भर्खरै :

नेमकिपाले संसद्लाई नीति र ऐन निर्माण गर्ने थलोको रूपमा उपयोग गर्ने

नेमकिपाले संसद्लाई नीति र ऐन निर्माण गर्ने थलोको रूपमा उपयोग गर्ने

भक्तपुर, १० फागुन । “निर्वाचन एक वर्ग सङ्घर्ष र राजनीतिक सङ्घर्ष हो । यो जनताको चेतनास्तर नाप्ने ब्यारोमिटर हो । संसद्को मुख्य काम प्रधानमन्त्री छनोट गर्न होइन बरू आवश्यक नीति र ऐनहरूको निर्माण गर्ने हो ।”
उक्त भनाइ नेमकिपाका सचिव एवं भक्तपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रेम सुवालले आइतबार सल्लाघारीमा भएको चुनावी सभामा व्यक्त गर्नुभएको हो ।
दलले देशघाती, भ्रष्टाचारी, ठग, माफियालाई निर्वाचनमा उम्मेदवारी उठाउन नहुने उल्लेख गर्दै उहाँले संसद् भत्ता पचाउने थलो बनाउन नहुने बताउनुभयो ।
संसदीय सदस्यहरूलाई पेन्सन दिन नहुने उल्लेख गर्दै उहाँले शासक दलहरू हेर्दा फरक दल भए पनि सबै भागबन्डामा मिल्ने पुँजीवादी दलहरू हुन् भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले नेमकिपाको स्वार्थ भनेकै देश र जनताको सेवा गर्नु हो भन्नुभयो ।
३५ वर्षको शासन कालमा विभिन्न बेथिति र काण्डहरू घटेको उल्लेख गर्दै उहाँले बुद्धिजीवीहरूले देशको वास्तविकता नबुझ्दा देश अप्ठेरोमा परेको बताउनुभयो ।
देशको स्वाधीनता र सार्वभौमिकता जोगाउन संसद्मा देशभक्तहरूको सङ्ख्या बढाउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले जनता बेलैमा सचेत नभए फेरि आर्थिक माफिया र भ्रष्टाचारीहरू जित्ने बताउनुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका गङ्गाराम ज्याख्वले रासायनिक मल विदेशबाट आयात गरेर कमिसन खान पल्केका शासकहरूले देशमा मल कारखाना खोल्न नचाहेको बताउनुभयो ।
नेमकिपा वडा नं. १ का अध्यक्ष कृष्णबहादुर दुगुजुको सभापतित्वमा भएको सभामा सृजना नगर सेवा समाजका अध्यक्ष नारायण कोइरालाले शुभेच्छा प्रकट गर्नुभयो ।
सभामा कृता कोजु, रेखा श्रेष्ठ र चेतनाथ कँडेलले पनि बोल्नुभएको थियो ।
सभामा विनोद विक र राजु पाँतीले गीत प्रस्तुत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *