शासक दलका उम्मेदवारहरूलाई जनताका आठ प्रश्न
- फाल्गुन ११, २०८२
भक्तपुर, १२ फागुन । “राजनीतिक पार्टी कुनै न कुनै दर्शन, सिद्धान्त र विचारको आधारमा चलेको हुन्छ । समाजवादी दर्शनले काम गरी खाने वर्गको पक्षमा काम गरेको हुन्छ भने पुँजीवादी दर्शनले पुँजीपतिवर्गको सेवा गर्छ ।”
उक्त विचार नेमकिपाका सचिव एवं भक्तपुर क्षेत्र नं. १ का प्रत्यक्ष उम्मेदवार प्रेम सुवालले वडा नं. ६ मा आयोजित चुनावी सभामा मङ्गलबार व्यक्त गर्नुभएको हो ।
साम्राज्यवादी अमेरिकाले भेनेजुयलाको प्राकृतिक स्रोत, साधन, खनिज तथा तेल कब्जा गर्न आक्रमण गरेको उल्लेख गर्दै उहाँले साम्राज्यवादी नीति कायम रहेसम्म संसारका जनताले सुरक्षा र शान्तिको अनुभूति गर्न पाउने छैनन् भन्नुभयो ।
सरकारले देशको लागि आवश्यक मात्रामा विद्युत् उत्पादन नगरेको कारण भारतबाट महँगोमा नेपालमा बिजुली आयात गर्न बाध्य भएको स्पष्ट पार्दै उहाँले देशको सबभन्दा सस्तोमा विद्युत् उत्पादन हुने माथिल्लो कर्णाली योजना नेपाली जनताको सपना हो भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले नेपालको राजनीतिमा नेमकिपाले देश र जनताको पक्षमा निःस्वार्थ र इमानदारीपूर्वक काम गर्दै आएको विचार व्यक्त गर्नुभयो ।
शासक दलका नेताहरू पद र पैसाको निम्ति राजनीतिमा लागेको कारण देशमा भ्रष्टाचार, बेथिति र अनियमितता बढेको उल्लेख गर्दै उहाँले देशघाती एमसीसी पास नगराउन नेमकिपाले सदन र सडकमा सङ्घर्ष गरेको बताउनुभयो ।
नेमकिपा नगर समिति भक्तपुरका प्रतिनिधि लक्ष्मीभक्त लासिवाले देशमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको चलखेल बढिरहेकोमा चिन्ता व्यक्त गर्दै शासकहरू भ्रष्ट भएकै कारण विदेशी शक्ति राष्ट्रले शासकहरूलाई उपयोग गरेको बताउनुभयो ।
गोपीकृष्ण चाँगुभारीको सभापतित्वमा भएको सो सभामा सुजी ह्योङ्गोजु, पूर्णभक्त सुवाल र सुरेशन धुसुले पनि बोल्नुभएको थियो ।
Leave a Reply