साम्राज्यवादी नीति रहेसम्म जनताले शान्ति र सुरक्षाको अनुभूति नपाउने
- फाल्गुन १२, २०८२
भक्तपुर, ११ फागुन । प्याब्सन जिल्ला समिति भक्तपुरको आयोजनामा नेपाल मजदुर किसान पार्टीको तर्फबाट उम्मेदवार भएकाहरूको उम्मेदवार परिचयात्मक कार्यक्रम आइतबार भयो ।
कार्यक्रममा नेमकिपाको तर्फबाट भक्तपुर क्षेत्र नं. १ का उम्मेदवार एवम् पार्टी सचिव प्रेम सुवालले भन्नुभयो, “मानव समाजको विकासको सिलसिलाअनुसार दास युग, सामन्ती युग, पुँजीवादी युग हुँदै समाजवाद र साम्यवादी युगमा अगाडि बढ्ने हो । उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण हुने समाजवादी समाजमा अघि बढ्ने सिलसिला रोकिने छैन । यो विषय विद्यालय र विश्वविद्यालयका पाठ्यक्रममा पनि भएको हो ।”
संसद्को केन्द्र प्रधानमन्त्री छनोट होइन, देशको नीति, बजेट, कानुन र सन्धि–सम्झौतामा छलफल गर्ने भएकोले नेमकिपाले संसद्लाई जनताको पिर, मर्का हेर्ने र देश रक्षा गर्ने देशभक्तहरूको जीवन्त बनाउन आवाज राख्दै आएको उहाँले बताउनुभयो ।
सचिव सुवालले भन्नुभयो, “शासक दलहरूले संसद्लाई भत्ता पचाउने, रातो राहदानी बेच्ने, सहुलियत खोज्ने संस्थाको रूपमा अगाडि बढाए । नेमकिपाकै विरोधको कारण सांसदहरूलाई दिएको राजस्व छुटमा विदेशी गाडी खरिदको कानुनी व्यवस्था खारेज भयो भने सांसदलाई पेन्सन सुविधाको कानुन बन्न सकेन ।”
नेमकिपाले विद्यालय शिक्षा निःशुल्क र अनिवार्य एवम् विश्वविद्यालय शिक्षा निःशुल्क हुने कानुनी व्यवस्थाको लागि आवाज उठाउँदै आएको र यसले सुसंस्कृत समाज बनाउन मद्दत गर्ने उम्मेदवार सुवालले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “नेपाल जतिकै भूगोल र जनसङ्ख्या भएको प्रजग कोरियाले समाजलाई बुद्धिजीवीकरण बनाउने अभियान सुरू गरेको दसकौँ भयो भने भूउपग्रह पनि पटक पटक प्रक्षेपण गर्दै छ । नेपालमा बहुदल र गणतन्त्रको पैतीस वर्षयता सरकारमा प्रम, उपप्रम र मन्त्री भएकाहरूले सियो पनि बनाउन सकेनन् ।”
सचिव सुवालले थप्नुभयो, “अमेरिकी साम्राज्यवादले सार्वभौम देश भेनेजुयलाका राष्ट्रपति माडुरो र उहाँकी धर्मपत्नीलाई अपहरण गरी लागुपदार्थ कारोबारको झूटा मुद्दा चलाएको संयुक्त राष्ट्र सङ्घको बडापत्रको उल्लङ्घन हो । यो अपहरणविरूद्ध लाखौँ अमेरिकी जनता सडकमा उत्रेर ट्रम्प प्रशासनको जङ्गलीराजको विरोध गर्दै छन् । नेपालमा नेमकिपाले ट्रम्प प्रशासनको भेनेजुयलामाथि आक्रमणको विरोधमा काठमाडौँमा जुलुस प्रदर्शन गरेको हो ।”
नेमकिपाको तर्फबाट भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार रमेश वैद्यले शासक दलहरूले कृषिलाई परनिर्भर बनाएको बताउनुभयो ।
नेमकिपाका निर्वाचित प्रतिनिधिहरूले कृषिलाई आत्मनिर्भर बनाउन सडक र सदनमा निरन्तर आवाज उठाउने उहाँले बताउनुभयो ।
कार्यक्रम प्याब्सनका राजन कसपालको सभापतित्वमा भएको थियो ।
Leave a Reply