राजनीतिक दलहरू देश र जनताप्रति जिम्मेवार हुनुपर्छ । जनताले पनि कुन दलले कुन वर्गका जनताको सेवा गर्छ र गरिरहेको छ भन्ने कुरा थाहा पाउनुपर्छ । जनताले ठीक समयमा सही निर्णय गरेनन् भने देश एकपछि अर्काे सङ्कट र अन्योलमा पर्नेछ । जनताले समयमै सोच विचार गरेनन्, सही निर्णय गर्न सकेनन् भने पछि पछुताउनुपर्ने हुन्छ । निर्वाचनमा हरेक मतदाताको एक एक मत अमूल्य हुन्छ । आ–आफ्नो अमूल्य मत सबैले उपयोग गर्नुपर्छ । मेरो एउटा मतले केही फरक पर्दैन भनी नसोची लडेर प्राप्त भएको अमूल्य भोटको प्रयोग गर्नुपर्छ या फागुन २१ गतेको निर्वाचनमा मतदान गर्नुपर्छ । उक्त दिन आ–आफ्नो व्यक्तिगत काम छोडेर मतदान केन्द्रमा गई समयभित्रै मतदान गर्न मतदाताहरू तयार हुनुपर्छ ।
पुस्ता नयाँ होस् या पुरानो जनता राजनीतिक रूपमा सचेत हुनुपर्छ† परिपक्क हुनुपर्छ । नयाँ पुस्तामा जोश जाँगर हुनु स्वाभाविक हो । उनीहरू आँटिला र जाँगरिला हुन्छन् । मानिस आँटिला र जाँगरिला भए पनि परिपक्क भएनन् भने या बुद्धि र विवेकलाई बन्धकमा राखेर अघि बढे भने अराजक या उच्छृङ्खल गतिविधि हुन बेर लाग्दैन । जोशमा होस पु¥याएन भने स्थिति अर्कै हुनसक्छ । एक नाटककारले भनेका थिए, ‘बेला नहोला त बेलामा कसरी दौड्नुपर्छ, बेला होला त बेलैमा कसेरै दौड्नुपर्छ ।’ देशको परिस्थिति र परिवेश थाहा नभएका, चासो नभएका र अनुभव नभएका नयाँ पुस्ताले विगतको र पछिको ख्याल नगरी अहिलेको मात्र सोचेर अघि बढ्दा परिणाम राम्रो आउँदैन । यसअघि एमालेको सरकारले समयमै माग सम्बोधन नगर्दा जेन–जीको आन्दोलन भयो । आन्दोलन कहाँसम्म पु¥याउने भन्ने मार्गचित्र नहुँदा या आन्दोलनलाई कसैले उपयोग गर्न सक्छ है भन्ने सोच नहुँदाको फल ७२ जनाको ज्यान गयो; देशको अरबौँ–खरबौँ रकम बराबरको देशको सम्पत्ति नोक्सान भयो ।
समयको गतिसँगै जनता शिक्षित, सचेत, सङ्गठित र जागरुक हुनु राम्रो हो । तर, अझै देशका सबै जनता अझै बिउँझिएका छैनन् । कसले कहिले, कसलाई कहाँ कसरी फसाउँछन् , गलत बाटोमा लैजान्छन् भन्ने कुरा सबै जनतालाई थाहा हुँदैन । अनि जनताले सोचविचार गरेर सही उम्मेदवारलाई छान्दैनन् । कुन दलले कुन वर्गका जनताको सेवा गरिरहेको छ भन्ने बुझेका जनताले सही उम्मेदवारलाई जिताएका पनि छन् । यो राम्रो र सकारात्मक पाटो हो । तर, कति ठाउँमा मतदाताहरू पैसामा बिक्छन्; लोभलालचमा फस्छन् । त्यो भन्दा अर्काे गलत भाष्य कुनै दलका नेता या सदस्यले विगतमा के गरे भन्ने नसोची हचुवाको भरमा मूल्याङ्कन गर्छन् र मत हालेर जिताउँछन् । विगतमा ‘जनयुद्ध’ भयो । देशको खरबौँ रकम बराबरको भौतिक सम्पत्ति खरानी भयो । १७ हजार मान्छेको मृत्यु भयो । अन्ध, अपाङ्ग भएकाको त लेखाजोखा नै गरिएको छैन । बेपत्ता भएकाहरूको स्थिति के भयो अहिलेसम्म यथार्थ कुरा प्रकाशमा आएको छैन । आखिर त्यो ‘जनयुद्ध’ असफल भयो । ‘युद्ध’ बलिदानमा टुङ्गियो । तत्कालीन माओवादीले क्रान्तिकारी बाटो नै त्याग्नुप¥यो । पछि राजावादीहरूको आन्दोलन भयो । आन्दोलनमा दुई जनाको ज्यान गयो । तोडफोड पनि भयो । त्यसपछि जेनजीको आन्दोलन भयो । ७२ जनाको ज्यान गयो र खरबौँ बराबरको सम्पत्ति खरानी भयो । ओलीको नेतृत्वमा रहेको सरकार ढल्यो । के यी सबै आन्दोलनका उपलब्धि हुन् ? यसबारे व्यापक जनताले समीक्षा गर्नुपर्छ ।
के आन्दोलन भनेको तोडफोड गर्नु हो ? के आन्दोलन दबाउनु भनेको गोली चलाएर मान्छे मार्नु हो ? विगतका यस्ता आन्दोलनबाट नयाँ पुस्ताले शिक्षा लिनुपर्छ । शिक्षा लिएर अघि बढ्नुपर्छ । पञ्चायती व्यवस्थाको पालामा राजा सवारी हुने भनेपछि राजालाई हेर्न बच्चादेखि वृद्ध वृद्धासम्मको मान्छे हेर्न जान्थे, मान्छेको भीड हुन्थ्यो । त्यस्ता राजाहरूको शासन पनि टिकेन । अहिले पनि त्यस्तै लहर ल्याउने काम भइरहेको छ । कुनै एक मतदाता नयाँ पुस्ता होस् या पुराना पुस्ता, कसैको मुख हेरेर मतदान गर्ने होइन । कसैको लहड या लहैलहैमा मत राख्ने होइन । त्यो दलको सिद्धान्त र विचार हेर्नैपर्छ, बुझ्नैपर्छ । यो गर्ने र त्यो गर्ने भन्ने आश्वासनको आधारमा कुनै दल र दलका उम्मेदवारलाई जनताले मतदान गर्ने होइन । निर्वाचनमा प्रधानमन्त्री बन्ने आश्वासन बाँड्नेहरूमा केपी ओली, गगन थापा, हर्क साम्पाङ र बालेन्द्र साह रहेका छन् । आश्वासन बाँडेको आधारमा के हामीले यी दललाई मतदान गरेर आफ्नो अमूल्य मत बिगार्ने ? यसकारण, जनता सचेत हुनुपर्छ र बिउँझिनुपर्छ ।
Leave a Reply