भारतमा आयोजित ‘एआई समिट’ मा गलगोटियास विश्वविद्यालयले प्रदर्शनमा राखेको ‘ओरियन’ नामको रोबोटको वास्तविकता खुलेपछि सो शैक्षिक संस्था अहिले हाँसोको पात्र बनेको छ । चीनबाट किनेको रोबोटलाई आफ्नो संस्थाले विकास गरेको भनेर प्रदर्शन गरिनुले एक शैक्षिक संस्थाको बेइमानीमात्र होइन, शिक्षाको अधिक निजीकरणसँगै आउने पतन उजागर भएको छ । जब गलगोटियास विश्वविद्यालयको बेइमानी पक्राउ प¥यो, तब विश्वविद्यालय सञ्चालक समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै दोषजति सबै संलग्न फ्याकल्टी (विश्वविद्यालय शिक्षक) माथि लगाएको छ । खासमा यो कुनै शिक्षकलाई दोष लगाएर पन्छिनेभन्दा समग्र शैक्षिक समुदायले आत्मसमीक्षा गर्नुपर्ने घटना हो । सार्वजनिक बहसको सुरुवात भारतको ‘नयाँ शिक्षा नीति (२०२०)’ बाटै हुनुपर्छ ।
नयाँ शिक्षा नीति (२०२०) र विश्वविद्यालयहरूको बजारीकरण
भारतको ‘नयाँ शिक्षा नीति (२०२०)’ लाई विद्यालय र उच्च शैक्षिक संस्था दुवैमा रूपान्तरणकारी परिवर्तन ल्याउन सघाउने नीतिका रूपमा प्रचार गरिने गरेको छ । तर, यो नीति ल्याइएसँगै शिक्षाप्रति राज्यको जिम्मेवारी सङ्कुचित भएको छ । उसो त भारतमा शिक्षाको निजीकरणको प्रवृत्ति सन् १९८० को दशकमै सुरु भएको हो र त्यसले सन् १९९० को दशकमा तीव्रता पाएको थियो । तर, अहिले सन् २०२० मा ल्याइएको नयाँ शिक्षा नीतिले भने खुलेर शिक्षाप्रति राज्यको कर्तव्य कम गर्ने भनेर जोड दिएको छ । अहिले भारतमा शिक्षालाई ‘विशेष वस्तु’ मान्दै कक्षाकोठालाई कर्पोरेटस्थल र शिक्षकलाई सेवा प्रदायकमा रूपान्तरण गर्ने बाटो खोलिएको छ । यस नीतिले सार्वजनिक शैक्षिक संस्थालाई दिइने सरकारी अनुदानलाई ऋणले प्रतिस्थापन गरेर बजारीकरण, व्यवसायीकरण र निजीकरणमा बढी जोड दिएको छ । ऋणको भार कम गर्न निजी शैक्षिक संस्थाले शुल्क बढाउने गरेका छन् ।
गलगोटियास विश्वविद्यालय प्रकरणले भारतका निजी विश्वविद्यालयहरू ज्ञान सिर्जनाभन्दा छवि निर्माणमा केन्द्रित हुँदै गएको देखाउँछ ।
नवउदारवादको उदय र शिक्षाको वस्तुकरणले शिक्षक तथा विद्यार्थी दुवैलाई कर्पोरेट आदेशपालकमा बदलिदियो । यसले शैक्षिक संस्थाले मार्केटिङ र जनसम्पर्क विस्तार गर्ने कार्यक्रममा ध्यान दिनुपर्ने अवस्था सिर्जना गरिदियो । अहिले शैक्षिक संस्थाका लागि शिक्षक वा शिक्षाविद्भन्दा आफ्नो छवि निर्माण बढी महत्वपूर्ण बन्न पुगेको छ । संस्थामाथि कुनै समस्या आउँदा दोषजति फ्याकल्टीमाथि थोपरेर आफू चोखिने अभ्यास ह्वात्तै बढेको छ । उसो त भारतमा पछिल्लो समय विश्वविद्यालयहरूले आफ्ना शिक्षक शिक्षिका (फ्याकल्टी) को विचारबाट ‘राजनीतिक’ भन्दै दूरी कायम गर्ने प्रवृत्ति नै बनेको छ ।
भर्खरै पीएचडी गरेको जनशक्तिमाथि अहिले अनुसन्धान गर्न र निष्कर्ष प्रकाशनमा जोड दिनुभन्दा ‘बजार मूल्य’ भएका कार्यक्रम सञ्चालन गर्न दबाब बढी हुन्छ । असहमति, सार्वजनिक बैठक, बहस र छलफल शिक्षाविद्का लागि दाल र भातजस्तै हुन् भन्ने सिकाइमा हुर्किएका मजस्ता धेरै पीएचडीधारीले अहिले आफूलाई प्रणालीमा अमिल्दो पाइरहेका छौँ । यस शैक्षिक वातावरणले अनुसन्धान ‘औसत नै ठीक’ भन्ने भाष्यलाई हाबी गराउँदै छ । गलगोटियास प्रकरण यही शैक्षिक वातावरणको प्रमाण हो ।
फेसन बनेको ‘एआई’
सन् २०२५ मा ‘प्यु रिसर्च’ ले गरेको एक अध्ययनमा बहुसङ्ख्यक भारतीयमा ‘एआई’ बारे एकदम कम वा शून्य जानकारी रहेको पाइएको थियो । एआई अहिले तीव्रगतिमा विकास भइरहेको तथ्य स्वीकार्न कुनै हिच्किचाहट गर्नुपर्दैन । भारतमा समय–समयमा, विभिन्न सार्वजनिक र निजी विश्वविद्यालयले एआईको प्रयोगबारे तालिम दिइरहेका हुन्छन् । साथै, यस नयाँ प्रविधिले शैक्षिक प्रणालीलाई कसरी परिवर्तन गर्न सक्छ भनेर सङ्काय विकास कार्यक्रम आयोजना भएको पनि देखिन्छ । पछिल्लो समय उच्च शैक्षिक क्षेत्रमा कलेज असाइनमेन्टदेखि सम्मेलनसम्म एआईको प्रयोग पनि भइरहेको छ । तर, चिन्ताजनक कुरा, विद्यार्थीले असाइनमेन्टहरूमा एआईको प्रयोग गर्दा लेखनमा एआईले दिएका सुझाबलाई कसरी र के–कति जोड्न मिल्छ भनेर बुझ्न सङ्घर्ष गरेको पाइन्छ ।
गलगोटियासको घटना दुई कारणले चिन्ताजनक र खतरनाक छ– पहिलो, फ्याकल्टी (शिक्षकशिक्षिका) ले ‘ओरियन’ नामको रोबोटलाई विश्वविद्यालयले नै विकास गरेको नवप्रवर्तनको परिणाम भनेर प्रचार गर्नुले एआई प्रयोगको प्रचारमा गलत सूचना उपयोगी हुने विश्वास देखियो । साथै, विभिन्न माध्यममा त्यस विश्वविद्यालयका प्रोफेसरले ‘ओरियन’ ले निगरानी र अनुगमनजस्ता काम गर्न सक्ने दाबी गरेको सुनियो, जसमा तिनले प्रविधिको नैतिक प्रभाव बिर्सिएको प्रस्ट हुन्छ ।
दोस्रो, यस घटनाले भारतको राष्ट्रियस्तरमा नजानी नजानीकनै एआईको कुन हदसम्म महिमागान भइरहेको छ भनेर देखाउँछ । शिक्षामा एआईको प्रयोग प्रशंसनीय विषय हो । शिक्षामा एआईलाई जोड्नुको अर्थलाई हामीले राम्ररी बुझ्नुपर्छ । तर, यहाँ एआईको प्रयोग शिक्षाको गुणस्तर बढाउनेमा भन्दा विश्वविद्यालयको छवि बढाउने औजार मानिँदै छ । अर्थात्, विश्वविद्यालयका पीआर (छवि विस्तार) संयन्त्रले एआईलाई संस्थाको छवि विकास गर्ने विषय मात्र मानेजस्तो देखियो । गलगोटियास प्रकरण खासमा आफैँमा समस्याभन्दा थप ठुलो समस्याको लक्षण मात्र हो, जुन समस्या प्रविधिबारे पर्याप्त ज्ञानले सिर्जित भएको हो । साथै, यस प्रकरणले भारतका निजी विश्वविद्यालयहरू वास्तविक ज्ञान विकासभन्दा छवि निर्माणमा कति केन्द्रित छन् भनेर देखाउँछ । यी सबका बिच सेवाका रूपमा शिक्षाको भने निरन्तर अवमूल्यन भइरहेको छ ।
– ‘द वायर’ बाट
भारतको गलगोटिया युनिभर्सिटीले चिनियाँ रोबोटलाई आफ्नो भन्दै प्रस्तुत गरेपछि एआई समिटकै बेइज्जत
काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित ‘इन्डिया एआई इम्प्याक्ट समिट २०२६’ का क्रममा भएको एउटा अनौठो र लज्जास्पद घटना सार्वजनिक भएको छ । नोएडास्थित निजी क्षेत्रको गलगोटिया युनिभर्सिटीले चीनमा बनेको व्यावसायिक रोबोटिक कुकुरलाई आफ्नो विश्वविद्यालयको आफ्नै आविष्कार भन्दै प्रदर्शनीमा राखेपछि उक्त संस्थालाई समिटबाटै बाहिर निकालिएको हो ।
युनिभर्सिटीकी सञ्चार विभागकी प्रोफेसर नेहा सिंहले सरकारी टेलिभिजन डीडी न्युजसँगको कुराकानीमा ओरायन (Orion) नामक रोबोटिक कुकुर युनिभर्सिटीको सेन्टर अफ एक्सीलेन्सले विकास गरेको दाबी गरेकी थिइन् । तर, सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले तुरुन्तै उक्त रोबोट चीनको युनिट्री रोबोटिक्स (Unitree Robotics) कम्पनीले बनाएको युनिट्री गो २ (Unitree Go2) मोडेल भएको पहिचान गरे । यो रोबोट बजारमा करिब १,६०० देखि २,८०० अमेरिकी डलर (करिब २ देखि ३ लाख भारु) मा सजिलै किन्न पाइन्छ ।
यस घटनाले भारतको एआई र एड्भान्स प्रोडक्टको विश्वव्यापी केन्द्र बन्ने लक्ष्यमा धक्का पु¥याएको भन्दै त्यहाँको सरकारले कडा कदम चालेको छ । भारतको इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयले गलगोटिया युनिभर्सिटीको स्टल तुरुन्तै हटाउन आदेश दिएको थियो ।
सूचना प्रविधि सचिव एस कृष्णनले विश्व स्तरको आविष्कार प्रदर्शन गर्ने मञ्चमा यस्तो बौद्धिक चोरी र भ्रामक दाबी स्वीकार्य नहुने बताएका छन् । विवाद बढेपछि युनिभर्सिटीको स्टलको बिजुली काटिएको थियो र कर्मचारीहरूलाई परिसर छाड्न भनिएको थियो ।
आलोचना चुलिएपछि गलगोटिया युनिभर्सिटीले सार्वजनिक रूपमा माफी मागेको छ । युनिभर्सिटीले आफ्नो प्रतिनिधि प्रोफेसर नेहा सिंह ‘कम जानकार’ भएको र उनले उत्साहमा गलत जानकारी दिएको दाबी गरेको छ । युनिभर्सिटीका रजिस्ट्रार नितिनकुमार गौरले यो डेभलप (विकास गर्ने) र डेभलपमेन्ट (अनुसन्धानका लागि प्रयोग गर्ने) भन्ने शब्दहरू बिचको अन्योल मात्र भएको तर्क गरेका छन् । उनले रोबोट विद्यार्थीहरूलाई अनुसन्धानमा प्रेरित गर्न किनिएको बताएका छन् ।
विवाद रोबोटिक कुकुरमा मात्र सीमित रहेन । युनिभर्सिटीले पूर्ण रूपमा स्वदेशमै निर्मित भनेर दाबी गरेको सकर ड्रोन (Soccer Drone) माथि पनि प्रश्न उठेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उक्त ड्रोन दक्षिण कोरियाली कम्पनी हेल्सेल ग्रुप (Helsel Group) को स्ट्राइकर भी३ (Striker V3) मोडेल भएको दाबी गरेका छन् । जसको मूल्य करिब ४० हजार भारु पर्छ ।
यो समिटमा रोबोटको विवाद मात्र होइन, अन्य थुप्रै प्रकारका अव्यवस्था समेत देखिएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । प्रदर्शकहरूले सामान चोरी भएको, स्थिर इन्टरनेट नभएको र अत्यधिक भीआईपी मुभमेन्टका कारण समस्या भोग्नुपरेको गुनासो गरेका छन् । भारतीय विपक्षी नेता राहुल गान्धीले यस घटनालाई ‘अव्यवस्थित पीआर तमासा’ को संज्ञा दिँदै भारतको प्रतिभा र डेटाको सट्टा चिनियाँ उत्पादन प्रदर्शन हुनु लज्जास्पद भएको टिप्पणी गरेका छन् ।
द इन्डियन एक्सप्रेसले यो घटना एउटा विश्वविद्यालयको गल्ती मात्र नभई भारतको एआई इकोसिस्टममा देखिएको कमजोरीको सङ्केत भएको टिप्पणी गरेको छ । वास्तविक अनुसन्धान र क्षमता निर्माण गर्नुको सट्टा केवल बाहिरी चमकधमक र देखावटीमा लाग्दा यस्ता समस्या उत्पन्न हुने विश्लेषण गरिएको छ । यो समिटमा गुगलका सीईओ सुन्दर पिचाई, ओपन एआईका साम अल्टम्यान जस्ता दिग्गजहरूको उपस्थिति रहेको सन्दर्भमा यस्तो विवादले भारतको विश्वसनीयतामा प्रश्न उठाएको एपी न्युजले उल्लेख गरेको छ ।
Leave a Reply