भर्खरै :

अमेरिकी नाकाबन्दीले क्युवाली जनतालाई कसरी आघात पु¥याइरहेको छ ?

अमेरिकी नाकाबन्दीले क्युवाली जनतालाई कसरी आघात पु¥याइरहेको छ ?
क्युवाको पूर्वी सहर होलगुइनकी एक हेयरड्रेसर (कपाल काट्ने) मार्ता जिमेनेजलाई जब मैले उनको देशमाथि ट्रम्पले लगाएको नाकाबन्दीका बारेमा र विशेषगरी अहिले अमेरिकाले तेलको ढुवानीमा रोक लगाइरहेको सन्दर्भमा सोधेँ, उनले आफ्नो अनुहार हातले छोपेर रुन थालिन् ।
“यसले हाम्रो जीवनको हरेक पक्षलाई कसरी असर गरिरहेको छ भनेर तपाईँ कल्पना पनि गर्न सक्नुहुन्न,” उनले सुँक्कसुँक्क गर्दै भनिन् । “यो एउटा क्रूर र सर्वव्यापी पतनको चक्र हो । पेट्रोल नभएपछि बसहरू चल्दैनन्, जसका कारण हामी काममा जान सक्दैनौँ । हामीसँग दिनमा तीनदेखि छ घण्टा मात्र बिजुली हुन्छ । खाना पकाउने ग्यास छैन, त्यसैले हामी हाम्रा अपार्टमेन्टहरूमा दाउरा र कोइला बालिरहेका छौँ । यो १०० वर्षपछाडि फर्किएजस्तै भएको छ ।”
“नाकाबन्दीले हाम्रो, अझ विशेषगरी एकल आमाहरूको सास थुनिरहेको छ,” उनले हातमा अनुहार लुकाएर रुँदै भनिन्, “यी राक्षसहरू ः ट्रम्प र मार्को रुबियोलाई कसैले किन रोकिरहेको छैन ?”
हामी ‘कोडपिङ्क’ (CODEPINK) र क्युवन–अमेरिकी समूह ‘पुएन्तेस दे अमोर’ (Puentes de Amor) द्वारा सङ्कलित कोषबाट प्राप्त २,५०० पाउन्ड मुसुरोको दाल पु¥याउन होलगुइन आएका थियौँ । हाम्रो पछिल्लो यात्रामा हामीले बालबालिकाको अस्पतालका लागि ५० पाउन्डका दूधको धुलोका झोलाहरू ल्याएका थियौँ ।
अहिले ट्रम्पले टापुमाथि क्रूर र मध्ययुगीन घेराबन्दी गरिरहेको अवस्थामा, यो मानवीय सहायता पहिलेभन्दा अझ बढी महत्वपूर्ण भएको छ । तर, दाल र दूधले देश चलाउन सक्दैन । क्युवालीहरूलाई वास्तवमै चाहिने कुरा त तेल हो ।
विमानस्थलमा कुनै ट्याक्सीहरू थिएनन् । हामी चन्दा सामग्री लिन आएको ट्रकमा लिफ्ट मागेर सहरतर्फ लाग्यौँ । सडक अनौठो गरी खाली थियो । सहरमा पेट्रोलबाट चल्ने कारहरू थोरै थिए र बसहरू चलेका थिएनन्, तर सडकहरू साइकल, इलेक्ट्रिक मोटरसाइकल र मानिस तथा सामान ओसारपसार गर्न प्रयोग गरिने तीनपाङ्ग्रे इलेक्ट्रिक सवारी साधनले भरिएका थिए ।
धेरैजसो मोटरसाइकलहरू पानामाबाट ल्याइएका चिनियाँ, जापानी वा कोरियाली हुन् । लगभग २,००० डलर मूल्य पर्ने यी सवारी साधनहरू विदेशमा रहेर पैसा पठाउनेहरूको परिवारले मात्र किन्न सक्छ ।
३५ वर्षीय जाभियर सिल्भाले सडकमा पार्क गरिएको यामाहा (Yamaha) मोटरसाइकललाई लोभलाग्दो नजरले हेरे । “मेरो महिनाको ४,००० पेसोको तलबले म तीमध्ये एउटा कहिल्यै किन्न सक्दिनँ,” उनले भने । मुद्रास्फीति तीव्र रूपमा बढिरहेकोले अहिले एक डलरको मूल्य करिब ४८० पेसो पुगेको छ, जसले गर्दा उनको मासिक आम्दानी १० डलरभन्दा पनि कम भएको छ ।
क्युवालीहरूले भाडा तिर्नु पर्दैन वा उनीहरूमाथि घरजग्गाको ऋण (Mortgage) हुँदैन; उनीहरू आफ्नै घरका मालिक हुन् । हालका वर्षहरूमा औषधि र उपकरणको अभावका कारण स्वास्थ्य सेवा निकै खस्किएको भए तापनि यो अझै निःशुल्क छ, एउटा यस्तो प्रणाली जो अन्तिम सास फेरिरहेको छ तर पूर्णरूपमा त्यागिएको भने छैन ।
सबैभन्दा ठुलो खर्च खानामा हुन्छ । बजारहरू भरिभराउ छन् तर सुँगुरको मासु, कुखुरा र दूधजस्ता बहुप्रतीक्षित वस्तुहरूका लागि मूल्यहरू पहुँच बाहिर छन् । अचेल धेरै परिवारका लागि गोलभेँडासमेत महँगो भएको छ ।
होलगुइन (Holguín) लाई यसको उर्वर कृषि भूमिको कारण कुनै समय क्युवाको अन्न भण्डार मानिन्थ्यो । तर, यस वर्ष जब ‘समुन्द्री चक्रवात मेलिसा’ (Hurricane Melissa) यस प्रान्तमा ठोक्कियो, त्यसले विशाल क्षेत्रको बाली नष्ट गरिदिएपछि त्यो प्रतिष्ठामा ठुलो धक्का लाग्यो । ट्रयाक्टरका लागि पेट्रोल वा सिँचाइका लागि बिजुलीबिना पुनः खेती गर्नु र क्षति मर्मत गर्नु लगभग असम्भव छ । कम खाद्यान्नको अर्थ उच्च मूल्य हो ।
अर्थतन्त्रका सबै क्षेत्रमा उत्पादन ठप्प हुँदै छ । बिजुलीबिना कारखानाहरू चल्न सक्दैनन्, र धेरै दक्ष कामदारहरूले पारिश्रमिक ज्यादै कम भएकाले सरकारी जागिर छाडिदिएका छन् ।
बजारमा भेटिएका ‘बोलोग्ना’ (Bologna) बेचिरहेका जर्ज पहिले सरकारी संस्थानमा इन्जिनियर थिए । कुनै समय शिक्षिका वेरोनिका अहिले बिजुली आउँदा घरमा बनाएका मिठाइहरू बेच्छिन् ।
विडम्बना के छ भने, मार्को रुबियो क्युवामा पुँजीवाद ल्याउन चाहन्छु भनी दाबी गर्छन्, तर अमेरिकी प्रतिबन्धहरूले त्यही निजी क्षेत्रलाई ध्वस्त पारिरहेका छन् जसमा बाँच्नका लागि अहिले अधिकांश क्युवालीहरू निर्भर छन् ।
मैले सडकमा केही मानिसहरूसँग कुरा गरेँ जसले यस सङ्कटका लागि क्युवाली सरकारलाई दोष दिन्छन् र साम्यवादको पतनको प्रतीक्षा गरिरहेको कुरा खुला रूपमा बताउँछन् । युवाहरूले मलाई भने कि उनीहरूको लक्ष्य क्युवा छोडेर यस्तो ठाउँमा जाने हो जहाँ उनीहरूले सम्मानजनक जीवनयापन गर्न सकून् ।
तर, मैले नाकाबन्दी वा अमेरिकी आक्रमणलाई समर्थन गर्ने एकजना व्यक्ति पनि भेटिनँ ।
“यो सरकार भयानक छ,” सडकमा पैसा सटही गर्ने एक पातलो मानिसले भने – जुन एक अवैध तर सहन गरिएको गतिविधि हो । तर, जब मैले उनलाई मार्को रुबियोको फोटो देखाएँ, उनले हिचकिचाहटबिना भने, “त्यो मान्छे त राक्षस हो । एक स्वार्थी, घिनलाग्दो राजनीतिज्ञ जसलाई क्युवाली जनताको कुनै वास्ता छैन ।”
अन्य कतिपयले भने यसको सम्पूर्ण दोष संयुक्त राज्य अमेरिकालाई दिन्छन् । उनीहरू सन् २०१४–२०१६ को अवधिमा राष्ट्रपति ओबामा र राउल क्यास्ट्रोबिच सम्झौता भएर वासिङटनले धेरै प्रतिबन्धहरू खुकुलो पारेपछि आफ्नो जीवनमा आएको नाटकीय सुधारलाई औँल्याउँछन् ।
“अहिलेको जस्तै क्युवाली सरकार त्यतिबेला पनि थियो,” एकजना व्यक्तिले मलाई भने । “तर, जब अमेरिकाले हाम्रो घाँटीको डोरी अलि खुकुलो पारिदियो, हामीले श्वास फेर्न पायौँ । उनीहरूले हामीलाई आफ्नै हालमा छोडिदिने हो भने, हामी आफ्ना समस्याका समाधान आफैँ खोज्न सक्छौँ ।”
क्युवालीहरूले यो घेराबन्दीमा आफूलाई टिकाइराख्नुको एकमात्र कारण परस्पर सहयोग हो । उनीहरू छिमेकीहरूसँग कफीका लागि चामल साटासाट गर्छन् । उनीहरू जुक्ति निकाल्छन् — ‘नो हाय, पेरो से रिसुएल्भे’ (हामीसँग धेरैथोक त छैन, तर हामी काम चलाउँछौँ) ।
सरकारले सबैभन्दा जोखिममा रहेका समूहहरू (वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति र आम्दानी नभएका आमाहरू) का लागि दैनिक भोजन उपलब्ध गराउँछ । तर, राज्यसँग वितरण गर्नको लागि खाद्यान्न र पकाउनका लागि इन्धन कम हुँदै गएकोले यो कार्य दिनप्रतिदिन कठिन बन्दै गएको छ ।
एउटा भोजन केन्द्रमा, एक वृद्ध स्वयंसेवकले हामीलाई बताए कि उनी दैनिक घण्टौँ लगाएर दाउरा खोज्छन् । उनले गर्वका साथ एउटा काठको ‘प्यालेट’ को टुक्रा देखाए, जसमा काँटीहरू अझै बाँकी थिए । “यसले भोलिको भोजन सुनिश्चित गर्छ,” उनले भने । उनको अनुहारमा गर्व र पीडा दुवै झल्किन्थ्यो ।
अवस्था झन् खराब हुँदै जाँदा क्युवालीहरू कहिलेसम्म यसरी टिकिरहन सक्छन् ? र यसको अन्तिम परिणाम के होला ?
जब मैले मानिसहरूलाई यो कुरा कहाँ पुगेर टुङ्गिएला भनेर सोधेँ, उनीहरूसँग कुनै जवाफ थिएन । रुबियो सत्ता परिवर्तन चाहन्छन् तर त्यो कसरी हुन्छ वा वर्तमान सरकारलाई कसले प्रतिस्थापन गर्छ भन्ने कुरा कसैले व्याख्या गर्न सक्दैन । कतिपयले ट्रम्पसँग कुनै सम्झौता हुनसक्ने अड्कल काट्छन् ।
“ट्रम्पलाई पर्यटन मन्त्री बनाइदिनुपर्छ,” एक होटल क्लर्कले केही जिस्कँदै र केही गम्भीर हुँदै भने । “उनलाई एउटा होटल र गल्फ कोर्स भाराडेरो (Varadero) मा एउटा ‘मार–अ–लागो’ दिइयो भने सायद उनले हामीलाई दुःख दिन छोड्ने थिए कि ¤”
ट्रम्प र रुबियोले १ करोड १० लाख क्युवालीहरूको जीवनसँग खेलिरहेको यो ‘राक्षसी खेल’ मा अन्ततः कसको जित होला ?
बिजुली आएको बेला फ्रिज मर्मत गर्ने अर्नेस्टो भने क्युवाली जनताकै सामथ्र्यमाथि भरोसा गर्छन् । “हामी विद्रोही हौँ,” उनले मलाई भने । “हामीले सन् १९५९ मा बाटिस्टालाई हरायौँ । हामी ‘बे अफ पिग्स’ (Bay of Pigs) को आक्रमणबाट जोगियौँ । सोभियत सङ्घको पतन भएपछि जब हामीसँग केही बाँकी थिएन, तब हामीले त्यो अत्यन्तै कठिन ‘विशेष अवधि’ (Special Period) पनि झेल्यौँ । हामी यसबाट पनि पार पाउनेछौँ ।”
उनले क्युवालीहरूलाई कण्ठै महान् गीतकार सिल्भियो रोड्रिग्वेजको एउटा हरफ उद्धृत गर्दै कुरा टुङ्ग्याए : समय त साना, निमुखा र बिर्सिएकाहरूकै पक्षमा हुन्छ (El tiempo está a favor de los pequenos, de los desnudos, de los olvidados)
समयको लामो कालखण्डमा, धैर्य र सहनशीलताले सधैँ दमनलाई उछिनेको छ ।
Source : https://www.commondreams.org
(मेडेया बेन्जामिन ‘ग्लोबल एक्सचेन्ज’ (Global Exchange) र ‘कोडपिङ्क : वोमन फर पिस’ (CODEPINK : Women for Peace) की सह–संस्थापक हुन् । उनी निकोलस जे.एस. डेभिससँग मिलेर लेखिएको पुस्तक ‘वार इन युक्रेन : मेकिङ सेन्स अफ अ सेन्सेलेस कन्फ्लिक्ट’ (नोभेम्बर २०२२) की सह–लेखिका हुन् । उनका अन्य पुस्तकहरूमा निम्न समावेश छन् : इन्साइड इरान : द रियल हिस्ट्री एन्ड पोलिटिक्स अफ द इस्लामिक रिपब्लिक अफ इरान (२०१८) किङ्गडम अफ द अनजस्ट : बिहाइन्ड द यु.एस.–साउदी कनेक्सन (२०१६) ड्रोन वारफेयर : किलिङ्ग बाइ रिमोट कन्ट्रोल (२०१३) डोन्ट बी अफ्रेड ग्रिंगो : अ होन्डुरन वोमन स्पिक्स फ्रम द हार्ट (१९८९) जोडी तन्ससँगको सहकार्यमा : स्टप द नेक्स्ट वार नाउ (२००५))

Leave a Reply

Your email address will not be published. Required fields are marked *