भर्खरै :

पुँजीवादी व्यवस्था रहेसम्म भ्रष्टाचार अन्त्य नहुने

पुँजीवादी व्यवस्था रहेसम्म भ्रष्टाचार अन्त्य नहुने

तनहुँ ११, फागुन । नेपाल मजदुर किसान पार्टीको तर्फबाट प्रतिनिधिसभा निर्वाचनमा तनहुँ क्षेत्र नं २ का उम्मेदवार लक्ष्मण अधिकारीको टोलीले व्यास नगरपालिका वडा नं ६ को शिशाघाटमा घरदैलो तथा स्थानीयसँग भेटघाट गरेको छ ।
स्थानीय जनताले काङ्ग्रेस, एमाले, माओवादी, राप्रपा, रास्वपालगायतका शासक पार्टीहरूले जनताको चाहनाअनुसार काम नगरेको गुनासो व्यक्त गरे । नयाँ पुराना भनिने दलहरूले सिंहदरबार, संसद्, न्यायालयलगायत सार्वजनिक सम्पत्ति जलाएर साखुल्ले बन्न खोजेको जस्ता आरोप पनि लगाए । कसै कसैले देश विदेशीलाई बेच्न खोजेको गुनासो पोखे ।
शासक दलहरूप्रति जनतामा एक प्रकारको आक्रोश देखियो । हामीलाई रोजगारी खोइ ?, युवालाई खाडीमा किन बेचेको ?, नेताहरूले भ्रष्टाचार गरेर ठुलठुला घरमात्र बनाउने ? हामीलाई उपचार गर्नुपरे पोखरा, दमौली, चितवन, काठमाडौँ जानुपर्ने बाध्यता छ, किन दिने भोट ? जस्ता आक्रोश व्यक्त गरे ।
कसै कसैले खोइ पैसा ? खोइ भोज ? अरु दलले पैसा दिन्छन्, तपाईँहरू कागजमात्रै ¤ पनि भने । यसले जनताको चेतनास्तर उठ्न अझै बाँकी रहेको देखिन्छ । शासक दलहरूले पैसा बाँडेर, भोज खुवाएर जनताको मतलाई अवमूल्यन गरेको देखियो ।
मादी नदीको किनारमा रहेको तनहुँ, लमजुङ, कास्कीको सिमाना शिशाघाट पहिले वामपन्थी विचारले प्रभावित क्षेत्र हो । कम्युनिस्ट नामधारी संशोधनवादीहरूले जनतालाई भ्रममा पारेको हुँदा अहिले स्थानीय जनता अलमलमा परेको देखिन्छ । विश्वकर्मा, परियार, कुमाल, मुस्लिम, ब्राह्मण, क्षेत्री नेवार, गुरुङको मिश्रित समुदाय बसोबास गर्छन् शिशाघाटमा ।
नेपाल क्रान्तिकारी युवा सङ्घका अध्यक्ष मिनबहादुर बाटाले पटक–पटक सत्तामा पुगेका शासक दलहरूले कामदार जनताको भावनाअनुसार काम नगरेको बताउनुभयो ।
समाजवादी गणतन्त्रमा योग्यताअनुसारको काम, कामअनुसारको ज्याला, शिक्षा–स्वास्थ्य निःशुल्क, जमिन जोत्नेको सिद्धान्त लागू हुने क्रान्तिकारी भूमिसुधार, उत्पादनका साधन राष्ट्रियकरण हुने, भ्रष्टाचारीलाई कडा कारबाही हुने बन्दोबस्त रहने उल्लेख गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका उम्मेदवार लक्ष्मण अधिकारीले पुँजीवादी व्यवस्था रहेसम्म भ्रष्टाचार अन्त्य नहुने यथार्थ प्रस्ट्याउँदै जनताको गुनासो समाजवादी गणतन्त्रमा मात्र समाधान हुने स्पष्ट पार्नुभयो ।
उहाँले अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादले नयाँ र पुराना राजनीतिक दलको नाममा आफ्ना दलाल तयार पार्दै नेपाललाई रणमैदान बनाउन खोजेकोतर्फ पनि जनता सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *