भर्खरै :

भीड, भेँडा र परिवर्तन

भीड, भेँडा र परिवर्तन
नेपाली राजनीतिमा गणेशमान सिंहको एउटा उक्ति निकै चर्चित छ – जनताया भेडा । के साँच्चै जनता भेडा हुन् ? के जनता स्वभावैले भेडा हुन्छन् ? वा, जनतालाई भेडा बनाइन्छ ? बनाइन्छ भने किन बनाइन्छ ? नेपाली जनतालाई क–कसले भेडा बनाए ? क–कसले भेडा बनाइरहेका छन् ? जनतालाई भेडा बनाउने खेल कहिले टुङ्गिन्छ ? के जनताले आफूलाई भेडा बनाउने खेल बदल्न सक्लान् ?
फ्रान्सेली विद्वान गुस्ताभ लेबोँको विश्व चर्चित पुस्तक ‘भीड’ (द क्राउड) लाई केन्द्रमा राखेर हामी यहाँ छोटो चर्चा गर्नेछौँ । यो पुस्तक किन पनि महत्वपूर्ण छ भने यसलाई कुनै बेला हिटलर र मुसोलिनी जस्ता ‘राम्रा वक्ता’ ले जनतालाई ‘भेडा’ बनाउन, तिनको रगत उमाल्न प्रयोग गरेका थिए ।
के हो भीड ?
लेखक लेबोँ फ्रान्सेली क्रान्तिपछिको युगलाई ‘भीडको युग’ भन्छन् । किनभने, भीडले नै त्यसपछिका धेरै (राजनीतिक) परिवर्तनमा प्रमुख भूमिका खेलेको उनको तर्क छ । आधुनिक वैज्ञानिक र औद्योगिक खोजले ‘भीडको युग’ सुरु गरेको थियो ।
सामान्यतया अनेक वर्ग, धर्म, जाति, पेसा, उमेर समूह र लिङ्गका मानिसहरू एकै स्थानमा जम्मा हुनुलाई भीड भनिन्छ । तर, मनोवैज्ञानिक हिसाबले भीडको अर्थ अर्कै लाग्छ । मानिसहरूको ठुलो समूहमा मानिसहरूले एकै ढङ्गले महसुस गर्दै, सोच्दै छन् र तिनले आफ्नो सचेत व्यक्तित्व गुमाएका छन् भने त्यो भीड हो । लेखकले यस्तो भीडलाई ‘मनोवैज्ञानिक भीड’ भनेका छन् । यस्तो भीड बन्न मानिसहरू एकै स्थानमा सशरीर जम्मा हुनुपर्छ भन्ने पनि छैन । आजभोलि सामाजिक सञ्जालमार्फत यस्तो ‘भीड’ तयार गर्न सकिन्छ । कुनै बेला हिटलरहरूले ठुल्ठुला रंगशाला निर्माण गर्नुको कारण त्यस्तै ‘भीड’ तयार गर्नु थियो ।
कस्तो हुन्छ भीडको चरित्र ?
लेखक लेबोँ ‘मनोवैज्ञानिक भीड’ विशेष नियमले चल्छ भन्छन् । यसलाई उनी ‘मानसिक एकताको नियम’ भन्छन् । व्यक्तिको चरित्र, बुद्धि, पेसा, जीवनशैली जे जस्तो भए पनि भीडमा आएपछि उसको मनोविज्ञान ‘भीड’ को मनोविज्ञान बन्छ । उसले भीडले जस्तै महसुस गर्छ, सोच्छ र कार्य गर्छ । एक्लो हुँदा गर्न नसक्ने काम पनि ऊ भीडमा आएपछि गर्न सक्छ । तर, यस्तो गर्दै गर्दा उसले एक्लै गर्न सक्ने कति काम गर्न सक्दैन ।
भीड भावुक हुन्छ । वास्तवमा भीडको बुद्धि हुँदैन । भए पनि भीडले व्यवस्थित ढङ्गले तर्क गर्न सक्दैन भन्ने लेखकको दाबी छ । भीडमा पसेपछि जतिसुकै विद्वान पनि भावनाको वशमा पर्छ । भीडमा कुनै गणितज्ञ र जुत्ता सिउने व्यक्तिबिच कुनै भेद रहन्न । उनीहरू दुवै अचेतन मनले चल्छन् । उनीहरूमा बुद्धिको लगाम खुकुलो हुन्छ । खासमा भीड सङ्ख्याको बलमा अत्यन्त साहसी हुन्छ । मान्छेले आफ्नो परिचय गुमाउने हुनाले ऊ एक्लै हुँदाजस्तो जिम्मेवार हुँदैन । भीडमा जुनसुकै भावना डढेलोझैँ फैलिन्छ । व्यक्ति मर्न–मार्न तयार हुन्छ । वास्तवमा भीड मनोवेगले वशीभूत (हिप्नोटाइज्ड) हुन्छ, लठ्ठ हुन्छ । भीडले आफ्नो मन थाम्न सक्दैन ।
भीडलाई कसरी भेडा बनाउने ?
लेखक लेबोँले भीडलाई ‘भेडा’ बनाउने काइदाबारे विस्तृत चर्चा गरेका छन् । भीडलाई भेडा बनाउन उसलाई लठ्ठ पार्नुपर्छ, मख्ख पार्नुपर्छ । भीडलाई तर्क वितर्कले काबुमा ल्याउन सकिन्न । त्यसलाई भावनाले जित्नुपर्छ । शासकहरूले प्रायः यिनै तरिका अपनाउँछन् । भीडको विरुद्धमा शासकहरू उति बोल्दैनन् । बरु, भीडलाई चाहिएकै शैली र भाषामा कुरा गर्छन् । भावना उछाल्ने आकर्षक चित्रमय, सूत्रमय भाषा बोल्छन् र ठुला–मिठा कुरा गर्छन् । ठुला सपना र आश्वासन देखाउँछ । श्वैर कल्पनाका कुरा गर्छन् ।
यति गर्दैगर्दा शासकहरूले जहिल्यै आफ्ना कुरालाई निकै दमदार भाषामा राख्छन् । उनीहरूको प्रस्तुति बेजोड हुन्छ । कथ्यमा भन्दा उनीहरूको जोडबल कुनै कुरा कति जोडदार ढङ्गले राखिन्छ भन्नेमा ध्यान दिन्छन् । हिटलरदेखि मोदीसम्म सबैले यही उपाय अपनाएका छन् । यसका तीन सूत्र छन् – दाबी, पुनरोक्ति र सङ्क्रमण । भीडलाई कुनै कुरा ठुलै दाबीसाथ भन्नू र त्यसलाई भीडमा डढेलोसरि नफैलिँदासम्म दोहो¥याइरहनू – यिनै हुन् भीडलाई ‘भेडो’ बनाउने तरिका । प्रायः जनविरोधी शासकहरूले झूटा दाबी गरेर जनतालाई ‘भेडो’ बनाउँछन् ।
भेडा नबन्ने हो भने
त्यसो त भीड सधैँ घातक हुँदैन । भीड अनुशासित पनि बन्न सक्छ । भीडलाई कस्तो भावना र विचारले आकार दिइएको छ भन्नेमा धेरै कुरा निर्भर हुन्छ । लेबोँको पुस्तक सन् १८९५ मा प्रकाशित भएको थियो । यसपछि संसारमा धेरै उथलपुथल भइसकेका छन् । तिनको कसीमा लेबोँको विचारलाई एकपल्ट हेरौँ ।
विकास र सुशासनमा तीव्र फड्को मारेर आज हाम्रो छिमेकी देश चीनले संसारका सबै देशलाई चकित पारेको छ । आजको चीन साना दुःखले आर्जेको होइन । यो परिवर्तनको सुरुआत पेचिङ विश्वविद्यालयबाट करिब १०० वर्षअघि भएको थियो । त्यो बेला त्यहाँ कुन क्रान्तिको बाटो पछ्याउने भनी चर्चा हुन्थ्यो । माओ त्सेतुङका गुरु लीताचाओले ‘अहिलेसम्मका क्रान्ति अल्पसङ्ख्यकहरूका क्रान्ति थिए, रुसमा पहिलोपल्ट बहुसङ्ख्यक जनताको क्रान्ति भएको’ बताउनुभयो ।
सन् १९१७ को बोल्शेभिक क्रान्ति पनि ‘भीड’ ले गरेको थियो । तर, त्यसको नेतृत्व सङ्गठित र सचेत बोल्शेभिकहरूको पार्टीले गरेको थियो । बोल्शेभिक कार्यकर्ताहरूले ‘भीड’ लाई क्रान्तिकारी आकार दिएको हुनाले नै त्यो क्रान्ति सम्भव भएको थियो । अमेरिकी पत्रकार रीस विलियम्सको पुस्तकबाट एउटा उदाहरण हेरौँ ।
सन् १९१७ अक्टोबर २५ गते राति स्मोल्नी दरबारमा भीड पस्यो । उनीहरूले राजदरबारका बहुमूल्य सामानहरू टपाटप टिप्न थाले । उनीहरू ती सामान घर लग्न चाहन्थे । अर्को भाषामा उनीहरू लुटपाटमा उत्रेका थिए । यत्तिकैमा केही बोल्शेभिकहरू भवनभित्र पसे । उनीहरूले ‘यो दरबार र यहाँको सारा सम्पत्ति अब रुसी जनताको हो† त्यसैले कसैले चोर्न पाइँदैन’ भने । यो कुरा सुनेर भीडले सामानहरू त्यहीँ राखिदिए । यस्तै दृश्य फ्रान्सेली राज्य क्रान्तिमा पनि भएको थियो । गरिब जनताले धनीमानीहरूका बहुमूल्य सामान आफै राजकोषमा लगेर जम्मा गरेका थिए । (यसलाई भदौ २३–२४ को आन्दोलनसँग जोड्न मिल्छ । भदौरे आन्दोलन यस अर्थमा पनि लेबोँले भने जस्तो अन्धो भीड थियो । सिंहदरबारजस्तो ऐतिहासिक सम्पदालाई आफ्नो सम्पत्ति नठानेको तथ्यबाट यही पुष्टि हुन्छ ।)
‘भीड’ सबैभन्दा अनुशासित, चरित्रवान र देशभक्त बन्न सक्छ । यसले असल उद्देश्यका लागि ज्यान अर्पित गर्न सक्छ । व्यवस्था नै बदल्न सक्छ । समाजलाई जरैबाट फेर्न सक्छ । तर, यसको लागि ‘भीड’ को भावना सही नीति, सिद्धान्त र उद्देश्यले निर्देशित हुनुपर्छ । भीडमा व्यक्तिले आफूलाई बिर्सन्छ । तर, यो विस्मृति बहुमत जनताको भलाइका लागि हुनुपर्छ । एडगर स्नोको पुस्तकमा यसको उदाहरण पाइन्छ । उनको पुस्तक ‘चीनको आकाशमा रातो तारा’ मा एउटा दृश्यको वर्णन छ । चिनियाँ जनमुक्ति सेनाका धेरै लडाकुले आफ्नो व्यक्तिगत जीवन बिर्सिसकेको थाहा पाउँदा स्नो चकित पर्छन् ।
सारमा भन्नुपर्दा, भेडा नबने हो भने जनताले आफूलाई सचेत र सङ्गठित पार्नुपर्छ । अर्थात्, जनतालाई सचेत र सङ्गठित पार्ने एउटा क्रान्तिकारी सिद्धान्त र उद्देश्य बोकेको अनुशासित अग्रदस्ता वा राजनीतिक पार्टी हुनुपर्छ ।
‘चुपचाप’ भेडा नबनौँ, प्रश्न गरौँ
शासकहरूले आफ्नो स्वार्थसिद्धिका लागि बहुमत जनतालाई भेडा बनाउँदै आएका छन् । अर्थात्, उनीहरूलाई सस्तो भावनामा बहकाउँदै आएका छन् । उनीहरूलाई परिवर्तनकारी सिद्धान्त र उद्देश्यबाट वञ्चित गरेका छन् । संसार धेरै अघि बढ्दा समेत जनतालाई रुढीवादी कुरामा झुलाउँदै आएका छन् । हालै मात्र भारतमा एउटा गजबको तथ्य बाहिर आयो । भारतीय जनतालाई हिन्दू–मुसलमान द्वन्द्वमा झुलाइरहेको सत्तासीन भारतीय जनता पार्टीका दर्जनभन्दा बढी ठुला नेताका ज्वाइँहरू मुसलमान रहेछन् ।
जनताको तहबाट शासकहरूको ‘भेडा–बनाउ’ खेल तोड्ने एउटै उपाय छ – प्रश्न गर्ने, छलफल गर्ने,चुपचाप नबस्ने । चुनावी माहोलमा केही दलले ‘चुपचाप छाप’ मागिरहेका छन् । वास्तवमा पुँजीवादी व्यवस्थामा जनताले बोल्ने मौका एकैपल्ट पाउने हो । त्यो हो – चुनावको बेला । चुनावकै बेला ‘नबोल’ भन्नु प्रजातन्त्रको मर्मविपरीत छ । यसरी निर्वाचित हुनुभन्दा अगाडि नै जनतालाई ‘चुप लाग’ भन्ने दलले पछि गएर हिटलरी शासन नलाद्ला भन्न सकिन्न । यो ‘भेडा–बनाउ’ राजनीति नै हो । यसर्थ, ‘चुपचाप छाप’’ को ‘नयाँ’ नारा नेपालका पुराना शासकहरूको जनतामा राजनीतिको निरन्तरता हो ।
परिवर्तनका लागि परिवर्तनकारी प्रश्न
आफूलाई भेडापनको धङधङीबाट बाहिर निकाल्न जनताले चोटिला प्रश्न गर्न जान्नुपर्छ । परिवर्तन चाहने जनताले परिवर्तनकारी प्रश्न गर्न सिक्नुपर्छ । अथवा, क्रान्तिकारी पार्टीले भीडलाई ती प्रश्न गर्न सिकाउनुपर्छ । वास्तवमा यो नै जनताको राजनीति हो । जोन रिडको पुस्तकमा क्रान्तिअघि रुसका मजदुर र किसानको सजीव चित्रण पाइन्छ । उनले ‘रुसका मजदुर र किसानलाई देश विदेशको राजनीतिबारे धेरै ज्ञान भएको’ लेखेका छन् ।
जेनजी आन्दोलनले भ्रष्टाचारको विरोध र सुशासनको माग ग¥यो । यिनै दुई मागलाई उक्त आन्दोलनको मर्म भनिन्छ । तर, के नेपालमा अब बन्ने सरकारले ती दुई माग पूरा गर्न सक्लान् ? यहीबाट थालौँ ।
आखिर किन हुन्छ भ्रष्टाचार ? सामूहिक हितभन्दा व्यक्तिको पद, पैसा र प्रतिष्ठालाई बढी महत्व दिने समाजमा भ्रष्टाचार हुनु स्वाभाविक हो । धनसम्पत्ति नै पुँजीवादी समाजको नयाँ देवता हो । यही देवताको लागि हुन्छ भ्रष्टाचार । त्यसकारण, पुँजीवादी व्यवस्थाको जरा नउखेल्दासम्म द्रव्ययुगको यो देवता मर्नेछैन । फागुन २१ को निर्वाचनपछि सरकार बनाउन कम्मर कसेका दलहरू सबै पुँजीवादी हुन् । त्यसैले तिनले भ्रष्टाचार हटाउन सक्नेछैनन् ।
के नयाँ सरकारले सुशासन प्रत्याभूत गर्न सक्छ ? सुशासनको सबैभन्दा महत्वपूर्ण पाटो हो – राजनीतिक प्रक्रियामा जनताको सक्रिय सहभागिता । तर, शासक दलमध्ये कुनै पनि दलले जनतालाई राजनीतिक प्रक्रियामा लैजाने ‘वाचा’ गरेका छैनन् । जनतालाई राजनीतिक प्रक्रियामा लग्न जनतालाई ‘राजनीतिक रूपमा आँखा देख्ने वा आलोचनात्मक’ बनाउनुपर्छ । तर, शासक दलहरू जनतालाई ‘भेडा’ बनाउने खेलमा छन् ।
जनतालाई भेडा बनाउनु शासक दलहरूको राजनीति हो । जनताको राजनीति तिनलाई प्रश्न गर्ने बनाउनु हो, सामूहिक हितमा ती प्रश्नको हल निकाल्ने बनाउनु हो । हामी एकदम साधारण प्रश्नबाट सुरु गर्न सक्छौँ ।
जस्तो, देशमा यति धेरै खेत छ, तर हामी किन भोकै छौँ? देशमा यति धेरै बाँझा खेत र उद्योगधन्दा छन्, तर हामी किन बेरोजगार छौँ ? देशमा यति धेरै जडिबुटी छन्, तर हामी किन उपचार नपाई मर्दै छौँ? संसारले ज्ञानविज्ञानमा यति धेरै प्रगति गरेको छ, तर, हामी किन अशिक्षित छौँ ? देशमा यति धेरै पानी छ तर हाम्रा छोराछोरी किन अरबमा गएर पानी नपाई प्याकप्याक्ती मर्दै छन् ? देशमा विदेशमा बेच्ने गरी बिजुली छेलोखेलो भयो रे । तर, किन हाम्रा गाउँघर अन्धकारमा छन् ? देशमा यति धेरै ढुङ्गा, गिट्टी, बालुवा र चुन छ तर हामी किन बेघर छौँ ? हाम्रा छोरीचेली अफ्रिकाका नेपालभन्दा पनि गरिब देशमा इज्जत बेच्न किन विवश छन् ? गरिबका छोरीचेली बलात्कार गर्ने बलात्कारीहरू किन खुलेआम छाती तन्काएर हिँड्छन् ? भ्रष्टाचारीहरूलाई किन मृत्युदण्ड दिइन्न ?
यी समस्याको दोष वर्तमान आर्थिक–सामाजिक व्यवस्था हो; पुँजीवादी वा मिठो भाषामा उदारवादी व्यवस्था हो । शासक दलहरू त तिनका सारथी मात्र हुन् । त्यसैले,‘व्यवस्था नबदली अवस्था बदलिन्छ’ भनी सोच्नु भेडो बन्नु हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *