भर्खरै :

(रोजा जन्म जयन्तीको अवसरमा प्रकाशित सामग्री) – असाधारण क्रान्तिकारी, साहसी महिला नेतृ रोजा लक्जेम्बर्गको जीवन–सङ्घर्ष र उनका कार्यहरू

(रोजा जन्म जयन्तीको अवसरमा प्रकाशित सामग्री) – असाधारण क्रान्तिकारी, साहसी महिला नेतृ रोजा लक्जेम्बर्गको जीवन–सङ्घर्ष र उनका कार्यहरू

रोजा लक्जेम्बर्ग विश्व सर्वहारा वर्गकी एक महान् क्रान्तिकारी नेतृ तथा योद्धा थिइन् । उनी माक्र्सवादी सिद्धान्तकार, दार्शनिक, अर्थशास्त्री र क्रान्तिकारी समाजवादी थिइन् । उनले सुधारवादको विरुद्धमा धेरै ठुलो सङ्घर्ष गरिन् र क्रान्तिलाई अगाडि बढाउने क्रममै आफ्नो प्राण उत्सर्ग गरिन् । दोस्रो अन्तर्राष्ट्रियमा क्रान्तिकारी धारको नेतृको रूपमा सुधारवादको विरुद्ध उनले सम्झौताहीन सङ्घर्ष गरिन् । उनी सन् १९१८ को जर्मन क्रान्तिको प्रमुख नेतृ थिइन् । उनले पोल्यान्ड र जर्मनीमा माक्र्सवादलाई नयाँ दिशा दिइन् । आफ्नो सङ्कल्प र निष्ठाको बलमा उनले सर्वहारा आन्दोलनलाई नयाँ दिशा दिन सफल भइन् । उनको बुलन्द प्रभावकारी आवाजको कारणले पुँजीपतिहरू काम्ने गर्दथे । तानाशाह शासकहरूको कुर्सी हल्लिन्थ्यो । रोजा बोल्न सुरु गर्दा सबै मानिस नतमस्तक हुन्थे । उनको हरेक बोलीमा सङ्घर्षको आतुरता, व्यङ्ग्य र उपहास भरिएको हुन्थ्यो । उनको आवाज तीक्ष्ण, शक्तिशाली र थरथराहटयुक्त हुँदै बाहिर आउँथ्यो र कानबाट सिधै हृदयमा बस्दथ्यो । उनी सुन्दर गीत पनि गाउँथिन् । उनको भाषण सुनेपछि मानिसहरू उनको प्रतिभालाई चमत्कार ठान्थे । उनी अत्यन्तै बुद्धिमान व्यक्तित्व थिइन् । उनी सामाजिक लोकतन्त्रवादी, समाजवादी, कम्युनिस्ट नेतृ थिइन् । उनलाई पत्रकारको रूपमा पनि चिनिन्छ । आफ्ना शक्तिशाली विचार र भाषणको कारण उनलाई संसारमा चिनिन्छ । सत्तासीन व्यक्तिलाई उनी जहिले पनि औँला ठड्याउँथिन् । राजनीतिक धृष्टता, सामाजिक असमानता, लैङ्गिक भेदभावको विरुद्ध उनका सम्पूर्ण जुझारू कार्यहरूले गर्दा आजसम्म संसारका अन्यायको विरुद्ध बोल्नेहरूका लागि उनी सदैव उच्च प्रेरणाको स्रोत बनिरहेकी छिन् । रोजाका राजनीतिक विचारधाराको कारण उनलाई ‘रेड रोजा’ उपनामले चिनिन्छ । उनले अन्तर्राष्ट्रिय स्तरमा समाजवादलाई स्थापित गराउनको लागि कैयौँ क्रान्तिकारी कदमहरू उठाइन् । उनको साहस, समर्पण, त्याग, बलिदानीभाव र वीरताको कारण उनी सदैव विश्व सर्वहारावर्गको निमित्त सम्मानित र महान् प्रेरणाको स्रोत रहिरहेकी छिन् ।
रोजा (रोजालिया) लक्जेम्बर्गको जन्म एक मध्यमवर्गीय यहुदी परिवारमा जारशाही रुसको अधीनमा रहेको पोल्यान्डको जेमोक नजिकै लुबलिन भन्ने ठाउँमा ५ मार्च १८७१ मा भएको थियो । उनको पिता एलियाश लक्जेम्बर्ग एक काठ व्यापारी थिए । रोजा पाँचौँ सन्तान थिइन् अर्थात् उनी पाँच भाइबहिनीहरूमा सबभन्दा कान्छी थिइन् । पाँच वर्षको उमेरमा खुट्टाको रोगको कारणले गर्दा उनी जीवनभरि अपाङ्गताको सिकार भएकी थिइन् । त्यतिबेलै उनको हिपको अपरेसन गरेर महिनौँ ओछ्यानमा परेकी थिइन् । रोजामा शारीरिक कमजोरी भए पनि उनी बच्चैदेखि दृढ, सङ्कल्पवान, प्रखर, मेधावी, पठनशील थिइन् । उनी बचपनदेखि नै नेतृत्वकारी गुणले भरिएकी थिइन् । उनी आफ्ना साथीहरूको बिचमा पनि लोकप्रिय थिइन् ।
रोजा ९ वर्षकी भएपछि उनीहरूको परिवार वार्सा गएको थियो । त्यसपछि उनलाई एक सरकारी स्कूलमा भर्ना गरियो । स्कूलमा उनले असाधारण प्रतिभा देखाइन् । युवा अवस्थामा पुग्दै गरेकी रोजाले अब समाजलाई बुझ्न लागेकी थिइन् । रोजा गोएथेका कवितालाई खुब मन पराउँथिन् । दोस्तोएब्स्की, चाल्र्स डिकेन्स, लाँगे, अनातोलेजस्ता विश्व प्रसिद्ध साहित्यकारहरूका रचनाहरू खुब मन लाएर पढ्थिन् । पियरे ब्रुडका उपन्यासहरूले उनलाई धेरै प्रभावित गरेका थिए । रोजा स्कूल पढ्दादेखि नै मजदुर आन्दोलनमा जोडिएकी थिइन् । उनी त्यसबेला पोल्यान्डको वाम सर्वहारा पार्टीसँग जोडिएकी थिइन् । उनको जीवन अभावै अभावले भरिएको थियो । समाजको आर्थिक स्तरमा विभाजन देख्दा र यी निरन्तर गहिरिँदै गएको देख्दा उनी दुःखित हुन्थिन् । श्रमिकहरूले आफ्नो दुर्दशालाई भाग्य ठानेर स्वीकार गर्ने अवस्थालाई देखेर उनी धेरै चिन्तिन हुन्थिन् । यस्तै बेलामा उनको कम्युनिस्ट आन्दोलनका नेताहरूसँग सम्पर्क भयो । माक्र्सका विचारको रोजामा अत्यन्तै ठुलो प्रभाव थियो । राजनीतिप्रति आकर्षणको कारण रोजा वामपन्थी पार्टीको सम्पर्कमा आइन् । सन् १८८६ मा उनले पोल्यान्डको वामपन्थी पार्टीको सदस्यता लिइन् । श्रमिक आन्दोलनमा भाग लिँदा उनको निर्भिक र प्रखर आन्दोलनकारी रूप प्रकट हुन लाग्यो । त्यतिबेला पोल्यान्डमा कम्युनिस्ट विचारधाराको प्रभाव निरन्तर बढ्दै गइरहेको थियो । पुँजीवादको विरोधमा सबै मानिसहरू सङ्गठित हुँदै गइरहेका थिए । उनले आफ्नो राजनीतिक जीवनको सुरुआत मजदुर वर्गको व्यापकरूपमा आमहडताल र धर्नाबाट सुरु गरेकी थिइन् । जार अलेक्जेन्डर तृतीयको अधिनायकवादी शासनमा स्वतन्त्र विचार, राजनीतिक व्यक्तिहरू र श्रमिक आन्दोलनलाई भयङ्कर दमन गरिन्थ्यो । जारशाहीको भीषण दमनसँगै त्यसबेला पार्टीका चार जना नेताहरूलाई फाँसीको सजाय भएको थियो र पार्टीलाई पूर्णरूपले प्रतिबन्ध लगाइएको थियो । मुख्य निशानामा रोजा पनि थिइन् । त्यसपछि पार्टीका अन्य नेता र सदस्यहरूसहित रोजा पनि भूमिगत रूपमा काम गर्न लागिन् । अब उनीहरूको सम्पूर्ण क्रियाकलाप भूमिगतरूपमा अगाडि बढ्न थाल्यो ।
सन् १८८७ मा रोजाले आफ्नो माध्यमिक परीक्षा पास गरिन् । त्यसपछि जारशाहीको गिरफ्तारीबाट बच्न र उच्च शिक्षा प्राप्त गर्नको लागि उनी सन् १८८९ मा स्वीट्जरल्यान्डको ज्युरिच गइन् र त्यहाँ ज्युरिच विश्वविद्यालयमा भर्ना भइन् । त्यसपछि उनले यहाँ कानुन र राजनीतिशास्त्रको पढाइ सुरु गरेकी थिइन् । सन् १९९८ मा उनले मानक उपाधि हासिल गरेकी थिइन् । उनले स्वर्ण पदक प्राप्त गरेकी थिइन् तर त्यो पदक लिन अस्वीकार गरिन् । पछि उनले सन् १८९७ मा पोल्यान्डको औद्योगिक क्रान्ति विषयमा शोध लेखेर विद्यावारिधिको उपाधि पनि प्राप्त गरेकी थिइन् ।
रोजाले स्वीट्जरल्यान्डमा निर्वासनमा रहेका अजेक्जेन्डर कोलोन्ताइ, प्लेखानोभ, लियो जोगिश र पावेल अक्सेलरोदजस्ता माक्र्सवादी र क्रान्तिकारीहरूसँग भेट गरिन् । रोजाको क्षमता र सिद्धान्तनिष्ठाले ती सबै नेताहरूलाई प्रभावित बनाएको थियो । ज्युरिचमा उनले इतिहास, राजनीति, दर्शन, गणित, समाजविज्ञान, अर्थशास्त्र आदि विषयहरूको गहन अध्ययन गरिन् । राजनीतिशास्त्र, अर्थशास्त्र, मध्ययुगको इतिहासजस्ता विषयहरूमा त उनले कुशलता हासिल गरेकी थिइन् । त्यसैगरी, राज्यको रूपमा मध्ययुगको आर्थिक स्थिति, शेयर बजारको सङ्कटमा पनि उनले विशेषज्ञता हासिल गरिन् । सन् १८९० मा उनको लियो जोगीशसँग प्रेम सम्बन्ध भयो । त्यसपछि कुनै रीतिरिवाजबिना नै उनीहरूको यो प्रेम सम्बन्ध मृत्युपर्यन्त कायम रह्यो ।
रोजा लक्जेम्बर्ग पोल्यान्डको समाजवादी पार्टीको राष्ट्रवादी नीतिसँग सहमत थिइनन् । उनी राष्ट्रवादी प्रवृत्तिहरूलाई सर्वहारा अन्तर्राष्ट्रतावादको लागि हानिकारक ठान्थिन् । सन् १८९३ मा लियो जोगिश र जुलियन मारक्लेभ्स्कीसँग मिलेर उनले स्प्राभा रोबोनित्कजा (मजदुरहरूको उद्देश्य) समाचारपत्र स्थापना गरिन् । यसको मुख्य उद्देश्य श्रमिकहरूको बिचमा वर्गीय चेतनाको विस्तार गर्नु थियो । यो समाचारपत्रको माध्यमबाट पोल्यान्डको समाजवादी पार्टीको राष्ट्रवादी नीतिको आलोचना गर्न लागिन् । पोलिस समाजवादी पार्टी रुसी साम्राज्यवादबाट पोल्यान्डको स्वतन्त्रताको माग गर्दथ्यो । रोजाले यो मागको विरोध गरिन् । त्यसपछि रोजा पोल्यान्डको समाजवादी पार्टीको निशानामा आइन् । रोजा र उनका साथीहरूको के मान्यता थियो भने जर्मनी, रुस, अस्ट्रियामा संयुक्त समाजवादी क्रान्तिबाट मात्र आत्मनिर्भर पोल्यान्डको जन्म हुन सक्छ । रोजाको मान्यताअनुसार सङ्घर्षको लक्ष्य राजनीतिक दासता र पुँजीवादी उत्पीडन दुवैबाट मुक्तिको लागि हुनुपर्दछ । उनीहरूको बिचमा मतभेद तीव्र हुँदै गएपछि सन् १८९३ मा लियो जोगिश, कोस्तान्जा शभा र जुलियस कास्र्कीसँग मिलेर पोल्यान्डको सामाजिक जनवादी पार्टीको स्थापना गरिन् । यो पार्टी पछि लिथुआनियाको सामाजिक जनवादी सङ्गठनसँग एकताबद्ध भयो र यसलाई पोल्यान्ड र लिथुआनियाको सामाजिक जनवादी पार्टी भन्न लागियो । रोजा त्यसपछि मजदुरहरूको उद्देश्य पत्रिकाको सम्पादनको लागि पेरिस आइन् ।
राष्ट्रियताको मुक्तिको सम्बन्धमा रोजाको विचार फरक थियो । उनका अनुसार पोल्यान्डको स्वतन्त्रताभन्दा पनि जर्मनी, रुस, अस्ट्रियाजस्ता मुलुकहरूमा समाजवादी क्रान्ति सम्पन्न भएपछि मात्र स्वतन्त्र र आत्मनिर्भर पोल्यान्ड अस्तित्वमा आउँछ । उनी साम्राज्यवादको चरणमा ठुला शक्तिहरू अस्तित्वमा आएपछि साना राष्ट्रियताहरूको लागि आत्मनिर्णयको अधिकारलाई भ्रामक मान्न लागेकी थिइन् । यी आधारहरूमा उनी पोल्यान्डको लागि स्वतन्त्रताको माग गर्दथिन् । यस सम्बन्धमा रोजाको लेनिनसँग ठुलो बहस भयो ।
सन् १९९८ मा रोजाले जर्मनी निवासी गुस्ताभ ल्युबेसँग विवाह गरिन् । यसको वास्तविक उद्देश्य जर्मनीको नागरिकता प्राप्त गरी अपेक्षाकृतरूपमा सुरक्षित हुनु थियो । यसपछि उनलाई जर्मन नागरिकता प्राप्त भयो । ५ वर्षपछि उनले गुस्ताभलाई आभार प्रकट गर्दै सम्बन्धविच्छेद गरिन् । रोजालाई के विश्वास थियो भने समाजवादी क्रान्ति सबभन्दा पहिले फ्रान्स र जर्मनीमा हुन्छ । जर्मनीको सामाजिक जनवादी पार्टी त्यसबेलाको सबभन्दा ठुलो संसदीय पार्टी बनिसकेको थियो । रोजा जर्मन सामाजिक जनवादी पार्टीसँग मिलेर काम गर्न चाहन्थिन् । त्यसकारण, उनी बर्लिन आइन् । यसपछि उनले सामाजिक जनवादी पार्टीको कार्यलाई अगाडि बढाउन लागिन् । यद्यपि, लियो जोगिशसँग मिलेर उनले पोल्यान्ड र लिथुआनियाको सामाजिक जनवादी पार्टीको पनि नेतृत्व सम्हालिरहिन् । सन् १८९९ मा प्रकाशित ‘द मिलिशिया एन्ड मिलिटरिज्म’ मा रोजाले जर्मन सैन्यवाद र साम्राज्यवादको जोडदार विरोध गरिन् । त्यसपछि आसन्न युद्ध रोक्नको लागि कार्यकर्ताहरूलाई एकजुट हुन पनि आह्वान गरिन् ।
जर्मनीको सामाजिक जनवादी पार्टी यतिखेर अवसरवाद र नोकरशाहीजस्ता गम्भीर रोगले ग्रसित थियो । जर्मनीको सामाजिक जनवादी पार्टीका क्रान्तिकारी वाम पक्षसँग मिलेर रोजाले अवसरवाद र नोकरशाहीको विरुद्ध आन्दोलन सुरु गरिन् । यसबेला जर्मनको सामाजिक जनवादी पार्टीमा संशोधनवाद तीव्ररूपमा प्रकट भएको थियो । पार्टीका एक प्रमुख नेता र सिद्धान्तकार एडवर्ड बर्नस्टीनले पुँजीवादले आफ्ना अन्तर्विरोधहरूबाट छुटकारा पाउन सक्दछ र विकसित पुँजीवादी देशहरूमा तीव्र औद्योगिक विकास तथा संसदीय जनवादद्वारा समाजवाद हासिल गर्न सम्भव छ भन्ने अवधारणा पेस गरेका थिए । यो अवधारणाअनुसार वर्गसङ्घर्षलाई र माक्र्सवादलाई छोड्नु थियो । यतिखेरै यहाँ उनको भेट प्रसिद्ध माक्र्सवादी विचारक कार्ल काउत्स्कीसँग भयो । यसपछि रोजाले कार्ल काउत्स्कीसँग मिलेर यो संशोधनवादी विचारको विरुद्धमा दृढतापूर्वक सङ्घर्ष गरिन् र माक्र्सवादको रक्षा गरिन् । रोजाले आफ्नो सङ्घर्षको क्रममा स्पष्टरूपमा के घोषणा गरिन् भने पुँजी र श्रमको बिचको अन्तर्विरोध केवल क्रान्ति र त्यसपछि उत्पादन सम्बन्धहरूमा आमूल परिवर्तनसँगै समाधान हुन सक्दछ । यही क्रममा सन् १८९९ मा उनले आफ्नो प्रसिद्ध पुस्तक सामाजिक सुधार वा क्रान्ति लेखिन् । यो किताब उनले बर्नस्टीनको किताब तेल्युसनरी सोसलिज्मको आलोचनामा लेखेकी थिइन् । अन्य पुस्तकभन्दा यो पुस्तकले कम्युनिस्ट कार्यकर्ताहरूलाई लागि धेरै प्रशिक्षित गरेको थियो । बर्नस्टीन संसद्को माध्यमबाट बिस्तारै–बिस्तारै कानुनी प्रक्रिया पालन गरेर अगाडि बढ्ने कुरा गर्थे । तर, रोजाको दृष्टि विद्यमान उत्पीडनको वास्तविक आधार श्रम दासता थियो । यो यस्तो चीज हो, जहाँ कानुनको त कुनै मुद्दा नै आउँदैन । रोजाका अनुसार श्रम दासता कानुनमा आधारित हुनुको सट्टा मुख्यतः आर्थिक कारकहरूद्वारा निर्धारित हुन्छ । त्यसकारण, पुँजीवादीवर्ग बर्चस्वको आधारभूत आधारलाई कानुनी सुधारद्वारा बदल्न सकिँदैन । किनकि, यो दासता कुनै कानुनद्वारा ल्याइएको होइन । रोजाका यी जोडदार क्रान्तिकारी तर्कहरूले जर्मन सामाजिक जनवादी पार्टीमा हलचल मच्चाइदियो र नेतृत्व दबाबमा आयो । कार्ल काउत्स्की र अगस्ट बेबेलले अन्ततः बहसमा उत्रिनुपर्यो । पार्टीका नेताहरूले देखावटीरूपमा बर्नस्टीनको आलोचना गरे पनि भित्रभित्रै सहमत थिए । रोजाले संशोधनवादीहरूलाई पार्टीबाट बाहिर निकाल्ने माग गरिन् । यो माग पूरा नभए पनि माक्र्सवादी दृष्टिकोण र सर्वहारा क्रान्तिलाई पार्टीको कार्यक्रममा स्वीकार गरियो ।
रोजा लक्जेम्बर्गले आफ्नो पत्रिकामा सन् १९०० पछिको सामाजिक आर्थिक समस्याहरूमाथि विश्लेषण प्रकाशित गरिन् । युद्धको आशङ्कालाई दृष्टि दिँदै उनले जर्मन सैन्यवाद र साम्राज्यवादको तीव्र आलोचना गरिन् । सन् १९०० मा रोजाले युरोपियन देशहरूका आर्थिक समस्याहरूको विश्लेषण गर्दै एउटा लेख लेखिन्, जसमा उनले पुँजी तथा श्रमको अन्तर्सम्बन्धलाई अत्यन्तै गहिराइपूर्वक विश्लेषण गरेकी थिइन् । यही क्रमसँगै रुसमा लेनिनको नेतृत्वमा मजदुर–किसान सङ्गठित भएर रूसको जारशाहीको विरुद्धमा सङ्घर्ष गरिरहेका थिए । सन् १९०५ मा रुसमा बोल्शेभिक क्रान्ति भयो । रोजा र उनका साथी लियो जोगिशलाई क्रान्तिकारीलाई साथ दिएको र हिंसा भड्काउन सहयोग गरेको आरोपमा गिरफ्तार गरियो । सन् १९०४ देखि सन् १९०६ को बिचमा आफ्ना राजनीतिक कारबाहीहरूलाई अगाडि बढाउने क्रममा उनी तीनपटक गिरफ्तार भएर जेल गइन् । सन् सन् १९०५ मा अगस्ट बेबेलले रोजा लक्जेम्बर्गलाई सामाजिक जनवादी पार्टीको मुखपत्र भोरवाटर्स (अग्रीम) को सम्पादक बनाए । यही बिचमा पोल्यान्डको स्वाधीनतालाई लिएर रोजा र लेनिनको बिचमा मतभेदसमेत भएको थियो । रोजा पोल्यान्डको लागि सम्पूर्ण स्वाधीनताको माग गरिरहेकी थिइन् भने लेनिन पोल्यान्डलाई राजनीतिक स्वायत्ततामात्र दिने पक्षमा थिए । आफ्नो विरोधलाई रचनात्मक रूप दिँदै रोजाले सन् १९०४ मा ‘अगर्नाइजेसनल क्वोइसन अफ रसियन डेमोक्रेसी’ शीर्षक रचना लेखिन् । यसमा उनले लेनिनको बर्चस्वकारी राजनीतिको आलोचना गरेकी थिइन् । रोजाका अनुसार यदि लेनिनका विचारहरूको आधारमा क्रान्ति भयो भने त्यसको परिणाम अन्ततः कम्युनिस्ट अधिनायकवादको रूपमा हुनेछ ।
सन् १९०५ को रुसी क्रान्तिको समयमा रोजा र लियो जोगिश वार्सा फर्किए तर उनीहरू त्यहाँ तुरुन्तै गिरफ्तार भए । रुसको असफल क्रान्तिले समग्र क्रान्तिको सन्दर्भमा रोजा लक्जेम्बर्गको धारणामा केही परिवर्तन गरिदियो । पहिले उनी समाजवादी क्रान्ति विकसित पुँजीवादी मुलुकहरूमा मात्र हुन सक्दछ भन्ने कुरा मान्थिन् र अब उनी रुस जस्तो पिछडिएको मुलुकमा पनि क्रान्ति हुन सक्दछ भन्ने निष्कर्षमा पुगिन् । दोस्रो १९०५ को क्रान्तिमा उनले बोल्शेभिक र मेन्सेभिकहरूको कार्यनीतिको फरकलाई महसुस गरिन् । बोल्शेभिकहरू क्रान्तिको भरपुर समर्थन गरिरहेका थिए भने मेन्सेभिकको दृष्टिकोण ढुलमुले प्रकारको र पुँजीपतिहरूको पिछलग्गू बन्ने खालको थियो । उनले आमहडताल र मजदुरवर्गको उभारलाई पनि देखिन् तथा सोभियतहरूको रूपमा सर्वहारा अधिनायकत्वका नयाँ रूपहरूलाई पनि देखिन् । यो क्रान्तिपछि उनले पूर्णरूपमा बोल्शेभिकहरूको समर्थन गर्न थालिन् ।
सन् १९०६ मा रोजाले ‘आमहडताल, राजनीतिक पार्टी र ट्रेड युनियन’ नामक एक पुस्तक प्रकाशित गरिन् । यो पुस्तकमा उनले आम हडतालभित्र मजदुरहरूको चेतना र सङ्घर्षको स्तरलाई माथि उठाउने तथा समाजवादी क्रान्ति सम्पन्न गर्ने भौतिक शक्ति हुन्छ भन्ने कुरा स्पष्ट पारिन् । यो पुस्तकमा उनले उल्लेख गरेअनुसार हडतालद्वारा श्रमिकहरूलाई प्रगतिशील समाजवादी बनाएर क्रान्तिप्रति उन्मुख बनाउने मात्र होइन, बरु युद्धउन्मादमा डुबेको र स्वार्थपरकता एवम् साम्राज्यवादी लालसाले संसारलाई मृत्युको मुखमा धकेलिरहेको सरकारलाई पनि प्रतिहिंसात्मक गतिविधिहरूबाट पछि हट्न बाध्य बनाउन सकिन्छ । उनले लेखिन् – जनआन्दोलनको रूपमा हडताल स्वाभाविक र निर्णायक गतिविधि हो । पुँजीवादको विरुद्ध सङ्घर्षमा सर्वहारावर्गको यो एकदम अपरिहार्य र विशिष्ट औजार हो । उनका अनुसार प्राचीन कालमा युद्ध सैन्य अड्डा र युद्धमैदानमा लडिन्थे तर अहिले सर्वहारावर्गको सङ्घर्ष खुला सडकहरूमा तथा गल्लीहरूमा लडिन्छ । अन्ततः त्यो निर्णायक र परिवर्तनकारी सिद्ध हुन्छ । पछि आमहडतालहरूको महत्वलाई बुझेर रोजा लक्जेम्बर्गले जर्मन साम्राज्यवाद र सैन्यवादको विरुद्धमा मजदुरहरूको आमहडतालको सुझाव जर्मन पार्टीलाई दिइन् तर पार्टीले उनको सुझावलाई स्वीकार गरेन ।
रोजाले निरन्तररूपमा जर्मन सरकारको साम्राज्यवादी युद्धनीतिको विरोध गरिरहिन् । उनका अनुसार श्रमिकवर्गले सङ्गठित भएर हडताल, धर्ना आदि अहिंस्रक गतिविधिको माध्यमबाट सरकारमा दबाब बढाएपछि युद्ध रोक्न सकिन्छ भन्ने थियो । रोजाको यस्तो विचारलाई सामाजिक जनवादी पार्टीले अस्वीकार गर्यो । यो विषयलाई लिएर रोजा र काउत्स्की बिचमा मतभेद सुरु भयो । रोजाका कैयौँ साथीहरू पहिले नै गिरफ्तार भइसकेका थिए । केही भूमिगत रहेर जसोतसो आन्दोलन अगाडि बढाइरहेका थिए ।
सन् १९०७ बाट रोजाले सामाजिक जनवादी पार्टीका नेता र विशेषगरी नवयुवाहरूलाई समाजवादी विचारधाराको बारेमा शिक्षा दिने जिम्मेवारी लिएकी थिइन् । वार्सा जेलबाट रिहा भएपछि रोजाले सामाजिक जनवादीको पार्टी स्कूलमा सन् १९०७ देखि १४ सम्म अध्यापनको काम गरिन् । उनका विद्यार्थीहरूमा फ्रेड्रिक इबर्टजस्ता ठुला नेता पनि थिए । अध्यापकको रूपमा उनले माक्र्सवाद र समाजवादी दर्शनको बारेमा शिक्षा दिने काम गरिन् । उनले माक्र्सवादको बारेमा शिक्षा दिँदा पुनरावृत्तिको रूपमा होइन, बरु असहमतिसहित र आलोचनात्मक ढङ्गले दिने गर्थिन् । रोजाले माक्र्सको मूल्यको श्रमसिद्धान्तको मौलिक व्याख्या पनि गरिन् । उनले पुँजीको दोस्रो खण्डमा देखिएका कमजोरीहरूलाई पनि समीक्षा गरिन् । सन् १९०७ मा उनी रुसी सामाजिक जनवादी पार्टीको लण्डनमा भएको पाँचौँ महाधिवेशनमा सामेल भइन् । यही महाधिवेशनमा लेनिनसँग उनको भेट भयो । लेनिनसँग कैयौँ विषयहरूमा फरक मत हुनुको बाबजुद क्रान्तिकारी माक्र्सवादको रक्षाको लागि लेनिन रोजालाई अत्यन्तै सम्मान गर्दथे ।
सन् १९०७ मा स्टुटगार्टमा भएको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा रोजाले साम्राज्यवादी मुलुकहरूले गरेका युद्धका प्रयासहरूको विरोधमा सर्वहारा अन्तर्राष्ट्रवादलाई बुलन्द गर्दै सबै समाजवादी पार्टीहरूसँग आफ्नो देशमा युद्धको विरोध गर्ने कुराको अपिल गरिन् तथा युद्धको विरोधमा एक प्रस्ताव पेस गरिन् । यो प्रस्ताव स्वीकार गरिएको थियो । उनले महाधिवेशनमा भनिन्, “युद्ध हुने खतराको बिचमा मजदुर र तिनीहरूका संसदीय प्रतिनिधिहरूको कर्तव्य के हुन्छ भने उनीहरूले सम्बन्धित देशमा युद्ध रोक्नको लागि सबै उचित प्रयास गर्नुपर्दछ, जसमा निश्चितरूपमा वर्गसङ्घर्षको स्थिति र राजनीतिक स्थितिअनुरूप परिवर्तन वा तीव्रता ल्याउन सकिन्छ । यदि युद्ध सुरु भयो भने पनि उनीहरूको कर्तव्य के हुन्छ भने यसलाई छिट्टै अन्त गर्नको लागि आवाज उठाउने र युद्धबाट उत्पन्न आर्थिक, राजनीतिक सङ्कटको प्रयोग विभिन्न सामाजिक स्तरलाई जागृत गरी पुँजीवादी शासनलाई शीघ्ररूपमा उखेलेर फ्याँक्नुपर्दछ ।” सम्मेलनमा साम्राज्यवाद, युद्ध तथा उपनिवेशवाद विरोधी एउटा साझा पर्चा तयार गरिएको थियो । यो पर्चा पढ्नको लागि लेनिनले आफ्नो स्थितिको प्रतिनिधिको रूपमा दोस्रो इन्टरनेसनलमा रोजाको नाम अगाडि बढाए । वैचारिक यात्रामा उनी कैयौँपटक लेनिनको निकट रहिन् । सो सम्मेलनमा रोजा एकमात्र महिला प्रतिनिधि थिइन् । यहाँ रोजा महिलाको सम्बन्धमा कैयौँ मुद्दालाई राजनीतिक धरातलमा प्रस्तुत गर्न सफल भइन् । महिला अधिकारको पक्षलाई सबल बनाउनमा रोजाले कैयौँ तर्क राखिन् । दोस्रो इन्टरनेसनलमा रोजाद्वारा प्रस्तुत गरिएको प्रस्तावलाई लेनिनले असाधारण महत्वपूर्ण बताएका थिए । मजदुरहरूमा महिला मजदुरहरूको आवश्यकता र उनीहरूको आवाजलाई राजनीतिक मञ्चमा प्रस्तुत गर्ने सबभन्दा प्रखर स्त्रीको रूपमा रोजालाई चिनिन्थ्यो । रोजाले स्वयंलाई स्थापित गर्न धेरै सङ्घर्ष गर्नुपरेको थियो । किनकि, उनी एक यहुदी महिला थिइन् र एक उत्पीडित राष्ट्र पोल्यान्ड निवासी थिइन् ।
रोजा लक्जेम्बर्गको मौलिक विचार प्रथम विश्वयुद्धमा उनले खेलेको महत्वपूर्ण भूमिकाबाट स्पष्ट हुन्छ । उनले सर्वहारा शक्तिको उपयोग युद्धबाट देशलाई बचाउनको लागि गर्नुपर्ने विचार स्पष्टरूपमा राखेकी थिइन् । सन् १९१२ मा भएको युरोपियन समाजवादी सङ्गठनको महाधिवेशनमा रोजा जर्मन सामाजिक जनवादी पार्टीकी प्रतिनिधि छनोट भइन् । त्यतिबेला विश्वमा युद्धको सघन बादल मडारिन लागेको थियो । जर्मनी सेनाहरूलाई युद्धको तयारीमा लगाइएको थियो । राष्ट्रवादी नेताहरू पनि युद्धकै समर्थनमा थिए । उनले फ्रान्सेली समाजवादी जीन जोरेसँग युद्ध सुरु भएपछि युरोपका सबै मजदुर पार्टीहरूले युद्धको विरोध गर्नुपर्ने कुरा आग्रह गरिन् । सन् १९१३ मा एक विशाल सभामा मजदुरहरूलाई सम्बोधन गर्दै उनले भनिन्, “यदि उनीहरू हामी आफ्ना फ्रान्सेली र अन्य बन्धुहरूको विरुद्धमा हतियार उठाउन सोच्छन्” भने हामीले भन्नुपर्दछ, “हामी यसो कदापि गर्नेछैनौँ ।” तर, सन् १९१४ मा प्रथम विश्वयुद्ध सुरु भएपछि जर्मन सामाजिक जनवादी पार्टीसहित फ्रान्सेली सामाजिक जनवादी पार्टी र अधिकांश सामाजिक जनवादी पार्टीहरू युद्धउन्मादमा बहकिए र आ–आफ्ना देशका पुँजीपतिहरूका पिछलग्गू बन्न पुगे । जर्मन संसद् मजदुर प्रतिनिधिहरूले सरकारको युद्धनीतिको पक्षमा मतदान गरे तथा सरकारलाई युद्धको क्रममा हडताल नगर्ने आश्वासन दिए । रोजा यी सबै घटनाक्रमबाट बडो चिन्तित थिइन् । राजनीतिक अवसरवाद पुनः एकपटक विजयी भएको थियो । रोजाले सुरुदेखि नै विरोध गर्दै आएकी प्रतिक्रियावादी नेता आफ्ना कुरामा सफल भएका थिए । पार्टी नीतिको कुनै वास्ता नगरी रोजाले युद्धविरोधी नीति जारी राखिन् । यसबेला जर्मनीमा रोजा लक्जेम्बर्ग, कार्ल लिब्नेख्त, क्लारा जेट्किन, फ्रान्च मेहिरिङजस्ता मजदुरवर्गका सच्चा नेताहरूले युद्धको विरोध गरे । रोजा लक्जेम्बर्गले फ्रयाङ्कफर्टमा एक युद्धविरोधी ¥याली आयोजना गरिन्, जसमा उनले सैन्य भर्तीको विरोध गर्ने तथा सरकारी आदेश नमान्ने कुरा अपिल गरिन् । रोजाले प्रदर्शन र जनसभामार्फत जनतामा चेतना फैलाउनुका साथै लेखन कार्यलाई पनि निरन्तरता दिइरहेकी थिइन् । सन् १९१३ मा उनको एक महान् कृति ‘द एक्युमुलेसन अफ क्यापिटल ः एक कन्ट्रिव्युसन टु इन इकोनोमिक एक्सप्लेनेसन अफ इम्पियरिलिज्म’ प्रकाशित भयो । यसमा पुँजीको साम्राज्यवादी चरित्र र त्यसको बर्चस्वकारी रणनीतिमाथि गम्भीर विचारविमर्श गरिएको थियो । रोजाले यसमा कार्ल माक्र्सको पुँजीमा दिइएका प्रस्तावनाहरूको गहिरो छानबिन गरेकी थिइन् । यो पुस्तकलाई माक्र्सको पद्धतिको उपयोग गरी माक्र्सवादी दर्शनलाई समृद्ध बनाउने सबभन्दा महत्वपूर्ण कृति मानिन्छ । यो पुस्तकमा निहित सिद्धान्तको अन्तर्वस्तु सरल छ । माक्र्सवाद कुन अनुमानमा आधारित छ भने पुँजीवाद आफ्नो अन्तर्विरोधहरूको भारले गर्दा ढल्नेछ । माक्र्स स्वयंले यो अवधारणालाई गणितीय र अनुभवजन्य प्रमाणहरूको आधारमा अगाडि बढाए । रोजा लक्जेम्बर्गको तर्क के थियो भने माक्र्सद्वारा दिइएका यी प्रमाण परिणामका अनुकूल छैनन् । गणितीय आँकलनहरूको आधारमा पुँजीवाद ढल्ने भविष्यवाणी असफल रहेको स्थितिमा उनले यो ढल्ने कारणहरूको खोजी गर्न सुरु गरिन् । पुँजीवाद अस्तित्वमा रहिरहने र यसले निरन्तर विकास गर्दै जाने कारणलाई रोजाले प्राक–पुँजीवादी समाजलाई आफ्नो कब्जामा लिने त्यसको क्षमतामा खोजिन् । पुँजीवाद उसको अस्तित्वमा कायम रहने कारण विकासबाट अछुतो रहेका यी क्षेत्रहरूलाई पुँजीवादी औपनिवेशिकको आर्थिक क्षेत्रमा ल्याउने र प्रभावित गर्ने उसको क्षमतामा निहित छ । जब पृथ्वीको सम्पूर्ण सतह पुँजीवादी सञ्चयको प्रभावबाट आकर्षित हुनेछ, तब पुँजीवादको लागि फैलिने आधार स्वतः समाप्त हुन्छ । परिणामस्वरूप त्यो स्वयं ध्वंस हुन्छ । पुँजीवादी उत्पादनको क्षेत्र गैरपुँजीवादी क्षेत्रहरूमा टिकिरहन्छ । यो कुरा रोजाको मौलिक प्रस्तावना थियो । रोजाले यसलाई साम्राज्यवाद र उपनिवेशवादको सन्दर्भमा परिभाषित गरिन् । यो पुस्तकको प्रकाशनपछि रोजा लक्जेम्बर्गलाई त्यसबेलाका विद्वान माक्र्सवादी विचारकहरूमा राखिएको थियो । यो पुस्तक प्रकाशित भएपछि रोजालाई पार्टीको वामपन्थी विभागको प्रतिष्ठित सदस्य बनाइएको थियो । रोजाको पुँजीवादविरोधी क्रियाकलाप निरन्तर तीव्र हुँदै गइरहेको थियो । प्रत्येक कार्यक्रममा उनी श्रमिकहरूलाई सङ्गठित विरोधको लागि तयार हुन, एकताबद्ध भएर बुर्जुवा समाजमा आक्रमण गर्न आह्वान गर्थिन् । उनको निरन्तर बढ्दै गएको लोकप्रियताको कारण पार्टीभित्र कैयौँ विरोधीहरू प्रकट भएका थिए । यतिबेलै उनका पुराना साथीहरू कार्ल काउत्स्की र अगस्ट बेबेलसँग मतभेद बढ्दै गइरहेको थियो ।
पार्टीको वामपन्थी शाखा विश्वयुद्ध हुन नदिनको लागि लगातार प्रयासरत थियो । युद्धकै क्रममा सन् १९१४ मा कार्ल लिब्नेख्त, क्लारा जेटकिन, फ्रान्च मेहरिङ, पोल लेभी आदिसँग मिलेर उनले ‘द इन्टरनेसनल समूह’ को स्थापना गरिन्, जसलाई सन् १९१६ मा स्पार्टाकस लीग भनियो । यो एक भूमिगत सङ्गठन थियो । यो सङ्गठनको उद्देश्य पुँजीवादी र साम्राज्यवादी सरकारहरूको युद्धउन्मादताको विरोधमा जनचेतना फैलाउनु थियो । रोजाको भूमिगत नाम जीनियस थियो । वामपन्थी विचारधारामा समर्पित स्पार्टाकस लीगले समाजवादी जनवादी पार्टीको युद्धनीतिको विरोध गर्दै जर्मनीका श्रमिकहरूलाई युद्धको विरोधमा अगाडि बढ्नको लागि आह्वान गर्यो । यसले आफ्ना विचारहरूलाई ‘स्पार्टाकस लेटर’ नामक पत्रिकामा प्रकाशित गरेको थियो । मई १९१६ मा स्पार्टाकस लीगले खुलेर काम गर्ने निर्णय लियो र विश्वयुद्धको विरुद्धमा बर्लिनमा एक प्रदर्शन आयोजना गर्यो । रोजा लक्जेम्बर्ग र कार्ल लिब्नेख्तसहित स्पार्टाकसका नेतालाई गिरफ्तार गरियो । जेलमा रहँदा पनि रोजाले आफ्ना क्रान्तिकारी गतिविधिहरूको नेतृत्व गरिरहिन् । जेलभित्र रोजाले कैयौँ दस्ताबेजहरू लेखिन् । यी दस्ताबेजहरू उनका साथीहरूको माध्यमबाट बाहिर आएर प्रकाशित भइरहे । यिनीहरूमध्ये जिनियस छद्म नामबाट लिखित जर्मन सामाजिक जनवादको सङ्कट धेरै प्रसिद्ध भयो । जिनियस पम्प्लेटको नामले प्रसिद्ध यो दस्ताबेजमा रोजाले बोल्शेभिक पार्टीका नेता लेनिनको पुँजीवादी शासनलाई बलपूर्वक उखेलेर फ्याँक्ने तथा विश्वयुद्धमा रोक लगाउने उद्देश्यले एक नयाँ अन्तर्राष्ट्रियको गठनका विचारहरूलाई समर्थन गरिन् । यद्यपि, उनले बोल्सेभिक क्रान्तिको पद्धतिलाई लिएर त्यसको आलोचना गरिन् । बोल्सेभिक क्रान्तिको परिणामस्वरूप रुसमा भएको सत्ता परिवर्तनलाई उनले सर्वहारा अधिनायकवाद भनिन् । उनले भनिन्, स्वाधीनता सदैव त्यो व्यक्तिलाई प्राप्त हुन्छ, जो अन्यबाट अलग रहेर नयाँ ढङ्गले सोच्दछ । रोजाले पछि ‘द क्राइसिस अफ सोसल डेमोक्रेसी’ लेखिन् । यसमा उनले जनवादी प्रणालीका अन्तर्विरोधहरू तथा चुनौतीहरूको चर्चा गरेकी थिइन् । बोल्शेभिकहरूको नेतृत्वमा अक्टोबर क्रान्ति सम्पन्न भएपछि पनि लेनिनसँग रोजाका कैयौँ मतभेद निरन्तर रहे । रोजा जनवादी केन्द्रीयतामा जनवादलाई बढी जोड दिन्थिन् । सर्वहारावर्गको अधिनायकत्वको समर्थक भएर पनि उनी एकदलीय सर्वहारा पार्टीको शासनको विरोधी थिइन् ।
रोजा लक्जेम्बर्ग ८ नोभेम्बर १९१८ मा जेलबाट रिहा भइन् । उनीसँगै कार्ल लिब्नेख्त पनि रिहा भए । रोजा जेलमै भएको बेला सन् १९१७ मा सामाजिक जनवादी पार्टीको युद्ध समर्थक नीतिको विरोधमा त्यसका केही सदस्यहरू अलग भएर इन्डिपेन्डेन्ट सोसल डेमोक्रेटिक पार्टीको स्थापना गरेका थिए । त्यसपछि यो पार्टी र स्पार्टाकस लीगबिच गठबन्धन भएको थियो ।
९ नोभेम्बर १९१८ मा सशस्त्र मजदुर तथा सेनाहरूको बलमा जर्मन साम्राज्यवादको केन्द्र बर्लिन कब्जा गरी सम्राट केसरको राजतन्त्रलाई परास्त गरिएको थियो । अब सत्ता मजदुर र सैनिक परिषदका सदस्यरूको हातमा थियो । यद्यपि, सत्ता कसरी चलाउने भन्ने कुरा उनीहरूलाई ठीकसँग थाहा थिएन । यस्तैमा दक्षिणपन्थी समाजवादी नेताहरूले प्रतिक्रियावादी नेताहरूलाई एकताबद्ध गरेर श्रमिकवर्गमाथि आक्रमण सुरु गरे । यससँगै जर्मनमा क्रान्तिको सुरुआत भयो ।
यही बेला रोजा लक्जेम्बर्ग र कार्ल लिब्नेख्तले स्पार्टाकस लीगलाई पुनर्जीवित गरे । श्रमिक चेतनाको विस्तारको लागि उनीहरूले ‘लाल झन्डा’ नामक समाचारपत्रको स्थापना गरे र यसको सम्पादक रोजा बनिन् । यो समाचारपत्रको माध्यमबाट उनीहरूले सबै राजनीतिक बन्दीहरूलाई रिहाइको माग गरिन् र मृत्युदण्डलाई समाप्त गर्ने कुराको माग गरिन् । श्रमिक आन्दोलनलाई नयाँ जोशका साथ अगाडि बढाउने तयारी तीव्ररूपमा अगाडि बढ्न थाल्यो । रोजालाई गणतान्त्रिक प्रणालीमा पूर्ण विश्वास थियो । उनको मान्यता अनुसार समाजवादी गणतान्त्रिक प्रणाली भनेको नियन्त्रित अर्थव्यवस्थासम्म मात्र सीमित हुँदैन । समाजवाद वास्तवमा वर्गीय विभेदमा आधारित व्यवस्थाको उन्मूलनको स्थिति हो । यसको आरम्भ नै वर्गविभाजित समाजको पतनबाट हुन्छ । यो सर्वहारावर्गको अधिनायकत्वजस्तै नै हो । यो यथास्थितिवादको रक्षक नभएर रचनात्मक र सक्रिय हुन्छ र साम्यवादको स्थापनाको लागि बुर्जुवा समाजमाथि निरन्तर प्रहार गरिरहन्छ । त्यसकारण, बुर्जुवा (पुँजीवादी) समाजको उन्मूलनबिना समाजवादको लक्ष्य प्राप्त गर्न असम्भव छ । सर्वहारावर्गको अधिनायकत्वलाई स्पष्ट पार्दै रोजा अगाडि भन्छिन्, यो अधिनायकत्व समूह अर्थात् बहुसङ्ख्यक वर्गको अधिनायकत्व र यो वर्गहीनताको नाममा अल्पमत समूहको निरङ्कुशता होइन । उनको भनाइअनुसार अधिनायकवाद भलै जुनसुकै वर्ग अथवा व्यक्तिको भए पनि सर्वथा अवर्णनीय छ । त्यो कुनै पनि जीवन्त राज्यको मार्ग हुन सक्दैन । तर, बुर्जुवावर्गको उत्पीडनबाट मुक्तिको लागि सर्वहारावर्गको अधिनायकत्वबाट गुज्रिनु अनिवार्य स्थिति हो । रोजाको मान्यताअनुसार सर्वहारा वर्गको अधिनायकत्व कुनै न कुनै रूपमा जनसमर्थित हुनुपर्दछ । नागरिकहरूमा परिपक्वता आउँदै गएपछि सर्वहारावर्गको अधिनायकत्व परिपक्व हुँदै जान्छ । त्यसले आफ्नो निरङ्कुशता भुलेर नागरिकहरूका सामान्य इच्छाहरूलाई सुशासनमा बदल्न लाग्दछ ।
९ नोभेम्बर १९१८ मा सशस्त्र मजदुर तथा सेनाहरूको बलमा जर्मन साम्राज्यवादको केन्द्र बर्लिन कब्जा गरी सम्राट केसरको राजतन्त्रलाई परास्त गरिएको थियो । अब सत्ता मजदुर र सैनिक परिषदका सदस्यरूको हातमा थियो । यद्यपि, सत्ता कसरी चलाउने भन्ने कुरा उनीहरूलाई ठीकसँग थाहा थिएन । यस्तैमा दक्षिणपन्थी समाजवादी नेताहरूले प्रतिक्रियावादी नेताहरूलाई एकताबद्ध गरेर श्रमिकवर्गमाथि आक्रमण सुरु गरे । यससँगै जर्मनमा क्रान्तिको सुरुआत भयो ।
यही बेला रोजा लक्जेम्बर्ग र कार्ल लिब्नेख्तले स्पार्टाकस लीगलाई पुनर्जीवित गरे । श्रमिक चेतनाको विस्तारको लागि उनीहरूले ‘लाल झन्डा’ नामक समाचारपत्रको स्थापना गरे र यसको सम्पादक रोजा बनिन् । यो समाचारपत्रको माध्यमबाट उनीहरूले सबै राजनीतिक बन्दीहरूलाई रिहाइको माग गरिन् र मृत्युदण्डलाई समाप्त गर्ने कुराको माग गरिन् । श्रमिक आन्दोलनलाई नयाँ जोशका साथ अगाडि बढाउने तयारी तीव्ररूपमा अगाडि बढ्न थाल्यो । रोजालाई गणतान्त्रिक प्रणालीमा पूर्ण विश्वास थियो । उनको मान्यताअनुसार समाजवादी गणतान्त्रिक प्रणाली भनेको नियन्त्रित अर्थव्यवस्थासम्म मात्र सीमित हुँदैन । समाजवाद वास्तवमा वर्गीय विभेदमा आधारित व्यवस्थाको उन्मूलनको स्थिति हो । यसको आरम्भ नै वर्गविभाजित समाजको पतनबाट हुन्छ । यो सर्वहारावर्गको अधिनायकत्वजस्तै नै हो । यो यथास्थितिवादको रक्षक नभएर रचनात्मक र सक्रिय हुन्छ र साम्यवादको स्थापनाको लागि बुर्जुवा समाजमाथि निरन्तर प्रहार गरिरहन्छ । त्यसकारण, बुर्जुवा
(पुँजीवादी) समाजको उन्मूलनबिना समाजवादको लक्ष्य प्राप्त गर्न असम्भव छ । सर्वहारावर्गको अधिनायकत्वलाई स्पष्ट पार्दै रोजा अगाडि भन्छिन्, यो अधिनायकत्व समूह अर्थात् बहुसङ्ख्यक वर्गको अधिनायकत्व र यो वर्गहीनताको नाममा अल्पमत समूहको निरङ्कुशता होइन । उनको भनाइअनुसार अधिनायकवाद भलै जुनसुकै वर्ग अथवा व्यक्तिको भए पनि सर्वथा अवर्णनीय छ । त्यो कुनै पनि जीवन्त राज्यको मार्ग हुन सक्दैन । तर, बुर्जुवावर्गको उत्पीडनबाट मुक्तिको लागि सर्वहारावर्गको अधिनायकत्वबाट गुज्रिनु अनिवार्य स्थिति हो । रोजाको मान्यताअनुसार सर्वहारा वर्गको अधिनायकत्व कुनै न कुनै रूपमा जनसमर्थित हुनुपर्दछ । नागरिकहरूमा परिपक्वता आउँदै गएपछि सर्वहारावर्गको अधिनायकत्व परिपक्व हुँदै जान्छ । त्यसले आफ्नो निरङ्कुशता भुलेर नागरिकहरूका सामान्य इच्छाहरूलाई सुशासनमा बदल्न लाग्दछ ।
१४ डिसेम्बर १९१८ मा रोजाले स्पार्टाकस लीगको नयाँ आन्दोलनको रूपरेखा कार्यकर्ताहरूको सामु राखिन् । डिसेम्बर २९ देखि ३१ को बिचमा उनीहरूले स्पार्टाकस लीग, इन्डिपेन्डेन्ट सोसलिस्ट तथा जर्मनीको अन्तर्राष्ट्रिय कम्युनिस्ट नामक सङ्गठनहरूको संयुक्त सम्मेलनमा भाग लिए । यो सम्मेलनमा नै जर्मनीको कम्युनिस्ट पार्टीको जग खडा भयो । रोजा लक्जेम्बर्ग, कार्ल लिब्नेख्त, क्लारा जेटकिन, लियो जोगिश र फ्रान्ज मेहरिङ यसका शीर्षस्थ नेता थिए । अब जर्मनीमा माक्र्सवाद तीव्ररूपमा अगाडि बढिरहेको थियो । मानिसहरू साम्यवादप्रति आकर्षित हुँदै गइरहेका थिए । क्रान्तिकारी नेता कार्ल लिब्नेख्तको सत्ता बलपूर्वक उखालेर फ्याँक्ने विचार थियो । अन्य धेरै नेताहरू पनि उनको समर्थनमा थिए ।
प्रतिक्रियावादी एस.पी.डी. नेतृत्व जर्मन सैन्य हाइकमाण्डसँग मिलेर कसरी क्रान्तिको उभारलाई दबाउने र बुर्जुवा सत्तालाई कसरी सशक्त बनाउने भन्ने उपायमा लागेको थियो । डिसेम्बरको अन्तमा कम्युनिस्ट पार्टीको निर्माण भएको थियो र यसको नाम के.पी.डी. राखिएको थियो । यो पार्टीमा धेरैजसो युवा, उत्साहित, साहसी, क्रान्तिकारी साथै अति वामपन्थी पनि थिए । यो पार्टीले जनवरीमा हुने भनिएको संविधान सभाको चुनाव पनि बहिष्कार गर्ने फैसला गर्यो । यही मौकामा रोजा आफ्नो कुरा मजदुरहरूको बिचमा लान चाहन्थिन् । तर युवाहरूको बहुमत ट्रेड युनियनमा एस.पी.डी.को बचस्र्वको कारण त्यसबाट बाहिर आउने कुराको वकालत गर्न थाले । जबकि मजदुरहरूको भरोसा ट्रेड युनियनहरूमा बढ्दै गइरहेको थियो । ठुलो सङ्ख्यामा मजदुर पहिलोपटक सार्वजनिक र राजनीतिक जीवनमा आइरहेका थिए । यस्ता मानिसहरूलाई क्रान्तिको बेलामा दैनिकका जीवन्त अनुभवहरूको माध्यमबाट सैनिक र मजदुरहरूको सत्ता किन आवश्यक छ भनेर स्पष्ट बनाउनु पर्दथ्यो । तर, आफ्ना युवा नेताहरूको अति वामपन्थी विचारको कारण यो ऐतिहासिक मौका गुम्न गयो । परिणामस्वरूप उनीहरू मजदुरबाट अलगावमा परे । लगभग ५ लाख मजदुर बर्लिनका सडकहरूमा यसको विरुद्धमा उत्रिए । यता नेतागण अगाडि के गर्ने भन्ने विषयलाई लिएर अनिर्णयको स्थितिमा रहे र मौका हातबाट निक्लियो ।
सन् १९१९ आउँदाआउँदै बर्लिनमा दोस्रो क्रान्तिको सफलताको लागि माहोल बन्न लागेको थियो । तर, रोजालाई भने हिंसात्मक क्रान्तिको त्यति भरोसा थिएन । तर, कम्युनिस्ट पार्टीमा क्रान्तिकारी पक्षधरहरूको बहुमत थियो । जनवरी १९१९ मा पुनः जर्मनीमा विद्रोहको एक लहर सुरु भयो । यद्यपि, रोजाले बलपूर्वक सत्ता हडप्ने कुराको विरोध गरेकी थिइन् तर क्रान्ति सुरु भएपछि उनले त्यसको समर्थन गरिन् र कार्ल लिब्नेख्तसँगै नेतृत्व गरिन् । रोजाको इच्छा नहुँदा नहुँदै पनि लालझन्डाका कम्युनिस्ट क्रान्तिकारी कार्यकर्ताहरूले सरकार समर्थित समाचारपत्रको कार्यालयमा कब्जा गरे । श्रमिक नेताहरूको दमनको लागि सरकार यही समयको प्रतीक्षा गरिरहेको जस्तो लाग्दथ्यो । यही बेला एस.पी.डी. सरकारले प्रतिक्रान्तिकारी शक्तिको उपयोग गरेर विशेषगरी कम्युनिस्ट पार्टीको नेतृत्व समाप्त गर्नेतिर लाग्यो । विद्रोहलाई दबाउनको लागि प्रतिक्रियावादी फ्रीकोरप्स बेसब्री (सेनाबाट आएका व्यक्तिहरूद्वारा गठित अर्धसैन्य टुकडी) पार्टीको नेता फ्रेड्रिक एबर्ट, जर्मनीको नयाँ चान्सलरले सेना बोलाएर विद्रोहलाई जुनसुकै हालतमा दबाउने आदेश दियो । यो आदेश पाउने बित्तिकै सेनाहरू आन्दोलनकारीमाथि खनिए । हजारौँ कार्यकर्ताहरूलाई बन्दी बनाइयो । सयौँलाई कुनै मुद्दा नै नचलाईकन र सुनुवाइबिना नै मारियो । १३ जनवरी १९१९ सम्म विद्रोहलाई पूर्णरूपले दबाइयो । अर्कोतिर नोस्केद्वारा गठित फ्रीकोरप्सले रोजा र लिब्नेख्तलाई खोजिरहेको थियो । अन्ततः १५ जनवरी १९१९ को राति ९ बजे रोजा लक्जेम्बर्ग, कार्ल लिब्नेख्त, विलियम पिक, आदि प्रमुख नेताहरूलाई गिरफ्तार गरियो । त्यसपछि बर्लिनको विल्भेर्स अपार्टमेन्ट हुँदै इडेन नामको एक होटलमा लगियो । सैनिक कमान्डर भाल्डेमर पावेस्ट र होस्र्ट भान फ्लुक हार्टंगले उनीहरूसँग बलपूर्वक सोधपुछ गरे । स्पष्टीकरणको कुनै अवसर नदिइकन नै रोजालाई क्रान्तिको मुख्य सूत्राधार मानेर मृत्युदण्ड सुनाइयो । आदेश मिल्नेबित्तिकै आधा रातमा सुरुमा कार्ल लिब्नेख्तलाई राइफलको बटले हिर्काएर धक्का दिँदै पिठ्यँुमा गोली हानेर मारियो । त्यसपछि रोजालाई पनि ओटो रुङ्ग भन्ने सेनाले राइफलको बटले हानेर लडायो । रोजा लड्नेबित्तिकै लेफ्टिनेन्ट हरमन सुकोनले उनको टाउकोमा गोली हान्यो । यसरी एक महान् क्रान्तिकारी नेतृ तथा योद्धाको नृशंस ढङ्गले हत्या गरियो । रोजाको नृशंस हत्याको सूचना पाएर सम्पूर्ण श्रमिकहरू भड्किन्छन् भन्ने डरको कारणले हतियारबद्ध काँतर सैन्य कमान्डरले रोजाको शव चुपचाप बर्लिनको लेडवर नहरमा बगाइदियो । यसैगरी जर्मन कम्युनिस्ट पार्टीका सत्न्दा बढी सदस्यहरूलाई मृत्युदण्ड दिइएको थियो भने हजारौँ कार्यकर्ता र श्रमिकहरूलाई कैद गरिएको थियो । सुरक्षा परिषद् भङ्ग गर्ने आदेशसँगै जर्मन क्रान्तिको पहिलो क्रम समापन भयो । ठीक साढे चार महिनापछि १ जून १९१९ रोजा लक्जेम्बर्गको शव बरामत भयो । उनको मृत्युको लागि ओटो रुङ्गलाई दुई वर्षको सजाय दिइयो तर नाजी शासनद्वारा ओटो रुङ्गलाई दिइएको सजायको भर्पाइ गर्दै पछि उसलाई पुरस्कृत गरिएको थियो । यसरी गद्दार सामाजिक जनवादीहरूले जर्मनीको क्रान्तिलाई रगतमा डुबाइदिए । यसप्रकार जर्मन क्रान्तिले हारको सामना गर्नुपर्यो । पछि सन् १९२१ मा र १९२३ मा पनि जर्मनीमा क्रान्तिकारी लहर उठेको थियो तर सफल हुन सकेन । यो असफलतापछि नै हिटलरले नाजीवादी मार्ग तयार गर्यो ।
रोजा लक्जेम्बर्गले क्रान्तिकारी विचारहरूको अवश्य रक्षा गरिन् तर सङ्गठन निर्माणको हकमा उनीबाट केही कमजोरी भएको देखिन्छ । सबभन्दा ठुलो गल्ती माक्र्सवादी कार्यकर्तामा आधारित कम्युनिस्ट पार्टीको निर्माण गर्नमा उनी असफल भइन् । क्रान्ति नोभेम्बर १९१८ बाट सुरु हुन्छ तर कम्युनिस्ट पार्टीको निर्माण त्यसको दुई महिनापछि हुन्छ । जनताको स्वतःस्फूर्तामाथि आवश्यकताभन्दा बढी भरोसाका कारणले पनि उनीहरूको सङ्गठन निर्माण गर्नतिर ध्यान नपुगेको देखिन्छ । रोजालाई सम्भवतः आफ्नो अन्तको अनुमान थियो । तर पनि उनले बर्लिनका मजदुरहरूको साथ छोडिनन् । यो उनको क्रान्तिप्रतिको एक महानता थियो ।
रोजा लक्जेम्बर्गले मृत्युदण्ड पाउनुभन्दा केही अगाडि लेखेकी थिइन् – जर्मन क्रान्तिको असफलतामा क्षोभ त अवश्य थियो तर त्यसप्रति विश्वास कम भएको थिएन । सर्वहारा वर्गमा भरोसा कायम राख्दै उनले एउटा अर्को क्रान्तिको अपरिहार्यतामा जोड दिएकी थिइन् । उनका अनुसार, “वर्तमान नेतृत्व पूर्णतः असफल भइसकेको छ । नयाँ नेतृत्वको जन्म जनताको बिचबाट जनताद्वारा गरिनुपर्दछ । केवल जनता नै निर्णायक शक्ति हुन् । जनता नै चट्टान हुन्, जसमा बनेको भवनमा क्रान्तिको शीर्ष विजयपताका फहराइनेछ । इतिहास साक्षी छ ः जनता पहिले पनि उच्चतम् स्थानमा थिए र पछि पनि रहनेछन् । अहिलेको पराजय अनेकौँ ऐतिहासिक पराजयहरूको सामान्य हिस्सा हो, जसले अन्तर्राष्ट्रिय समाजवादको लागि गर्व र जोश प्रदान गर्दछ । भविष्यको विजयले वर्तमानका यी नै पराजयहरूको कोखबाट जन्म लिनेछन् ।” तानाशाही सरकारलाई दुत्कार्दै उनले लेखेकी थिइन्, “बर्लिनमा तानाशाही कायम भइसकेको छ ¤ मूर्ख तानाशाह, तिमीहरूको तानाशाही शासन बालुवामा बनेको भवन हो, समय आइसकेको छ कि क्रान्तिले भोलि पुनः तिमीहरूको मृत्युको ढोका ढकढक्याउनेछ र तिमीहरूको ढोकामा उभिएर आतङ्कलाई पुन लल्कार्नेछ – म थिएँ, म छु र म सदैव रहनेछु । ”
रोजाका अनुसार सङ्ख्या जतिसुकै भए पनि कुनै सरकारका समर्थकहरूको स्वतन्त्रता अथवा कुनै राजनीतिक दलका सदस्यहरूको स्वतन्त्रता वास्तविक स्वतन्त्रता होइन । स्वाधीनताले हमेशा ती मानिसहरूलाई वरण गर्दछ, जो बक्सभन्दा बाहिर सोच्दछन् । न्यायको सिद्धान्तको कारणले मात्र होइन, बरु राजनीतिक स्वतन्त्रताको निमित्त शिक्षाप्रद, लाभदायक र शुद्ध हुने सबै कुरा निश्चित गुण र परिस्थितिहरूमा निर्भर हुन्छन् । त्यसको प्रभाव स्वाधीनताका केही मानिसहरूको विशिष्टाधिकार बन्नुको साथै असरविहीन हुन लाग्छ । लोकतन्त्रको सफलता नागरिकहरूको अभिव्यक्तिको पूर्ण स्वतन्त्रतापछि सम्भव हुन्छ । प्रेस जागरूक हुनुपर्छ, समाजमा स्वतन्त्रताको चेतना हुनुपर्छ, सर्वसाधारणलाई कुनै भेदभावबिना निर्भय निष्पक्ष मतदानको सुविधा प्राप्त हुनुपर्दछ । राज्यस्तरमा कल्याणको वितरण यसरी हुनुपर्दछ कि सबै मानिस समानरूपले त्यसबाट लाभान्वित हुन सकून् तथा नागरिकहरूमा लोकतन्त्र तथा त्यसका आदर्शहरूप्रति विश्वासको अखण्ड भावना हुन सकोस् । यिनीहरूको अभावमा स्वाधीनता प्रभावहीन हुन बेर लाग्दैन । विशेषगरी सार्वजनिक निकायहरूमा, जहाँ जनताको पुँजी लगानी भएको हुन्छ अथवा जसको गठन लोककल्याणलाई ध्यानमा राखेर गरिएको हुन्छ, त्यहाँ स्वतन्त्रताको वातावरण अनिवार्य हुन्छ । यसको अभावमा उनीहरू आफ्नो लक्ष्यबाट भत्किन्छन् । केही मानिसहरूको स्वार्थसाधनको माध्यम बन्न समय लाग्दैन । यसरी रोजाका अनुसार आम जनताको सुविधाको अभावमा, विधायिका र प्रेसको स्वतन्त्रताबिना, अभिव्यक्ति स्वतन्त्रताको उपस्थितिबिना, सार्वजनिक संस्थान निर्जीव हुन्छन्, यस्तो स्थितिमा केवल नोकरशाही फस्टाउन सक्दछ । अनियन्त्रित नोकरशाहीले समाजलाई निरङ्कुशता र कालान्तरमा त्यसलाई अराजकतातिर लैजान्छ ।
रोजाको आफ्ना समकालीनहरूसँग खुला र अनौपचारिक सम्बन्ध थियो । उनका समकालीनहरूमा अगस्ट बेबेल, कार्ल लिब्नेख्त, क्लारा जेटकिन, अलेक्जेन्ड्रा कोलोन्ताइ, लुसी काउत्स्की, कार्ल काउत्स्की, फ्रान्च मेहरिंग, भी.आइ. लेनिन, लियो जोगिश आदि प्रख्यात कम्युनिस्ट नेता थिए ।
रोजा लक्जेम्बर्ग एक साहसी सर्वहारा योद्धा थिइन् । उनको हत्यापछि रुसी क्रान्तिका नेता लेनिनले लेखे, “आज बर्लिनमा पुँजीपति र सामाजिक जनवादीहरू उत्सव मनाइरहेका छन् । उनीहरू कार्ल लिब्नेख्त र रोजा लक्जेम्बर्गको हत्या गर्नमा सफल भएका छन् । एबर्ट र शीडमन, जसले वर्षाैँवर्ष मजदुरहरूको सिकार गर्नको लागि उनीहरूलाई कसाइखाना पु¥याए, ले अब सर्वहारा नेताहरूको हत्याराको भूमिका अपनाएका छन् । जर्मनीको उदाहरणले के देखाउँदछ भने जनवाद केबल पुँजीवादी लुट र बर्बर हिंसाको चक्रव्युह हो । कसाइहरूको नास होस् ।”
मृत्युदण्ड दिएको बेला रोजा ४८ वर्षकी थिइन् । उनले छोटो समयमा पनि सक्रिय र सङ्घर्षशील जीवन बाँचिन् । उनले शरीरको अपाङ्गतालाई कहिल्यै वास्ता गरिनन् । उनले निरन्तर श्रमिकहरूको हितप्रति ध्यान दिइरहिन् । उनले निरन्तर सम्झौताहीन सङ्घर्ष गरिरहिन् । आफ्ना विचारहरूमा उनी सदैव अडिग रहिन् । समाजवादप्रति उनको निष्ठा अति प्रशंसनीय छ । आफ्ना सम्पूर्ण विचारहरूबाट रोजाले के कुरा प्रमाणित गरेकी थिइन् भने उनी आफ्ना सिद्धान्तहरूमा मात्र अडिग थिइनन्, बरु उनको अडिग सङ्कल्प पुँजीपतिहरू र साम्राज्यवादीहरूको हृदयमा आतङ्क पैदा गर्ने खालको थियो । उनको गर्जनाले श्रमिकहरूमा चेतना जागृत गर्दथ्यो र सङ्घर्षको उत्प्रेरणा प्रदान गर्दथ्यो । त्यसकारणले गर्दा नै काँतरहरूले रोजाको हत्याको तुरुन्तै पछि उनको शवलाई नहरमा बगाउने जस्तो अमानवीय कार्य गरे ।
रोजा लक्जेम्बर्ग अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनकी एक प्रमुख नेतृ थिइन् । उनले आफ्नो सम्पूर्ण जीवन क्रान्ति र न्यायको पक्षमा लगाइन् । सामाजिक न्यायको लडाइँमा रोजाका कदम सबैले स्वीकार गर्दछन् । आफ्ना राजनीतिक विचारहरूका कारणले गर्दा नै रोजाले सधैँ विरोधको सामना गर्नुपरेको थियो । उनले स्वतन्त्रता र समानताको लागि जीवनको अन्तिम घडीसम्म सङ्घर्ष गरिरहिन् ।
रोजा एक महान् सर्वहारा नेतृ थिइन् । उनको मूल्याङ्कन गर्दै लेनिनले उनलाई उच्च कोटीकी सर्वहारा नेतृ भने र उनका अन्ध आलोचकहरूको पनि विरोध गरे । उनको सर्वहारा कम्युनिस्ट आन्दोलनमा अतुलनीय योगदान रहेको छ । रोजा जीवनलाई विविधतामा हेर्ने गर्थिन् । उनले जीवनलाई सम्पूर्णतामा चाहिन् । प्रियसँग एकान्तता, मित्रहरूसँग अन्तरङ्ग वार्ता, प्रकृतिका अन्य प्राणीहरूसँग सहचर्य, सङ्घर्षशील जनताको विशाल बाढीमा आफ्ना विचारहरू निरन्तर प्रवाह गर्नु, नारा लगाउँदै गरेका मानिस, आक्रमणमा सङ्गठित सङ्गठन, सङ्घर्ष, बहस गर्ने युवाहरूको समूहसँगसँगै अगाडि बढ्नु आदि रोजाका विशेषता थिए । यी सबै कुराले उनलाई निरन्तर आकर्षित गर्दथे । रोजा हडताल र धर्नाको वकालत गर्थिन् । उनी यसलाई मजदुरवर्गको सबभन्दा ठुलो हतियार मान्थिन् । उनी सामूहिक हडताललाई क्रान्ति अगाडि बढाउने मार्ग बताउने गर्दथिन् । रोजाको महिला आन्दोलनमा पनि महत्वपूर्ण योगदान रहेको छ । उनी महिलालाई पहिले वर्गीय र त्यसपछि मात्र सामुदायिकरूपमा विश्लेषण गर्ने कुरा गर्थिन् । महिलाको वस्तुकरण र लिङ्गभेदविरोधी सङ्घर्षमा उनको ठुलो योगदान रहेको छ । यद्यपि, उनी कम्युनिस्ट आन्दोलनमै बढी सक्रिय थिइन् । उनले समग्र श्रमजीवी जनताको मुक्ति आन्दोलनको जग खडा गरिन् । रोजा उग्रराष्ट्रवादको पनि विरोधी थिइन् । यसले समाजवादको होइन बरू पुँजीवादको पक्षपोषण गर्ने कुराको वकालत गरिन् । उनका अनुसार श्रमिकको नेतृत्वमा हुने क्रान्तिकारी आन्दोलनले मात्र समाजवाद ल्याउँछ । श्रमजीवीका लागि शासन र सबैका लागि अधिकार उनको मुख्य नारा थियो । रोजाले जर्मन सैन्यवाद र साम्राज्यवादले युद्ध निम्त्याउनेछ भन्ने कुरा पहिले नै भविष्यवाणी गरेकी थिइन् । यो युद्धलाई रोक्न उनले हरसम्भव प्रयास गरिन् । उनले समाजवादी क्रान्ति एक औद्योगिक देशमा मात्र होइन, बरु अविकसित देशहरूमा पनि हुन्छ भन्ने कुरा स्पष्ट पारिन् । एक युवा क्रान्तिकारी र नारीवादीका रूपमा उनले महिलाहरूको रुढीवादी मानसिकतालाई चुनौती दिइन् । उनको वीरता, क्रान्तिकारिता, त्यागलाई संसारका कम्युनिस्टहरूले सदैव स्मरण गरिरहनेछन् र उनी सदा संसारका सर्वहाराहरूमाझ जीवितै रहने छिन् । उनको जीवनी र उनका सम्पूर्ण कार्यहरूले संसारका कम्युनिस्टहरूलाई पथप्रदर्शनको लागि निरन्तर काम गरिरहनेछन् ।
रोजा लक्जेम्बर्गका केही महत्वपूर्ण भनाइहरू
“आधुनिक मजदुर आन्दोलनको सम्पूर्ण बल वैज्ञानिक ज्ञानमा टिकेको हुन्छ ।”
“लोकतन्त्रलाई बलियो बनाउने इच्छा राख्नेहरूले समाजवादी आन्दोलनलाई पनि बलियो बनाउनुपर्दछ, कमजोर होइन । जसले समाजवादको लागि सङ्घर्षलाई त्याग गर्दछ, उसले श्रमिकहरूको लामबन्दी र लोकतन्त्रलाई पनि त्याग गर्दछ ।”
“जो अगाडि बढ्दैनन्, उनीहरूले आफ्ना जञ्जिरहरूलाई महसुस गर्दैनन् ।”
“लोकतन्त्र मजदुरवर्गको लागि अपरिहार्य हुन्छ किनकि लोकतन्त्रको सङ्घर्षमा तिनीहरूका लोकतान्त्रिक अधिकारहरूको प्रयोगबाट मात्र सर्वहारावर्गका हितहरू र उसका ऐतिहासिक कार्यहरूको बारेमा जागरुक हुन सक्दछ ।”
“यो क्रान्तिमात्र होइन, बरु विश्व शान्ति हो । यो केवल समाजवाद मात्र होइन, बरू सर्वहारावर्गको विश्व क्रान्ति हो । शान्ति ल्याउने र सुरक्षित राख्ने एक मात्र तरिका समाजवादी सर्वहारावर्गको जित हो ।”
“पुँजीवादी विकासको इन्जिन सैन्यवाद एक पुँजीवादी बिरामी बनेको छ ।”
“स्वतन्त्रता सदैव र विशेषरूपले ती मानिसहरूको लागि स्वतन्त्रता हुन्छ, जो अलग तरीकाले सोच्दछन् ।”
“नेतृत्व असफल भए पनि नेतृत्वलाई जनताबाट पुनः प्राप्त गर्न सकिन्छ ।”
“त्यो एक अपराधी हो, जसले क्रूर बेहोसीपूर्वक गरीबलाई दबाउँदछ ।”
“जनता निर्णायक तत्व हुन्, उनीहरू स्तम्भ हुन्, जसको कारणले नै क्रान्तिको अन्तिम जित हुनेछ ।” “हामीले के भुल्नु हुँदैन भने इतिहास महान् भावनाबिना, उच्च नैतिकताबिना, महान् इसाराबिना बन्दैन ।”
“आम चुनावबिना, प्रेसको स्वतन्त्रताबिना, अभिव्यक्ति र विधान सभाको स्वतन्त्रताबिना, विचारहरूको स्वतन्त्र सङ्घर्षबिना सबै सार्वजनिक संस्थानहरूमा जीवन समाप्त हुन्छ । यो स्वयंमा बुट्टा भर्ने काम मात्र हुन्छ, जसमा केवल एक सक्रिय तत्वको रूपमा नोकरशाही हुन्छ ।”
“स्वतन्त्रता केबल सरकारका सदस्यहरूको लागि, केबल पार्टीका सदस्यहरूका लागि प्रचुर मात्रामा बिल्कुल स्वतन्त्रता होइन । स्वतन्त्रता हमेसा असन्तुष्टहरूको स्वतन्त्रता हुनुपर्दछ । राजनीतिक स्वतन्त्रताको सार न्यायको कट्टरपन्थीहरूमाथि होइन, बरु असन्तुष्टहरूको स्फूर्तिदायक र लाभकारी प्रभावहरूमा निर्भर हुन्छ । यदि स्वतन्त्रता एक विशेषाधिकार बन्छ भने राजनीतिक स्वतन्त्रताको सार टुट्नेछ ।”

प्रस्तुति : एन. गिरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *