको सहकारी रकम फिर्ता दिलाउने प्रतिबद्धता पनि व्यक्त भएको पाइन्छ । भ्रष्टाचार अन्त्य गर्ने र सहकारी ठगमाथि कारबाही गरेर जनताको पैसा फिर्ता दिने कुरा विगतको सरकारले पनि गरेकै हो । तर, न भ्रष्टाचारीमाथि कारबाही भयो न त ठगेको सहकारी रकम सहकारी पीडितले नै पाए । अतः पैसा, उपहार र पदको लोभमा कुनै नेपालीले विदेशीको दलाली गर्नुहुँदैन । निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहित बनाउन सरकार, निर्वाचन आयोग, राजनीतिक दल, सुरक्षाकर्मी, नागरिक समाज तथा सबै पक्षको उत्तिकै आवश्यक छ ।
सरकारी तथ्याङ्कअनुसार जेनजी आन्दोलनको क्रममा जेलबाट भागेका, हतियार लिएर फरार भएका सबैलाई सरकारले नियन्त्रणमा लिन सकेको छैन । यो निर्वाचनमा कुनै पनि बेला जेलबाट भागेका र हतियार लिएर गएका व्यक्तिले चुनाव बिथोल्न सक्नेतर्फ सरकारको ध्यान पुग्नुपर्छ । निर्वाचनलाई उपयोग गर्नु पनि राजनीतिक अधिकार हो । राजनीतिक अधिकार उपयोग गरी जनताविरोधी दल र दलका उम्मेदवारलाई जिताउनु हुँदैन । जनताको आफ्नो अमूल्य भोट सही उम्मेदवारको निम्ति उपयोग हुनुपर्छ । सही मतदाताले सही उम्मेदवार छान्नुपर्छ । सही उम्मेदवार जिताउन कतिपटक भोट हाल्ने भनेर गलत व्यक्ति चयन गर्नु हुँदैन । संसद्लाई जनताको पिर मर्का हेर्ने, देशको रक्षा गर्ने, देशभक्तहरूको जीवन्त सदन बनाउन श्रमजीवीवर्गको प्रतिनिधित्व गर्ने या बहुसङ्ख्यक जनताको हितको निम्ति सदन र सडकमा सङ्घर्ष गर्ने दल र दलका उम्मेदवार छान्नुपर्छ ।
भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण र ठुला भ्रष्टाचारीहरूलाई ज्यान सजायको विषयमा आवाज बुलन्द गर्ने, देशको सीमा र भूमि जोगाउनको निम्ति सङ्घर्षरत दल सदनमा आवश्यक छ । सदनमा प्रखर प्रतिपक्षको भूमिका खेल्ने सांसदहरू आवश्यक हुन्छ । प्राकृतिक स्रोत र सम्पदा तथा सांस्कृतिक सम्पदा संरक्षण गर्न लड्ने सांसद आवश्यक हुन्छ । किसान, मजदुर र कामदारवर्गको हितमा कानुन बनाउन लड्ने सांसद आवश्यक हुन्छ । क्रान्तिकारी भूमिसुधारमार्फत देशलाई कृषिमा आत्मनिर्भर बनाउन र रासायनिक मल कारखाना स्थापना गराउन सङ्घर्ष गर्ने सांसद आवश्यक हुन्छ । देशका उद्योगधन्दा तथा सहकारी संस्थान निरन्तर चलाउन, निजीकरण रोक्न र कौडीको मूल्यमा व्यक्तिलाई बेच्ने काम रोक्न पहल गर्ने सांसद आवश्यक हुन्छ । देश र जनताका यस्ता सांसदहरू जिताउन नै जनताले आफ्नो अमूल्य मत सही उम्मेदवारलाई छान्ने हो† छान्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *